एमाले कोशीको अध्यक्षमा ढकाल र खतिवडा मुख्य प्रतिस्पर्धी

0

एमाले नेताहरु घनश्याम खतिवडा (बायाँ) र विनोद ढकाल ।

११ असोज, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन शुक्रबार विराटनगरमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशनबाट नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेका छन् ।

तर अधिवेशन अगाडि भइरहेको तयारीले भने अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका आकांक्षी तुलसीप्रसाद न्यौपाने पछि हटेकाले पनि ढकाल र खतिवडाबीच प्रतिस्पर्धाको सम्भावना बलियो बनेको हो ।

अहिलेका प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङले भने आकांक्षा छोडेका छैनन् । ‘वर्तमान उपाध्यक्षले इच्छा देखाएपनि चुनावमा भिड्ने विनोद ढकाल र घनश्याम खतिवडाले नै हो,’ प्रदेशका एक नेताले भने, ‘ओलीको स्पष्ट लाइन आएको छैन, प्रदेशका केही नेताहरु खतिवडाको पक्षमा लागेका छन् ।’

ती नेताका अनुसार, पूर्व मुख्यमन्त्रीद्वय भीम आचार्य र शेरधन राई विनोद ढकालको पक्षमा खुलेका छन् । अग्नि खरेल, भानुभक्त ढकाल, गुरु बराल लगायत खतिवडाको पक्षमा छन् ।

खतिवडा पक्षमा लागेका नेताहरुले खतिवडालाई पार्टी अध्यक्ष ओलीको साथ रहने दाबी गरिरहेका छन् । ओलीसँग ढकालको सम्बन्ध बिग्रिएका कारण खतिवडाले समर्थन पाउने उनीहरुको तर्क छ ।

खतिवडा पूर्व सांसद तथा एमालेका पुराना नेता हुन् । केन्द्रीय सदस्य विनोद ढकाल मोरङ इञ्चार्ज हुन् । ढकाल र खतिवडा एमाले मोरङको पाँचौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

तत्कालीन एमालेमा माधवकुमार नेपाल पक्षबाट खतिवडा र ओलीको पक्षबाट ढकाल उम्मेदवार थिए । तर त्यसबेला ढकालले चुनाव जितेका थिए । तर पार्टीको नवौं केन्द्रीय महाधिवेशन अघि नेपाल पक्ष छाडेर खतिवडा ओलीतिर लागेका थिए ।

स्रोतका अनुसार ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ छ । तर, सुवासचन्द्र नेम्वाङको मृत्युपछि काललाई अप्ठयारो परेको छ । ‘हिजो नेम्वाङले ढकाललाई साथ दिएका थिए, मृत्युअघि अन्तिम फोन सम्वाद पनि ढकालसँगै भएको थियो’, एक नेता भन्छन् ।

प्रदेश अधिवेशनका लागि ९९७ जनाप्रतिनिधि छनोट भएर आइसकेका छन् । थप ५० जना मनोनयन गर्न बाँकी छ । पालिका र जनसंगठनबाट छनोट भएर आएकाहरुको स्पष्ट लाइन नखुलेपनि दुवै पक्षको आधा–आधा उपस्थिति भएको स्रोतको दाबी छ ।

प्रदेशले मनोनयन गर्दा आफ्नो पक्ष कमजोर हुने देखिएपछि ढकाल पक्षले मनोनयन गर्न मानेको छैन । मनोनयन नभए प्रदेशमा ९९७ जना मात्रै प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले मनोनयन गर्ने ५ प्रतिशतबारे छलफल भइरहेको बताए ।

प्यानल बनाउन रोक

प्रदेश अध्यक्ष न्यौपानेले अधिवेशनले सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने बताए । सर्वसम्मतको प्रयास असफल भए निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुने उनले बताए ।

तर निर्वाचन हुँदा कसैले प्यानल बनाउन नपाउने उनले बताए । निर्वाचनमा व्यक्तिगत रुपमा लड्नुपर्ने दाबी गर्दै उनले प्यानल बनाउन पार्टीले रोक लगाएको बताए ।

अन्य प्रदेशको अधिवेशनमा पनि प्यानल नबनेको बताउँदै उनले कोशी प्रदेशमा प्यानल बनाउन नदिने बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply