छत्तीसगढको शाकाहारी पाहुना

0

राति ८ बजेको थियो, हवाई मार्ग हुँदै हामी छत्तीसगढ ओर्लंदा । भारत, छत्तीसगढ शहरको यो मेरो पहिलो यात्रा थियो ।

भोक लागिरहेको थियो । हामी खानाको खोजीमा लाग्यौं । अक्सर घुमफिरमा निस्कँदा मासुजन्य परिकार खोज्ने प्रवृत्ति छ हाम्रो । तर, छत्तीसगढको व्यञ्जन हाम्रो अपेक्षाभन्दा भिन्न थियो । त्यहाँ त शाकाहारी भोजन पो प्रिय रहेछ ।

हामी बजार चहार्दै र आसपासका खानेकुराहरूमा चासो राखिरहेका थियौं । नजिकै ठेलामा मःमको जस्तै भाँडो देखियो । मःम यसै पनि सर्वप्रिय परिकार । यद्यपि मःमको विशेषता के भने, भूगोल अनुसार यसको स्वादमा केही फेरबदल हुन्छ । दुई फरक रेस्टुरेन्टको मःमको स्वादमा पनि समानता हुँदैन ।

छत्तीसगढको मःम चाख्ने हेतुले हामी नजिकियौं । तर, त्यो मःम होइन रहेछ ।

त्यसमा ईडली पाक्दैथियो, नेपालको भक्का जस्तै । चामलको पीठोबाट बनाइएको र मःम जस्तै पानीको बाफमा पकाएको ईडली, गोलभेंडा र आलु सहित अन्य तरकारी राखेर बनाएको रातो झोल सहित पस्कने रहेछ । ईडलीले स्वाद फेरियो, मन तृप्त भयो ।

त्यस्तै छत्तीसगढको अर्को विशेष परिकार रहेछ, पोहा । चिउराबाट तयार गरिएको पोहा नास्ताको रूपमा धेरैले रुचाउने रहेछ ।

त्यसो त यहाँ नेपालको जस्तो मःम, चाउमिन पनि नपाउने होइन । बिहारको जस्तो समोसा, चाट र टिटी नपाउने होइन । दक्षिण भारतको जस्तो डोसा नपाउने होइन । यी सबै कुरा यहाँ पाइन्छ, तर शाहाकारी ।

हामीकहाँ जस्तै छत्तीसगढमा चियाका पारखी धेरै रहेछन् । तर, गुलियो बढी ।

हुन त मासु वा मासुजन्य परिकार पाउँदै नपाउने भन्ने होइन । यहाँ कतिपय रेस्टुरेन्टमा मासुजन्य परिकार मज्जाले पाइन्थ्यो । चिकेन, मटनका थरीथरी परिकार खान पाइन्थ्यो । मदिरापान पनि गर्न पाइन्थ्यो । तर, धेरैले शाहाकारी व्यञ्जन नै बढी रुचाउने रहेछन् ।

आत्मीय आतिथ्यले मनै गद्गद्

अर्काको भूगोलमा कसैले मीठो बोली–व्यवहार गर्दा पनि हाम्रो मन फुरुंग हुन्छ । छत्तीसगढको आतिथ्यले भने मनै गद्गद् भयो ।

त्यहाँ एकअर्कालाई भेट्दा बडो हार्दिकतापूर्वक खुट्टा छुने संस्कार रहेछ । नेपालका मैथली समाजमा खुट्टा छोएर नमस्कार गर्ने (ढोग गरे जस्तै) संस्कार हराउँदै गए पनि छत्तीसगढले सम्हालेर राखेको रहेछ । त्यहाँका विधायक (प्रदेश सांसद) माननीय विकास उपाध्यायले समेत हामीलाई खुट्टा छोएर नमस्कार गर्दा हामीलाई आफ्नो देशको झल्को आउनु स्वाभाविक थियो । हामीकहाँ त चुनावका बेला मात्र नेताहरू साष्टाङ्ग दण्डवत् गर्दै घर-घर आइपुग्छन् । अरू बेला उनीहरूसँग यस्तो हार्दिकता नै हुँदैन ।

भनिन्छ, संस्कृति सबैको हुन्छ । तर, संस्कार भन्ने आफ्नो हुन्छ । हामीले छत्तीसगढवासीको संस्कार अनुकरण गर्नलायक पायौं ।

भूगोल त्यति टाढा होइन । संस्कार पनि त्यति धेरै नौलो होइन । चालचलन करिब-करिब उस्तै हो । तर, भाषा भने फरक । छत्तीसगढको आफ्नै स्थानीय भाषा रहेछ । अतः त्यहाँको साझा संवाद भने हिन्दीमा हुन्थ्यो ।

गोरु दौडको रौनक

हामी पुगेको संयोग कस्तो परेछ भने, कुशेऔंसी अर्थात् बुवाको मुख हेर्ने दिन । छत्तीसगढमा त्यसदिन ‘बेल दौड प्रतियोगिता’ गरिने रहेछ । खेती किसानीमा आधारित भएकाले यो परम्परा पनि उनीहरूसँग सम्बन्धित थियो । बेल दौड भनेको जोडी गोरु दौडाउने प्रतिस्पर्धा रहेछ । दौडमा जित्नेलाई पुरस्कार दिइने रहेछ ।

उहिले उहिले किसानहरू गोरुगाडामा आ-आफ्ना उत्पादन बजारमा ल्याउने र बिक्री गर्ने समयमा कसको गोरु बलियो भनेर देखाउने क्रममा यस्तो प्रचलन सुरु भएको रहेछ । पहिले सर्वत्र खुला थियो रे ! तर, अहिले बजार साँघुरिएको छ । गोरुगाडालाई ट्याक्टरले विस्थापित गरिसकेको छ ।

यद्यपि परम्परालाई जोगाइराख्न सडक नै बन्द गरिने रहेछ । अनि उल्लासका साथ बेल दौड प्रतियोगिता हुने रहेछ ।

त्यसैक्रममा सो प्रतियोगिताको प्रमुख अथिति त्यहाँका सांसद (विधायक) विकास उपाध्यायसँग भेटघाट भयो । कृषि बाहेक यस राज्यमा खनिज उत्खनन्, कलकारखाना (मुख्य फलाम र कोल) तथा कृषि उत्पादन र यसैको बजार नै प्रमुख रहेछन् ।

रामकी आमा कौशल्याको जन्मभूमि रहेको छत्तीसगढमा राजिवलोचन, चम्पारण, कुलेश्वर महादेव अनि महानदी, परी नदी र सोन्धुर नदीको संगम ‘त्रिवेणी’ अर्थात् छत्तीसगढको प्रयाग पनि रहेको छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध छत्तीसगढको घुमफिर सार्थक बनाउने रहेछ ।

यसअघि छत्तीसगढ पुगिएको थिएन । अखिल भारतीय तैलिक साहु महासभाको राष्ट्रिय अधिवेशनले त्यहाँसम्म पुग्ने मेलोमेसो जुराइदियो ।

भारतको झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, तेलङ्गना र उडिसा राज्यहरूको बीचमा रहेको छत्तीसगढ राज्यको राजधानी रायपुर विराटनगरबाट करिब १२०० किलोमिटर दूरीमा छ । २ करोड ९४ लाख कुल जनसंख्या रहेको छत्तीसगढ राज्यमा ३० लाखभन्दा बढी तेलीको जनसंख्या रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply