दुर्घटना जाँच औपचारिकतामा सीमित हुँदा कैयौं परिवारमा बज्रपात

0

हरेक दुर्घटना कुनै एक परिवारका लागि ठूलो पीडादायी परिस्थिति हो । दुर्घटनाले एक व्यक्तिलाई मात्र प्रभाव पार्दैन, उसमा आश्रित धेरै जनालाई एकसाथ नकारात्मक प्रभाव पार्छ । ठूलो दुर्घटनामा त एक दुर्घटनाले सयौं परिवारमा बज्रपात पारेको हुन्छ । व्यक्तिको पारिवारिक अवस्थासँगै उसको आर्थिक अवस्था, सामाजिक अवस्था सहित धेरै परिवेशमा एकसाथ नकारात्मक प्रभाव पर्छ । यो अवस्था कति पीडादायी हुन्छ, यसको भुक्तभोगी म आफैं पनि छु ।

जहाज दुर्घटना विभिन्न कारणले हुनसक्छ । नेपाल जस्ता मुलुकमा मौसम र भूगोलका कारण जहाजहरू दुर्घटनामा पर्न सक्छन् । मानवीय कमजोरी र त्रुटिले दुर्घटना हुनसक्छ । मेसिन बिग्रन सक्छ । त्यसकारण दुर्घटनालाई भवितव्य भन्ने गरिन्छ । दुर्घटनापछि जाँच आयोग गठन हुन्छ । अनुसन्धान गरिन्छ र प्रतिवेदन तयार पारिन्छ । यस्ता प्रतिवेदन औपचारिकतामा सीमित भएको देखिन्छ । सोही कारण आज सबैतिरबाट दुर्घटना जाँच आयोगका प्रतिवेदनमाथि प्रश्न उठिरहेको छ । यी प्रतिवेदनको विश्वसनीयतामा मानिसले विश्वास गर्न सकेका छैनन् ।

पक्कै पनि दुर्घटना कसैले जानाजान गराउँदैन । त्यसकारण जे कारणले दुर्घटना भएको हो, त्यो यथार्थ बाहिर ल्याइदिने हो भने धेरै हदसम्म समस्या समाधान गर्न सहयोग पुग्नेथियो । तर, नेपालमा त्यसो हुनसकेको छैन । सरकार र प्राधिकरण आफ्नो नियमन कमजोर भएको स्वीकार गर्न तयार छैनन् । अपरेटर आफ्नो व्यवस्थापन कमजोर भएको स्वीकार गर्न तयार छैन । यो अवस्थामा त जे गर्दा सजिलो हुन्छ, त्यसै अनुसार प्रतिवेदन बन्छ र ल्याइन्छ । आजसम्म यस्तै भइरहेको छ ।

प्रतिवेदन जति विश्वसनीय बन्छ, त्यति सरोकारवालालाई फाइदा हुन्छ । मुलुक सन् २०१३ देखि यूरोपेली यूनियनको कालोसूचीमा छ । यसले मुलुकको पर्यटन क्षेत्रमा कति असर परिरहेको छ, त्यसको पीडा व्यवसायीलाई मात्र थाहा छ । राज्यलाई पनि कमजोर नियमन भएको मुलुकका रूपमा विश्वमञ्चमा उभिनु पक्कै सकारात्मक विषय होइन ।

हाम्रोमा ‘कमर्सियल’ पाटोले ‘सेफ्टी’ ओझेलमा परिरहेको त छैन ? यो प्रश्नलाई दुर्घटना जाँच आयोगहरूले खोतल्न सक्नुपर्ने थियो ।

जुन कम्पनीको जहाज दुर्घटना भयो, उसले समेत यथार्थ विषय बाहिर ल्यायो भने ऊप्रतिको विश्वसनीयता अझ बढ्छ र दुर्घटनाका बावजुद बिजनेस प्रभावित हुँदैन । हाम्रोमा सबैको मिलेमतोले प्रतिवेदन प्रभावित गराउने गरेको आरोप लाग्छ ।

यस्तै विश्वसनीयताको अभावका कारण नेपाल एयरलाइन्सले यूरोपेली मुलुकमा आफ्नो व्यवसाय विस्तार गर्न सकेको छैन । राज्यका निकायहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक भइरहेको छ । ती निकायबाट हुने कामलाई अन्तर्राष्ट्रिय क्षेत्रले विश्वास गर्ने वातावरण बन्न सकेको छैन । यसको असर अन्ततः राज्यलाई पर्छ ।

यो आरोप पखाल्न नसक्ने हो भने हरेक प्रतिवेदन प्रश्नको घेरामा रहन्छन् । अर्कोतर्फ साँच्चिकै समस्याको जड पत्ता नलगाई गल्ती र कमजोरी ढाकछोप गरिन्छ भने हामी कहिल्यै पनि सुरक्षित हुन सक्दैनौं । त्यसकारण अब गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । दुर्घटनामा जो पीडित छन्, उनीहरूको माग दुर्घटनाको कारणबारे जरोसम्मै प्रतिवेदनहरू पुगुन् भन्ने हुन्छ । ताकि भविष्यमा आफ्नो जस्तै नियति अन्य व्यक्तिको जिन्दगीमा नआओस् ।

हवाई यातायातलाई व्यावसायिक क्षेत्रका रूपमा मात्र हेर्नुहुँदैन । एक व्यक्तिको हातमा धेरै व्यक्तिको ज्यानको सुरक्षा जोडिएको छ । ती धेरै व्यक्तिको साथमा सयौं जना परिवारका सदस्य जोडिन्छन् । त्यसकारण हवाई उडानमा सुरक्षा पहिलो पाटो हुनुपर्छ । त्यसपछि मात्र पैसाले प्राथमिकता पाउनुपर्छ ।

हाम्रोमा ‘कमर्सियल’ पाटोले ‘सेफ्टी’ ओझेलमा परिरहेको त छैन ? यो प्रश्नलाई दुर्घटना जाँच आयोगहरूले खोतल्न सक्नुपर्ने थियो । त्यसकारण दुर्घटनाको जडसम्म प्रतिवेदनहरू पुग्न सकेनन् कि भन्ने प्रश्न उठेको हो ।

हरेक यात्रुको ज्यानको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यो क्षेत्र सञ्चालन हुनुपर्छ, प्रतिवेदनहरूले आगामी दिनमा त्यो वातावरण निर्माण गर्न मार्गनिर्देश गर्नुपर्छ । त्यस्तो गर्न सकेका छैनन् भने प्रतिवेदन केवल औपचारिकताका लागि मात्र बनिरहेका छन् भन्ने गुनासो रहिनै रहनेछ ।

(पर्यटन व्यवसायी पाण्डे यूएस बाङ्ला विमान दुर्घटनाका घाइते पनि हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply