किन हुन्छ डाक्टरमाथि कुटपिट ?

0

आजभोलि डाक्टर कुटिएको, अस्पताल तोडफोड गरिएको र विरामीहरूले उपचार नपाएको समाचार दिनानुदिन आइरहेका छन् । आखिर डाक्टर किन कुटिन्छन् ?

केही समयअघि हेटौंडामा डाक्टर कुटिए । चिकित्सकहरूले आन्दोलनको घोषणा गरे र घटना साम्य भयो । त्यस्तै पोखराको मणिपाल, चितवन, काठमाडौंको जोरपाटी र सिनामंगलका ठूला अस्पताल र मेडिकल कलेजका डाक्टर पनि समय–समयमा कुटिंदै आएका छन् ।

अर्कोतर्फ माइतीघरमा डाक्टरहरूले सेतो कोट लगाएर सरकारसँग सुरक्षा र सहज रूपमा काम गर्ने वातावरणको ग्यारेन्टीको माग गरिरहेका छन् भने विरामीहरू अस्पताल धाउँछन्, उपचार पाउँदैनन् र भगवानलाई सराप्दै घर आएर मृत्युलाई पर्खिरहेका छन् ।

यहाँ सरकार कहाँ छ ? जीवनभर कर तिर्दा–तिर्दा ख्याउटे भएका आमनागरिक जीवनको उत्तरार्धमा सन्तान वियोग, आर्थिक अभाव र असहज मृत्युवरणको समेत वातावरण नपाएर मर्न बाध्य छन् ।

हामीले डाक्टर भन्नेवित्तिकै सेतो कोट लगाएको, घाँटीमा बि.पी.सेट भिरेको, टाठो, मृदुभाषी र विरामीका बारेमा सबै कुरा जानेको मानिस भन्ने ठान्छौं । अझ त्यो डाक्टरले हाम्रो शरीर छामछुम पारेर लामो सास फेर्नुस् भन्दै लामो समय लगाएर जाँच्यो भने त डाक्टरलाई हामी भगवान नै सम्झन्छौं ।

यतिसम्म त डाक्टर र विरामीबीचको सम्बन्ध सुमधुर नै हुन्छ । केही विरामी यत्तिकै निको पनि हुन्छन् । तर रोगको प्रकृति थाहा पाउन वा थाहा पाएपछि डाक्टरले विरामीलाई विभिन्न जाँच गर्ने आदेश दिन सुरु गर्छ ।

रगत, दिसा, पिसाब जाँच गर्ने, एक्सरे, सि.टी.स्क्यान, अल्ट्रासाउण्ड लगायतका निदानात्मक जाँच गर्न लगाउँछ । त्यसपछि डाक्टर र विरामीको सम्बन्धमा चिसोपन सुरु हुन्छ । तर त्यति वेलासम्म विरामी र आफन्तले डाक्टर विरुद्ध कुनै नकारात्मक प्रतिक्रिया देखाउँदैनन्, उपचार चलिरहन्छ ।

डाक्टरको आदेश अनुसार विरामी वा आफन्तले सबै आदेश पालन गर्दै जान्छन् । किनकि आफ्नो विरामी निको भएर घर जान्छन् भन्ने विश्वास भइरहेको हुन्छ ।

विरामी र डाक्टरबीचको सम्बन्धमा विरामीको उमेरले पनि प्रभाव पार्दछ । विरामीको उमेर अलि धेरै छ भने आइपर्ने कुनै पनि अवस्थालाई दुवै पक्षले सहज रूपमा लिन सक्छन् । तर विरामीको उमेर, अवस्था र रोगको प्रकृति त्यति जटिल नभएको र कुनै अप्रिय घटनाको कल्पना नगरिएको अवस्था सृजना भयो भने त्यहाँ डाक्टर र विरामीको सम्बन्ध एक्कासी लडाईंका लागि तयार दुवै पक्षको सैनिकको जस्तो हुन पुग्दछ ।

यो अवस्थामा डाक्टरहरू आफ्नो मालिक वा रोजगारदाताकहाँ सहयोगको लागि जान्छ भने विरामीका आफन्तहरूले सकेसम्म धेरै मानिस जम्मा गरी दबाब दिन सुरु गर्दछन् ।

विरामीको सहयोगको लागि आउने मानिसहरू पेशेवर पनि हुन सक्छन्, आजभन्दा १५ वर्ष अगाडि एयरपोर्टमा गरिएको आन्दोलन, पशुपतिनाथ मन्दिरको पुजारीको आन्दोलन र नेपाल मेडिकल कलेजमा विरामीको मृत्युलाई लिएर गरिएको आन्दोलनमा एउटै समूह संलग्न भएको यो लेखकले फेला पारेको थियो ।

अस्पतालमा विरामीका आफन्तले गर्ने तोडफोड र डाक्टर माथिको आक्रमणका मुख्य गरी तीन वटा उद्देश्य देखिन्छन् । पहिलो भनेको विरामीका आफन्त गुमाउनु पर्दाको पीडा सहन गाह्रो भई विरामीका आफन्त उत्तेजित हुनु, दोस्रो मानिस त गइहाल्यो उसको आफन्तलाई सहज जीवनयापन गर्न केही रकम अस्पतालले दिइहाल्छ कि भन्ने र तेस्रो अराजकता सिर्जना गरी अस्पताल र डाक्टरलाई पूरै मानसिक दबाब दिएर ठूलो रकम हात पार्ने र केही रकम विरामीको आफन्तलाई दिएर अरू बिचौलियाले खाने ।

यी तीन वटा उद्देश्यले अस्पताल तोडफोड हुन्छ वा डाक्टर कुटिन्छन् । यसमा अर्को कारण पनि थप्न सकिन्छ, त्यो के हो भने अस्पतालले विरामीलाई लुटेर धेरै पैसा कमाएका छन् ।

धेरै कानुन मिचेर पनि कमाएका छन्, त्यसैले आफ्नो कमजोरी बाहिर नआओस् र विरामी पनि नघटुन् भनेर पनि यो झञ्झटमा फस्नु भन्दा केही रकम दिएर पठाइदिएपछि हाइसञ्चो हुन्छ भनेर पैसा दिइहाल्छ । यसअघि पनि धेरै ती अस्पतालले यस्तो घटना गुपचुपमा पैसा दिएर मिलाएका छन् भनेर पनि अस्पतालमा यस्ता गतिविधि दोहोरिरहेका छन् ।

अब अस्पताल वा डाक्टर पक्षको मानसिकताको चर्चा गरौं ! हाम्रो देशमा निजी अस्पतालहरू शहरकेन्द्रित छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा १५ हजारभन्दा धेरै स्वास्थ्य संस्था दर्ता भए पनि अहिले देशभरि लगभग ३०० अस्पतालले निजी स्तरबाट स्वास्थ्य सेवा दिइरहेको छन् भने यसमा करिब २० वटा मेडिकल कलेजले ठूलो स्केलमा स्वास्थ्य सेवा दिइरहेका छन् ।

देश भित्र र बाहिरबाट उत्पादित स्वास्थ्यकर्मी र डाक्टरहरूले यिनै अस्पतालमा काम गरिरहेका छन् । यी अस्पतालमध्ये ठूला अस्पताल र मेडिकल कलेजमा पुराना ठूला डाक्टर वा उद्योगपतिको लगानी छ भने साना र मझौलास्तरका अस्पतालमा त्यहीस्तरका डाक्टर वा व्यापारीको लगानी छ । केही अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीका अस्पताल पनि हामीकहाँ छन् । तर त्यस्ता अस्पतालमा आम नेपालीले सेवा लिन सक्दैनन् ।

हाम्रो देशमा कार्यरत डाक्टरलाई दुई वर्गमा बाँड्न सकिन्छ । एउटा उपल्लो वर्गका डाक्टर जो पुराना, नाम चलेका, प्रशस्त पैसा कमाएका र विभिन्न क्षेत्रमा लगानी गरी राज्य संचालनमा प्रत्यक्ष प्रभाव पार्न सक्ने वर्गका डाक्टर र अर्काथरी ऋण र धेरै दुःख गरेर पढेका अस्पतालमा २४ सै घण्टा खटिने विरामीको सेवा गर्ने र आफ्नो भविष्य राम्रो बनाउन थोरै पारिश्रमिकमा पनि इमानदारीपूर्वक धेरै काम गर्ने डाक्टर । यिनै डाक्टर नै पटक–पटक विरामी र मालिकको निशानामा पर्ने दोस्रो दर्जाका डाक्टरहरू हुन् ।

यी अस्पतालका सञ्चालकको एउटै उद्देश्य भनेको जसरी पनि पैसा कमाउने भन्ने हुन्छ । त्यस्तै मेडिकल कलेज सञ्चालकको उद्देश्य धेरै मेडिकल कलेज खोल्ने या किन्ने युनिभर्सिटी बनाउने देशको राजनीतिको मूल केन्द्रमा प्रवेश गरी आफू र आफ्नो कम्पनीलाई फाइदा पुग्ने कानुन बनाउने र समग्र स्वास्थ्य क्षेत्रमा आफ्नो पकड जमाउने भन्ने हुन्छ ।

यही योजना अन्तर्गत अहिले केही मेडिकल सञ्चालकहरू राज्य सञ्चालनको महत्वपूर्ण ठाउँमा समेत पुगिसकेका छन् ।

यी मेडिकल सञ्चालकले आफ्नो स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी डाक्टरहरूलाई विरामीको सेवाभन्दा पैसालाई प्राथमिकतामा राखेर काम गर्न समय समयमा निर्देशन दिने गर्छन् । जस्तैः इमर्जेन्सीमा आएको विरामीलाई सकेसम्म एकदिन भए पनि भर्ना गर्नु, आवश्यक नभए पनि विभिन्न जाँचहरू गर्न लगाउनु, आफैं सुत्केरी हुने भावना भए पनि अप्रेशन गर्न दबाब दिनु, आईसीयूमा राख्न नपर्ने विरामीलाई आईसीयूमा राख्नु, महङ्गा जाँचहरू जस्तै सिटी, एमआरआई लगायतका जाँच गर्न लगाउनु र यी जाँचहरूको चर्को मूल्य असुल्नु भनी सञ्चालकले डाक्टरलाई निर्देशन दिने गर्दछन् ।

यदि डाक्टरले निर्देशन नमान्ने र विशुद्ध डाक्टरी सेवा मात्र दिएमा उसलाई विभिन्न बहाना बनाई जागिर खाइदिने गर्दछन् । ती काम गर्ने डाक्टरलाई अस्पताल सञ्चालकले मानसिक रूपमा अमानवीय काम गर्न दबाब दिइरहेको अवस्थामा ती काम गर्ने डाक्टरहरू दोहोरो चेपुवामा परिरहेका छन् ।

हालसालै काठमाडौंको स्यूचाटारमा एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना बटुवा घाइते भए । त्यहाँ एक जना अस्पतालका सञ्चालक रहेछन्, उनले घाइतेलाई आफ्नो अस्पतालमा लगेर उपचार गर्न भन्दै ललितपुरको धोबीघाटतिरको एक अस्पतालमा पुर्‍याए एकजना सामान्य थिए, अर्को एक जनाको खुट्टा फ्याक्चर भएको रहेछ ।

ती सञ्चालकले एक रातमा ३ लाख र केही दिनमा ७ लाख असुल गरेछन् । पैसा तिर्नेले बिलमाग्दा समेत आनाकानी गरेको भन्दै एकजना महिला स्वास्थ्य मन्त्रीको पि.ए.सँग रोइरहेको यो लेखकले प्रत्यक्ष देखेको थिएँ ।

यसरी अस्पताललाई स्वास्थ्य सेवाभन्दा अवैध व्यापारको धन्दा जसरी चलाउन खोज्दा अस्पतालमा तोडफोड हुने र डाक्टर पिटिने घटना भइरहेका छन् । ती दोहोरो चेपुवामा परेका डाक्टरले सकी–नसकी काम गरिरहेको अवस्थामा कुनै विरामीको जीवन तल–माथि भयो भने त्यसको पूरै जिम्मा उसैले लिनुपर्छ । किनकि सिनियर डाक्टर र सञ्चालकहरू पर्दा पछाडि बसेर योजना बनाउने योजनाकार मात्र हुन् ।

मेडिकल सञ्चालकले कसरी पैसा कमाउँछन् ? सायद अहिलेको सरकार र नियमन निकायलाई थाहा छैन या थाहा पाए पनि केही गर्न सक्दैन । अहिले धेरैजसो निजी अस्पताल र मेडिकल कलेजले अस्पतालमा सेवा दिइरहेका विभाग जस्तै ल्याब, एक्सरे, सिटी स्क्यान, डायलासिस, फार्मेसी सबै ठेक्कामा दिएर चलाइरहेका छन् र ती विभागमा काम गर्ने कर्मचारीलाई जागिर छोड्न दबाब दिइरहेका छन् ।

बीसौं वर्ष काम गरेका कर्मचारीलाई विभाग ठेक्का दिएकोले काम छोडेर घर जाउ भनेर धम्की दिइरहेका हुन्छन् । विचरा ती कामदार कर्मचारी र डाक्टरहरू कहाँ जाने हो ? कानुन विपरितका यस्ता क्रियाकलाप गर्ने मेडिकल सञ्चालकलाई कसले ठेगानमा राख्ने हो ? सरकार वा आम सेवाग्राही ? यसको उत्तर कहीं छैन ।

समग्रमा डाक्टर कुटिनु र अस्पताल तोडफोड हुनु जति संवेदनशील घटना हो त्यो घटनाको परिस्थिति निर्माण गर्ने व्यक्ति वा समूहको क्रियाकलाप धेरै गुणा संवेदनहीन छ । त्यसैले सरकारले डाक्टर र समग्र अस्पतालका कर्मचारीको मानवीय अवस्थालाई पनि ख्याल गरेर नीति र परिस्थिति निर्माण नगरे स्वास्थ्य क्षेत्रमा अझ भयावह स्थितिको सामना गर्नुपर्ने हुनसक्छ । समयमै सरकारको ध्यान जाओस् ।

(पोखरेल राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघको उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply