अरुको अनुहार नसम्झिनु रोग हो कि मानसिक अवस्था ?

0

‘केही महिनाअघि एउटा कार्यक्रममा एउटा अपरिचित अनुहार मेरो अगाडि आयो । ती व्यक्ति मतर्फ हेरेर मुस्कुराए । उनलाई देखेर म भनें निकै आत्तिएँ । मलाई त्यहाँबाट निस्कन मन लाग्यो । उनको त्यस मुस्कुराहटले मभित्र हरेक दिन हुने उहापोहलाई पुनः एकपटक तीव्र पारिदियो । मलाई मानिसहरुको अनुहार याद हुँदैन ।’

बीबीसी संवाददाता नतालिया ग्युरेरो आफूलाई मानिसहरुको अनुहार नौलो लाग्ने उक्त समस्याका विषयमा यसरी बताउँछिन् । अनुहार पहिचान गर्नु उनका लागि हरेक दिन कुनै संघर्षभन्दा कम हुँदैन ।

उनी भन्छिन्, ‘वर्षौंदेखि एउटा उल्झन, एउटा पहेली जसले कुनै अपरिचितसँग भेट्दा नै दिमागको ढोका ढकढकाउँछ अनि यो को व्यक्ति हो ? के म यसलाई चिन्दछु ? भनेर सोध्दछ । के उसले मसँगै काम गर्दछ ? यदि उसले मसँगै कार्यालयमा काम गर्छ भने मैले उसलाई नचिन्नुत निकै नराम्रो कुरा पो हो भनेर मैले सोंच्ने गर्छु ।

के हो प्रोसोप्याग्नोसिया ?

प्रतीकात्मक तस्वीर.कुनै मानिसलाई अरुको अनुहार याद नहुने दिमागको उक्त अवस्थालाई फेस ब्लाइन्डनेस भनिन्छ । मनोचिकित्सकीय भाषामा यसलाई प्रोसोप्याग्नोसिया भनिन्छ  ।

यो मस्तिष्कको एउटा यस्तो अवस्था हो जसमा मानिसले आफूले चिनेजानेका मानिसहरुको अनुहारसमेत पहिचान गर्न सक्दैन । विज्ञहरुका अनुसार कहिलेकाहीँ प्रोसोप्याग्नोसिया जन्मजात पनि हुनसक्छ ।

प्रोसोप्याग्नोसियाका अरुपनि कारण छन् । पटक-पटक झट्का बेहोर्नु वा मस्तिष्कमा गहिरो चोट लाग्दासमेत मानिस त्यस अवस्थामा जान सक्दछ ।

डाक्टरका अनुसार जब अनुहार पहिचान गर्ने क्षमता भएको मस्तिष्कको तल्लो दायाँ हिस्सामा रगतको आपूर्ति रोकिन्छ, तब प्रोसोप्याग्नोसिया हुनसक्छ ।

जो मानिसमा प्रोसोप्याग्नोसिया जन्मजात हुँदैन र कुनै कारणबाट पछि त्यस्तो समस्या पैदा भएको हुन्छ त्यो एमआरआईबाट पत्ता लगाउन सकिन्छ ।

एमआरआई रिर्पोमा मस्तिष्कको सो क्षेत्र भिन्न देखिन्छ । तर जन्मजात प्रोसोप्याग्नोसियामा यो संरचनागत रुपमा फरक देखिँदैन । त्यस्ता बच्चाको मस्तिष्कको सो भाग विकशित नै भएको हुँदैन ।

हालै प्रकाशित हार्वर्ड मेडिकल स्कुलको एक रिपोर्ट अनुसार हरेक ३३ जनामा एकजना मानिसमा धेरथोर प्रोसोप्याग्नोसियाको समस्या रहेको हुन्छ । अर्थात् कूल जनसंख्याको ३.०८ प्रतिशत यो समस्याबाट जुधिरहेका हुन्छन् ।

चर्चित सेलिब्रेटीहरु जस्तै वन्यजन्तुविद् जेन गुडाल, अभिनेता ब्राड पिट, भारतीय अभिनेत्री शहनाज ट्रेजरीवालाले आफूमा यस्तो समस्या रहेको सार्वजनिक रुपमा बताइसकेका छन् ।

प्रोसोप्याग्नोसियाको चरणहरू

प्रतीकात्मक स्टोरी.

बीबीसी संवाददाता नतालिया आफ्नो यस अवस्थाका बारेमा भन्छिन्, ‘मानिसहरुको अनुहार चिन्न नसक्ने मेरो अवस्था धेरै गम्भीरचाहिं छैन । मैले आफ्ना परिवारका सदस्य, आफ्ना अधिकांश मित्रहरु तथा कार्यालयका साथीहरुलाई पहिचान गर्न सक्दछु ।

डाक्टरका अनुसार प्रोसोप्याग्नोसियाका फरक-फरक स्तर हुन्छन् । पहिले डाक्टरहरुले जन्मजात हुने प्रोसोप्याग्नोसियालाई बच्चामा हुने अटिजमसँग जोडेर हेर्ने गर्दथे । तर अहिले विभिन्न शोधपछि यी दुई समस्या फरकफरक रहेको प्रमाणित भैसकेको छ ।

अमेरिकी सरकारको वेबसाइट नेसनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोकका अनुसार प्रोसोप्याग्नोसियाको प्रमुख लक्षण नै अरुको अनुहार पहिचान गर्नमा कठिनाई हुनु हो । यसका रोगीहरुलाई फरक-फरक अनुहारहरु छुट्टाउन मुस्किल हुन्छ । यसका लक्षणहरुमा :

  • परिचित मानिसहरुको अनुहार पहिचान गर्नमा समस्या
  • अपरिचित अनुहारको बीचमा फरक छुट्टाउन नसक्नु
  • कसैको अनुहार तथा कुने वस्तुको बीचमा फरक छुट्टाउन नसक्नु
  • कसैको अनुहारसम्म पनि पहिचान गर्न नसक्नु

यसका अलावा यो रोगबाट पीडित कतिपयलाई अनुहारको भाव पहिचान गर्न नसक्ने समस्या हुन्छ । त्यस्तै फिल्म वा टिभीमा आउने पात्रलाई चिन्न नसक्ने, कहानी सम्झिन नसक्ने तथा बाटो भुल्ने जस्ता समस्याहरु पनि देखिन्छन् ।

सामाजिक जीवनमा असर

प्रतीकात्मक स्टोरी.

आफूलाई कहिलेकाहीँ मानिसहरुले घमण्डी समेत भन्ने गरेको नतालिया बताउँछिन् । पत्रकार हुनुको नाताले मानिसहरुसँग भेटघाट गर्नुपर्ने आफ्नो काममा यसले निकै कठीनाइ उत्पन्न भएको उनको अनुभव छ ।

आफ्नो एउटा अनुभव सुनाउँदै उनी भन्छिन्, ‘मैले अमेरिकाको न्युयोर्कमा एउटा ठूलो लागूऔषध तस्करसँग सम्बन्धित समाचार संकलन गरिरहेकी थिएँ । हरेक दिन अदालतमा म आफ्ना सहकर्मी पत्रकारहरुलाई नै चिन्न सकिरहेकी थिइन । त्यहाँ तीनजना मानिस बसेका थिए । तीनैजनाको उमेर करिब ३० वर्षको आसपास थियो होला । उनीहरुले भिन्नाभिन्नै कपडा लगाएका थिए । तर मलाई तीनैजना एउटै जस्तो लागिरहेको थियो । तीनजना एउटै अनुहारका व्यक्तिलाई देखिरहेको छु जस्तो लाग्थ्यो । त्यसपछि म त्यहाँबाट तुरुन्तै हिडें ।

मुहार दृष्टिविहीनताको यो अवस्थाले मानिसको सामाजिक जीवनमा पनि असर पार्ने विज्ञहरु बताउँछन् । यसले मानसिक स्वास्थ्यमा पनि असर गर्न सक्दछ । यसबाट सामाजिक डर (सोसल एन्जाइटी) तथा डिप्रेसनको समस्या पनि निम्तिन सक्दछ ।

यो समस्याको कुनै उपचार छैन । यो समस्या कम गर्ने एकमात्र उपाय भनेको पीडितहरुलाई मानिसहरुको अनुहार पहिचान गर्नका लागि आफ्नै तरिका विकसित गर्न सहयोग गर्नु हो ।

के गर्ने ?

प्रोसोप्याग्नोसियाको कुनै उपचार त छैन तर कतिपय उपायहरुले यो अवस्थाबाट पीडित मानिसहरुको जीवन थोरै मात्र भएपनि सजिलो बनाइदिन सक्दछन् । ती उपायहरुमा :

  • मानिसहरुसँग भेट्नुअघि नै आफ्नो त्यस्तो समस्याका विषयमा जानकारी दिनुहोस्
  • आफूसँग भएको व्यक्तिलाई उसका अन्य मानिसहरुसँग चिनाउन अनुरोध गर्ने
  • कोही मानिससँग भेट्दा उसको परिचय बताउनका लागि अनुरोध गर्ने
  • मानिसहरुलाई उनीहरुको आवाज वा बडी ल्यांग्वेजबाट पहिचान गर्ने कोसिस गर्ने

वास्तवमा मानिसहरुलाई नजरअन्दाज गर्नु राम्रो बानी होइन । अरु मानिसहरुलाई तपाईंले नजरअन्दाज गरेको महसुश हुँदा निश्चित रुपमा ननिको लाग्दछ । यद्यपि प्रोसोप्याग्नोसियाको समस्या भएका मानिसहरुको समस्याका बारेमा पनि अन्य आम मानिसहरुलाई जानकारी हुनुपर्छ । तर, आम रुपमा यो समस्या भएका व्यक्तिहरुलाई अरु मानिसहरुले गलत सम्झिरहेका हुन्छन् र चिनेको मानिसलाई पनि मतलब नै नगरेको भन्ने सोँच्दछन् । यसले मुहार दृष्टिविहीनताको सिकार भैरहेका मानिसहरुको दैनिक जीवनसमेत कठिन बन्दछ ।

-बीबीसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply