नेप्सेले ल्याउन लागेको ‘नेप्से ३०’ सूचकाङ्क के हो, के होइन

0
स्टक बजार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

लामो समयदेखि नेप्से सूचकाङ्कमा वृद्धि हुन सकिरहेको छैन

१५ सेप्टेम्बर २०२३

शेअर किनबेचका निम्ति एकमात्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज महिनाभित्र ल्याउन तयार गरेको नेप्से ३० भन्ने नयाँ सूचकांकले आगामी दिनमा लगानीकर्ताहरूका निम्ति लगानी निर्णय लिन थप सहजता उपलब्ध हुने जानकारहरूले बताएका छन्।

वास्तविक कारोबार भइरहने शेअरको गणना गरेर सूचकाङ्क निकाल्ने हुँदा त्यसले बजारको वास्तविक चित्र प्रस्तुत गर्ने ठानिएको छ।

के हो नेप्से ३०?

यो साता नेप्सेको सञ्चालक समितिले सूचकाङ्क विकास, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आन्तरिक कार्याविधि पारित गरेको छ। त्यसको अनुसूचीमा उल्लिखित नेप्से ३० अहिले निकै चर्चामा छ।

अहिले करिब २५७ कम्पनी सूचीकृत भएको नेप्से सूचकाङ्क र त्यसअन्तर्गतका सेन्सिटिभ इन्डेक्स, फ्लोट इन्डेक्स, सेन्सिटिभ फ्लोट इन्डेक्सजस्ता सूचकाङ्क छँदै छन्।

त्यस्तै सूचीकृत कम्पनीहरूलाई १३ वटा समूहमा वर्गीकरण गरेर तिनको हिसाबकिताब राखिएको हुन्छ।

“सूचकाङ्कको हिसाबकिताब कसरी हुनुपर्छ भन्नेमा धेरै मतहरू पाइन्छ। अहिले नेप्से भनेर जुन सूचकाङ्क हामी जारी गर्छौँ त्यसमा भएभरका सूचीकृत कम्पनीका शेअर एउटै डालोमा हालेर हिसाब निकालिन्छ। त्योभन्दा प्रस्तावित नेप्से ३० अलि फरक छ,” नेप्सेका कम्पनी सचिव मुराहरि पराजुलीले बीबीसीलाई बताए।

“नेप्से ३० मा चाहिँ हामी सबैलाई राख्दैनौँ। हाम्रा पाँचवटा जति मापदण्ड छन् त्यसमा पर्ने ३० वटालाई राखेर यो सूचकाङ्कको हिसाब निकालिन्छ,” उनले भने।

“फेरि छानिएका ती कम्पनीको पनि सबै शेअरको हिसाब गरिँदैन। बजारमा तत्काल कारोबार गर्न सकिने परिमाणको शेअर मात्र गणना गरेर यो सूचकाङ्कको हिसाब निकालिन्छ।”

“उदाहरणका निम्ति भन्दा नेपाल टेलिकमको १५ करोड कित्ता शेअर नेप्सेमा सूचीकृत भएको भए पनि आमलगानीकर्तामा केवल सात-आठ लाख कित्ता मात्र जारी भएको छ भने नेप्से ३० ले चाहिँ त्यति मात्र गणना गरेर हिसाब निकाल्छ।”

त्यस्तो तत्काल कारोबार योग्य शेअरलाई प्राविधिक भाषामा फ्री फ्लोटिङ शेअर भन्ने गरिन्छ।

स्टक बजार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

हाल नेप्सेको कुल बजार पुँजीकरण मूल्य ३० खर्ब रुपैयाँ छ भने फ्लोटिङ बजार पुँजीकरण त्यसको एकतिहाइ मात्र रहेको छ

लगानीकर्तालाई के फाइदा?

त्यसरी फ्री फ्लोटिङ शेअर मात्रको हिसाब गर्दा उक्त सूचकाङ्कले बजारको उतारचढावको यथार्थ चित्र प्रस्तुत गर्न सक्ने पराजुलीले बताए।

यसले म्यूचूअल फन्ड अनि अन्य लगानीकर्तालाई भोलिका दिनमा लगानी निर्णय गर्न सहायक हुनसक्छ।

“तर यसलाई नेप्सेले उत्कृष्ट ३० कम्पनी छानेर लगानीका निम्ति सुझाव दिएको रूपमा बुझ्न मिल्दैन। यसले त बजारको उतारचढावको एउटा चित्र दिने मात्र हो,” पराजुलीले भने।

लगानीकर्ताहरूले यसलाई एउटा सङ्केतको रूपमा ग्रहण भने गर्न सकिने बताइन्छ।

“नेप्से ३० भनेको आमलगानीकर्ताको दृष्टिकोणबाट हेर्दा राम्रो कुरा नै हो। भारतमा बीएसई सेन्सेक्स ३० अनि विदेशमा फुट्सी १०० जस्ता इन्डेक्सको यो नक्कल गर्न खोजेको जस्तो लाग्छ। जे होस् यसले कुनै लगानीकर्तालाई आफूले अध्ययन गर्न नसके पनि नेप्से ३० मा भएका कम्पनीमा अलि बढी विश्वास गरेर निर्णय गर्न सकिने हुन्छ,” शेअर लगानीकर्ता सङ्घका प्रवक्ता नवराज घिमिरेले भने।

घिमिरेका अनुसार अहिले नेपालमा शेअर कारोबार गर्न आवश्यक पर्ने डिम्याट खाता खोल्नेहरूको सङ्ख्या ५७ लाख छ भने ‘मेरोशेअर’ प्रयोगकर्ता ४८ लाख छन्।

“आईपीओहरूमा अनि शेअर किनबेचमा १२-१४ लाख लगानीकर्ता सक्रिय देखिन्छन् भने दुई लाखजति चाहिँ प्रत्येक दिन शेअर बजार अनुगमन गरेरै बस्नेहरूको सङ्ख्या छ,” उनले भने।

उनीहरू सबैलाई यसको अप्रत्यक्ष लाभ हुने उनी ठान्छन्।

मापदण्ड कस्ता?

नेप्से ३० मा कम्पनीहरूलाई छानिने मापदण्ड यस प्रकार छन्:

  • विगत पाँच वर्षमध्ये तीनमा नाफा कमाएको हुनुपर्ने
  • प्रतिशेअर आम्दानी १० प्रतिशतभन्दा धेरै भएको हुनुपर्ने
  • तत्काल कारोबारयोग्य शेअरहरूको कुल मूल्य वा फ्री फ्लोट बजार पुँजीकरणको कम्तीमा एक प्रतिशत अंश भएको हुनुपर्ने
  • निश्चित समयभित्र शेअर कारोबार भइरहेको हुनुपर्ने
  • नेप्सेमा सूचीकृत विभिन्न क्षेत्रका कम्पनीहरू समेटिनु पर्ने आदि।

यी मापदण्डहरूको प्रयोग गर्दा ३० भन्दा धेरै कम्पनी पास भए भने तिनको श्रेणी निर्धारण गरेर ‘उत्कृष्ट ३०’ चयन गरिन्छ।

यो सूचीको प्रत्येक वर्ष समीक्षा हुने र त्यहीअनुरूप परिवर्तन हुनसक्ने बताइएको छ।

स्टक बजार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

बजार ओरालो लागिरहेकाले लगानीकर्ताहरू विश्वसनीय सूचनाको खोजीमा छन्

के होइन नेप्से ३०?

नेप्से ३० मा सूचीकृत भन्दै सबै राम्रो भन्ने चाहिँ नहुने नेप्सेका अधिकारीहरू बताउँछन्।

“नाफाभन्दा पनि आफूहरूले कम्पनीको तरलतामा बढ्ता ध्यान दिएका हुन्छौँ। हुन त नाफा धेरै कमाएकाहरू बाटै छानिने हो, तर त्यसमा कुनै कम्पनीको तरलता कति छ भनेर हामी हेर्छौँ,” नेप्सेका प्रबन्धक निरञ्जन फुयालले भने।

शेअर बजारमा तरलताको अर्थ कुनै कम्पनीको शेअर उसको मूल्यमा ज्यादै फरक नपर्ने गरी कति चाँडो किनबेच हुनसक्छ भन्ने विषयसँग सम्बन्धित छ। कम तरलता भएका स्टक बेच्न गाह्रो हुन सक्छ अनि आफूले चाहेको समयमा बेच्न नपाउँदा त्यसबाट लगानीकर्तालाई घाटा हुन सक्छ।

अहिलेको परिस्थितिमा नेप्से ३० कुनै प्रोडक्ट वा शेअर वस्तु नहुने पनि उनले बताए।

“हाल यो सूचकाङ्कको हिसाब मात्र हो। भविष्यमा ‘डेरिभटिभ’ भनिने कुनै वित्तीय उपकरण आयो भने यो सूचकाङ्क आफैँ पनि कारोबारयोग्य प्रोडक्ट बन्न सक्छ तर तत्कालका निम्ति भने त्यस्तो नियम बनिसकेको छैन,” फुयालले भने।

त्यसलाई थप स्पष्ट पार्दै उनले भने, “डेरिभटिभ प्रोडक्ट भनेको चाहिँ भोलिका दिनमा बजार बढ्छ भन्ने कसैले अनुमान गर्ने अनि घट्छ भनेर कसैले अनुमान गर्ने हो भने सूचकाङ्क आफैँ पनि डेरिभटिभका रूपमा किनबेच हुन सक्छ। जस्तो भोलिका दिनमा नेप्से ३० बढ्छ भनेर कसैले किन्छ भने घट्छ भनेर कसैले बेचिदिन्छ।”

तर नेपालमा अहिले त्यसरी डेरिभटिभ किनबेच गर्न आवश्यक नियम बनिसकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply