ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति, फुटपाथ व्यवसायीका लागि विकल्प खोजिने

0

१० असोज, काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईःको आन्दालन रोकिने भएको छ ।

ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच बुधबार चार बुँदे सहमति भएपछि आन्दोलन स्थगित हुने भएको हो ।

मंगलबार ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण र महानगरका तर्फबाट नविन मानन्धरको नेतृत्वमा ५/५ सदस्यीय वार्ता टोलीले छलफल गरेर चार बुँदे सहमति गरेको थियो । त्यसमा कोटेश्वर चोकदेखि जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत अगाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्रमा तत्कालका लागि व्यापार गर्न दिने गरी अध्ययन गर्ने भनिएको थियो ।

‘दशैं–तिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरुलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने’ भनिएको थियो ।

तर, यो सहमतिको खाकामा काठमाडौंका मेयर बालेन शाहले संशोधन गरेर तोकिएका स्थानका नाम हटाएका थिए । उनका सचिवालयका सदस्यहरु वडाध्यक्षबाट दबाब आएपछि स्थानको नाम हटाइएको बताउँछन् । त्यो संशोधनपछि वार्ता बिथोलिएको थियो ।

बुधबार फेरि चौथो बुँदामा केन्द्रित रहेर महानगर र अभियन्ता ईः पक्षबीच छलफल भएको थियो । त्यसक्रममा चौथो बुँदालाई थप संशोधन गर्न दुवै पक्ष लचक बनेका छलफलमा सहभागीहरु बताउँछन् । त्यसक्रमपछि सहमतिको वातावरण बनेको छलफलमा सहभागी एक अधिकारीले बताए ।

चौथो बुँदाको तेस्रो शंशोधनमा पनि स्थान तोकिएको छैन । अनलाइनखबरलाई प्राप्त सहमतिको खाकामा भनिएको छ, ‘साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।’

यो सहमति हुने भएपछि अभियन्ता ईः ले आन्दोलन रोक्ने निर्णय गरेका हुन् । उनले ९ बजे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदैछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply