‘नाति-नातिनाको पुस्तामा गोठमा भैंसी हुँदैनन्’

0

हाम्रो परिवारको मूल पेशा भैंसीपालन र त्यससँगै जोडिएको खेतीपाती हो । म ६२ वर्षको भएँ, १२-१३ वर्षको हुँदादेखि हजुरबुवासँग भैंसी गोठालो गएको राम्रो सम्झना छ । त्यतिबेला बस्ती पातलो थियो । खोला, कुवामा प्रशस्त पानी थियो । जंगल थियो, खाली जमिन थियो ।

विस्तारै बस्ती थपियो । यी खेतहरू खाली रहन छोडे, एकपछि अर्को बाली लगाउन थाले । जमिनले आराम पाउँदैन, भैंसीका लागि चर्ने ठाउँ साँघुरो भएको छ ।

हामी यादवहरूको परम्परागत प्रमुख पेशा भैंसीपालन अर्थात् पशुपालन नै हो । यसको कारण पनि छ, प्रायः हामी माछा-मासु खाँदैनौं । दूध-दहीको भरमा हुन्छौं । यो पेशालाई जोगाइराख्नु हाम्रा लागि चल्दै आएको परम्परा थाम्नु पनि हो ।

तर मेरै जीवनकालको पछिल्लो ४० वर्षलाई विश्लेषण गर्ने हो भने भैंसीपालन हाम्रो परिवारमा मात्रै होइन वरपर टोल-छिमेकमा नै लगातार ओरालो लाग्दै गएको छ । हजुरबुवाको पालामा १०० को हाराहारीमा भैंसी थिए । त्यसपछि बुवाको पालोसम्म आइपुग्दा ५० देखि ७० वटामा सीमित भयो । अहिले मेरो पुस्तासम्म आइपुग्दा गोठमा बढीमा २२-२५ वटा मात्रै छन् ।

तिनको स्याहार तथा कुँडोपानी, घाँस-पराल पुर्‍याउन कठिन भइरहेको छ । अब मेरो सेखपछि गोठमा भैंसी कति रहलान् ? नाति-नातिनाको पालामा गोठ नै हुँदैन जस्तो लाग्छ ।

मेरा तीन छोरा नै अरू पेशा (जागिर) मा छन्, उनीहरूले भैंसीपालनमा जीविका देखेनन् । जागिरबाट अवकाश पाएपछि उनीहरूले परिवारका लागि खान पुग्ने गरी एक-दुई भैंसी पाल्लान्, किनकि दूध-गोरसमा बानी परेका छन् । तर नाति-नातिनाले पाल्छन् जस्तो लाग्दैन ।

स्थानीय तहले हाम्रा लागि कार्यक्रम बनाउँदा हामीसँग कम्तीमा सरसल्लाह लेओस् र हाम्रो आवश्यकता सम्बोधन गरोस् । युवाहरूलाई पशुपालनमा आर्थिक लाभ पनि छ भन्ने विश्वास दिलाउन प्रोत्साहन, उचित बजारको सुनिश्चितता गर्न सकियो भने हाम्रा घरहरूमा गोरस भइरहन्छ

त्यसमाथि पशुपालन दिन प्रतिदिन अप्ठ्यारोमा पर्दै गएको छ । मलाई नै यी भैंसीका लागि घाँस-परालको व्यवस्था गर्न हम्मे परिरहेको छ । खेतको परालले पुग्दैन, धेरै किन्न महँगीले सकिएको छैन । पहिला बुवाको पालासम्म भैंसी बिहान दुहेपछि खाली खेत, सार्वजनिक चउर, खोला नदीका किनार तथा जंगल आसपासमा चर्न जान्थे । अहिले हेर्नुस् त कतै खेत खाली छैन ।

आसपासका खोलामा हिउँद नलाग्दै पानी कम हुन्छ । वन क्षेत्र टाढा भयो, त्यसमा पनि हाम्रो सहज पहुँच छैन । दिउँसो एकछिन डुलाउन लग्यो, ल्याएर बाँध्यो । अड्कलेको आहारले कहाँ भैंसी रसिला हुनु, दूध पनि कम दिन्छन् । यता हामी जस्ता परम्परागत रूपमा पशुपालन गर्दै आएका अधिकांश किसानको अवस्था यस्तै हो ।

स्थानीय तथा प्रदेश र संघ सरकारले हामीलाई ख्याल गरे जस्तो लाग्दैन । गाउँको जनजीविका तथा समग्र खेतीपातीका लागि पशुपालन महत्वपूर्ण छ । तर सरकारले यो कुरा बुझेको जस्तो छैन, वा उसको प्राथमिकतामा हामी छैनौं । चरन क्षेत्र मासिएको उनीहरूलाई थाहा छ, त्यसको विकल्पमा काम गरेका छैनन् ।

यस्तै पानीका स्रोत कम भएका छन्, त्यसको पनि भरपर्दो उपायमा राहत मिल्दैन । गोठ सुधार तथा दुग्ध व्यवसायलाई स्थानीय किसानसँग सिधा जोडेर यो पनि राम्रो आम्दानी गर्न सक्ने पेशा बन्न सक्छ भनेर स्थानीय सरकारले कार्यक्रम ल्याएकै छैन ।

हाम्रै पालिकाको कुरा गर्दा, हामी यादवहरूको संख्या यहाँ बढी छ । हामी मासु उत्पादनका लागि प्रयोग गरिने बाख्रा, कुखुरा पाल्दैनौं । तर स्थानीय तहले पशुपालन सुधारका लागि भन्दै लागू गरेको कार्यक्रममा बाख्रापालनलाई प्रोत्साहन छ तर भैंसीपालनलाई छैन । यहाँ लागू गरिने कार्यक्रममा हाम्रो आवश्यकतालाई सम्बोधन गरिनुपर्नेमा उनीहरूले पशुपालन प्रोत्साहनका नाममा आफ्नै हिसाबमा कार्यक्रम बनाए ।

हामीले विरोध गरेपछि गोठ सुधारमा सहयोग तथा उन्नत जातको घाँसको बीउ वितरण सानो मात्रामा समावेश त गरे, तर त्यसमा पनि पहुँचवालाको मात्रै बोलवाला छ । वास्तविक किसान वा जसको पहुँच छैन, उनीहरूले त्यसको लाभ पाउन सकेका छैनन् ।

सरकार तथा सरोकारवाला निकायले पशुपालनलाई मात्रै पशुपालनका रूपमा नभएर जीविका, रोजगारको अवसर तथा समग्र कृषि प्रणालीका लागि अत्यावश्यक पक्षका रूपमा नबुझेसम्म किसानको समस्या समाधान हुँदैन । फेरिएको वातावरणीय अवस्था, साँघुरिएका चरन क्षेत्र, सुक्दै गएका पानीका स्रोतको परिवेशलाई ख्यालमा राखेर स्थानीय आवश्यकता अनुसार उपयुक्त विकल्प खोज्न सकिएन भने हामीपछिको पुस्तामा पशुपालन घरायसी जीविकाको माध्यमका रूपमा टिक्ला जस्तो लाग्दैन ।

स्थानीय तहले हाम्रा लागि कार्यक्रम बनाउँदा हामीसँग कम्तीमा सरसल्लाह लेओस् र हाम्रो आवश्यकता सम्बोधन गरोस् । युवाहरूलाई पशुपालनमा आर्थिक लाभ पनि छ भन्ने विश्वास दिलाउन प्रोत्साहन, उचित बजारको सुनिश्चितता गर्न सकियो भने हाम्रा घरहरूमा गोरस भइरहन्छ । जमिन मलिलो बनिरहन्छ ।

(दाङ गढवा गाउँपालिकाका पशुपालक किसान यादवसँग पत्रकार टंक ढकालले गरेको कुराकानी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply