एन्टार्क्‌टिक क्षेत्रका बरफहरू टुक्रँदा हजारौँ पेङ्ग्विनको मृत्यु

0
एम्परर पेङ्विनका बचेरा

तस्बिर स्रोत, Getty Images

दक्षिणी ध्रुव अर्थात् एन्टार्क्‌टिक क्षेत्रमा बस्ने एम्परर पेङ्ग्विनका बचेराहरूको मृत्युको सङ्ख्या बढ्ने क्रम देखा परेको छ।

त्यहाँ झण्डै १० हजार त्यस्ता कलिला पक्षीहरूको मृत्यु भएको अनुमान गरिएको छ।

ती चल्लाहरूले समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास गर्न सक्नु अघि नै मुनिको समुद्री बरफ पग्लिएपछि त्यस्तो अवस्था सिर्जना भएको हो।

ती चराहरू कि त डुबेर वा ठिहिरिएर मरेको हुनसक्ने बताइएको छ।

सन् २०२२ को अन्त्यतिर भएको त्यस्तो घटना उक्त महादेशको पश्चिमतर्फ बेलिङ्जहाउजन सागरमा तैरिएको क्षेत्रमा भएको थियो।

घटना भूउपग्रहमार्फत रेकर्ड गरिएको थियो।

ब्रिटिश एन्टार्क्‌टिक सर्भे (बीएएस)का डा पिटर फ्रेटवेल त्यहाँ भएको विनाश भविष्यमा हुनसक्ने घटनाको सङ्केत रहेको बताउँछन्।

इम्प्रेरर पेङ्विन

एम्परर पेङ्ग्विनको ९० प्रतिशत भन्दा धेरै बथान यस शताब्दीको अन्त्यसम्ममा लोप हुने प्रक्षेपण गरिएको छ।

उक्त महादेशको मौसमी बरफ सागरले पृथ्वीमा दिनदिनै बढिरहेको तापमानको मार खेपिरहेको छ।

“आफ्नो प्रजनन चक्रमा एम्पररहरू समुद्री बरफमा निर्भर हुन्छन्; चल्लाहरू हुर्काउनलाई यो स्थिर परिवेश हो। तर यदि त्यो बरफ हुनुपर्ने जति फराकिलो छैन वा धेरै छिटो टुट्यो भने यी चराहरू समस्यामा पर्छन्,” उनले बीबीसीसँग भने।

“आशा छ: हामीले विश्वव्यापी तापमान गराउने हाम्रो कार्बन उत्सर्जन कटौती गर्न सक्छौँ। तर यदि त्यसो गरेनौँ भने हामीले यी विशिष्टता भएका सुन्दर चरालाई लोप हुने अवस्थामा पुर्‍याउँछौँ।”

इम्प्रेरर पेङ्विन

डा फ्रेटवेल र उनका सहकर्मीहरूले मृत्युको उक्त क्रमका बारेमा ‘कम्युनिकेसन्स अर्थ एन्ड इन्भायरोमेन्ट’ जर्नलमा लेखेका छन्।

ती वैज्ञानिकहरूले बेलिङ्जहाउजन सागर क्षेत्रमा रहेमा पाँच वटा बथानलाई अवलोकन गरेका थिए। ती क्षेत्रहरू रोत्थ्सचाइल्ड टापु, भर्डी इनलेट, स्माइली टापु, ब्रायन प्रायःद्वीप र फ्रग्नर प्वइन्ट छन्।

ईयूको सेन्टिनेल-२ भूउपग्रहहरूको प्रयोग गरेर उनीहरूले पेङ्ग्विनका गतिविधिहरू अवलोकन गरेका थिए। पेङग्विनले सेताम्मे समुद्री बरफमा त्याग गरेका मलमूत्रको थुप्रोको आधारमा त्यस्तो अध्ययन गरिएको थियो।

खैरो रङ्गको त्यस्तो मलमुत्रको धब्बा भूउपग्रहबाट समेत देखिन्छ।

दक्षिणी गोलार्धमा मार्च महिनाको आसपास जाडो नजिकिँदै गर्दा वयस्क चराहरू समुद्री बरफमा हाम फाल्छन्।

उनीहरू त्यहाँ जोडी बन्ने, संसर्ग गर्ने र अण्डा पार्ने काम गर्छन्। ती अण्डाहरू कोरलेपछि बचेराहरू स्वयंमा भर पर्न सक्ने नभएसम्म आउँदा महिनासम्म तिनको हेरचाह गर्छन्।

एम्परर पेङ्ग्विन

त्यो सामान्यतः नयाँ चराहरू समुद्रमा आइपुग्ने समय डिसेम्बर/ज्यानुअरी महिनाको आसपास हुन्छ।

तर अनुसन्धान टोलीले देखे अनुसार नोभेम्बरमा एम्पररका बथान मुनिको समुद्री बरफ टुक्रिएको थियो।

त्यो हजारौँ चल्लाहरूले पौडी खेल्नको लागि आवश्यक चिल्लो प्वाँखहरू विकास गर्न समय पाउनुअघिको बेला थियो।

फलस्वरूप चारवटा बथानमा प्रजननपछिको प्रकृया पूर्णतः विफल भयो। उत्तरी क्षेत्र रोत्थ्सचाइल्डमा मात्र केही सफलता देखा पर्‍यो।

एन्टार्क्‌टिकको ग्रीष्मकालीन समुद्री बरफ सन् २०१६ पछि उल्लेखनीय रूपमा घटेको छ। जसले गर्दा उक्त महाद्वीपको वरिपरि जमेको पानीको कुल क्षेत्रमा नयाँ न्यूनतम रेकर्ड कायम भएको छ।

त्यसमा समग्र रूपमा सबैभन्दा कम बरफ सन् २०२१/२२ र २०२२/२३ को गर्मी याममा देखिएको थियो जतिखेर बेलिङ्जहाउजन सागर पूर्वरूपमा बरफको आवरणबिना देखिएको थियो।

जाडोको समुद्री बरफको अधिकतम मोटाई सामान्यतः सेप्टेम्बरमा पुग्छ जुन अब सामान्यतः भइरहने भन्दा निकै कम हुन्छ।

पौडिरहेको इम्प्रेरर पेङ्विन

तस्बिर स्रोत, Getty Images

डा फ्रेटवेल र सहकर्मीहरूका अनुसार एम्पररहरूले परिस्थितिमा आएको यस परिवर्तनको प्रभाव महसुस गरिरहेका छन्।

सन् २०१८ र सन् २०२२ को बीचमा थाहा भएकामध्ये ६० भन्दा बढी एम्परर पेङ्ग्विनमध्ये झण्डै एक तिहाइ कुनै न कुनै रूपमा समुद्री बरफको मोटाइमा आएको कमीबाट प्रभावित भएका थिए।

जुन कहिले याम सकिएपछि बरफ बन्ने कारण रहेको छ भने कहिले ती छिट्टै टुक्रने कारणले पनि भएको छ।

पृथ्वीको अर्को छेउ अर्थात् आर्क्‌टिकमा समुद्री बरफ दशकौँदेखि निरन्तर घट्दै गएको छ। यसको विपरीत एन्टार्क्‌टिक बलियो देखिन्थ्यो।

सन् २०१६ सम्म त्यो प्रत्येक अर्को वर्ष केही व्यापक बनेको थियो।

बीएएसका सहकर्मी डा क्यारोलाइन होम्स एन्टार्क्‌टिक समुद्री बरफकी विज्ञ हुन्।

उनले हाल देखा परेको त्यस्तो ह्रासको कारणहरू महाद्वीपको वरिपरि असामान्य रूपमा न्यानो समुद्रको पानी र वायुको एक विशेष प्रवृत्तिलाई जोडेर हेर्छिन्।

बेलिङ्जहाउजन सागरको हकमा त्यसले बरफलाई तटतिर धकेलिदिएर त्यसलाई फैलाउन गाह्रो बनाएको छ।

इम्प्रेरर पेङ्विन

उनले ती उल्लेख्यनीय समय रहेको बताइन्।

“हामीले अहिले देखिरहेका कुरा विगतमा देखेभन्दा निकै भिन्न छ। हामीले परिवर्तन हुने ठानेका थियौँ तर मलाई लाग्दैन कि हामीले यति छिटो परिवर्तन होला भन्ने आशा गरेका थियौँ,” उनले बीबीसी न्यूजसँग भनिन्।

“आर्क्‌टिक क्षेत्रमा भएका अध्ययनहरूका अनुसार हामीले केही गरी तापमानलाई उल्ट्याउन सक्यौँ भने उत्तरी ध्रुवको समुद्री बरफ पुनः देखा पर्न सक्छ। एन्टार्क्‌टिक क्षेत्रमा पनि त्यसो होला कि नहोला भन्ने हामीलाई थाहा छैन। तर पर्याप्त चिसो भयो भने समुद्री बरफमा सुधार हुनसक्छ।”

पृथ्वीमा निकै सङ्कटमा परेका जनावरका विवरण राख्ने संस्था इन्टरन्याश्नल यूनिअन फर कन्जरभेसन अफ नेचर (आईयूसिएन)ले हाल एम्पररहरूलाई “सङ्कटापन्न” सूचीमा राखेको छ।

इम्पररहरूलाई जलवायुको तापमानले जीवनमा पारेको खतरासँग जुझ्न थप आपत्कालीन सहायता चाहिने गरी “असुरक्षित” सूचीमा राख्न प्रस्ताव गरिएको छ।

Leave a Reply