इन्डोनेसियाली इतिहासमा भारतीय प्रभाव, नेपाली गोर्खा सैनिकको पनि संलग्नता

0
इन्डोनेसियामा भारतीय फौज

तस्बिर स्रोत, IMPERIAL WAR MUSEUM

दक्षिणपूर्वी एशियामा अवस्थित समुद्री टापु समूहको देश इन्डोनेसिया विश्वकै विविधतायुक्त क्षेत्र हो।

इन्डोनेसिया १७ हजार टापु समूहको देश हो भने त्यहाँ ७०० जति भाषा बोलिन्छन्। उक्त देशमा १,३४० जातीय समूहको पहिचान गरिएको छ।

भारतवर्ष र चिनियाँ सभ्यताको बीचमा अवस्थित यो क्षेत्रमा इसापूर्व २९० देखि पन्ध्रौँ शताब्दीको अन्त्यसम्म भारतवर्षको सांस्कृतिक प्रभाव थियो।

त्यस बेला त्यहाँको स्थानीय राजनीतिक प्रणालीमा हिन्दू-बौद्ध प्रभावलाई आत्मसात गरिएको थियो।

संस्कृतको प्रभाव

दक्षिण एशियाका विशेषगरी इसापूर्व ३०० देखि सन् १२७९ सम्म राज्य गरेका तमिल राजवंश चोलहरूले जाभाका अधिराज्यहरूमा व्यापारिक, सांस्कृतिक र राजनीतिक सम्बन्ध राखेका थिए।

त्यसले उक्त क्षेत्रमा भारतवर्ष र संस्कृतको सांस्कृतिक एवं भाषिक प्रभाव पर्न गएको थियो।

त्यसको उदाहरणका रूपमा इन्डोनेसियाका भाषामा भारतवर्षको भाषिक प्रभाव अद्यपि देखिनुलाई लिन सकिन्छ।

विभिन्न समयमा यस क्षेत्रमा हिन्दू तथा बौद्ध राजारानीले शासन पनि गरेका थिए।

इन्डोनेसियाली राष्ट्रिय मूल मन्त्र ‘भिन्नेका टुन्गाल इक’को भावानुवाद ‘अनेकतामा एकता’ भनेर गर्न सकिन्छ र त्यो भारतवर्षका दुईवटा ठूला धर्महरू हिन्दू र बौद्धबाट प्रभावित छ।

हिमालयको छाया

इन्डोनेसिया

तस्बिर स्रोत, Getty Images

जाभाका ज्वालामुखीलाई “हिमालयको छाया” भन्ने मान्यता राखिन्छ।

त्यो पनि भारतवर्षको सांस्कृतिक प्रभावकै कारण भएको हो।

अहिलेका इन्डोनेसियाली मध्ये केहीको डीएनए भारतवर्षबाट आएको पाइएको छ।

त्यहाँ औसत ६ प्रतिशत मानिसको डीएनए भारतवर्षका मानिससँग मिल्छ भने आचे र बालीजस्ता स्थानमा १० प्रतिशतसम्म मानिसको डीएनए भारतीयहरूसँग मिल्छ।

यद्यपि छिमेकी देश थाइल्यान्डले जसरी उसको छिमेकी म्यान्मार र चीनको प्रभावलाई आत्मसात गरेको थियो, जाभाका मानिसहरूले त्यसरी आत्मसात गरेनन्।

जाभाका मानिसहरू भारतवर्षको कला, संस्कृति, भाषा र धर्मबाट प्रभावित भए पनि त्यसलाई जस्ताको तस्तै अपनाएनन्। उनीहरूले आफ्नै ढङ्गले त्यसको सांस्कृतिक विरासत बनाए।

बङ्गाली कविको बखान

त्यसबारे बङ्गाली कवि रविन्द्रनाथ टैगोरले पनि सुन्दर रूपले वर्णन गरेका छन्।

उनी सन् १९२९ मा इन्डोनेसिया पाहुना बनेर गएका थिए र जाभाको संस्कृतिलाई नजिकबाट देखेका थिए।

जाभामा अवस्थित प्राचीन हिन्दू तथा बौद्ध स्मारक हेरेपछि उनले भनेका थिए, “म त यहाँ सबैतिर भारत देख्छु तर त्यसलाई चिन्न सकिरहेको छैन।”

रविन्द्रनाथ टैगोर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

बंगलाका प्रसिद्ध कवि रविन्द्रनाथ टैगोर

उपनिवेशपूर्वको इन्डोनेसियामा दक्षिण एशियाली प्रभाव व्यापक थियो तर उपनिवेशकालमा त्यसमा विस्तारै कमी आउन थाल्यो।

यो देशमा नेपोलियनले नियुक्त गरेका गभर्नर जेनरलको आगमनसँगै उपनिवेशकाल सुरु हुन्छ। उनी सन् १८०८ मा गभर्नरको रूपमा इन्डोनेसिया आएका थिए।

उपनिवेशकालमा नै फ्रान्सेली राज्यक्रान्ति भयो भने नेपोलियनको युद्ध पनि भयो अनि अन्तत: विश्व समुदाय पहिलो विश्वयुद्धमा प्रवेश गर्‍यो।

उपनिवेशकालमा युरोपेली शक्तिहरू आफ्नो साम्राज्य फैलाउन ल्याटिन अमेरिकादेखि दक्षिणपूर्वी एशियासम्म पुगेका थिए र त्यसबेला त्यहाँ ठूलाठूला युद्धहरू भए।

ब्रिटिश हस्तक्षेप

इन्डोनेसियामा भारतीय फौज

तस्बिर स्रोत, IMPERIAL WAR MUSEUM

सन् १८११ मा जाभामा ब्रिटिश हस्तक्षेप भयो र त्यसलाई कब्जा गर्ने क्रममा १२ हजारभन्दा बढी बङ्गालका सिपाहीहरू सामेल थिए।

उपनिवेशकालमा ब्रिटिशहरूले एशिया र मध्यपूर्वमा २ लाख ५० हजारभन्दा बढी भाडाका सैनिकहरूलाई तैनाथ गरेका थिए।

जाभामा पठाइएका सैनिकहरूले आफ्नो बलिदानको नयाँ इतिहास लेखाए।

आधुनिक कालमा कमसे कम दुईवटा लडाइँमा भारतीय सैनिकहरूले जाभाको माटोमा युद्ध लडे।

सुरुमा २६ अगस्ट १८११ को आजको जकार्ता र १० देखि २७ नोभेम्बरसम्म १९४५ जाभाको सुराबायामा भारतीय सैनिकहरूले ब्रिटेनका तर्फबाट लडाइँ लडेका थिए।

पहिलो युद्धमा ब्रिटेनसँग लडेका फ्रान्स र डच सेनाका पचास प्रतिशत सैनिक मारिएका थिए।

ब्रिटेनको अन्तिम लडाइँ

नोभेम्बर १९४५ मा भएको दोस्रो लडाइँ ब्रिटिश कमान्डमा उपनिवेशकालमा भारतीय सैनिकहरू लडेको अन्तिम युद्ध थियो।

त्यो युद्धमा सामेल सबै पक्षका लागि त्यो घातक साबित भयो।

तर सुरबायामै जन्मिएका इन्डोनेसियाका राष्ट्रवादी नेता रोस्लान अब्दुलगनीले त्यसले इन्डोनेसियाली स्वतन्त्रताका लागि नयाँ दिशा दिएको बताएका छन्।

उन्नाइसौँ शताब्दीको युद्धको कुरा गर्दा सन् १८११ देखि १८१६ सम्मको आफ्नो छोटो शासनकालमै ब्रिटिशहरूले पाँच हजार बङ्गाली सिपाहीहरूको भरमा जाभालाई छाड्नु उनीहरूका लागि घातक हुने बुझिसकेका थिए।

इन्डोनेसिया डच उपनिवेश थियो तर त्यहाँ ब्रिटिशको तर्फबाट भारतीय सैनिकहरू पनि पटकपटक लडेका थिए।

इन्डोनेसियामा लड्नेमा नेपाली पनि

ब्रिटिश भारतीय फौजमा रहेका नेपाली गोर्खाहरू पनि ती युद्धहरूमा संलग्न हुन पुगे।

त्यस बेला आफ्नो उपनिवेश फैलाउनका लागि युरोपेली शक्तिहरूले विभिन्न देशहरूमा कब्जा गरिरहेका थिए।

नेदरल्यान्डस्‌को राजधानी एम्सटर्डमभन्दा करिब १२ हजार ६०० माइल पर जाभामा पनि उपनिवेश फैलाउने त्यस्तै अभियानका क्रममा त्यस क्षेत्र लडाइँको मैदान बन्न पुगेको थियो।

सन् १८११ को अगस्ट-सेप्टेम्बरमा १२ हजार सैनिकका साथमा ब्रिटेनले जाभामा हमला गरेको थियो।

त्यसबेला ब्रिटेनका सबैभन्दा धेरै सैनिकहरू बङ्गाली थिए। दोस्रो ठूलो लडाइँमा भारतीयहरू सामेल भएको भनेको सन् १९४५-४६ मा हो।

इन्डोनेसियामा भारतीय फौज

तस्बिर स्रोत, IMPERIAL WAR MUSEUM

त्यसबेला ब्रिटिशहरूले इन्डोनेसियाका राष्ट्रवादी फौजसँग लड्नुपरेको थियो र भारतीय सैनिकहरूलाई त्यसका लागि उतार्नु परेको थियो।

त्यस क्रममा ब्रिटिश भारतमा रहेका गोर्खा रेजिमेन्टका नेपालीहरू पनि लड्न पुगेका थिए।

त्यसलाई सुरबाया युद्ध भनिन्छ र त्यो ब्रिटिशका लागि निकै नै घातक बन्न पुगेको थियो।

सन् १९४५ को अक्टोबर २५ मा ब्रिगेडियर जेनरल अबर्टिन वाल्टर सोदर्न मालाबीको नेतृत्वमा चार हजार सैनिकहरूको भारतीय फौज सिङ्गापुरबाट सुरबाया पुग्यो।

राष्ट्रपति सुकार्नो र उपराष्ट्रपति हत्ताले त्यस वर्षको अगस्ट १७ मा स्वतन्त्रता घोषणा गरेका थिए।

त्यसपछि त्यहाँ अशान्ति मच्चिएको थियो। त्यसलाई मथ्थर पार्नका लागि ब्रिटिश सैनिकहरूलाई त्यहाँ पठाइएको थियो।

सुरबाया सहर क्रान्तिकारी युवाहरूको हातमा गएको थियो र इन्डोनेसियामा कब्जा गरेको जापानी सेना उनीहरूसामू लाचार भएको थियो।

जापानी सेनाका अस्त्रगारबाट युवाहरूले गोलाबारुद लुटेका थिए र उनीहरूको हातमा अस्त्रहरू पुगेका थिए।

एक साताभित्रै मालाबीलाई स्वतन्त्रता सेनानीसामू झुक्नुपर्ने स्थिति बन्यो र उनी युद्धविरामका लागि मोर्चामा अघि बढ्दै गर्दा अक्टोबर ३० मा उनलाई स्वतन्त्रता सेनानीहरूले गोली हानेर मारिदिए।

अङ्ग्रेजले पनि त्यसको बदला लिनका लागि ढिलाइ गरेनन्। सन् १९४५ नोभेम्बर १० सम्ममा मेजर जेनरल सर रोबर्ट मानसर्गको अगुवाइमा भारतीय सेनाका पूरै फिफ्थ कमाण्ड डिभिजन सुरबाया पुग्यो।

उक्त डिभिजनसँग सैन्य ट्याङ्क र लडाकु विमान पनि थिए।

दुई सातासम्म भएका कैयौँ साना ठूला लडाइँका माध्यमबाट सुरबायाको बन्दरगाह सहरलाई ब्रिटिश फौजले पुन: नियन्त्रणमा लियो।

नोभेम्बर २७ मा युद्ध रोकिँदा करिब साढे चार लाख जनसङ्ख्या भएको उक्त सहरमा करिब डेढ लाख त घरबार विहीन भएका थिए।

त्यहाँ करिब १६ हजार पेमुदा तथा इन्डोनेसियाली सैनिकहरू मारिएका थिए भने ठूलो सङ्ख्यामा आम नागरिक मारिनुका साथै करिब २० हजार घाइते भएका थिए।

मारिने भारतीय र अङ्ग्रेज सैनिकहरूको सङ्ख्या ५८८ थियो। त्यो ब्रिटिश सेनाको अन्तिम घातक लडाइ थियो।

त्यो कसरी भयो?

सन् १९४५ अगस्ट १५ मा जापानले विनासर्त समर्पण गरेको थियो। त्यसपछि पूर्व नेदरल्यान्डस् इस्ट इन्डिज (एनईआई) को अमेरिकी जेनरल डग्लस म्याकअर्थरको जिम्मामा रहेको दक्षिण पश्चिम प्रशान्त क्षेत्रको कमान्ड लर्ड लुइस माउन्टब्याटनको दक्षिण पूर्वी एशिया कमान्डमा सारियो।

त्यसबेला माउन्टब्याटनलाई जाभाको अवस्थाबारे खासै जानकारी थिएन।

उनैका लेखाइमा पनि त्यो देखिएको छ र उनले इन्डोनेसियामा पुन: सैनिक पठाउनुको अर्थ त्यहाँ रहेका जापानी सैनिकहरूलाई नियन्त्रणमा लिनु मात्र हो भन्ने बुझेको देखिन्छ।

तर त्यहाँ सैनिक पठाउँदा ब्रिटेनले के भोग्नुपर्‍यो त्यो माथि नै वर्णन भइसक्यो।

भारतीय सैनिकलाई के भयो?

इन्डोनेसियामा भारतीय फौज

तस्बिर स्रोत, Getty Images

सुरबायामा स्वतन्त्र सेनानीद्वारा मारिएका ब्रिटिश जेनरल आफैँ भारतीय फौजका अधिकारी थिए।

उनी ब्रिटिश भारतीय सेनाको पञ्जाब रेजिमेन्टका अधिकारी थिए।

उनको कमान्डमा मराठा लाइट इन्फ्रेन्ट्री र राजपूताना राइफल्सका सैनिकहरू पनि थिए।

जेनरल मानसर्गको पाँचौ भारतीय डिभिजन सुरबाया पुग्दा उनका साथ ११ वटा इन्फ्रेन्ट्री ब्रिगेड थिए।

त्यसमा सबैभन्दा धेरै गोर्खा सैनिकहरू पनि सामेल थिए।

उनले त्यहाँ पहिलो, पाँचौ, आठौँ, नवौँ र दशौँ गोर्खा राइफल्सलाई लिएर गए।

त्यस्तै पञ्जाब, सिख, जाट, बिहारी, बलुच, मराठा, हैदरावादी, राजपूताना राइफल्सका सैनिकहरू पनि उक्त युद्धमा सामेल भए।

भारतमा स्वतन्त्रताको आन्दोलन तीव्र भएका बेला इन्डोनेसियाका राष्ट्रवादीहरूलाई दमन गर्न भारतीय सैनिकहरू त्यहाँ पुगेका थिए।

भारतमा स्वतन्त्रता आन्दोलन, इन्डोनेसियामा त्यसैलाई दबाउने कोसिस

जुन बेला भारतीय सैनिकहरू इन्डोनेसियामा त्यहाँका स्वतन्त्रता पक्षधरमाथि दमन गर्दै थिए त्यसबेला भारतमा स्वतन्त्रताको आन्दोलन चलिरहेको थियो।

त्यसलाई बुझ्न भारतीय सैनिकहरूलाई खासै समय लागेन किनभने इन्डोनेसियाको स्वतन्त्रता सेनानीहरूले सुरबायाका पर्खालमा नेहरुलाई प्रशंसा गरिएका नाराहरू लेखेका थिए।

त्यहाँ टाँसिएका पोस्टरहरूमा एशिया र अफ्रिकाका विभिन्न स्थानमा जारी स्वतन्त्रता आन्दोलन दबाउन भारतीय सैनिकहरूलाई प्रयोग गर्न नहुने नेहरुले बताएको उल्लेख गरिएको थियो।

दोस्रो विश्वयुद्धपछि इन्डोनेसियामा ८ महिनासम्म अङ्ग्रेज सेना रहेका थिए। त्यसबेला उनीहरूको छवि क्रूर सैनिकको रह्यो। यद्यपि भारतीय मूलका सैनिकहरू इन्डोनेसियाको स्वतन्त्रताप्रति सहानुभूति राख्थे।

उक्त युद्धमा पाकिस्तानका सैन्य शासक मोहम्मद जिया-उल-हकले समेत भाग लिएका थिए।

ब्रिटिश भारतीय फौजमा सामेल उनी पछि पाकिस्तानी सेनामा सामेल भएर र सैन्य शासक पनि बने।

आधुनिक कालमा इन्डोसियामा ब्रिटिश संलग्नतालाई उनीहरूले प्रयोग गरेको अधिक हिंसा र क्रूरताका निम्ति सम्झिने गरिन्छ।

यद्यपि इन्डोनेसियामा भारतीय प्रभाव पुरानो छ र त्यहाँ अझै हिन्दू तथा बौद्ध सांस्कृतिक प्रभावका झलक देख्न सकिन्छ।

भावी पुस्ताका इन्डोनेसियालीका लागि पनि आफ्नो यो इतिहास थाहा हुनु आवश्यक छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply