चिया पसलमा कुरौटे मनोवृत्ति

0

समाजमा कुरौटे संस्कृतिले एक हिसाबले जरा नै गाडेको छ भन्दा पनि हुन्छ । कुरा काट्ने मुख्य थलो बनेका छन् चिया पसलहरु । त्यहाँ बसेर एकछिन सुन्ने हो भने चिनेका पनि नचिनेका पनि कसै न कसैको कुरा काटिरहेका भेटिन्छन् ।

हामी एकअर्काको अनुपस्थितिमा किन कुरा काट्दैछौं ? हामी किन अरूको निन्दा मात्रै गरिरहेका छौं ? चासो गर्छौं तर नचाहिंदा कुरामा समय बिताउँछौं । सकारात्मक पक्षहरूमा किन ध्यान दिंदैनौं ? आफ्नो कमी–कमजोरी केलाउनुको साटो अरूको कुरा काटेर बस्नाले आफूलाई के फाइदा पुग्ला र ?

समाजमा हुने नकारात्मक बानी-व्यवहारले सकारात्मक कुरालाई ओझेल पारिरहेको हुन सक्छ । मानिसहरू किन अरूको कुरा काट्छन् वा किन अरूको नकारात्मक कुरा गर्छन् ? भन्ने विषयमा स्वामी विकासानन्दले एउटा प्रवचनमा भनेका छन् । ‘जुन व्यक्तिलाई अरूको कार्य, प्रगति देखेर डाह लागेको हुन्छ त्यस्ता व्यक्तिहरूले अरूको कुरा काट्छन् । र जुन व्यक्तिले आफूले भने झैं अरूलाई परिचालन गर्न सक्दैन त्यस्ता व्यक्तिले अरूको कुरा काट्ने गर्दछन् र भएका राम्रा कुराहरूलाई वास्तै नगरी नराम्रा कुराहरूको चर्चा गर्ने गर्दछन् ।’

ख्यातिप्राप्त लेखक काल कार्नेगीले भनेका छन्, ‘कुनै पनि मूर्ख आलोचना, निन्दा र गुनासो गर्न सक्छन् र अधिक मूर्खहरूले यस्तै गर्छन् ।’ अर्थात् आलोचना, निन्दा गर्नेहरू मूर्ख हुन् । हामीमा आजभोलि कुरौटे बानीको व्यापक विस्तार भएको छ । काममा सिन्को नभाँच्नेहरूले समेत कुरा ठूला गर्छौं । सामाजिक सञ्जालका भित्ताहरू समेत राम्रो भन्दा नराम्रो कुराले भरिएका छन् । काम गर्ने कुनै सीप, जाँगर नहुनेहरूलाई समेत कुरा काट्ने शक्ति कताबाट आउँछ ? काट्न थालेपछि आफू ठीक अनि अरू सबै बेठिक भन्ने सोच, विचार र मानसिकता कताबाट आउँछ हामीमा ? एक पटक सोचौं न ।

अहिलेको जमाना सोसल मिडियाको हो । यहाँ हरेक व्यक्तिले आफ्नो कुरा क्षणभरमै हजारौं मानिसमा पुर्‍याउन सक्छ । कुनै विषय वा घटनामा आफ्नो प्रतिक्रिया सजिलै दिन्छ । हातहातमा मोबाइल सेवा उपलब्ध हुनुको यो अवसर हो । तर पछिल्लो समय सामाजिक सञ्जालका कारण कतिपय अवस्थामा समाज केही बढी किन नकरात्मक बन्यो । अचेल त यस्तो लागि सक्यो कि सकारात्मक मानिसहरु सहरतिर त कमै मात्र छन् । अरुको चियोचर्चो गर्नेहरुको बाहुल्यता छ ।

केन्द्रदेखि स्थानीय सरकारसम्म अनि सर्वसाधारण नागरिकसम्म सबैले सजिलै गर्ने काम भएको छ कुरा काट्ने । कुरा काट्नेहरु अरुकै कुरामा रमाइरहेका हुन्छन । फलानो दल यस्तो, फलानो यस्तो, त्यो यस्ती भन्न मनपर्छ हामीलाई । नचाहिने काम कुरामा अरूको निधिखोजी गर्नु, चासो राख्नु अनि कुरा काट्नु हाम्रो दैनिकी जस्तै बनेको अहिले ।

प्रतिपक्ष दलले सरकारको कुरा काट्ने, सरकारले प्रतिपक्षको कुरा काट्ने संस्कार बनिसकेको छ ।  जनप्रतिनिधिले कर्मचारीको, कर्मचारीले जनप्रतिनिधिको कुरा नकाटेसम्म, खेदो नखनेसम्म आ–आफ्नो कर्तव्य नै पूरा नभए जस्तो लाग्छ । समग्रमा भन्नु पर्दा हामीहरु दिनप्रतिदिन कुरौटे बन्दै गइरहेका छौं । स्वच्छ आलोचना गर्ने बानी हराउन थाले झैं लाग्छ ।

कुरा काट्ने बानी रोकेर रोक्न सकिन्न । तर फिलिपिन्सको एक सहरले भने सहरका मानिसलाई कुरा काट्नै प्रतिबन्ध लगाउँदै आएको छ । राजधानी मनिलाबाट २०० किलोमिटर उत्तरमा रहेको बिनालोनान सहरले त्यहाँ बसोबास गर्ने मानिसलाई एकअर्काका कुरा काट्न प्रतिबन्ध लगाएको हो । सहरमा अनावश्यक अफवाह नफैलियोस् र त्यहाँका बासिन्दाले अनावश्यक कुरा काटेर समय बर्बाद नगरुन् भन्नका लागि कुरा काट्न प्रतिबन्ध लगाइएको हो ।

हुन त सकारात्मक कुराको चर्चा कमै मात्रामा हुन्छ । नकारात्मक कुराको बढी त्यसैको निरन्तरताको सिकार त हामी भएका होइनौं ? चिया पसल होस या सेमिनार मिटिङ वा संस्था वा संगठनमा गुटबन्दी र कुरा काट्नेहरुकै बिगबिगी छ । सामाजिक सञ्जालमा त कमेन्ट हेर्नुपर्छ तथानाम गालीगलौज मात्र होइन अश्लील शब्दको वर्षा नै भइरहेको हुन्छ । व्यक्ति–व्यक्तिमा, टोल छिमेक जहाँ पनि यस्तै प्रवृत्ति मौलाएको देखिन्छ ।

अझ भनौं, मान्छेले नियालेर राम्रा कुराहरू खोज्दैनन् । जानी नजानी अचानक केही गल्ती भएको देख्यो भने त्यो चर्चा परिचर्चाको विषय बनाइहाल्छन् ।

कुरा काट्ने व्यक्तिको अगाडि सुन्नेले अँ.. हो.. भने पनि उसको हैसियत त कुरा सुन्नेहरूले मनमनै गमिरहेका हुन्छन् । फेरि आज अर्काको कुरा तपाईंसँग काट्नेले तपाईंको कुरा अरूसँग गर्दैन भन्ने हुन्छ र ? मानिस प्रशंसाको भोको हुन्छ । प्रशंसाले व्यक्तिलाई राम्रो काम गर्नका लागि प्रोत्साहन दिन्छ, केही राम्रो गरौं गरौं जस्तो लाग्छ । कुरा काट्दा त एकछिनको आनन्द मात्रै होला । तपाईंले दिएको हौसलाले कसैले राम्रो काम गर्छ भने जिन्दगीभरिका लागि आनन्द मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply