एक आक्रोशित पठाओ राइडरसँग संवाद !

0

धेरै पहिले पढेको थिएँ-टेन डाउनिङ स्ट्रिट, सेभेन रेस कोर्स, सिंहदरबार भनेका केवल ठाउँका नाम होइनन् । ती त शक्तिका नाम हुन् । त्यसैले सेतो रंग पोतेका जति सबै घरको शक्ति ‘ह्वाइट हाउस’को जस्तो हुँदैन ।

भारतीय दूतावास त्यहीं हुन्थेन भने नेपाली राजनीतिमा के ‘लैनचौर’ को यो स्थान हुन्थ्यो होला त ?

हुनत कुनै बेला त्यही लैनचौरमा रहेको बेलायती रेजिडेन्ट कार्यालयको पनि अत्यन्तै ठूलो प्रभाव रहेको थियो । जहाँ कोतपर्व भएको राति राजा राजेन्द्रविक्रम सहयोग माग्न जाँदा कार्यवाहक रेजिडेन्टले ‘हाम्रो रातिमा कसैलाई भेट्ने चलन छैन’ भनेर फिर्ता पठाइदिएको भनी इतिहासकार बाबुराम आचार्यले लेखेका छन् ।

यो स्थान-नामको प्रसंग सम्झिनुको कारण चाहिं के हो भने, अब ‘गौशाला’ले पनि स्थान मात्र नभई एउटा विम्ब र अर्थको स्वरुप प्राप्त गरेको छ ! यो शब्दले के-के कुरालाई प्रतिविम्बित गर्ला भनेर मैले भनिरहनु नपर्ला ! न्यायको आवाज उठाउने एक युवतीलाई अतिशय दुत्कार्ने ‘न्यायप्रेमी’ समाजको प्रतिविम्ब यो नामले लामो समयसम्म बोकेर हिंड्नेछ ।

*** ***

साझा बसमा बूढानीलकण्ठबाट जमलतिर जाँदै गर्दा एक दिन दुई युवाको रोचक संवाद सुन्न पाएको थिएँ । ‘पशुपतिप्रसाद’ को हिरोले आकाशतिर फर्केर आफ्ना दिवंगत बालाई ‘बा मैले ऋण तिर्न लागें, स्वर्गको ढोकामा लात हान्न तयार भएर बस’ भने जस्तो अमेरिका जाने ढोकालाई लात्ताले हानेर खोल्ने डीभी चिट्ठाबारे युवाहरू कुरा गर्दै थिए । बस महाराजगञ्जनेर आइपुगेपछि उनीहरूले यो कुन देशको एम्बेसी हो भनेर चर्चा गरे ।

एकले भने- ‘यो त अमेरिकाको रै’छ, हेर त त्यहाँ झन्डा पनि छ । डीभी पर्‍यो भने भिसा इन्टरभ्यू दिन यहीं आउनुपर्छ ।’

अर्काले भने- ‘एमसीसी पास गरेपछि एम्बेसी किन खोल्थेन ? आइसकेछ !’

डीभी भरेको अर्को युवाले अलि नरम स्वरमा भने, ‘एम्बेसी त पहिल्यै थियो ।’

आज पनि म साझा बसमा सवार छु । बस बाँसबारी-गंगालाल हस्पिटलनेर आइपुग्दा मेरो म्यासेज बक्समा एउटा समाचारको लिंक फुत्रुक्क खस्यो-चलचित्र विकास बोर्डले नेपाली फिल्म नगरीको नयाँ नामकरणका लागि भयंकर जोडबल गरिरहेको ! त्यसमा तीनवटा प्रस्तावित नाम पनि थिए-सिनेमाण्डु, कान्तिपुर फिल्म्स् र एभरेस्ट फिल्म्स् ।

फिल्म क्षेत्रमा नयाँ साइनबोर्ड झुन्ड्याउने रहर बोर्डलाई किन लागेको हो मलाई थाहा छैन । त्यसमाथि पनि कुनै प्राइभेट लिमिटेड जस्ता सुनिने यी नाम किन प्रस्ताव गरिएका हुन् भन्ने प्रश्न पनि मनमा आयो अनि तुरुन्तै विलायो । जुन कुरामा अर्थ खोज्नुको कुनै अर्थ छैन, त्यसमा व्यर्थमा किन ऊर्जा खर्च गर्नु ? नेपाली फिल्मको मौलिक आवाज र स्वाद हुनुपर्छ भन्ने बहसलाई बोर्डले नाममै भए पनि सार्थक बनाउन लागेको ठानेर मैले ध्यान अन्यत्र मोड्न खोज्दैथिएँ, लाग्यो- यो पनि त ठाउँको जस्तै नामकै कुरा हो । सायद, यससँग पनि पहिचान वा शक्तिको कुरा जोडिएको होला ।

नामकरण गर्दै जाने हो भने त नेपालका कुन-कुन क्षेत्रलाई के-के नाम उपयुक्त होलान् ? राजनीतिलाई के भन्ने होला ? शिक्षा क्षेत्रलाई के भन्ने होला ? उद्योग-व्यापार-व्यवसायलाई के नाम दिने होला ? अनि, खेलकुद क्षेत्रलाई ? साहित्य र पत्रकारिता ? स्वास्थ्य क्षेत्र ?

यो त एउटा व्यापक जनमत संग्रहको विषय आइगयो । भोलि कथंकदाचित राप्रपाले मागे जस्तो हिन्दु राष्ट्र, राजसंस्था वा संघीयताका विषयमा जनमत संग्रह भइहाल्ने भयो भने यो पनि एउटा प्रश्न सुटुक्क छिराउने हो भने ठूलै उपलब्धि हुनेछ !

मेरो मनमा हालको राजनीतिलाई सुहाउँदो एउटा नाम फ्याट्ट आयो- ‘राष्ट्रिय निराशा उत्पादन तथा मर्मत केन्द्र !’

यस्तो नाम किन आयो भन्नेबारे एक पठाओ राइडरसँगको संवादमा म आइपुग्नेछु ।

*** ***

२०६८ सालतिर कान्तिपुरमा एउटा फिचर-स्टोरी छापिएको थियो, जसको शीर्षक थियो- मालेस्ताएमा ! लेखक थिए-चेतन अधिकारी । भएछ के भने, झापातिर एकजना खुँखार कम्युनिस्ट कार्यकर्ता रहेछन् केपी ओलीका सहपाठी । कम्युनिस्ट भनेर पञ्चायतले दुःख दिएपछि फरार हुनुपरेछ । पुरानो नाममा खतरा भएपछि नयाँ नाम राख्नुपर्ने अवस्था आएछ । अनि उनले आफ्ना तत्कालीन ‘इष्टदेव’हरू सबैको नामको छोटकरी मिलाएर आफ्नै नामकरण गरेछन्- मालेस्ताएमा (माक्र्सको मा, लेनिनको ले, स्टालिनको स्ता, एंगेल्सको ए र माओत्सेतुङको मा) ! समय र परिस्थितिले वृद्धावस्थामा गेरु धारण गरी पुजारी काम गरिरहेका उनको आफ्नो जीवन र नामको बेमेलले अमिलिएको मनको कथा चेतन अधिकारीले लेखेका थिए ।

कति जाज्वल्यमान क्रान्तिकारी नामको दुःखद् वियोगान्त हुन्छ । केही वर्षअघि ‘प्रचण्ड’को पुष्पकमलमा कायाकल्पको आख्यान पनि हामीले पढिएको थियो । यसलाई आख्यान किन भनेको भने, मिलाएर गफदिन जान्नेलाई भेट्दा ‘तपाईं त राजनीति गर्नुपर्ने मान्छे !’ भनेर गफैलाई योग्यताको दर्जा दिने समाजमा गफ जोत्न नजान्नेको भागको सत्ता त गाउँका खेतबारी जस्तै बाँझै रहने भयो ।

*** ***

भारत–पाकिस्तान विभाजन माथि गुलजारको एउटा कथा छ- रावीपार । दंगाईहरूले बसिटिक्न नदिने भएपछि पाकिस्तानबाट आफ्ना ९–१० दिनका दुई जुम्ल्याहा छोरा लिएर एउटा सरदारको परिवार मालगाडीको छतमा बसेर अमृतसर फर्किंदैछ ।

आलो सुत्केरी भएकाले आमाको शरीरमा शक्ति छैन । जुम्ल्याहा छोरा समाउन सक्ने उनको हालत छैन । दुईमध्ये एउटा अलि बलियो छ, एउटा अलि कमजोर । टोकरीमा राखेर ल्याइएका यी दुईमध्ये कमजोरले बीचमै कतै अन्तिम सास फेरिसक्यो भनेर सरदारले थाहा पाउँछ । तर, आफ्नी पत्नीलाई भन्दैन ।

सहयात्रीले भन्छन्– उता शरणार्थी जीवन हुन्छ, त्यहाँ यो नवजातको शव लिएर कहाँ जान्छौ ? त्यसलाई कहाँ लगेर गाड्छौ ? बरु, पवित्र रावी नदी आइपुग्दैछ । रेलगाडी नदी माथिबाटै गुज्रिन्छ, कसैले थाहा नपाउने गरी यो बच्चा रावीलाई समर्पित गरिदेऊ ।

एकैछिनमा रेल नदीमाथि आइपुग्छ । सरदारले खुट्टाले धकेलेर टोकरी नदीमा हुत्याइदिन्छ । उसकी लखतरान परेकी पत्नी अर्को छोरो च्यापेर अर्धमृत जस्तो अवस्थामा लडिरहेकी हुन्छिन् । छोरो रावीलाई चढाएपछि सरदारले पत्नीको काखबाट जब अर्को छोरो लिन्छ, तब उसको मेरुदण्डको हड्डी समेत चिसो भएर आउँछ ।

छोरो त सितांगै छ । प्राणपखेरु त यसको पो उडेको रहेछ !! भर्खरै नदीमा जसलाई खसालियो त्यो त…. !

समय त्यसरी नै फुत्कँदो छ । कहिलेकाहीं लाग्छ, सपना ठानेर गफैलाई च्यापेर हामी कुनै मालगाडीको छतमा हिंडिरहेका छौं कि !

*** ***

मनमा देश बनाउने योजना र मस्तिष्कमा देश बिगार्नेहरूको सूची लिएर सडकमा कुदिरहेका पठाओ राइडरहरूसँग मेरो अक्सर सहयात्रा हुन्छ । निराशाको भुङ्ग्रोमा सेकिइरहेको गरिखाने वर्गको कथा सुन्नलाई अक्सर पठाओ चालकहरू उपयुक्त पात्रका रूपमा देखा परेका छन् । देश र समाजलाई हेर्ने एउटा ‘नजरिया’ प्रायः युवाहरूमा म पाउँछु ।

हालैको एक दिन आर्थिक मन्दी र कोरोनाको लकडाउनले मार हानेका एक पठाओ चालकको सवारी हुन पुगियो । उनको कोटेश्वरमा होटल थियो- खाजा र खानाको व्यवस्था भएको । राम्रो चलिरहेको थियो । कोरोना आइपुग्यो । एकहप्ते लकडाउन गाउँमा बिताएर रिचार्ज भएर फर्किने योजनामा गएका उनी ९ महिना उतै थुनिए । बिजुली–पानीको पैसादेखि भाडासम्म गर्दा केही लाख घरबेटीलाई बुझाउनुपर्ने भयो । त्यो बुझाए । पसल पनि अर्कालाई बुझाए । अनि सुरु भयो पठाओगिरी ।

उनको गुनासो छ– ‘हामी जस्ताको मर्का बुझिदिने कोही छैन, गरिखाने ठाउँ पनि छैन ।’ पठाओ चलाएरै सरदर महिनाको ४०–४५ हजार उनी कमाउँछन् । तर; डेरा भाडा, खानाखर्च, बच्चाको फि र अन्य खर्च गर्दा कत्ति पनि बच्दैन । ‘बाँच्न मात्रै पुगेर मान्छेलाई हुन्छ त ? मान्छेले प्रगति गर्ने ठाउँ हुनुपर्दैन ?’ उनी प्रश्न गर्छन् ।

उनको बुझाइमा काठमाडौंमा पठाओ चढ्ने मान्छेको संख्या पनि घटिरहेको छ । ‘एकथरी महँगो भयो भन्छन्, अर्काथरी विदेश गइसके’, उनले कारण पनि भने ।

‘म त सडकमा झन् भीड देख्छु, त्यस्तरी खाली भएको छ र ?’ म प्रतिप्रश्न गर्छु ।

‘देख्नुहुन्न हरेक दिन एअरपोर्टमा मान्छेको भीड ? यहाँ टिक्ने ठाउँ भए मान्छे विदेश जान्छ ?’ कुदिरहेको बाइकको इन्जिन जस्तै उनको दिमाग तात्यो ।

म उनको तातेको मस्तिष्कलाई केही समय शान्त बनाउनका लागि ‘राम्रो सुविधाको खोजीमा ठाउँ छोडेर अर्को ठाउँ चहार्ने मानिसको पुरानो प्रवृत्ति हो, त्यसैले हामी पनि आ-आफ्ना घर-गाउँ छोडेर शहरमा आइपुगेका हौं, हाम्रा पुर्खा अहिले घर बनाएका ठाउँमा आइपुगेका हुन्’ भनेर तर्कको पानी खन्याउन खोज्छु । तर, त्यसले झन् तेजाबको काम गर्छ ।

‘यहाँ देश खाली भइसक्यो, गाउँमा मलामी जाने मान्छे छैन । तपाईं सुविधाका कुरा गर्नुहुन्छ । अलि वर्षमा यहाँ एउटा पनि युवा बाँकी रहँदैन । अनि के हुन्छ ?’ यति भनिसकेपछि उनले कुराको चुरो खोले, ‘म पनि बाहिर जाने हो । अबको केही महिनामा परीक्षा छ, कोरिया गइयो भने पाँच वर्ष काम गरेर अलिकति कमाउन सकिएला ।’

यी मानिसको राजनीति, नेता र व्यवस्था तीनै कुराप्रति कुनै आकर्षण छैन । ‘थाहा त हाम्लाई सब छ, फेसबुक र युट्युबमा सब आउँछ’ उनले भने, ‘मलाई यी कुनै पनि मन पर्दैनन् ।’

*** ***

स्वप्नद्रष्टा र विदूषक बीचको भिन्नतालाई मसिनो धागोको भूमध्यरेखाले छुट्याएको हुन्छ । भनिन्छ, हरेक स्वप्नजीवी स्वप्नद्रष्टाको लोक र विदूषकको नगरतिर जाने दोबाटोमा उभिएको हुन्छ । त्यसैले वर्षौंदेखिको ‘सिंगापुरोन्मुख’ वा ‘स्विट्जरल्यान्ड’ बन्नलाई दुई क्यारेट अपुग भएको देशमा आफ्नै क्यारिकेचर गरिरहेका स्वप्नद्रष्टाहरूको कुनै कमी छैन ।

एकै व्यक्तिले प्रधानमन्त्रीका रूपमा एकै कार्यकालमा चारपटक विश्वासको मत प्राप्त गरेका छन् । यसपटक त विपक्षीको नाराबाजी र ठेलमठेलका बीच । यस्तो जोडबल लगाएर, यति धेरै पटक विश्वास सिद्ध गर्नुपरेको देख्दा लाग्छ- विश्वासजति अविश्वासिलो कुरा केही छैन !

मुख्य कुरा त विश्वास पाएका प्रधानमन्त्रीले अब गर्छन् के भन्ने हो । जीवनस्तर उकास्नलाई सरकार र प्रधानमन्त्रीले केही न कही योगदान गर्नेछन् भन्ने कत्ति पनि विश्वास नभएका ती पठाओ राइडरलाई जस्तै जनतालाई विश्वास भएन भने सदनको विश्वासले कुर्सी बाहेक केही दिने छैन । अर्को चुनावमा फेरि कोसँग गठबन्धन गरुँ, कसलाई आफ्नो सिट छोड्नलाई मनाउँ भनेर नै लाग्नुपर्ने परिस्थिति भयो भने विश्वासको मतको कति अर्थ रहला ?

जनसरोकार नभएका विषयमा, आपसी ईर्ष्या र प्रतिस्पर्धामा नै सबै ऊर्जा खर्च गरेर नेताहरूले समय बर्बाद गरिरहे जस्तो धेरै मानिसलाई लागिरहेको छ । हेर्दा यस्तो लाग्छ- नेताहरू को बढी शक्तिशाली हुने भन्ने दौडमा छन् । पार्टी फोरेर होस् कि जोडेर सत्ताको साँचो आफ्नो हातमा हुनुपर्ने हठ पकडिएका जस्ता देखिन्छन् । त्यसैले डेढ वर्षमा एउटा सडक विस्तार प्रोजेक्ट नसकिए पनि सरकारका तीनवटा समीकरण फेरिइसके !

भने जस्तै संविधान, चाहे जस्तै व्यवस्था र मागेजति भोट पाएका नेताहरूलाई देश उनीहरूले भने जस्तो ‘सिंगापुर’ बनाउन केले रोकेको होला ? नेपाली युवाहरूको ठूलो संख्याले युरोप, अमेरिका, खाडी-मलेसियामा नेपालीका बेग्लाबेग्लै ‘टापु’को निर्माण गरिरहेको छ ।

झट्ट मनमा आयो- कतै नेपालीको खुन-पसिनाको ‘सिंगापुर’ देश बाहिरै त बनिरहेको छैन ? फेरि तिनै राइडरको भनाइ सम्झिएँ– ‘देश बनाउने युवाजति विदेश पठाएर यो देश कसले बनाइदिन्छ ? अर्काको देशको थोरै सुविधालाई नै सबैथोक मान्ने हो भने त देशै किन चाहियो ?’

उनको यो तर्कमा मेरा केही ‘रिजर्भेसन’ थिए । तर, यो सडक-विद्वत् सभाको समय सकिइसकेको थियो । म गन्तव्यमा पुगिसकेको थिएँ ।

धेरै परिवारमा आफ्नो प्रमुख सदस्य लामो समय अनुपस्थित छन् । गाउँमा होनहार युवाको अनुपस्थिति चाडपर्व, हाटबजार, रंग-रमाइलो र मेलापातमा हरेक पटक महसुस हुन्छ । युवाहरूले जवानीको उत्कर्षमा जुन ‘वियोग’ भोगिरहेका छन्, त्यसको ठूलो सामाजिक मूल्य छ । के कुनै समाज यसरी नै खण्डीकरणमा जान्छ ?

बस वनस्थली आइपुगेको छ । मनमा एउटा दृश्य प्रकट भयो-ती पठाओ राइडरको बाइकमा ‘रावीपार’ को सरदार बच्चा च्यापेर गुडिरहेको !

के अवसरहरू यत्तिकै खेर गइरहेका छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply