नायकीकरणमा मेरो असहमति छ, नेतृत्व यसैले बिग्रिने हो

0

१४ असोज, काठमाडौं । कोभिड–१९ को महामारीका बेला ‘इनफ् इज इनफ्’ अभियान चलाएका अभियन्ता ईः ले हालै साना सडक व्यवसायीको पक्षमा ९ दिनसम्म निरन्तर उभिएर प्रदर्शन गरे ।

काठमाडौं महानगरपालिकासँग चारबुँदे सहमति भएपछि उनले आफ्नो प्रदर्शनलाई रोकेका छन् । फुटपाथ व्यवसायीहरूबाट खोसिएका ठेला, गाडा, साइकल लगायत फिर्ता गर्ने, सात दिनभित्र वैकल्पिक स्थानको खोजी गरेर व्यवस्थापन गर्ने समेत सहमतिमा उल्लेख छ ।

‘चारबुँदे सहमतिपछि उहाँहरूले साना सडक व्यवसायीको अस्तित्व स्वीकार गर्नुभएको महसुस गरेको छु’ ईः भन्छन्, ‘हामीले फुटपाथमै व्यापार गर्नुपर्छ, सडकमै अराजकता निम्त्याउनुपर्छ भनेका होइनौं । दिउँसै गर्न पाउनुपर्छ भनेको होइन । सडक व्यवसायमा आश्रित वर्गलाई सास फेर्ने बाटो हुनुपर्‍यो भनेका हौं ।’

कतिपयले ‘तपाईंको नेता को हो ?’ भनेर समेत प्रश्न गरेको भन्दै ईः भन्छन्, ‘त्यस्तो प्रश्न गर्नेहरूलाई हामीले हाम्रो नेता बालेन शाह नै हो भनेर भन्ने गरेका छौं । किनकि, अहिले हामीले उठाएको कुरा चुनाव अघि उहाँले नै उठाउनुभएको थियो ।’

१४ वर्षको उमेरमै घर छाडेर हिंडेको, अनि जात वा समाजले दिएको पहिचानको भार लिन्नँ भनेर आफ्नो पहिलो नाम ईः बाट चिनाउन रुचाउने २७ वर्षका अभियन्ता ईःसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

फुटपाथ खाली गराउने क्रममा नगर प्रहरीले लखेटेका, लछारपछार गरेका थुप्रै भिडियो सामाजिक सञ्जालमा भाइरल थिए । फेसबुक, ट्वीटरमा करुणा पनि दर्साइन्थ्यो । तर कसैले पनि महानगरले सुन्ने गरी आवाज उठाएको थिएन । तपाईंलाई चाहिं केले उनीहरूको पक्षमा बोल्न प्रेरित गर्‍यो ?

मैले सन् २०१५ देखि अधिकांश समय हिंडेरै विताएको छु । त्यसरी हिंड्दिनँ जहिल्यै सबभन्दा बढी हार्दिकता र प्रेम मजदुर तथा उद्यमी वर्गबाटै पाएको छु । कतिपय ठाउँमा सुत्नै नपाउने स्थितिमा चियावाला दाइले साथ दिनुभएको छ । त्यस्तो मानिसहरूले खान–बस्न सहजीकरण गरिदिनुभएको छ । एकअर्कासँग परिचय गर्न खोज्दा घर कहाँ हो ? बाबु, आमा के गर्छन् ? जस्ता प्रश्न आउँछन् । मैले काठमाडौंको भन्नासाथ धेरै ठाउँमा विशिष्ट व्यवहार हुन्थ्यो ।

सन् २०२१–२२ मा मैले कार्गिल–कन्याकुमारी, टेकनाथदेखि झापासम्म दक्षिणएसियाको पैदल यात्रा गरें । त्यसपछि पनि रेलमा धेरै ठाउँको यात्रा गरें । नेपाल बाहिरका गाउँठाउँ पुग्दा पनि धेरैजसो नेपाली भेटें । उहाँहरू कहीं ज्याकेट बेचिरहनुभएको थियो, कहीं टिसर्ट बेचिरहनुभएको थियो । कहीं गार्डको काम गरिरहनुभएको थियो । उहाँहरूले बाध्यताको जीवन चलाइरहनुभएको थियो ।

नेपालका पहाडमा हिंड्दा मैले जति धेरै पुरुषहरू भेटें, त्योभन्दा बढी भारतमा हिंड्दा भेटें । सबैले सबै ठाउँमा वर्गीय हिसाबले दुःख पाउने कुरा हो भन्ने मैले प्रत्यक्ष रूपमा देख्न र भोग्न पाएँ । नेपालमा फर्किएर आउँदा त्यही (मजदुर, उद्यमी) वर्गमाथि भएको क्रूरता, बोकाइएको अपजसको भारी लगायत देख्दा चुप बसिरहन सकिनँ । र, उहाँहरूको पक्षमा बोल्ने निर्णय गरें ।

हुनत, नेपालका तीन वटै मुख्य दल आफूलाई समाजवादी भन्छन् । संविधानमा देश समाजवाद उन्मुख छ भनेर लेखिएको छ, यही मजदुर वर्गका लागि भनेर हिजो हतियार उठाउने मान्छे देशका प्रधानमन्त्री छन्, अहिले । गृहमन्त्री पनि त्यही पार्टीका हुन् । नगरसभामा भएका सदस्यहरू पनि समाजवादी पार्टीकै हुन् ।

उहाँहरूले किन समयमै यसमा हस्तक्षेपकारी भूमिका खेल्न सक्नुभएन भन्ने मेरो प्रश्न हो ।पपुलिज्मलाई पपुलिज्मले काट्न सक्दैन, यदि उहाँहरू साँच्चै समाजवादी हुनुहुन्छ, साँच्चै नै मजदुर, उद्यमी वर्गप्रति संवेदनशील हुने उहाँहरूको मान्यता हो भने यस्तोमा उहाँहरूले हस्तक्षेप गर्न जरूरी नै छ । कसैलाई असफल पार्न होइन, मजदुर, उद्यमी वर्गको पक्षमा हस्तक्षेप गर्न जरूरी छ ।

अहिले जे कुरा पनि कालो र सेतोमा हेर्ने प्रवृत्ति देखियो । कुनै कुरा गर्न मन लागेन भने कानुनको किताब हेरेर त्यसको व्याख्या गरिदिने, कुनै कुरा गर्न मन लाग्यो भने कानुनको केही मतलब नगर्ने प्रवृत्ति काठमाडौं महानगरमा देखियो ।

तपाईंले तीन महिना अघिबाटै महानगरको कदम विरुद्ध प्रदर्शनको नेतृत्व गरिरहनुभएको थियो । कुन विन्दुमा पुगेर चाहिं अब उभिन्छु भन्ने लाग्यो ?

तीन महिना अगाडि ‘गरिबको चमेली बोल्दिने कोही छैन…’ भन्ने भिडियो भाइरल भयो । त्यसपछि मजदुरहरूको पक्षमा बोल्नुपर्ने समय यही हो भन्ने भयो ।

किनकि चुनाव अघि मेयरले वैकल्पिक स्थान, वैकल्पिक समय र ‘लाइसेन्सिङ फि’ जस्ता कदमबाट सहजै समाधान गर्न सकिन्छ भन्ने थियो । नगर प्रहरीले हिंसात्मक व्यवहार देखाउनुपर्दैन भन्नुभएको थियो । त्यसअनुसार नभएपछि हामीले बाघदरबार अगाडि जवाफदेही माग्दै प्रदर्शन सुरु गर्‍यौं ।

केही नगर प्रहरीलाई त्यसबेला कारबाही पनि भयो, तर मजदुर वर्गको सामान खोस्ने कामले निरन्तरता पाइरह्यो । पटक–पटक प्रदर्शन गर्दा पनि मेयर, उपमेयरबाट कुनै प्रतिक्रिया आएन भनेर अभियन्ता साथीहरूमा पनि नैराश्यता छाउन थालिसकेको थियो । त्यसपछि मेयर, उपमेयरको कार्यालय अगाडि एक्लै भए पनि उभिन्छु भन्ने प्रण गरें । केही न केही न्यूनतम जवाफदेहिता खोज्छु भन्ने सोचें र अन्तरात्माको आवाज सुनेर उभिने निर्णय गरेको थिएँ ।

त्यहाँ बस्दा अरू केही नभए पनि दिनमा दुई चोटि आउँदा जाँदा मेयर, उपमेयर, वडाध्यक्ष, काठमाडौं महानगरका कर्मचारीहरूले मलाई देख्नुहुन्छ भन्ने भयो । नैतिक प्रश्नको रूपमा खडा हुँदा केही न केही जवाफ आउला भन्ने आशा थियो ।

जतिबेला ७७ घन्टा उभिन्छु भनेर निर्णय गर्नुभयो, त्यतिबेला यो प्रदर्शन ९ दिनसम्म लम्ब्याउनु पर्ला भन्ने सोच्नुभएको थियो ?

लोकतन्त्रमा कसैलाई कुनै विषयले पिरोलेको छ भने त्यस विषयमा जो–कोहीले जवाफदेहिता खोज्नुपर्छ भन्ने मेरो मान्यता हो । सहभागी हुने, आलोचनात्मक हिसाबले नहेरी नागरिक दायित्व पूरा नगरी लोकतन्त्र सबल हुनसक्दैन ।

त्यसैले मलाई पिरोलेको विषयमा मैले बोल्ने निधो गरें । तर अचम्म के भयो भने पहिलो दिन नै मेयर बालेनको ‘कोर क्याम्पेनर’का रूपमा लाग्नुभएका टुडेस चाउ (सौरभ) आएर सँगै उभिदिनुभयो ।

यो मेरो लागि अप्रत्याशित थियो । हिजो वैकल्पिक राजनीतिको अभियानमा लागिराख्नुभएको अर्को साथी प्रवीण काफ्ले पनि चितवनबाट आउनुभयो । म त एक्लै उभिन्छु भनेर आएको थिएँ, उहाँहरू थपिंदा छक्क परें ।

विस्तारै अरू साथीहरू पनि थपिंदै जानुभयो, महोल बढ्दै गयो । ७७ बाट १२३ बनाउनुपर्ने माहोल बन्यो । ६ दिनसम्म चाउ र प्रवीण मसँगै उभिनुभयो । तर त्यसपछि जागिरका कारणले छुट्टी लिन नपाएकाले आ–आफ्नो काममा फर्किनु पर्‍यो ।

एकपटक त म आफैं पनि जवाफ आएन भनेर निराश भइसकेको थिएँ । तर अप्रत्याशित रूपमा सडक व्यवसायी जोडिनुभयो । उहाँहरूले हाम्रो लागि कसैले यत्रो खुट्टा सुुन्याएर उभिरहेको छ भने हामी किन नआउने भनेर उहाँहरू पनि दिन–रात नभनी उभिन आउनुभयो ।

यसपछि ठूलो नैतिक जिम्मेवारी भयो, आश मर्‍यो भनेर छाड्ने ठाउँ भएन । त्यसले मलाई १९९ घण्टासम्म डट्ने हिम्मत दियो । आवश्यक परेको भए अझै बढाउँदै जान सक्थें, अप्रत्याशित रूपले दशैंसम्मै जानसक्थ्यो । सातौं दिन लौरो लिएर उभिएको थिएँ । अझै लम्बिंदै जाँदा बैसाखी बोकेर बस्न पनि म तयार थिएँ । थप गाह्रो भए घुँडामा उभिने गरी पनि खबर गरेको थिएँ । किनकि, मेरो पीडाका लागि साना सडक व्यवसायीहरूको पीडा र कथा धेरै ठूलो थियो ।

मेयर बालेन लगायत कतिपयले फुटपाथ भनेको हिंड्नका लागि हो, व्यवसायका लागि होइन भनेर तर्क गरिराख्नुहुन्थ्यो, तपाईंले चाहिं कसरी व्यवस्थापन गर्ने भन्न खोज्नुभएको हो ?

अहिले जे कुरा पनि कालो र सेतोमा हेर्ने प्रवृत्ति देखियो । कुनै कुरा गर्न मन लागेन भने कानुनको किताब हेरेर त्यसको व्याख्या गरिदिने, कुनै कुरा गर्न मन लाग्यो भने कानुनको केही मतलब नगर्ने प्रवृत्ति काठमाडौं महानगरमा देखियो ।

हामीले पनि फुटपाथमै व्यापार गर्नुपर्छ, सडकमै अराजकता निम्त्याउनुपर्छ भनेका होइनौं । दिउँसै गर्न पाउनुपर्छ भनेको होइन । हामीले हुँदा खाने वर्गलाई दुई छाक टार्न, बच्चाबच्चीलाई स्कुल पठाउन सास फेर्ने बाटो हुनुपर्‍यो भनेका हौं ।

सबै कुरा कानुनबाट चल्दैन, जनमानसका कुरा पनि सुन्नुपर्छ भनेर नै मेयर, उपमेयर, जनप्रतिनिधि राखिएको हो नि ! मतदाताको मात्र होइन, जसले यहाँको अर्थतन्त्रमा योगदान पुर्‍याइरहनुभएको छ, उहाँहरूको पनि सुन्नुपर्छ, जनप्रतिनिधिले व्यावहारिकपन र हार्दिकता प्रदर्शन गर्नुपर्छ ।

छिमेक ललितपुरमै त्यसलाई सम्बोधन गर्ने नीति छ । हामीले काठमाडौं महानगरबाट अपेक्षा गरेकै त्यही हो । चण्डीगढ, चीनको सांघाइ लगायतले मन्दीका बेला सडक व्यवसायीलाई प्रोत्साहन दिएको उदाहरण छ ।

पठाओ, इनड्राइभ गर्दा ‘गिग इकोनमी’ हुने, तर सडकमा व्यवसाय गर्दा नियम, कानुन उल्लंघन भयो भनेर कालो, सेताको दृष्टिकोणले हेर्नु वर्गीय दृष्टिकोण हो । उपल्लो मध्यम वर्गीयलाई राइड शेयरिङ उपयुक्त छ, अनलाइन डेलिभरी उपयुक्त छ । अनलाइन व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भन्दा सबैको सरोकारको विषय भयो । तल्लो वर्गले गरेको पनि गिग इकोनमी हो नि ! काम गरेर खाने तल्लो वर्गको सरोकारको विषय भएकाले धेरैको ध्यान नपुगेको हो ।

चारबुँदे सहमतिपछि तपाईंले उठाउनुभएको कुराहरूको सम्बोधन भयो भन्ने लाग्छ कि लाग्दैन ?

यो पूर्ण सम्बोधन त होइन, यद्यपि केही आधार दिएको छ । साना सडक व्यवसायीबाट जफत गरिएका सामान फिर्ता गर्ने सहमति भएको छ । यसको अर्थ जफत गरिएको सही थिएन भन्ने नगरपालिकाले स्वीकारेको छ ।

अर्को बुँदामा पुसको नगरसभा बैठकलाई सुझाव दिने किसिमले दीर्घकालीन नीति परिवर्तन गर्ने गरी अध्ययन गर्न समिति बन्ने भनिएको छ । हुँदा खाने वर्गको साइकल, ठेला उठाइँदा उनीहरूको आत्मसम्मानमा उठ्नै नसक्ने गरी ठेस पर्छ, दैनिकी खल्बलिन्छ ।

त्यो भएर घोर अन्यायको विषयलाई सम्बोधन गर्ने आधार भएको छ यो सहमति । यसलाई समाधानका लागि लाइसेन्सिङदेखि अरू व्यवस्थापन गर्न पनि समितिले सुझाव दिन्छ । एक हप्ताभित्रमा कानुनले निषेध गरेका क्षेत्र बाहेक व्यवसायका लागि स्थानहरू खोज्ने भन्ने भएको छ ।

हामीले पनि फुटपाथमै व्यापार गर्नुपर्छ, सडकमै अराजकता निम्त्याउनुपर्छ भनेका होइनौं । दिउँसै गर्न पाउनुपर्छ भनेको होइन । हामीले हुँदा खाने वर्गलाई दुई छाक टार्न, बच्चाबच्चीलाई स्कुल पठाउन सास फेर्ने बाटो हुनुपर्‍यो भनेका हौं । यसलाई पनि सहमतिले स्वीकारेको छ ।

यसरी हेर्दा महानगरले सडक व्यवसायीको अस्तित्व स्वीकारेको छ, उनीहरूप्रति जिम्मेवार छ भन्ने देखिएको छ । केही भुलचुक भएका छन्, त्यसलाई सुधार गर्नुपर्छ भन्ने तत्परता देखिएको छ । समग्रमा हेर्दा जवाफदेहिता कायम भएको छ ।

तपाईंहरूले उठाएको विषय त नगर प्रहरीको व्यवहारको कुरा पनि थियो नि !

हो, नगर प्रहरीबाट त्यसरी लछारपछार गरेको, दुर्व्यवहार गरेको भिडियो नआएको भए हामी यति चित्तदुखाउने अवस्थामा पुग्ने नै थिएनौं । यसमा मेयरभन्दा पनि नगर प्रहरी प्रमुख राजु पाण्डे अझ बढी उग्र देखिए ।

नवौं दिन बिहान पनि सडक व्यवसायीहरू उभिएका बेला उनले ढोका बाहिर आएर गिज्याउने काम गरे । त्यसपछि सडक व्यवसायीहरू पनि आक्रोशित हुनुभयो ।

मान्छेले देख्ने मेयरको प्रतिनिधि भनेको नगर प्रहरी हो । मेयरलाई नै भेट्नुपर्ने हो, तर अहिले त्यो भएको देखिन्न । त्यसो हुँदा मेयरको प्रतिविम्ब मानिसहरूले देख्ने भनेको नगर प्रहरीमा हो । त्यसैले नगर प्रहरीमा हार्दिकता र व्यावहारिकताको खाँचो देखिएको छ । यसमा महानगरपालिकाले सोच्नुपर्छ ।

तपाईंमाथि पनि राजनीतिक स्वार्थ छ कि भनेर प्रश्न आयो । मेयर स्वयंले वार्तामा बोलाउँदा आउन नमानेको भन्दै ‘वार्ता उहाँहरूको नेताहरूसँग गर्ने’ भनेर प्रश्न गर्नुभयो नि ?

बालेनलाई पनि देवत्वकरण गरियो । बेलाबेला मलाई पनि नायकीकरण गर्न खोजे जस्तो पनि लाग्छ, त्यसमा मेरो असहमति छ । जे गरे पनि ठिक, केही गल्ती गर्नै सक्दैन भनेर नै नेतृत्व बिग्रिने हो । यसले अनावश्यक हौसला दिन्छ, चेक एण्ड ब्यालेन्स हुँदैन ।

कसैले तपाईंको नेता को हो भनेर सोध्दा हामीले बालेन नै हो भनेर जवाफ दिन्थ्यौं । किनकि चुनावअघि उहाँले वैकल्पिक स्थान, समय र ‘लाइसेन्सिङ फि’ मोडल लागू गर्छु भनेर स्पष्ट प्रतिबद्धता जनाउनुभएको थियो । त्यसका लागि अलिकति सहकार्य, समन्वय गर्नुपर्ने अवस्था छ भन्नुहुन्थ्यो । अहिले हामीले त्यही कुरा उठाएका हौं ।

जहाँसम्म उहाँको स्टाटसको कुरा छ, उहाँ आफैंले अर्को स्टाटसमा खण्डन गर्नुभयो । भित्रको कुरा के भने एक जना मान्छे आएर उहाँलाई यो मान्छे कुनै दूतावासबाट १५/२० लाख रुपैयाँ खाएर बसेको भनेर कन्भिन्स गर्न खोज्दैथियो रे ! यसको कुरा मान्दै नमान्नुभन्दा मेयर स्वयंले यस्तो कुरा मेरो अगाडि नगर्नुस्, मैले उसलाई लामो समयदेखि चिनेको छु भन्नुभएको थियो रे !

त्यो अपजसबाट उहाँले मलाई मुक्त गरिदिनुभयो, त्यसका लागि म उहाँप्रति आभारी छु, धन्यवाद भन्छु ।

मेयर बालेनसँग तपाईंको यो अभियान अघि वा पछि व्यक्तिगत रूपमा भेट भएको छ कि छैन ?

१०/१२ वर्षअघि प्रहरी दमनकै मुद्दामा होस् वा नयाँ नेतृत्व चाहिने कुरामा अभियान गर्दा एउटै प्लेटफर्ममा उभिएका थियौं । हाम्रो साथीभाइ सर्कलहरू एउटै हो । हिजोसँगै अभियानमा हिंडेका साथीहरू उहाँको सचिवालयमा हुनुहुन्छ ।

पछिल्लो समय आन्दोलन चलिरहेका बेला म र एक जना साथीसँगै गएर मेयरलाई भेट्ने भन्ने सल्लाह भएको थियो । पछि एक्लै आउने भए आऊ, नभए आधा घन्टा बढी समय दिइन्न भन्ने रुखो सूचना आयो । त्यसको साक्षी नारायण वाग्ले, बालेनकै टिमका केही साथीहरू, सडक व्यवसायीहरू पनि हुनुहुन्छ । कानुन विज्ञ साथीलाई बोलाउन आधा घन्टा समय माग्दा अप्रिय अवस्था बन्यो ।

यद्यपि, यो विषयमा मैले उहाँलाई भेट्न जरूरी पनि थिएन । किनभने, आफैंले गरेको वाचामा जवाफदेहिता मात्र मागेका हौं । हामीले भेट्दै नभेटी केही कुरामा सम्बोधन गरिदिनुभएको भए यत्रो दिन लम्बिनुपर्ने अवस्था पनि थिएन ।

धेरैले ईःको अबको कदमबारे पनि सोध्छन्, राजनीतिमा आउने पूर्वतयारी पनि भन्छन् नि, हो ?

म आफ्नो अन्तरात्माको आवाजले चल्ने मान्छे हुँ । ‘इनफ् इज इनफ्’ अभियानका बेला, अनशन बस्दा पनि धेरैले राजनीतिमा लाग्छ, चुनावमा उठ्छ भन्ने अनुमान गर्नुभएको रहेछ । यस्ता युवाहरू चाहिन्छ भन्ने उहाँहरूको अपेक्षा पनि थियो ।

तर मैले निश्चित एजेण्डामा आधारित भएर आवाज उठाएको थिएँ । सरकारले महामारीमा गर्नुपर्ने काम गरिरहेको थिएन, उल्टै पार्टी नेताहरू झगडा गर्दै बसिरहेका थिए । अस्पतालको स्तरोन्नति भएको थिएन, टेस्टिङ किटमा भ्रष्टाचार भइरहेको थियो । गरिखाने वर्गलाई दुईछाक टार्न गाह्रो भएको बेला मैले जे ठिक लाग्यो, त्यो गरें । पछि नेतृत्वले पनि गम्भीर रूपमा लियो ।

त्यसबेला पनि धेरैले अब के गर्ने भन्दा मैले हिंड्न जान्छु भनेको थिएँ । धेरै गम्भीर रूपमा लिएनन् । सजिलै कुनै पार्टीमा जान सक्छ, स्वतन्त्र उठ्दा पनि राम्रो भोट ल्याउन सक्छ भनेका थिए । सबैको आ–आफ्नो स्वभाव हुन्छ । मेरो सबभन्दा ठूलो कमजोरी वा बल भनेकै मैले हिजो जे गरें, जे उपलब्धि पाएँ, त्यसको भार लिएर म हिंड्दिनँ । म ठूलो मान्छे भएँ, मैले यस्तो गरें भनेर भार लिएर हिंड्दिनँ । हरेक दिन बिहान उठ्दा म नयाँ जीवन पाए जसरी हिंड्छु ।

बालेनलाई पनि देवत्वकरण गरियो । बेलाबेला मलाई पनि नायकीकरण गर्न खोजे जस्तो पनि लाग्छ, त्यसमा मेरो असहमति छ । जे गरे पनि ठिक, केही गल्ती गर्नै सक्दैन भनेर नै नेतृत्व बिग्रिने हो । यसले अनावश्यक हौसला दिन्छ, चेक एण्ड ब्यालेन्स हुँदैन । लोकतन्त्रमा चेक एण्ड ब्यालेन्स एकदम आवश्यक छ । सही कुरालाई प्रश्रय दिने गलतलाई गलत भन्ने मान्छे चाहिन्छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

हेर्नुस् भिडियो 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply