नेपालले पहिलो पटक टी २० विश्वकप खेल्दा अफगानिस्तानलाई दियो माथ, पारसले सोधेका थिए यस्ता प्रश्न

0
पारस खड्का

तस्बिर स्रोत, ICC

तस्बिरको क्याप्शन, टर्फीसहित कप्तान पारस खड्का

मार्चको महिना। उखरमाउलो घामले चटगाउँको वातावरण तातिएको थियो। त्योभन्दा बढी तातो त त्यहाँ नेपाली राष्ट्रिय क्रिकेट टोलीमा देखिएको क्रेजले दिलाएको आभास हुन्थ्यो। जसको रापले नेपालभरि नै क्रिकेट ज्वरो उच्चतम फैलिएको थियो।

कुरा ठ्याक्कै १० वर्ष दुई महिना अगाडिको हो।

इतिहासमा पहिलो पटक नेपाल टी-२० विश्वकपमा पुगेको थियो र बाङ्ग्लादेशको त्यो क्रिकेट यात्रामा धेरै थोक भएको थियो।

विश्वकपमा नेपालको उपस्थिति अन्तर्राष्ट्रिय क्रिकेट जगतका लागि ‘सप्राइज’ थियो, खेलाडीहरूका लागि यथार्थ बनेको ‘सपना’, नेपाली दर्शकका लागि ‘झुम्ने अवसर’ अनि नेपाली क्रिकेट जगतका लागि भने ‘नयाँ क्रिकेट क्रान्ति’ थियो।

खेल पत्रकारका लागि पनि विश्वकप विशेष हुने नै भयो। विश्वकप रिपोर्टिङ गर्ने खेल पत्रकारमा म पनि एक थिएँ।

शानदार सुरुवात

कतिपयले सानो देश नेपालले विश्वकप जस्तो ठुलो मञ्चमा के गर्ला र भन्ने विचार व्यक्त गर्ने गर्थे?

तर बाङ्ग्लादेशको राजधानी ढाका पुगे लगत्तै नेपाली कप्तान पारस खड्काका प्रभावशाली भनाइले सबैको ध्यान नेपालतिर तानेको थियो।

बाक्लो सुरक्षा घेरामा रहेको ढाकाको एक पाँचतारे होटेलमा सोनार गाउँमा विश्वकप खेल्ने १६ राष्ट्रका कप्तानहरूबीचको पत्रकार सम्मेलन थियो।

आफ्नै शैली र आत्मविश्वाससाथ प्रस्तुत हुँदै कप्तान पारसले भने, “ २/४ महिना होइन, हामी १०/१२ वर्ष देखि क्रिकेट खेलिरहेका छौँ। र, हामी यहाँ सहभागी हुन होइन, प्रतिस्पर्धा गर्न आएका हौँ। नेपालले पनि राम्रो खेल्छ भनेर हामीलाई विश्व सामु देखाउनु छ।”

भोलिपल्ट बाङ्ग्लादेशका मिडियामा नेपाली क्रिकेट ‘हेडलाइन’ को विषय बन्यो।

एक विदेशी पत्रकारले यतिसम्म सोधे, “‘नेपाल त बन्जी, पर्वतारोहण जस्ता साहसिक खेल खेल्ने देश हो। तिमीहरू कसरी क्रिकेटमा?”

पारसको जबाफ थियो, “एसीसीको प्रतियोगितामा हामी १९९६ देखि आएका हौँ। तर तपाईँ बुझ्नुहोस् नेपालमा क्रिकेट पुरानो खेल हो र नेपाल क्रिकेट सङ्घ नेपालको सबैभन्दा पुरानो सङ्घ हो। हो हामीसँग अन्तर्राष्ट्रिय उपलब्धि थिएन।”

नेपाली क्रिकेट समर्थकहरूको ‘क्रेज’

ढाका

ढाकामा केही दिनको अभ्यासपछि चर्को घाममा खेल्नका लागि अभ्यस्त हुन नेपाली टोली चटगाउँ पुग्यो।

बाङ्ग्लादेशको दोस्रो ठुलो व्यापारिक सहर चटगाउँको वातावरणलाई क्रिकेट विश्वकपले छोपिसकेको रहेछ।

ठूल्ठूला गेट, विभिन्न देशका खेलाडीको पोस्टर, त्यसमा खासगरी बाङ्ग्लादेशका कप्तान मुसफिकर रहिमको चर्चा बङ्गालीहरूको मुख मुखमा झुन्डिए जस्तै।

खेल जहुर मोहम्मद चौधरी क्रिकेट मैदानमा भएको थियो।

नेपालको खेल हेर्न विभिन्न स्थानबाट नेपाली समर्थक आएका थिए। राम्रै दर्शक आउने अनुमान गरियो।

पहिलो खेल भएकोले हामी पनि समयमा नै रङ्गशाला पुग्न हतारिएका थियौँ। त्यहाँ पुगेर मिडिया बक्समा आफ्नो स्थान सुरक्षित पनि गर्नु थियो। हामी झन्डै ४ घण्टा अगाडि नै रङ्गशालातिर निस्कियौँ।

रङ्गशाला पुग्दा पुग्दै अनौठो दृश्य देखियो। रङ्गशाला वरिपरि छपक्कै नेपाली फ्यानहरू थिए।

प्रायजसोले नेपालको टी सर्ट, हातमा नेपाली झन्डा, अनुहारमा उत्साह थियो। बाङ्ग्लादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी रङ्गशाला पुगे कि भने जस्तो लाग्ने। नेपाली क्रिकेट क्रेज उत्साह जगाउने किसिमको थियो।

पारसको त्यो प्रश्न

नेपाल र हङकङबीचको खेल थुप्रै नेपाली समर्थकले अझै बिर्सेका छैनन्।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले कैयन् अन्तर्वार्तामा हङकङसँग खेल्ने बेला रङ्गशालामा नेपालको राष्ट्रिय धुन बज्दाको क्षणलाई क्रिकेट जीवनको अविस्मरणीय क्षण भनेका छन्।

खेल पनि उतिकै स्तरीय हुन पुग्यो। दर्शकले चाहे जस्तै। कमेन्टेटरहरू नेपालको खेलको मुक्त कण्ठले प्रशंसा गरिरहेका थिए भने क्यामेराम्यानलाई नेपाली समर्थकहरूको खुसीयाली ‘क्याप्चर’ गर्न भ्याई नभ्याई थियो। नेपालले खेल ८० रनले शानदार जित हात पार्‍यो।

जितपछिको पत्रकार सम्मेलनमा गजबको खुसीयाली देखियो। कप्तान पारसले नेपाली पत्रकार देख्ने बित्तिक्कै सोधेका थिए, “लिभरपुलको म्याचको नतिजा के भो?”

क्रिकेटर पारस लिभरपुलका पनि पक्का समर्थक रहेछन्। अघिल्लो रात इङ्लिस प्रिमियर लीग अन्तर्गत म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच भएको खेलमा लिभरपुलले जितेको थियो।

अफगानिस्तानसँगको बदला

अफगानिस्तान र नेपाल
तस्बिरको क्याप्शन, रोमाञ्चक खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो

दोस्रो खेलमा नेपालको आयोजक बाङ्ग्लादेशसँग केही लागेन। सहजै पराजित हुन पुग्यो। तेस्रो तथा अन्तिम खेल भने अफगानिस्तानविरुद्ध थियो।

एक समय नेपालभन्दा तल रहेको अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा छलाङ लगाइसकेको अवस्थामा अफगानिस्तानलाई विश्वकपको मञ्चमा हराउन पाएर उत्कृष्ट ढङ्गले प्रतियोगिताको समापन गर्न चाहन्थे।

प्रि म्याच प्रेस कन्फ्रेन्स हुने कोठा अलिक सानो थियो। पत्रकारहरू बस्ने सिट पनि धेरै खाली थिएन। अफगानिस्तानबाट कप्तान मोहम्मद नावी र नेपाली कप्तान पारस खड्का प्रि म्याचमा उपस्थित भए।

पारसले स्वाभाविक ढङ्गमा राम्रो खेलेर जितका साथ नेपाल फर्किने अभिव्यक्ति दिए। तर नावीको शैली भने भिन्न थियो।

उनले नेपाललाई सानो र सहज प्रतिद्वन्द्वी भनेर टिप्पणी गरे। यतिसम्म भने कि नेपाल उनीहरूको खासै ठुलो प्रतिद्वन्द्वी हुँदै होइन।

मैदानमा खेलाडीहरूको प्रस्तुति पनि त्यस्तै ढङ्गको थियो।

नेपालले सुभाष खकुरेलको ५६ रनको अर्धसत्तकको मद्दतमा १४१ रन मात्र जोडेको थियो।

जबाफमा आएका अफगान खेलाडीहरू नेपाललाई मामुली ठानेर हेपेरै खेल्न खोजेको जस्तो देखिन्थ्यो।

ओपनर द्वय मोहम्मद शहजाद र करिम सादिक दुबै जना १ रन बनाउने मुडमा थिएनन्। चौका वा छक्का नलागे उनीहरू एक रन लिएर ‘स्ट्राइक’ छोड्न चाहेनन्। ‘स्ट्राइक’ लिन दुईजना एक अर्कासँग भनाभन नै गरिरहेका थिए। रङ्गशालाको त्यो दृश्य अनौठो थियो।

अकुर रिमाल

तस्बिर स्रोत, Supplied

तस्बिरको क्याप्शन, क्रिकेट समर्थक अकुर रिमाल अफगान नेपाल समर्थकहरूबीच घोचपेच चलेको सम्झन्छन्

नेपाली बलरमाथि त्यो कम आँकेको सरह देखिन्थ्यो। त्यसको बदलास्वरूप जितेन्द्र मुखियाले शहजाद अनि सोमपाल कामीले करिमको विकेट लिँदै दुवैलाई सस्तैमा पवेलियनको बाटो देखाइदिए।

नेपाली समर्थकहरू यति बेला मस्त रमाउन पुगे।

उक्त खेल हेर्न नेपालबाट चटगाउँ पुगेका क्रिकेट समर्थक अकुर रिमाल सम्झिन्छन्, “जस्तो प्रतिस्पर्धा मैदानमा खेलाडीबीच चलेको थियो, दर्शक दीर्घामा नेपाली र अफगान समर्थकबीच पनि चलेको थियो। उनीहरू हामीलाई होच्याउन खोज्थे। अनि हामी पनि उनीहरूलाई। ”

कप्तान नाबीलाई त शक्ति गौचनले १ रन बनाउँदा खेरी नै बोल्ड गरिदिएका थिए।

जब नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउन नसक्ने स्थिति बन्यो, अफगानी खेलाडीहरू छटपटाउन थालेका थिए। नेपालले ९ रनको स्वादिलो जित निकाल्यो।

समर्थक अकुर सम्झिन्छन्, “अफगान समर्थकहरूलाई जितपछि जिस्काउन पाउँदा खुबै मज्जा भयो नि त्यति बेला।”

अनि पोस्ट म्याच प्रेस कन्फ्रेन्समा नावी अनुपस्थित रहे।

‘थिङकिङ समथिङ मोर’

नेपाली पत्रकारहरूसँग बाङ्ग्लादेशका पत्रकारहरूको खूब हेलमेल भएको थियो।

प्रतियोगिताभरि उनीहरूले हामीहरूलाई निकै माया देखाए। सहयोग पनि मज्जाले गरे।

तर अन्तिम दिनको उनीहरूको तनाव अर्कै थियो।

बाङ्ग्लादेश र हङ्‌कङबीच लीगको अन्तिम भिडन्तमा हङ्‌कङले बाजी मार्‍यो।

हङ्‌कङ र अफगानिस्तानलाई पराजित गरेकोले नेपालको ४ अङ्क थियो। बाङ्ग्लादेशले पनि नेपाल र अफगानिस्तानलाई हराएकोले समान ४ अङ्कमै थियो।

यस्तोमा हङकङ‍सँग हारेर रन रेटमा तल परेको भए बाङ्ग्लादेश प्रतियोगिताबाट बाहिरिन्थ्यो र नेपाल दोस्रो चरणमा प्रवेश गर्थ्यो।

खेलमा यस्तोसम्म स्थिति बन्यो की १२ ओभरभित्र यदि बाङ्ग्लादेशले चाहेको रन बटुल्न नसकेको भए आउट हुने थियो।

यस्तो परिस्थितिमा बङ्गाली पत्रकारहरू निकै तनावमा देखिए। उनीहरू क्षण क्षणमा रन रेटको हिसाब निकाल्न व्यस्त थिए।

प्रेस बक्समा बङ्गाली पत्रकारहरूको बाक्लो उपस्थिति थियो। उनीहरूकै अगाडि खुलेर हङकङको समर्थन गर्न नमिल्ने । तर हामीभित्र निकै खुसी हुँदै हङकङले राम्रो खेलोस् भन्ने कामना गरिरहेका थियौँ।

तनावको यो बेला ‘स्मोकिङ रुम’ मा धेरै नै धुवाँ फैलिने गर्छ। म पनि त्यहाँ पुगेँ। मेरो उज्यालो अनुहार देखेर तनावमा रहेका एक बङ्गाली पत्रकारले सोधिहाले, “थिङकिङ सम्थिङ मोर?”

नेपाली पत्रकारहरू
तस्बिरको क्याप्शन, समाचार सङ्कलन गर्न नेपाली खेल पत्रकार बाङ्ग्लादेश पुगेका थिए

हिजो अस्ति निकै सहयोगी देखिएका बङ्गाली पत्रकार साथीहरू आक्रोशित देखिए। उनको ‘बडी ल्याङ्ग्वेज’ ले मलाई भनिरहेको जस्तो लाग्यो- “नेपालले यो विश्वकपमा जति प्राप्त गर्‍यो, त्यो नै काफी छ। त्यो भन्दा बढी नसोच।”

मैले त्यो धुवाँले भरिएको कोठा छोड्ने निर्णय गर्दै तत्काल उनीहरूलाई मन पर्ने जबाफ दिएँ, “ धन्दा नमान। बाङ्ग्लादेशले यो खेल पक्का जित्नेछ।”

बाङ्ग्लादेशले खेल त जित्न सकेन। तर रन रेटमा नेपालभन्दा अगाडि भने रह्यो। समग्रमा दुवै टोलीले ४ अङ्क प्राप्त गरे पनि रन नेपालको ०.९३३ रेटभन्दा बाङ्ग्लादेशको १.४६६ रन रेटले उ अघिल्लो चरणमा पुग्यो।

जोयकाली मन्दिर

विश्वकप यात्रामा धेरै कुराहरू अविस्मरणीय रहे।

नेपालबाट झन्डै २ दर्जन खेल पत्रकार रिपोर्टिङका लागि बाङ्ग्लादेश पुगेका थिए। ढाकामा हामी बसेको स्थान नजिकै जय काली मन्दिर थियो।

रिक्सावालाले ‘जोयकाली मन्दिर’ भन्थे। त्यसैले जोयकाली मन्दिर हाम्रो यात्राभरिको थेगो बन्यो।

जहिले पनि लौकाको तरकारी खुवाएर बङ्गाली होटेलवालाले एउटा अलग्गै छाप छाडे।

चितगोंग रङ्गशालामा प्रत्यक्ष खेल हेरिरहँदा काठमाण्डूको वसन्तपुर दरबारमा भरिभराउ दर्शकले विश्वकप क्रिकेट हेरिरहेको तस्बिर अन्तर्राष्ट्रिय पत्रिकामा छापिएको देख्दा भावुक नै बन्यौँ।

पारसले सुरुमा भने जसरी नै विश्व क्रिकेटलाई नेपाली क्रिकेटको प्रभाव देखाएर आफ्नो वाचा पूरा गरे। त्रिभुवन विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत हुँदा हामी पत्रकार भने ढाकामा भारत र पाकिस्तानबीचको चर्चित भिडन्तको मजा लिइरहेका थियौँ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply