अन्तरिक्ष प्रविधिमा चीनलाई पछाडि पार्न अमेरिकाले कस्तो रणनीति लिदैँछ?

0
स्पेस एक्स

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन,

स्पेस एक्स रकेटहरूले निजी अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसम्म लैजाने गर्छन्

१२ मिनेट पहिले

अमेरिकी अन्तरिक्ष निकाय (नासा) का प्रमुखले संयुक्त राज्य अमेरिका चन्द्रमा फेरि पुग्ने अभियानमा चीनसँग प्रतिस्पर्धामा रहेको बताएका छन्।

बीबीसीसँगको अन्तरवार्तामा उनले आफूले ‘हामी त्यहाँ पहिला पुगेको’ सुनिश्चित गर्न चाहेको बताए।

उनको प्रतिक्रियाले सन् १९६० र सन् १९७० को दशक सम्झाएको छ- जुनबेला नासा सोभियत सङ्घसँग अन्तरिक्षमा प्रतिस्पर्धा गरिरहेको थियो।

तर आधा शताब्दीपछि नासाले अधिकांश कामहरू गर्नका लागि निजी क्षेत्रका कम्पनीहरूलाई खटाएको छ।

बिल नेल्सनले तिनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै त्यसले उच्च लागतमा साझेदारी गर्न र नासालाई ‘निजी क्षेत्रका उद्यमीहरूको रचनात्मकताबाट’ लाभ लिन सघाउने बताए।

निजी क्षेत्र प्रयोगको उद्देश्य के?

नेल्सनले इलोन मस्कको स्पेस एक्सलाई चन्द्रमा मिशनमा प्रयोग हुने ल्यान्डर निर्माणका लागि सन् २०२१ मा ३ अर्ब बराबरको ठेक्का दिइएको उल्लेख गर्दै उक्त कम्पनीले हालसम्मकै सर्वाधिक शक्तिशाली रकेटको विकास गरेको पनि उल्लेख गरे।

अन्तरिक्ष मिशनमा देखा परिरहेको प्रतिस्पर्धाबाट अन्य निजी फर्महरूलाई पनि फाइदा भइरहेको छ।

यसै वर्षको सुरुमा नासाले जेफ बेजोसको ब्लू ओरिजिनसँग तत्कालको नभई भावी चन्द्र मिसनहरूको अवतरणका लागि ल्यान्डर निर्माण गरिदिन ३.४ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो।

अर्बौँ डलरको सरकारी लगानीबाट लाभ पाएका यी दुई कम्पनी मात्रै हुन्।

यो रकम विश्वका सबैभन्दा दुई ठूला अर्थतन्त्रबीचको बृहत् तनावमाझ कम्तीमा चीनभन्दा अघि अन्तरिक्ष प्रतिस्पर्धा आफूलाई उभ्याउन खर्च भइरहेको छ।

गएको अगस्टको अन्त्यमा भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गराउन सफल चौथो देश बनेको थियो। चन्द्रमाको दक्षिणी ध्रुवमा मानव रहित अन्तरीक्षयानलाई अवतरण गराउने पहिलो देश भारत बनेको थियो।

उक्त सफलताका बावजुद चीनको अन्तरिक्ष कार्यक्रमलाई नासाले नजिकबाट नियालिरहेको छ।

नासाका प्रमुख बिल नेल्सन
तस्बिरको क्याप्शन,

नासाका प्रमुख बिल नेल्सन

चीनबाट यस्तो चुनौती

आफ्नै अन्तरिक्ष केन्द्र भएको एकमात्र देश चीन हो। उसले चन्द्रमाबाट नमुनाहरू पृथ्वीमा ल्याइसकेको छ। चन्द्रमाको ध्रुवीय क्षेत्रको नजिक पुग्ने लक्ष्य उसले राखेको छ।

यसले नेल्सनलाई चिन्तित तुल्याएको छ। “मलाई के चिन्ता लागेको छ भने हामीले चन्द्रमाको दक्षिणी ध्रुवमा पानी फेला पार्न सक्छौँ। चीन त्यहाँ पुग्यो र उसले यो हाम्रो भूमि हो। तिमी यहाँ आउन पाउँदैनौँ भन्यो, यो हाम्रो हो भन्यो भने।”

नेल्सनले कृत्रिम टापुहरू निर्माण गरेर साउथ चाइना सीका अरू क्षेत्रहरूमा सार्वभौमसत्ता दाबी गर्ने चीनको कदमले आफ्नो चिन्तालाई आधार दिएको बताए।

नेल्सनले चीनले अमेरिकी नेतृत्वमा अन्तरिक्ष र चन्द्रमामा अपनाउनुपर्ने असल अचारणबारे तयार पारिएको आर्टिमिस सम्झौतामा हस्ताक्षर नगरेको पनि उल्लेख गरे।

चीनले आफू शान्तिपूर्ण रूपमा अन्तरिक्षको अन्वेषण गर्न प्रतिबद्ध रहेको बताएको छ।

विगतमा उसले आफ्ना कार्यक्रमबारेका अमेरिकी चिन्ताहरूलाई चीनका नियमित र उद्देश्यसहितको बाहिरी अन्तरिक्ष प्रयासहरूलाई बदनाम गराउने अभियान भएको बताएको थियो।

इलोन मस्क

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

स्पेस एक्सका संस्थापक इलोन मस्क

अमेरिकाले लगानी गर्नुका कारण

उक्त प्रतिद्वन्द्वका कारण नासाले व्यापक लगानी गरिरहेको छ।

सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा उसले आफ्नो खर्च ७१ दशमलव २ अर्ब डलर रहेको बताएको थियो।

जुन त्यो भन्दा अघिल्लो सालको भन्दा १०.७ प्रतिशत बढी थियो।

स्पेस एक्स जस्ता ठूला नामहरूमा गरिएका खर्च चर्चामा आउने भए पनि नासाले गरेका लगानी अमेरिकी अर्थतन्त्रको अझ भित्री तहसम्म पुगेको छ।

नेल्सन भन्छन्, “हाम्रो खर्चको एक चौथाइ सानो व्यवसायहरूमा गइरहेको छ।”

उक्त रकमले स्टार्ट अप जस्ता साना फर्महरूको फाइदा अभिवृद्धि गर्नसक्ने नासाका पूर्व इन्जिनियर सनेड ओ सलेभानले बताइन।

उनका अनुसार सरकारले अधिकांश अवस्थामा त्यस्ता फर्महरूको पहिलो ग्राहकको जस्तो भूमिका खेल्छ र यस्ता ठेक्काहरूबाट उनीहरूले निजी लगानीकर्ताहरूसम्म पहुँच कायम गर्न सक्छन् र थप लगानी जुटाउनसक्छन्।

चन्द्रमामा फेरि पुग्ने अभियान उच्च महत्त्वको हुनसक्छ तर यसले अरू अन्तरिक्ष गतिविधिलाई पनि बढावा दिनसक्छ जसको फाइदा अझै धेरै हुन्छ।

सन् १९५७ मा अमेरिकासँग वास्तविक अन्तरिक्ष प्रतिस्पर्धा गरिरहेको रुस अन्तरिक्ष कक्षमा भू-उपग्रह पुर्‍याउने पहिलो देश बनेको थियो।

युरोपियन स्पेस एजेन्सीका अनुसार अहिले पृथ्वीको कक्षमा १०,५०० भूउपग्रहहरू रहेका छन्।

स्पेस एक्सका क्रु सदस्यहरू

तस्बिर स्रोत, Getty Images

अन्तरीक्ष उद्योगको चर्चा

पछिल्लो दशकमा स्पेसएक्सले अन्तरिक्ष उद्योगलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्पेस क्यापिटल नामक लगानी फर्मका चाड एन्डरसन ठान्छन्।

“हामीले आज अन्तरिक्षमा लगानीको विषयमा अहिले चर्चा गरिरहनुको एउटै कारण स्पेस एक्स हो,” उनले भने।

“१० वर्ष भन्दा केही समयअघि, उनीहरूको पहिलो व्यवासायिक उडान अघि पूरै बजारमा सरकारको दबदबा थियो।”

ब्राइस टेक नामक एनालिटिक्स फर्मका अनुसार अहिले कक्षमा रहेका झन्डै आधा भूउपग्रह पछिल्लो तीन वर्षमा प्रक्षेपण गरिएको हो।

त्यसमा मुख्यगरी दुई वटा कम्पनीहरू वान वेब र इलोन मस्कको स्टार लिङ्क संलग्न छन्।

एन्डरसन भन्छन्, “अन्तरिक्ष अर्थतन्त्र रकेट वा भूउपग्रहको पाटपूर्जा भन्दा धेरै बृहत् छ। त्यो हाम्रो विश्व अर्थतन्त्रलाई बलियो बनाउने अदृश्य मेरुदण्ड हो।”

धेरै भूउपग्रहहरू प्रक्षेपण गरिएसँगै उनीहरूले उपलब्ध गराइरहेका तथ्याङ्कहरूको नवीन प्रयोगसम्बन्धी कम्पनीहरूको सङ्ख्या बढिरहेको छ जुन कृषि, बिमा र समुद्री उद्योगसँग सम्बन्धित छन्।

नयाँनयाँ खेलाडी

रकेट ल्याबका संस्थापक पिटर बेक

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन,

रकेट ल्याबका संस्थापक पिटर बेक

न्यूजिल्यान्ड मुख्यालय रहेको रकेट ल्याब अन्तरिक्ष उद्योगको अर्को प्रमुख खेलाडी हो।

स्पेस एक्सको प्रतिद्वन्द्वी रहेको यो कम्पनीले नासा र अरू अमेरिकी सरकारी निकायसहित ग्राहकहरूको ४० वटा प्रक्षेपण पूरा गरिसकेको छ।

यसका संस्थापक पिटर बेक भाडाँमाझ्ने उपकरणका इन्जिनियरहुँदै अन्तरिक्षमा रकेट प्रक्षेपण गर्ने भूमिकामा पुगेका हुन्।

पृथ्वीभन्दा बाहिर रहेका वित्तीय अवसरको सानो अंश मात्र लाभ लिन सकिएको उनी ठान्छन्।

“प्रक्षेपण भनेको लगभग १० अर्ब डलरको अवसर हो। त्यसपछि त्यहाँ भूउपग्रह निर्माणजस्ता विषय समेटिएका छन् जुन ३० अर्ब डलरको अवसर हो। र त्यसपछि अरू प्रणालीहरू पनि छन् जुन ८३० अर्बको अवसर हो।”

यस्ता ठूला दाबी गर्ने उनी एक्ला होइनन्। अमेरिकाको लगानी ब्याङ्क मोर्गन स्टेन्लीले सन् २०४० सम्म विश्व अन्तरिक्ष उद्योगको मूल्य बढेर १ ट्रिलियन डलर पुग्नसक्ने बताए।

त्यसले निजी फर्महरूलाई कता डोर्‍याउला? बेक चन्द्रमामा विशेष गरी उत्खनन जस्ता अवसरलाई लिएर सावधान छन्।

उनले भने, “अहिलेको क्षणमा चन्द्रमामा जानु र त्यहाँ उत्खनन गरेर पृथ्वीमा ल्याउनु त्यति लाभदायक छैन।”

नासाका बिल नेल्सन स्वास्थ्य अनुसन्धानको सम्भावना देख्छन्।

उनले सन् २०१९ मा इन्टरन्याश्नल स्पेस स्टेशनमा मर्क नामक औषधि निर्माण फर्मले क्रिस्टलको वृद्धिबारे गरेको उपयोगी अनुसन्धानलाई उदाहरण दिँदै त्यसले क्यान्सर उपचार प्रणाली विकासमा सहयोग गरेको बताए।

उनले शून्य गुरुत्वाकर्षणमा फाइबर अप्टिक्स अझ प्रभावकारी ढङ्गले उत्पादन गर्न सकिने बताए।

उनले भने, “अन्ततः तपाईँले तल्लो पृथ्वीको कक्षमा धेरै व्यवसायसँग सम्बन्धित गतिविधि देख्न पाउनुहुनेछ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply