नागढुङ्गा सुरुङ परियोजनामा स्थानीयवासीको अवरोधले कति नोक्सान भइरहेको छ

0
नागढुङ्गा सुरुङ परियोजना

तस्बिर स्रोत, Nagdhunga Tunnel Construction Project/Facebook

स्थानीयवासीले झन्डै दुई सातादेखि गरिरहेको आन्दोलनका कारण प्रभावित भएको नागढुङ्गाको मूल सुरुङ खन्ने काम अब मध्य चैतसम्म सक्ने लक्ष्य राखेर आफूहरूले काम गर्ने सडक विभागका महानिर्देशकले बीबीसीलाई बताएका छन्।

आन्दोलनरत पक्ष र सरकारबीच छलफल चलिरहँदा अन्तिम चरणमा पुगेको उक्त सुरुङ खन्ने काममा अझै पनि गतिरोध देखापरिरहेको छ।

जारी अवरोधले दैनिक करिब एक करोड रुपैयाँसम्म नोक्सान भइरहेको अधिकारीहरूले बताएका छन्।

सडक विभाग अन्तर्गतको नागढुङा सुरुङ निर्माण परियोजनाले असन्तुष्ट पक्षसँग वार्तालाई निरन्तरता दिएको छ र शुक्रवारसम्म गतिरोध फुक्न सक्ने उक्त परियोजनाका उपनिर्देशकले बीबीसीलाई बताएका छन्।

बयालीस महिनामा निर्माण सम्पन्न गर्ने गरी सन् २०१९ मा ठेक्का लगाइएको उक्त परियोजनाको निर्माण सम्पन्न हुने मिति दुई पटक थप भइसकेको छ।

स्थानीय जनप्रतिनिधिले आफ्नो क्षेत्रको ‘मुहार फेर्ने’ ठान्ने गरेको उक्त सुरुङ मार्ग सन् २०२४ भित्र निर्माण सम्पन्न भइसक्ने विश्वास सडक विभागका महानिर्देशकले व्यक्त गरेका छन्।

पछिल्लो गतिरोधको कारण के हो?

नागढुङ्गा सुरुङ

तस्बिर स्रोत, Nagdhunga Tunnel Construction Project

त्रिभुवन राजपथअन्तर्गत धादिङको सिस्ने खोलाबाट सुरु भएर काठमाण्डूको चन्द्रागिरीस्थित किसिपिडिमा निर्माण भइरहेको उक्त सुरुङ मार्गको सन् २०२४ को एप्रिलमा निर्माण कार्य सम्पन्न गर्ने संशोधित लक्ष्य तय भएको थियो।

उक्त सुरुङमार्गअन्तर्गत आपत्कालीन उद्धारमा प्रयोग हुने २५ सय ५७ मिटर लामो सहायक सुरुङ खन्ने काम गएको वर्ष सकिएको थियो।

यही मार्च महिनाको ६ तारिखमा २,६८८ मिटर लामो मूल सुरुङ खन्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

त्यो पूरा हुन अझै १४ मिटर खन्न बाँकी नै रहेको नागढुङा सुरुङ निर्माण परियोजनाका उपपरियोजना निर्देशक गोविन्द दुमरुले बीबीसीलाई बताए।

उनी भन्छन्, “त्यति काम सम्पन्न गर्न साधारण रूपमा १० देखि १४ दिनसम्म लाग्छ। अहिले कामधन्दा रोकिएको भएर त्यो खन्ने काम कहिले सकिन्छ भन्नसक्ने अवस्था छैन।”

सुरुङ मार्ग निर्माण गर्दा सुरुङ खन्ने काम सम्पन्न भएपछि त्यसले त्यहाँभित्र अन्य पूर्वाधार निर्माणका लागि बाटो खोल्ने अधिकारीहरू बताउँछन्।

अर्को हप्ता सक्ने भनिएको मूल सुरुङ खन्ने काम अब मध्य चैतसम्म सम्पन्न गर्ने गरी आफूहरूले काम गर्ने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।

उनी थप्छन्, “सुरुङ खन्ने काम सकिएपछि मात्रै भेन्टिलेशन, बत्ती, बाटो, नलीका अन्य कामहरू हुन्छन्। ती कामहरू सम्पन्न गर्नलाई थप आठ-नौ महिना लाग्छ।”

सुरुङ

तस्बिर स्रोत, Nagdhunga Tunnel Construction Project/Facebook

असन्तुष्ट पक्षका माग के छन्?

आन्दोलनरत पक्षले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाद्वारा असर परेको क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, पर्याप्त खानेपानीको व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुपर्ने जस्ता माग राखेका छन्।

त्यसबाहेक चर्केका घरहरूको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, सुरुङमाथिको जमिनको उचित सम्बोधन गर्नुपर्ने र रोजगारी दिनुपर्ने जस्ता माग पनि उनीहरूको छ।

यी मागसहित सङ्घर्ष सुरू भएपछि उक्त परियोजना अन्तर्गतको सुरुङ खन्नेसहितका काम ठप्प भएका छन्।

गतिरोध फुकाउने प्रयासमा असन्तुष्ट पक्षसँग बिहीवार भएको वार्ता सकारात्मक भएको र एउटा निष्कर्ष चाँडै निष्कने अपेक्षा आफूहरूले गरेको महानिर्देशक ढकालले बताए।

उनले असन्तुष्ट पक्षका कैयौँ चासोलाई प्रक्रियासम्मत ढङ्गले सम्बोधन गर्न आफूहरू तयार रहेको बताए।

तर सुरुङ खन्ने काम अन्तिम चरणमा पुग्दा भएको अवरोधले ‘नेपालामा परियोजनाहरू निर्माणका लागि आवश्यक वातावरण अझै बनिसकेको नदेखिएको’ उल्लेख गर्दै उनले ‘केही पाइन्छ भने राज्यबाट लिने मानसिकता रहेको’ बताए।

आन्दोलनरत पक्षका माग पुरा गर्न विभिन्न प्रयासहरू गरेको अधिकारीहरू बताउँछन्
तस्बिरको क्याप्शन,

स्थानीय जनप्रतिनिधिले समस्या समाधानका लागि सहजीकरण गरिरहेको जनाएका छन्

बीबीसीले सङ्घर्ष गरिरहेको पक्षसँग सम्पर्क गर्ने प्रयास गरेपनि त्यो सफल हुन सकेन।

उक्त आयोजनास्थल चन्द्रागिरी नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले पानी सुक्दा समस्या भएको भन्दै त्यसको सम्बोधन गरिनुपर्ने माग प्रभावितहरूले राखेको बताए।

उनले भने, “विकास गर्दा अलिकति विनाश पनि हुन्छ। हाम्रो जनता त्यत्ति बुझ्न सक्ने अवस्थामा छैन र हामी त्यो बुझाउने प्रयासमा छौँ।”

उनले सुरुङ मार्गको निर्माण सम्पन्न हुने वित्तिकै आफ्नो नगर ‘स्मार्ट सीटीमा’ परिणत हुने र त्यसबाट समुदायलाई फाइदा हुने बताए।

असन्तुष्ट पक्षले राखेको चर्किएका भवनहरूको क्षतिपूर्तिसम्बन्धी मागबारे प्राविधिक अध्ययन गराएर आवश्यक क्षतिपूर्ति वा पुनर्निर्माणमा सघाउन आफूहरू सहमत रहेको सडक विभागका महानिर्देशक ढकालले बताए।

खानेपानीको व्यवस्था गर्नुपर्ने प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्न ३०० मिटरसम्म खनेर पानी निकाल्ने प्रयास गर्न आफूहरूले सहमति जनाएको उनको भनाइ छ।

सहमतिनजिक पुगेको विश्वास व्यक्त गरेका महानिर्देशक ढकालले सर्वसाधारणको विरोधका कारण पछिल्लो गतिरोध भएको भन्दै ठेकेदारले आफूलाई नोक्सानी भएको दाबी पेस गर्न सक्ने अवस्था रहेको बताए।

उक्त परियोजनाका उपनिर्देशक दुमरुले काम रोकिँदा निर्माणको जिम्मा पाएको जापानी ठेकेदार कम्पनी हजमा एन्डो कर्पोरेशनलाई दैनिक एक करोड रुपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने अवस्था रहेको बताए।

उनी भन्छन्, “ठेकेदारको यी दिनमा केके काम लगाउने योजनाहरू थियो, त्यस बापत उसले क्षतिपूर्ति दाबी गर्ने अवस्था छ। ठ्याक्कै यति नै भन्न सकिँदैन, तर त्यो रकम झन्डै दैनिक एक करोड रुपैयाँ हुनआउँछ।”

सन् २०१६ मा जापान सरकारसँग १६.८ अर्ब रुपैयाँ ऋण लिएर नेपाल सरकारले अघि बढाएको यो परियोजनाको कुल लागत २२ अर्ब रुपैयाँ रहेको अधिकारीहरू बताउँछन्।

त्यसमध्ये ६ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको थियो।

अहिलेसम्म ६५ प्रतिशत वित्तीय प्रगति भएको भनिएको उक्त परियोजनाअन्तर्गत भौतिक प्रगति अघिल्लो महिनासम्म लगभग ६८ प्रतिशत पुगेको जनाइएको थियो।

सडक विभागका महानिर्देशकले सन् २०२४ को अन्त्यसम्म उक्त सुरुङमार्ग निर्माणको काम लगभग सकिने बताए।

सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ

तस्बिर स्रोत, Nagdhunga Tunnel Construction Project/Facebook

उक्त सुरुङ मार्ग कस्तो हुनेछ?

२.६८८ किलोमिटर लम्बाइ भएको उक्त सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुईवटा लेन रहने र दुवैतर्फ पानी बग्ने नालीहरू रहने जनाइएको छ।

त्यहाँ पुल, कलभर्ट र अन्य संरचना १२ वटा हुने अनि दुवैतर्फ टोल स्थापना गरिने भनिएको छ।

चौबीसै घण्टा भेन्टीलेशन रहने भनिएको उक्त सुरुङमार्गमा आपत्कालीन उद्धार प्रणाली पनि स्थापना गरिनेछ।

उक्त सुरुङको जुनसुकै स्थानमा कुनै घटना भएको खण्डमा बढीमा ७ मिनेटभित्र त्यहाँ पुग्ने गरी व्यवस्थापन गरिने सडक विभागको प्रगति विवरणमा उल्लेख छ।

सन् २०१३ मा सडक विभागले नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply