‘कागजसहितका रोबोटहरू’: पुटिनका कूटनीतिज्ञहरूलाई के भयो?

0
Russian President Vladimir Putin

कुनै समय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तय गर्ने विदेश नीतिमा रुसी कूटनीतिज्ञहरूको भूमिका अहम् हुने गर्थ्यो।

तर अहिले यसमा परिवर्तन आएको छ।

रुसले युक्रेनमा आक्रमण सुरू गरेसँगै उनीहरूको भूमिका साँघुरिँदै गयो। उनीहरू क्रेमलिनबाट आउने कुराहरू दोहोर्‍याउने मात्रै हैसियतमा सीमित भए।

बीबीसी रसियनले यस्तो सङ्कटको समयमा रुसको कूटनीति कमजोर हुनुको कारणबारे पूर्व कूटनीतिज्ञहरू तथा क्रेमलिनका पूर्व अधिकारीहरू र ह्वाइट हाउसका भित्रियाहरूसँग कुरा गरेको छ।

सन् २०२१ को अक्टोबरमा अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड बैठकका लागि मस्कोस्थित रुसी विदेश मन्त्रालयमा पुगिन्।

उनी बसेको टेबलको अर्कोतर्फ रुसका उपविदेशमन्त्री सर्गे रिअबकोफ थिए जसलाई नुल्याण्डले दशकौँ देखि चिनेकी र कैयौँ पटक भेटेकी थिइन्।

तर त्यसपटक भने परिस्थिति बदलिएको थियो।

रिअबकोफले यो पटक सबै कुरा पहिले नै रटेर आएको जसरि बोले। कागजको एउटा टुक्रा हेर्दै रुसको आधिकारिक धारणा दोहोर्‍याए र नुल्याण्डले कुराकानी सुरू गर्न खोज्दा प्रतिवाद गरे। उनले उक्त कुराकानीबारे सुनाएका दुई जना व्यक्तिका अनुसार नुल्याण्ड त्यो देखेर झस्किइन्।

उनले रिअबकोफ र उनका एक जना सहकर्मीलाई “कागज लिएका रोबोट”को रूपमा व्याख्या गरिन्। उनीहरूले कोठामा नभएका मानिसहरूसँग बोले जसरी कुराकानी गरेको उनले सुनाइन्।

यसअघि रिअबकोफ त्यस्तो थिएनन्। अमेरिकी समकक्षीहरूले उनलाई शान्त र व्यवहारिक वार्ताकारको रूपमा चिनेका थिए। दुई देशको सम्बन्धमा खटपट आएको समयमा पनि उनीहरू रिअबकोफसँग कुरा गर्न सहज मान्थे।

तर त्यो परिस्थितिमा पनि परिवर्तन आएको छ। वार्ता कक्ष बाहिर पनि रुसी कूटनीतिज्ञहरूले बढ्दो रूपमा गैर कूटनीतिक भाषाको प्रयोग गर्न थालेका छन्।

Victoria Nuland

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नूल्यान्डले रुसी कूटनीतिज्ञहरू रोबोट जसरी प्रस्तुत भएको बताइन्

“हामी पश्चिमाहरूको प्रतिबन्धहरूमाथि थुक्छौँ।”

“मलाई बोल्न दिनुहोस्। अन्यथा रुसका विशिष्ट क्षेप्यास्त्रहरूले के गर्न सक्छन् त्यो तपाईँहरूले साँच्चिकै थाहा पाउनुहुनेछ।”

“मूर्खहरू,” र त्यसअघि अपशब्दको प्रयोग।

माथिका अभिव्यक्तिहरू सबै नै हालैका वर्षहरूमा रुसको विदेश मन्त्रालयका विशिष्ट अधिकारीहरूले बोलेका भाषाका उदाहरणहरू हुन्।

यो अवस्था कसरी आयो त?

नयाँ शीतयुद्ध

पुटिनले सन् २००० मा बीबीसीसँग रुस नेटोसँग सहकार्य गर्नका लागि तयार रहेको बताएका थिए। उनले उक्त “गठबन्धनमा सहभागी हुनेसम्मको सहकार्य हुनसक्ने र आफ्नो देश युरोपबाट एक्लिएको आफूले कल्पना गर्न नसक्ने” बताएका थिए।

अहिले युक्रेनमाथि रुसी आक्रमण र त्यसयता रुसले सामना गरिरहेको अन्तर्राष्ट्रिय प्रतिबन्धको सन्दर्भमा पुटिनले कुनै समय त्यस्तो भनेका थिए भनेर कल्पना गर्न पनि कठिन छ।

तर आफ्नो राष्ट्रपतीय कार्यकालका सुरुआती दिनहरूमा पुटिन पश्चिमा देशहरूसँग सहकार्य गर्न उत्सुक रहेको क्रेमलिनका पूर्व वरिष्ठ अधिकारीले बीबीसीसँग बताएका छन्।

त्यो सहज समयमा पनि त्यहाँको विदेश मन्त्रालय “अर्धसैनिक निकाय जस्तो रहेको र त्यहाँ रचनात्मक कुराहरू निकै कम भएको” ती पूर्व अधिकारी बताउँछन्।

यी सबैका बाबजुद रुसी कूटनीतिज्ञहरू पुटिनको टोलीका महत्त्वपूर्ण सदस्य थिए र उनलाई चीन र नर्वेसँगको सीमा विवाद समाधान देखि युरोपेली देशहरूसँगको सहकार्यका गहन वार्ताहरूमा पनि सहयोग गरे। जोर्जीयामा भएको विद्रोहपछि शान्तिपूर्ण रूपान्तरणमा पहल गर्ने पनि तीनै रुसी कूटनीतिज्ञहरू थिए।

तर जब पुटिन धेरै अनुभवी र शक्तिशाली भए उनी आफूसँग सबै कुराको जवाफ रहेको ठान्न थालेको कार्नेगी रसिया युरेसिया सेन्टरका निर्देशक एलेक्जेन्डर गबुएफ बताउँछन्।

हाल बर्लिनमा निर्वासनमा बसिरहेका उनी अहिले पुटिनले कूटनीतिज्ञहरू आफ्नालागि अनावश्यक रहेको ठान्न थालेको बताउँछन्।

नयाँ शीतयुद्ध सुरू हुन लागेको भन्ने सङ्केत सन् २००७ मा पुटिनले म्युनिखमा आयोजित एउटा सुरक्षा सम्मेलनमा गरेको भाषणमै झल्किन्थ्यो। त्यसबेला पुटिनले पश्चिमा देशहरूमाथि एकध्रुविय विश्व बनाउन खोजेको आरोप लगाउँदै ३० मिनेट लामो आक्रामक भाषण गरेका थिए। रुसी कूटनीतिज्ञहरूले तत्कालै उनको कुरा दोहोर्‍याउन सुरू गरे।

त्यसको एक वर्षपछि जब रुसले जोर्जियामा आक्रमण गर्‍यो त्यस बेला रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले यूकेका विदेश मन्त्रीलाई “मलाई सिकाउने तिमी को हौ,” भनेर अपशब्द प्रयोग गरेको भन्ने विवरण सार्वजनिक भएका थिए।

यसका बाबजुद पनि पश्चिमा अधिकारीहरूले रुससँग मिलेर काम गर्नु उचित नै ठानेका थिए।

सन् २००९ मा रुसका विदेश मन्त्री लाभ्रोभ र अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले सुरक्षा मामलामा सहकार्यको पुनः नौलो सुरुवात गरे। तर समयक्रमसँगै पश्चिमा अधिकारीहरूले रुसका समकक्षीहरू पश्चिमा विरोधी पुटिनको धारणा र विचारको सुगा रटाई गरिरहेको आभास पाएको अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाका राष्ट्रिय सुरक्षा उपसल्लाहकार बेन रोड्स बताउँछन्।

Ben Rhodes (L) Obama and Denis McDonough (R)

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

बेन रोड्सले ओबामासँग काम गरेका थिए

सन् २००९ मा ओबामा र पुटिनले सँगै बिहानको खाजा खाएको समय उनी सम्झन्छन्। उनका अनुसार पुटिन सहकार्यका विषयबारेको छलफलमा भन्दा विश्वबारे आफ्नो धारणा सुनाउनेमा बढि अग्रसर देखिए। उनका अनुसार पुटिनले ‌ओबामाका पूर्ववर्ती जर्ज डब्ल्यू बुसमाथि पनि रुसलाई धोका दिएको आरोप लगाए।

सन् २०१०को दशकबाट रुसी राष्ट्रपतिले अन्तर्राष्ट्रिय राजनीतिमा धेरै ध्यान दिन सुरू गरे। सँगसँगै उनले आफ्नै विदेश मन्त्रालयबाट सुझावहरू पनि लिन छोडे।

अरब क्रान्तिसँगै अमेरिका लिबिया मामलामा संलग्न भयो। रुसमा सन् २०११ र २०१२ मा सडक प्रदर्शनहरू भए। त्यससँगै पुटिनले कूटनीतिले आफूले चाहेको ठाउँमा उनलाई नपुर्‍याउने निष्कर्ष निकालेको रोड्स बताउँछन्।

“मेरो विचारमा उनीहरू [रुसी कूटनीतिज्ञहरू] ले पुटिनले ध्यान नपुर्‍याएका केही क्षेत्रहरूमा काम गर्नसक्छन्,” सन् २०१७ मा ह्वाइट हाउस छोडेका रोड्स भन्छन्।

“तर युक्रेन मामलाजस्ता केही निश्चित विषयहरूमा उनीहरूले केही प्रभाव पार्नसक्छन जस्तो मलाई लाग्दैन।”

यसको एउटा गतिलो उदाहरण लाभ्रोभ आफैँ हुन्। उनी आजभन्दा २० वर्षअघि नियुक्त हुँदा “अन्तर्राष्ट्रिय मामलामा उनको आफ्नै दृष्टिकोण र अडान” रहेको क्रेमलिनका एक जना पूर्व अधिकारीले बीबीसीलाई बताए।

उनको धारणा पुटिन भन्दा फरक आउन सक्ने थाहा हुँदाहुँदै पनि क्रेमलिनले उनीसँग सल्लाह लिने गरेको राजनीतिक विश्लेषक गबुएफ बताउँछन्।

तर सन् २०२२ मा रुसले युक्रेनमा सेना पठाएको कुरा विदेशमन्त्री लाभ्रोभ आफैँले युद्ध सुरू हुनुभन्दा केही घण्टा अघि मात्रै थाहा पाएको फाइनान्सल टाइम्सको एउटा विवरणमा उल्लेख छ।

Obama and Putin meet in 2009

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

पुटिन र ओबामाबीच सन् २००९ मा भेट भएको थियो

यद्यपि यूकेका लागि मस्कोका राजदूत आन्ड्रे किएलिन रुसी कूटनीतिज्ञहरूको प्रभाव कम भएको कुरा अस्वीकार गर्छन्।

कूटनीतिक सेवामा आफू आबद्ध भएदेखि नै पश्चिमा देशहरूसँगको सम्बन्धमा काम गरेका उनीसँग केही प्रसङ्गहरूमा तीतो अनुभव पनि छ।

बीबीसीसँगको अन्तर्वार्तामा उनले पश्चिमा देशहरूसँगको सम्बन्धमा असहजता देखिनुको जिम्मेवारी कुनै एक कूटनीतिज्ञ वा मस्कोले लिनु पर्ने कुरा अस्वीकार गरे।

“त्यहाँ भएको विध्वंस हाम्रा कारण भएको होइन,” उनी भन्छन्।

“हाम्रो समस्या किएभको सत्तासँग हो। त्यसबारे हामीले गर्नसक्ने केही छैन।”

वार्ताको सट्टा सैन्य बल प्रयोग गर्ने रुसी निर्णय कूटनीतिक असफलता भएको उनी ठान्दैनन्।

“युद्ध पनि अर्को अर्थमा कूटनीतिकै निरन्तरता हो,” उनले भने।

नयाँ भाषा

आफ्नो प्रभाव कम हुँदै गएपछि रुसका विदेश नीतिमा काम गर्ने अधिकारीहरूले आफ्ना गतिविधि रुसमै सीमित राखेका छन्।

मस्कोको विदेश नीतिको यो नयाँ अध्यायको सबैभन्दा सुस्पष्ट सङ्केत सन् २०१५ मा विदेश मन्त्रालयको प्रवक्ता बनेकी मरिआ जफारोभा हुन्।

“उनीभन्दा अगाडि कूटनीतिज्ञहरू कूटनीतिक रूपमै प्रस्तुत हुन्थे। निखारिएको अभिव्यक्ति दिन्थे,” पूर्व कूटनीतिज्ञ बोरिस बोन्डारेफ भन्छन्।

“हामी त्यसको परिणामबारे पनि चिन्ता व्यक्त गर्छौँ। सहमतिको आशा राख्छौँ। त्यस्तै त्यस्तै।”

जफारोभा को आगमनसँगै विदेश मन्त्रालयका ब्रिफिङहरू रमिता बने। कठिन प्रश्न गर्ने पत्रकारहरूलाई उनले बारम्बार चर्को स्वरमा गाली गर्नुका साथै अरू देशले गरेका आलोचनाप्रति अपमानपूर्ण प्रतिक्रिया दिएकी छिन्।

Maria Zakharova

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मरिआ जफारोभा नाटकीय शैलीमा प्रस्तुत हुने गरेको आरोप छ

उनका कूटनीतिक सहकर्मीहरू पनि त्यसरी नै प्रस्तुत भएका छन्।

जेनेभामा रहेको संयुक्त राष्ट्रसङ्घको कार्यालयस्थित मस्कोको मिसनमा काम गरेका बोन्डारेफ एउटा बैठकमा रुसी प्रतिनिधिमण्डलले सबै प्रस्तावहरू अस्वीकार गरेपछि स्वीजरल्यान्डका सहकर्मीहरूले गुनासो गरेको घटना स्मरण गर्छन्।

त्यसको प्रतिक्रियामा हामीले उनीहरूलाई के भन्यौँ भने, ‘समस्या के हो? हामी ठूलो शक्ति राष्ट्र हौँ र तिमीहरू मात्र स्वीजरल्यान्ड हौ।‘ [रुसको] कूटनीति यही हो,” बोन्डारेफ भन्छन्।

यो भाषा रुसका विदेशी साझेदारहरूतर्फ नभई आन्तरिक मानिसहरूप्रति लक्षित रहेको विदेशनीति विश्लेषक गबुएफ बताउँछन्।

“उनको जिम्मेवारी रुसको विदेशनीतिबारे आफ्ना जनताहरूमाझ गर्व बढाउने हो। रुसको विदेशनीतिमा आएको परिवर्तन दर्साउने यो एउटा मापक हो। यो बाहिरी विश्वका लागि गर्ने सञ्चारको शैली होइन,” उनले भने।

बोन्डारेफका अनुसार अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुने रुसी प्रतिनिधिहरूले वास्तविक उपलब्धि भन्दा पनि उनीहरूले कसरी रुसको हित रक्षा गरे भन्नेबारेको प्रतिवेदन औपचारिक कुटनितीक टेलिग्राममा मस्को पठाउँछन्।

Boris Bondarev

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

बोरिस बोन्डारेफले युक्रेन युद्ध सुरू भएपछि रुसी कूटनीतिज्ञको जिम्मेवारीबाट राजीनामा दिएका थिए

उनी सन् २०२२ को ज्यानुअरीमा जेनेभामा रिअबकोफ र अमेरिकीहरूबीच भएको रात्रीभोज सम्झन्छन्।

उक्त भोजमा सहभागी अमेरिकाकी प्रथम उपविदेशमन्त्री वेन्डी सर्मनले अन्तिम क्षणमा वार्ताबाट युक्रेनमाथिको आक्रमण रोक्न प्रयास गरेकी थिइन्।

बोन्डारेफ अमेरिकाले छलफलका लागि प्रयत्न गरे पनि रुसी विदेशमन्त्री रिअबकोफ आफूहरूलाई जसरी पनि युक्रेन चाहिने अडानमा प्रस्तुत भएका थिए। उनले अमेरिकीहरू सन् १९९७ कै नेटो सीमामा बस्न चेतावनी दिएपछि बलियो व्यक्तित्व भएकी सर्मन पनि कमजोर जस्तो देखिएकी थिइन्।

उनका अनुसार रिअबकोफ यसअघि नरम शैलीमा प्रस्तुत हुनेगर्थे तर त्यस दिन उनले टेबल ठोकिरहेका थिए।

पछिल्ला वर्षहरूमा अरू देशहरूको पनि कूटनीतिक भाषामा सानै मात्रामा भए पनि परिवर्तन आएको छ।

केही वर्ष अघि संयुक्त राष्ट्रसङ्घमा मानव अधिकारका लागि जापानका प्रतिनिधि हिडेआकी उएडाले सबै विदेशी सहकर्मीहरूलाई एउटा बैठकमा “चुप लाग” भनेका थिए।

यूकेका रक्षामन्त्री रहेका बेला ग्याभिन विलिअम्सनले पनि यस्तै शब्द रुसीहरूसँग प्रयोग गरेका थिए। जर्मनीका लागि युक्रेनका राजदूतले पनि गत वर्ष जर्मन चान्सलर ओलाफ सोल्टस् बारे नराम्रो शब्द प्रयोग गरेका थिए।

‘अमेरिकाले चुट्की बजाएर युद्ध रोक्न सक्दैन’

डेढ वर्षसम्म चलेको युद्ध अब कूटनीतिक पहलबाट अन्त्य होला त?

बीबीसीले कुरा गरेका अधिकांश मानिसहरूले यसको सम्भावना खासै नरहेको बताए। पूर्व कूटनीतिज्ञ बोन्डारेफका अनुसार कूटनीतिका ९५ प्रतिशत कामहरू अनौपचारिक रूपमा अघि बढ्छन्। जसमा अनौपचारिक बैठक र कफी भेटहरू हुन्छन्। उनका अनुसार कुराकानी पातलो भएसँगै यस्ता गतिविधिहरू पनि घटेका छन्।

रुसका राजदूत केलिनलाई यूकेको संसद्‌मा प्रवेश गर्न रोक लगाइएको छ। उनका अनुसार एउटा विन्दुमा लन्डनस्थित रुसी दूतावास ग्याँस र बिजुलीको आपूर्तिबाट समेत करिब वञ्चित अवस्थामा पुगेको थियो। बीमा कम्पनीहरूले पनि दूतावासका कारहरूको बीमा गर्न अस्वीकार गरेका थिए।

सार्वजनिक नीतिका क्षेत्रमा काम गर्ने आरएएनडी संस्थाका विश्लेषक स्यामुअल क्यारप ढिलो वा चाँडो वार्ता गर्नै पर्ने बताउँछन्। वार्ताको विकल्प कुनै एक देशको पूर्ण जित मात्रै हुने र त्यो अहिलेकै अवस्थामा दुवै पक्षका लागि असम्भव जस्तै देखिएको उनी बताउँछन्।

President Putin with Russian Foreign Minister Sergey Lavrov

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

रुसी राष्ट्रपति र विदेशमन्त्री सेर्गेइ लाभ्रोभ

तर वार्ता पनि छिट्टै हुने सम्भावना उनले देखेका छैनन्।

“सत्तामा रहँदा रहँदै पुटिन नाटकीय रूपमा परिवर्तन भएका छन्,” उनी भन्छन्।

“र प्रस्ट भन्नुपर्दा उनी त्यसमा सहभागी हुन चाहन्छन् जस्तो मलाई लाग्दैन।”

युक्रेनी अधिकारीहरूका अनुसार रुसले सम्झौता भन्दा आफ्नो कब्जामा रहेका युक्रेनी भूभागहरू टुक्राउन प्रस्ताव गरिरहेको छ जुन कुरा युक्रेन स्वीकार गर्न तयार छैन। त्यसका लागि युक्रेनलाई उसका पश्चिमा सहयोगीहरूले पनि साथ दिइरहेका छन्।

सन् २०२३ को सेप्टेम्बरसम्म रुस कूटनीति भन्दा सैन्य गुप्तचरी सेवा, भू-आर्थिक शक्ति, सैन्य अस्त्र जस्ता कुराहरूबाट प्रभाव बढाउन खोजिरहेको छ।

यस्तो परिस्थितिमा रुसी कूटनीतिज्ञहरू किन प्रतिवाद गर्दैनन् र परराष्ट्र सेवाबाट एक साथ राजीनामा दिने तहमा उत्रिँदैनन्?

“यो त्यहाँ १० देखि २० वर्षसम्म काम गरेका सबैका लागि समस्या भएको छ,” क्रेमलिनका एक जना पूर्व कर्मचारीले बीबीसीसँग भने।

“तपाईँहरूसँग अन्य विकल्प छैन। यो डरलाग्दो छ।”

बीबीसीको एउटा स्रोतले सेर्गेइ लाभ्रोभसँग भेट हुँदाको क्षणबारे यसरी बताए।

“उनी निकै थकित र विचलित देखिन्छन्। युद्ध उनको चिन्ताको विषय होइन। तर उनका लागि अवकाशपछि जाने ठाउँ छैन। उनी पदमा लामै समय बसिसके। त्यस कारण उनी आफ्नो कुर्सी जोगाउनका लागि मात्रै भए पनि त्यहाँ बसिरहन्छन्।”

Leave a Reply