‘जीवन्त सम्बन्ध’ पढेपछि …

0

पंक्तिकार पुस्तक समीक्षक होइन, त्यो धृष्टता पनि गर्दिनँ । जब एउटा सामान्य पाठक कुनै पुस्तक पढ्छ र त्यस पुस्तकले उसको मस्तिष्कमा तरंग उत्पत्र गराउँछ, हृदय द्रवीभूत बनाउँछ तब त्यही सामान्य पाठक स्वतस्फूर्त अक्षरहरूमा पोखिन थाल्छ । बस् यो पंक्तिकारले ‘जीवन्त सम्बन्ध’ पुस्तक पढेपछि त्यही कर्म गरेकी मात्र हो ।

गएको ५ असोजमा मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ प्रकाशित भयो । विरामी परेर धेरै दिनपछि मात्र घर बाहिर निस्किएकी थिएँ । विस्तारै घरमा आएर मोबाइल अन गर्दा डा.साबको पेजबाट पुस्तक विमोचनको लाइभ प्रसारित भएको देखें ।

प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले आफ्नो भनाइ राख्दै हुनुहुँदोरहेछ अलिकति मात्र सुन्ने मौका पाएँ । पत्रकार बबिता बस्नेतले सहजीकरण गरिरहनुभएको कार्यक्रममा बोल्ने पालो लेखक डा.ओमको आयो । उहाँका भनाइहरू क्रमशः सुन्दै गएँ । लेखकका भनाइले मलाई आफ्ना स्वर्गीय बुवा–आमासँगको सम्बन्ध र सँगै बिताएका क्षणहरू फिल्मको रिल जस्तै मानसपटलमा घुम्न थाले ।

स्वयं लेखकको महत्वपूर्ण भनाइ र हरिवंश दाइको यो पुस्तक सबैले आफ्ना छोराछोरीलाई जन्मदिनमा उपहार दिनु भन्ने भनाइ सुनेपछि मलाई पुस्तक पढिहाल्ने हुटहुटी जाग्यो । पुस्तक भाटभटेनी स्टोरमा पाइन्छ भन्ने सूचना पाएपछि म तुरुन्त नजिकको भाटभटेनी स्टोर अनामनगरमा पुगें । पुस्तक आइपुगेको रहेनछ, निराश हुँदै मोबाइल नम्बर छोडेर फर्किएँ । भोलिपल्ट फोन आयो । सानोछोरीले पुस्तक किनेर ल्याइन् । म पढ्न बसें ।

आमाले मनपर्ने पुस्तक पढ्न लागेको देखेपछि छोरीले मलाई कालो चिया बन्दोबस्त गर्न गइन् जुन मैले अर्डर गर्नै पर्दैन ! कुनै विषयमा लेख्दा वा मन परेको पुस्तक पढ्दा नबोलिकन चिया–पानी–खाजाको बन्दोबस्त गर्ने कुरा छोरीहरू र मबीचमा अटोमेटिक प्रक्रिया हो । जुन मेरो बुवाबाट महँुदै नानीहरूमा सरेको गुण हो ।

‘जीवन्त सम्बन्ध’ को अध्ययन गर्दा आफ्ना स्वर्गीय पितासँग साक्षात्कार गर्न पुगें । प्रस्तुत पुस्तकमा लेखकले ५३ वटा लेखहरू समावेश गर्नुभएको छ । सबैजसो लेखहरूमा आफ्ना स्वर्गीय पितासँगका सम्बन्धका विभिन्न आयाम छचल्किएको देखिन्छ ।

पुस्तक पढ्दै जाँदा कतै उचाइमा त कतै गहिराइमा पुगिन्छ । पुस्तकमा यात्रा गर्दै जाँदा पटक पटक आँखामा वर्षात् हुन्छ त कतै ओठमा मुस्कान सहित कर्मयोगी सन्तान हुनुको गर्व पनि महसुस हुन्छ ।

महत्वपूर्ण कुरा के छ भने यो पुस्तकमा रहेका हरेक शीर्षकलाई न्याय गर्दै लेखकले हरेक लेखको अन्तिम हरफहरूमा सारांशका रूपमा महत्वपूर्ण नैतिक सन्देश दिने प्रयत्न गर्नुभएको छ । शायद यही कारण हरिवंश दाइले जन्मदिनमा छोराछोरीलाई उपहार दिन सुझाव दिनुभएको होला ।

मैले पनि दाइको भनाइलाई पूर्ण समर्थन गर्दै छोराछोरीलाई उपहार दिनुभन्दा पहिले बाबुआमाले नै एकपटक अनिवार्य पढ्नुहुन अनुरोध गर्दछु । किनभने अहिले बाबुआमाले पनि सन्तानलाई आफ्नो प्रभावकारी उपस्थिति, समयको व्यवस्थापन, स्नेहपूर्ण व्यवहार, आत्मीय स्पर्श, नैतिक शिक्षा दिने क्रम घट्दो देखिन्छ । सन्तानलाई राम्रो संस्कार दिएर मात्र उनीहरूबाट पनि राम्रो व्यवहारको अपेक्षा गर्नुपर्छ ।

पुस्तक पढ्दा यो अनुभूति हुन्छ कि लेखकले आफ्नो पिताबाट जुन प्रकारको नैतिक शिक्षा, आध्यात्मिक ज्ञान, चेतना, असल संस्कार प्राप्त गर्नुभयो त्यसैको परिणामस्वरुप उहाँले पनि आफूलाई विकास गरी पिता–माताले गर्व गर्न लायक सन्तानको रूपमा उभ्याउन सफल हुनुभएको छ ।

यो पुस्तक खासगरी आफूलाई जन्माउने जन्मदाता पिताको स्वर्गवास भएपछि आफ्नो सन्तानलाई भएको पीडादायक अनुभूतिको समष्टिगत स्वरुप हो । यहाँ लेखकले आफ्नो पितासँग बिताएका निकै मिठा अविस्मरणीय क्षणहरू साथै पिता मृत्युशय्यामा पुगेको बेला उहाँलाई बचाउन गरिएका प्रयत्नहरू सँगै लुकामारी गर्दै अक्षरहरू मार्फत आफूलाई पोखिदिनुभएको छ । लेखक कतै निकै भावनाका बीजहरू त कतै मुस्कानका बिरुवाहरू रोप्न सफल हुनुभएको छ ।

लेखकमा भएको आध्यात्मिक चेतना, नैतिक शिक्षाको गहिरो प्रभाव र प्रयोगले पुस्तकलाई सिंगारेको छ । भगवत् गीता, रामायण, महाभारत, नीतिशास्त्र आदि धार्मिक, दार्शनिक श्लोक र भावको प्रसंगहरू यस पुस्तकमा जडित हीरा–मोती हुन् । पुस्तकमा विभिन्न कालजयी गीत र विभिन्न विद्वान्का मर्मस्पर्शी भनाइहरूको प्रसंग जोडेर लेखकले शिक्षासँगै मिठास पनि दिनुभएको छ । लेखक स्वयं डाक्टर भएको कारण स्वास्थ्य सम्बन्धी ज्ञानका कुरा पनि यस पुस्तकमा पढ्न पाइन्छ ।

पुस्तकमा सामाजिक चेतना र सांस्कृतिक रूपान्तरणको विषयलाई पनि निकै मार्मिक ढंगबाट उठान गरिएको छ । ‘मन नपरेको भोज’ शीर्षकमा लेखकले पिताको १३औं दिनको पितृभोजको प्रसंग उठाउँदै यो कति ठिक हो ? गरिब र निम्न आर्थिक अवस्था भएका परिवारको लागि यस्तो संस्कार कतै आर्थिक भार त होइन ? यो समाजका लागि देखावटी त होइन ? यो प्रकारको संस्कारमा पुनर्विचार गर्नुपर्ने वेला भयो कि ? भन्ने प्रश्नहरू खडा गर्नुभएको छ । बरु यस्तो भोज गर्नुभन्दा गरीब, असहायलाई सहयोग गर्नु राम्रो हुने कुरा पनि उल्लेख गर्नुभएको छ जुन निकै प्रशंसनीय छ ।

आफ्ना जन्मदाताको अनुपस्थितिमा आफ्ना महत्वपूर्ण प्राप्तिहरू नै निरर्थक लागेका अनुभूति लेखकले ‘पुरस्कार फिका फिका’ भन्ने शीर्षक मार्फत प्रस्तुत गर्नुभएको छ । प्राप्तिको पहिलो खुसी आफ्ना माता–पितासँग साट्न पाउनु सन्तानका लागि निकै खुसीको क्षण हो ।

प्रत्यक्ष खुसी साट्न नपाए पनि बुबाले कतैबाट हेरिरहनुभएको छ भन्ने अनुभूति गर्दै लेखकले आध्यात्मिक सुखानुभूति प्राप्त गर्नुभएको छ । यसैगरी अग्रजको आशीर्वादको उपहार कति अर्थपूर्ण र महत्वपूर्ण हुन्छ जहाँ कुनै भौतिक वस्तुले त्यसको स्थान लिन सक्दैन भन्ने भावनात्मक आदर्श पनि लेखकले ‘उपहारमा आशीर्वाद’ मा उजागर गर्नुभएको छ ।

आफूलाई मन परेको व्यक्तिलाई जतिसक्यो धेरै समय बचाउन खोज्नु कतै आफ्नो स्वार्थ मात्र पो हो कि सहज मृत्युवरण गर्न पाउनु जाने व्यक्तिका लागि न्याय हुन्छ भन्ने विचार पनि लेखकले आफ्ना पिताको अन्तिम उपचारपछि मनमा उब्जिएको सोच यस पुस्तकमा राख्नुभएको छ ।

समग्रमा ‘जीवन्त सम्बन्ध’ शीर्षकको यो पुस्तक जन्मदाता र सन्तान बीचको गहिरो सम्बन्धको जीवन्त सन्देश हो । त्यही गहिरो र वजनदार सम्बन्ध प्रष्ट पार्न विभिन्न क्षणको व्याख्या विश्लेषण, अनुभव र अनुभूतिहरू पुस्तकमा पोखिएका छन् । आध्यात्मिक चेतनाको प्रभाव, कतिपय धार्मिक, दार्शनिक ग्रन्थहरूका श्लोक र तिनका भाव एवं जीवन र जगतलाई हेर्ने सकारात्मक दृष्टिकोणले पुस्तकलाई आकर्षण प्रदान गरेको छ ।

स्वर्गीय पितासँगका स्मृतिका पलहरू विभिन्न शीर्षकमा उल्लेख गर्ने क्रममा कतिपय लेखमा विभिन्न प्रसंगमा दोहोरिएको आभास हुन्छ । तर पनि ती प्रसंगहरू मिठासपूर्ण नै लाग्छन् । जस्तै भारतको सुन्दर शहर ग्वालियर भ्रमणको बेला पिता विरामी भएको र स्वयं आफूले उपचार गरेको प्रसंग पुस्तकमा धेरै ठाउँमा दोहोरिएको पाइन्छ । त्यस्ता अरू केही प्रसंगहरू पनि छन् ।

लेखकले पुस्तक विमोचनमा राखेको भनाइ र पूरा पुस्तक पढ्दा के लाग्छ भने मानिसले भौतिक साधन प्राप्तिका लागि वा आफ्नो व्यक्तिगत करिअर सफल बनाउनका लागि मूल्यवान् सम्बन्धहरू गुमाउँदै गएको हुन्छ । भौतिक सुख प्राप्तिको अल्पकालीन हो जब अप्ठ्यारो मोड आउँछ त्यतिवेला परिवार, आफन्त, सम्बन्ध निकै महत्वपूर्ण हुन्छ । त्यसकारण आमा–बुवा, छोराछोरी, श्रीमान्–श्रीमती, भाइबन्धु सबै एकाकार भएर बाँच्नुपर्छ र जीवन्त सम्बन्ध कायम राख्नुपर्छ भन्ने मिठो सन्देश लेखकले यस पुस्तक मार्फत प्रवाह गर्नुभएको छ ।

म यो पनि अनुमान गर्न सक्छु कि लेखक यहीं अडिनुहुन्न उहाँले यस कृतिको निरन्तरता स्वरुप अर्को कृति पनि अवश्य जन्माउनुहुनेछ । लेखकले यही पुस्तकमा उल्लेख गरेको कुरा के छ भने ‘विज्ञान भन्दा पर पनि फराकिलो क्षितिज छ भन्ने कुराको ज्ञान मलाई छ । त्यस क्षितिजलाई हामीले उपेक्षा गर्न मिल्दैन ।’ हो त्यही क्षितिज पारिको संसारको अध्ययन–अनुसन्धान गरी क्षितिज वारिको संसारसँग फ्युजन गर्ने कार्य लेखक डा.साबबाट अपेक्षा गर्दछु । हाम्रा पूर्वजहरूले थुप्रै खुराक दिनुभएको छ जसको अध्ययन गरे मात्र पनि क्षितिज पारिको संसार भेट्टाउन गाह्रो पर्दैन होला जस्तो लाग्छ ।

सामान्य अध्येताका लागि यो कठिन कार्य हो तर लेखक तपाइँ जुन विन्दुमा पुग्नुभएको छ त्यहाँबाट केही घनघस्याका उकाला पार गरेपछि तपाइँ सायद सजिलै क्षितिज पारिको संसार अध्ययन गर्न सक्नुहुन्छ । क्षितिज वारिका थुपै्र मानिसको मुटु प्रत्यक्ष छामिसक्नुभएकोले पनि क्षितिजवारि र पारिको संसार बुझ्न र फ्युजन गर्न सायद तपाइँलाई गाह्रो पर्दैन होला भन्ने महसुस गर्दछु ।

(ज्ञवाली बागमती प्रदेश सभाकी पूर्व सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply