अन्तरिक्षमा चीनलाई पछार्न अमेरिकाले कस्तो रणनीति अपनाउँदै छ ?

0

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रमुख बिल नेल्सनका अनुसार चन्द्रमामा पुनः अन्तरिक्षयात्री पठाउनका लागि अहिले अमेरिकाको चीनसँग होडबाजी छ ।

बीबीसीलाई दिएको एक अन्तरवार्तामा नेल्सनले चन्द्रमामा आफूहरू नै पहिला पुग्ने कुराको सुनिश्चितता गर्न चाहेको पनि खुलासा गरे ।

उनको यो भनाइले सन् १९६० तथा १९७० को दशकको स्मरण गराएको छ, जब अन्तरिक्षमा अमेरिकाको प्रतिस्पर्धा सोभियत संघसँग हुन्थ्यो । तर करिब आधा शताब्दी पछि नासाले आफ्नो अन्तरिक्षसम्बन्धी अधिकांश कामका लागि निजी कम्पनीहरुलाई नियुक्त गरिरहेकेा छ ।

नेल्सनका अनुसार यसबाट अन्तरिक्ष अभियानको भारी लागत साझेदारी गर्ने मौका प्राप्त हुने भएकाले निजी कम्पनीहरुसँगको सहकार्य निकै महत्वपूर्ण छ । साथै यसले निजी क्षेत्रका उद्यमीहरुको रचनात्मकताको लाम उठाउने अवसर समेत नासालाई प्रदान गरेको छ ।

यस विषयमा कुरा गर्दा नेल्सनले एलन मस्कको कम्पनी स्पेस एक्स कम्पनीको उदाहरण दिन्छन् । स्पेस एक्सले चन्द्रमामा अवतरण गर्ने ल्याण्डर निर्माणका लागि सन् २०२१ मा नासाबाट तीन अर्ब डलरको ठेक्का पाएको थियो । स्पेस एक्सले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट पनि निर्माण गरेको छ ।

अन्तरिक्षमा मुनाफा

अन्तरिक्षको यो दौडमा अन्य निजी कम्पनीहरुले पनि मुनाफा देखिरहेका छन् । यो वर्षको सुरुआतमा नासाले जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनसँग ३ अर्ब ४० करोड डलरको एक सम्झौता गर्‍यो । उक्त सम्झौता पनि ल्याण्डरको निर्माण गर्नकै लागि थियो । पछि यसलाई मून ल्याण्डरमा परिवर्तन गरिएको थियो ।

स्पेस एक्स र ब्लू ओरिजिन ती दुई कम्पनीहरु हुन् जसले अमेरिकी सरकारको अरबौं डलरको सरकारी सहायताको लाभ उठाउन सफल भएका छन् । त्यसमध्येको केही रकम चाहिं केही हदसम्म चीनभन्दा अगाडि रहने प्रयासहरुमा खर्च गरिंदैछ ।

विश्वका दुई ठूला अर्थतन्त्रयुक्त मुलुक अमेरिका र चीनबीचको तनावका बीच अन्तरिक्षको यो होड अझै बढिरहेको छ । यहीँ अगष्टमा भारत चन्द्रमामा पुग्ने चौथो देश बन्यो भने चन्द्रमाको दक्षिणी ध्रुवमा यान उतार्ने पहिलो देश बनेको छ ।

भारतको यस्तो सफलता पश्चात् पनि अमेरिकाको नजर कुनै मुलुकप्रति छ भने त्यो चीन नै हो । चीनको अन्तरिक्ष कार्यक्रमप्रति नासाले निकै चनाखो नजर राखिरहेको हुन्छ ।

अन्तरिक्षमा चीनको सफलता

चीन एकमात्र यस्तो देश हो जसको आफ्नै अन्तरिक्ष स्टेशन छ । चीनले चन्द्रमाबाट चट्टान र माटोको नमूना पृथ्वीमा ल्याइसकेको छ । ऊ चन्द्रमाको ध्रुवीय क्षेत्रहरुमा पुग्ने योजनामा छ ।

नासका प्रमुख नेल्सन यसबाट चिन्तित छन् । उनी भन्छन्, ‘मलाई यो कुराको चिन्ता छ कि चन्द्रमाको दक्षिणी ध्रुवमा पानी फेला परेको छ । अनि त्यहीँ क्षेत्रमा पुगेर चीनले भन्छ कि यो हाम्रो क्षेत्र हो, तिमीहरु यहाँ आउन पाउँदैनौं ।’

साउथ चाइना सी का केही भागमा आफ्नो दाबी बलियो बनाउनका लागि चीनले कृत्रिम टापुहरु बनाइरहेको उदाहरणलाई नेल्सन चन्द्रमामा चिनिया दाबीसँग जोड्दछन् ।

नेल्सनका अनुसार चीनले अमेरिकी नेतृत्वमा रहेको आर्टेमिस सम्झौतामा हस्ताक्षर गरेको छैन । उक्त सम्झौताको उद्देश्य अन्तरिक्ष तथा चन्द्रमामा हुने गतिविधिहरुको एउटा रुपरेखा बनाउनु हो ।

उता चीनले भने आफू अन्तरिक्षमा शान्तिपूर्ण खोज अनुसन्धानका लागि प्रतिबद्ध रहेको जनाएको छ । आफ्नो अन्तरिक्ष कार्यक्रमका बारेमा अमेरिकी चिन्ताका विषयमा टिप्पणी गर्दै चीनले अमेरिकी चासो आफ्नो अन्तरिक्ष कार्यक्रमलाई बदनाम गर्ने अमेरिकी अभियानको रुपमा रहेको बताएको छ ।

नासाले गरिरहेको छ लगानी

यो प्रतिस्पर्धामा नासाले ठूलो परिमाणमा लगानी गरिरहेको छ । सन् २०२१ मा नासाले अन्तरिक्ष कार्यक्रममा ७१ अर्ब २० करोड डलर खर्च गरेको थियो जुन त्यसको अघिल्लो वर्षको भन्दा १०.७ प्रतिशत बढी हो ।

नेल्सन भन्छन्, ‘हाम्रो खर्चको एक चौथाई हिस्सा साना व्यवसायहरुमा भैरहेको छ ।’

नासाका पूर्वइन्जिनिर समेत रहेका हार्वार्ड बिजनेस स्कुलमा अन्तरिक्षको अर्थव्यवस्था विषय पढाउने सिनेड ओसुलिभन भन्छन्, ‘यो रकमले साना कम्पनीहरु खासगरी स्टार्टअपको वृद्धिलाई बढावा दिन्छ ।’

उनका अनुसार सरकारले प्रायः स्टार्टअप कम्पनीहरुका लागि सुरुमा ग्राहकको रुपमा काम गर्दछ । नासाका यी अनुबन्धले उसलाई निजी कम्पनीसँग सम्पर्क गर्ने तथा अधिक श्रोत जुटाउन मद्दत गर्न सक्दछ ।

चन्द्रमामा पुनः मानिस लैजाने दौड निकै हाइ प्रोफाइल हुन सक्दछ, तथापि यसले अन्य अन्तरिक्ष गतिविधिहरुलाई तीव्र रुपमा बढावा दिनमा मद्दत गरेको छ, जो निकै फाइदाजनक हुनसक्दछ ।

रुस सन् १९५७ मै पृथ्वीको कक्षमा उपग्रह स्थापित गर्ने विश्वको पहिलो देश बनेको थियो । त्यसबेला सोभियत संघको प्रतिस्पर्धा अमेरिकासँग थियो । युरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार अहिले १० हजार ५ सय भन्दा धेरै कृत्रिम उपग्रहहरुले पृथ्वीको परिक्रमा गरिरहेका छन् ।

अन्तरिक्षमा बढ्दो लगानी

चाड एन्डरसनले गएको दशकमा स्पेस क्यापिटल नामक लगानी कम्पनीको स्थापना गरे । अन्तरिक्षको क्षेत्रमा आएको तीव्रताको श्रेय उनी स्पेस एक्स कम्पनीलाई दिन्छन् ।

उनी भन्छन्, ‘आज हामीले अन्तरीक्षलाई लगानीको क्षेत्रको रुपमा कुरा गरिरहेका छौं, यसको एकमात्र कारण स्पेस एक्स हो । आजभन्दा करिब १० वर्षअघि उसको पहिलो व्यवसायिक उडान नहुँदासम्म पूरै अन्तरिक्ष बजार सरकारको कब्जामा थियो ।’

एनालिटिक फर्म ब्रिसटेकका अनुसार अन्तरिक्षमा परिक्रमा गरिरहेका मध्ये करिब आधा कृत्रिम स्याटेलाइटहरु पछिल्लो तीन वर्षमा प्रक्षेपण गरिएका हुन् । एण्डरसनका अनुसार यसका लागि मुख्य रुपमा दुईवटा कम्पनीहरु वन वेब र एलन मस्कको स्टारलिंक धन्यवादका पात्र छन् ।

उनी भन्छन्, ‘अन्तरिक्ष अर्थव्यवस्था केवल रकेट तथा स्याटेलाइट हार्डवेयर भन्दा धेरै विस्तृत छ । यो अदृश्य मेरुदण्ड हो जसले हाम्रो विश्वव्यापी अर्थव्यवस्थालाई शक्ति दिन्छ ।’

अन्तरिक्षमा स्याटेलाईटको बढ्दो संख्या र बढिरहेका कम्पनीहरुले ती स्याटेलाइटको तर्फबाट उपलब्ध गराइएका डेटाहरुको नयाँ नयाँ प्रयोगको खोजी गरिरहेका छन् यसमा कृषि, बिमा तथा ढुवानी उद्योग सामेल छन् ।

स्पेस एक्सलाई कसले दिँदैछ चुनौती ?

न्युजिल्याण्डको रकेट ल्याब अन्तरिक्ष अर्थव्यवस्थाको एक प्रमुख खेलाडी हो । यो स्पेस एक्सको प्रतिद्वन्द्वी कम्पनी हो । उसले अहिलेसम्म ४० वटा स्याटेलाइट प्रक्षेपण गरिसकेको छ । यसमा नासा तथा अन्य अमेरिकी एजेन्सीहरुका स्याटेलाइट सामेल छन् ।

रकेट ल्याबका संस्थापक पिटर बेक त्यसअघि डिसवासर मेसिनका इन्जिनियर थिए । अहिले उनले अन्तरिक्षमा स्याटेलाइट पठाइरहेका छन् । उनका अनुसार पृथ्वीभन्दा बाहिर वित्तीय सम्भावनाको कुरा गर्दा यो एउटा विशाल हिमखण्डको सानो हिस्सा जस्तै हो ।

उनी भन्छन्, ‘स्याटेलाइट प्रक्षेपणमा करीब १० अर्ब डलर खर्च हुन्छ भने स्याटेलाइटको निर्माणमा पनि करिब ३० अर्ब डलरको लागत लाग्दछ । त्यसपछि त्यसको प्रयोगको विषय पनि छ, जसको लागत करिब ८ खर्ब ३० अर्ब डलरको हुन्छ ।
यस्तो खालका ठूलो दाउ लगाउनेमा उनी एक्लो भने छैनन् । अमेरिकी लगानी बैंक मोर्गन स्टेनलीका अनुसार सन् २०४० सम्ममा अन्तरीक्ष अर्थतन्त्रको आकार एक टि्रलियन डलर भन्दा ठूलो हुनेछ ।’

अन्तरिक्ष क्षेत्रका निजी कम्पनीले के गर्न सक्छन् ?

रकेट ल्याबका संस्थापक पिटर बेक चन्द्रमामा विद्यमान अवसरका विषयमा सजग छन्, खासगरी त्यहाँको उत्खननको विषयमा । उनी भन्छन्, ‘अहिले चन्द्रमामा जानु र त्यहाँ उत्खनन गरेर त्यसलाई पृथ्वीमा ल्याउनु आर्थिक रुपमा व्यवहारिक छैन ।’

उता नासाका प्रमुख नेल्सनले भने चिकित्साको क्षेत्रमा सम्भानाहरु देखेका छन् । उनी औषधि उत्पादक कम्पनी मर्कलेले सन् २०१९ मा अन्तराष्ट्रिय स्पेस स्टेशनमा गरेको क्रिस्टल विकास सम्बन्धी उपयोगी शोधको चर्चा गर्दछन् । यसबाट क्यान्सरको उपचारको विकास गर्नमा मद्धत मिलेको थियो ।

शून्य गुरुत्वाकर्षणमा अप्टिक फाइबरलाई निकै प्रभावकारी ढंगले तयार गर्न सकिने पनि उनी बताउँछन् ।

नासका प्रमुख नेल्सन भन्छन्, ‘अन्ततः तपाईंले जे देख्नुहुनेछ त्यो के भने पृथ्वीको तल्लो कक्षमा निकै धेरै व्यवसायिक गतिविधि भैरहेका छन् ।’

बीबीसीबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply