अञ्जन विष्ट नेपाल सुपर लिगका लागि झापा एफसीमा अनुबन्धित

0

१२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण फरवार्ड अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि झापा एफसीसँग मार्की खेलाडीको रूपमा अनुबन्धित भएका छन् ।

झापा एफ.सी.ले आफ्नो सामाजिक सञ्जालबाट अञ्जन बिष्ट अनुबन्ध गरेको जानकारी दिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितिसकेका विष्टले १२ गोल समेत गरेका छन् र सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न १ गोल मात्र टाढा रहेका रहेका छन् ।

२५ वर्षीय नेपाली फुटबलका एकजना प्रतिभावान खेलाडी अञ्जनले भर्खरै सम्पन्न भएको सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडलाई पहिलो प्रयासमा नै च्याम्पियन बनाउन टोलीको तर्फबाट सर्वाधिक गोल समेत गरेका थिए । उनी एनएसएलको पहिलो संस्करणमा बेष्ट फरवार्ड चुनिएका थिए ।

दुवै विंग्सबाट खेल्न उत्तिकै सक्षम उनले झापा एफसीको नेपाली फुटबल विकासको भिजन मन परेकै कारण आफूले झापा रोजेको बताए । ‘झापा एफ.सी.को नेपाली फुटबललाई फरक रूपमा अगाडि बढाउने प्लान मलाई निकै मन परेकै कारण झापा रोजेको हुँ । टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याएसम्म सबै कुरामा योगदान पुर्याउने छु । यस टिमसँग जोडिन पाउँदा निकै गर्व महसुस भैरहेको छ,’ अञ्जनले भनेका छन् ।

झापा एफ.सी. का प्रवक्ता तथा महासचिव सुजन गौतमले अञ्जनलाई अनुबन्ध गर्न पाउँदा खुसी लागेको बताए । ‘नेपाली टिमका महत्वपूर्ण खेलाडी अञ्जनलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छौं । अञ्जन एक प्रतिभाशाली खेलाडी मात्र नभएर राम्रो लिडर पनि हुन् । उनको आगमनले टिममा छुट्टै ऊर्जा मिलेको महसुस भएको छ,’ गौतमले भने, ‘अञ्जन एक मिहिनेती खेलाडी खेलाडी हुन् ।’

झापा एफ.सी. का अध्यक्ष अर्पणविक्रम खड्काले अञ्जनले झापा एफ.सी. लाई पहिलो प्रयासमा नै लिग जिताउन उल्लेखनीय भूमिका खेल्ने छन् भनेर पूर्ण विश्वास लिएका बताए ।

झापा एफ.सी. दोस्रो संस्करणका लागि थपिएको ३ नयाँ टोलीमध्ये एक हो । एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ । दोस्रो संस्करणको अक्सन आगामी शनिबार हायात होटलमा सञ्चालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply