क्यानडासँगको विवाद चर्किएपछि भारतद्वारा भिसा सेवा बन्द

0
क्यानडा भारत तनाव

तस्बिर स्रोत, Getty Images

एक सिख पृथक्तावादीलाई क्यानडामा हत्या गरेको आरोपमा विवाद चर्किरहँदा भारतले क्यानडाका नागरिकका लागि भिसा सेवा निलम्बन गरेको छ

भिसा सेवा प्रदायक बीएलएसले भारतीय नियोगले पठाएको एक सूचना टाँस्दै उक्त निर्णयपछाडि “सञ्चालनसँग सम्बन्धित कारण” रहेको जनाएको छ।

क्यानडाले हरदीप सिंह निज्जरको मृत्यु र भारतबीच एउटा “विश्वसनीय” सम्बन्ध पहिचान गरेको बताएपछि यस साता दुई देशबीच तनाव चर्किएको छ।

भारतले उक्त आरोपलाई “निरर्थक” को संज्ञा दिएको छ।

विश्लेषकहरूका भनाइमा महिनौँदेखि तनावपूर्ण रहेको दुई देशबीचको सम्बन्ध यतिखेर हालसम्मकै न्यून विन्दुमा छ।

भारत-क्यानडा

तस्बिर स्रोत, Getty Images

भिसा दिन रोक्ने सूचना सबैभन्दा पहिले बीएलएसको वेबसाइटमा बिहीवार प्रकाशित भएको थियो।

जसमा लेखिएको छ: “भारतीय नियोगको महत्त्वपूर्ण सूचना: सञ्चालनसँग सम्बन्धित कारणले गर्दा सन् २०२३ को २१ सेप्टेम्बरदेखि लागु हुने गरी अर्को सूचना लागु नभएसम्मका लागि भारतीय भिसा सेवा रोकिएको छ।”

भारतको विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गर्दै बीबीसीलाई बीएलएसको वेबसाइट हेर्न भनेको छ।

भारतले थप के गरेको छ?

क्यानडा

तस्बिर स्रोत, BLS

भारतले आफ्ना नागरिकहरूलाई क्यानडा यात्रा गर्न वा त्यहाँ बसोबास गर्न “उच्चतम सजगता अपनाउन” एक जरुरी सूचना जारी गरेको एक दिनपछि यस्तो निर्णय आएको हो।

बुधवार दिल्लीले “क्यानडामा बढ्दो भारत विरोधी गतिविधि र राजनीतिक रूपमा स्विकारिएको घृणा फैलाउने अपराध र फौजदारी हिंसा”को परिप्रेक्षमा त्यस्तो जरुरी सूचना जारी गरिएको जनाएको थियो।

दिल्लीले केही पछिल्ला खतरा आफ्ना कूटनीतिक र “भारत विरोध एजेन्डाको विरोध गर्ने” भारतीयहरूप्रति लक्षित रहेको जनाएको छ। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमवार आफ्ना गुप्तचर निकायहरूले क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यामा “भारत सरकारका एजेन्टहरू” संलग्न भए नभएको भनेर अनुसन्धान गरिरहेको जनाएका थिए।

भारतले सन् २०२० मा उनलाई एक पृथक्तावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको संज्ञा दिएको थियो। उनका समर्थकहरू ती आरोपलाई “आधारहीन” मान्छन्।

हत्या प्रकरण

गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो।

ट्रूडोले सोमवार क्यानडाको संसद् ‘हाउस अफ कमन्स’मा बोल्दै भनेका थिए: “क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनै खाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो।”

भारतले यस्तो आरोपको कडा शब्दमा खण्डन गर्दै क्यानडाले त्यहाँ बस्न दिइएका ‘खालिस्तानी आतङ्कवादी र चरम पन्थीहरूबाट ध्यान मोड्न’ त्यसो गरेको जनाएको छ।

भारत सरकारले पश्चिमा राष्ट्रमा स्वतन्त्र सिख राज्य खालिस्तान स्थापनाको मागलाई कडा रूपमा प्रतिक्रिया जनाउने गरेको छ।

हरदीप सिंह निज्जर को थिए

निज्जर

निज्जर क्यानडाको पश्चिमी कुनामा पर्ने प्रान्त ब्रिटिश कोलम्बियाका प्रभावशाली सिख नेता थिए। उनी केही महिनायता अनपेक्षित घटनामा ज्यान गुमाउने तेस्रा प्रभावशाली सिख नेता हुन्।

उनले सार्वजनिक रूपमै स्वतन्त्र सिख राज्य स्थापनाको माग गर्ने खालिस्तान अभियानमा संलग्न थिए।

उक्त अभियानकै कारण पहिलादेखि नै उनी निसानामा रहेको उनका समर्थकहरूको दाबी छ।

क्यानडाले हालै भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू रद्द गरेको छ। विस्तृत जानकारी नदिएको भए पनि उसले “केही राजनीतिक विकासक्रम” कारण त्यसो गर्नुपरेको उसको भनाइ छ।

क्यानडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख जना त्यहाँका नागरिक छन्।

खालिस्तान आन्दोलन के हो?

पञ्जाब

भारतमा खालिस्तान आन्दोलन सन् १९८० को दशकमा सिख बहुल पञ्जाब राज्यमा हिंसात्मक विद्रोहको साथ उत्कर्षमा पुगेको थियो।

जसलाई बलपूर्वक नियन्त्रण गरिएपछि अहिले भारतमा यसको प्रभाव कम छ।

यद्यपि अझै पनि क्यानडा, अस्ट्रेलिया र ब्रिटेनजस्ता देशहरूका सिख समुदायमा यस अभियान केही लोकप्रिय पाइन्छ।

भारतको पञ्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ जहाँ कैयौँ खालिस्तान पक्षधर विरोध तथा प्रदर्शन देखा परेका छन्।

विवरणहरूका अनुसार जुन महिनामा भारतले क्यानडासँग त्यहाँ रहेका आफ्ना कूटनीतिज्ञको सुरक्षालाई लिएर “औपचारिक रूपमा उजुरी” गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply