पशुपतिमा जलहरी राख्दा डेढ किलो सुन हिनामिना

0

तौल लिने क्रममा निकालिएको पशुपतिको जलहरी ।

१४ असोज, काठमाडौं । पशुपतिनाथको ज्योतिर्लिङ्गमा जलहरी राख्दा सुन हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्किालन सदस्य सचिव डा. प्रदीप ढकाल, तत्कालिन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलनकुमार थापा र कर्मचारी विशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो (१ किलो ४९१.७१८) सुन हिनामिना भएको दावी गरेको छ । उनीहरूमाथि उक्त सुनको बजार मूल्य बराबरको रकम १ करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । कोषका सदस्यसचिव प्रदीप ढकालमाथि यसअघि नै गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलेको छ ।

जलहरी निर्माण समितिका संयोजक समेत रहेका कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा पदावधि समाप्त नहुँदै सदस्य सचिवमा नियुक्त भएका थिए ।

के हो जलहरीको भ्रष्टाचार प्रकरण ?

पशुपतिको शिवलिंगमा चढाइने अर्घ, जल तथा पञ्चामृत खस्ने भागमा लगाइने धातुको पाता नै जलहरी हो । शिवलिंगमा चढाइने सबै तरल पदार्थ जलहरीबाट ब्रह्मनालमा पुग्छ । यसअघि तामा र त्यसपछि चाँदीको जलहरी राखिएकोमा अहिले सुनको जलहरी राखिएको हो ।

शिवलिंगमा चढाइने अर्घ, जल तथा पञ्चामृत पशुपतिको मूर्तिमा अड्किने र सफा गर्दा ज्योतिर्लिङ्गलाई नै असर पर्ने भएकाले कवचस्वरुप जलहरी लगाउने प्रचलन रहेको भट्टहरू बताउँछन् । उनीहरूले पुरानो जलहरीका कारण उत्पन्न समस्याका बारेमा पटक–पटक सरकारी अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १२ माघ २०७७ मा पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला जलहरी फेरिदिने घोषणा गरेका थिए ।

दुई दिनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल नेतृत्वको पशुपति क्षेत्र विकास कोषको सञ्चालक समितिले गर्भगृहमा रहेको पुरानो जलहरीमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

कोषको निर्णय अनुसार, सुनको जलहरी निर्माणका लागि १०८ किलो सुन लाग्ने अनुमान गरिएको थियो । त्यसका लागि पशुपति क्षेत्र विकास कोषले ५० करोड रुपैयाँ खर्च गर्ने भयो भने सरकारले ३० करोड रुपैयाँ निकासा दिने भयो । नेपाल राष्ट्र बैंकसँग सोझै सुन खरिद हुने भएपछि त्यसका लागि सम्झौता गर्न कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई जिम्मेवारी दिने निर्णय कोषले गरेको थियो ।

पूर्व सदस्य सचिव प्रदीप ढकाल (बाँया) र हालका सदस्य सचिव मिलनकुमार थापा ।

त्यही दिन जलहरी निर्माण अवधिभर सुनको सुरक्षाका लागि नेपाली सेना खटाउने निर्णय भयो । अनि पशुपतिनाथको गर्भगृहमा रहेको चाँदीको जलहरीलाई मर्मत गरी त्यही जलहरी माथि सुनको जलहरी लगाउने निर्णय पनि भयो ।

जलहरी निर्माणको अनुगमनका लागि पर्यटन सचिवको संयोजकत्वमा पशुपति मन्दिरका मूल भट्ट, कोषका सदस्यसचिव, कोषका कोषाध्यक्ष र पुरातत्व विभागका महानिर्देशक रहेको पाँच सदस्यीय अनुगमन समिति गठन भएको थियो ।

कसरी भयो भ्रष्टाचार ?

अख्तियारको दावी अनुसार, पशुपति क्षेत्र विकास कोषले नेपाल राष्ट्र बैंकबाट १०२ किलो ६१४ ग्राम शुद्ध सुन खरिद गरेको थियो ।

जलहरी निर्माणमा १०० किलो ८५ ग्राम मात्रै शुद्ध सुन प्रयोग भयो । त्यसमा तामा, जिंक लगायतका अरू धातु समेत मिलाइएकाले पशुपति क्षेत्र विकास कोषले यसअघि तयार पारेको विवरणपत्र भने केही फरक छ ।

जलहरी निर्माणपछि बाँकी रहेको सुन पशुपतिनाथ क्षेत्र परिसरभित्रैको रुद्रगाडेश्वरमा राखिएको थियो । हिसाब अनुसार, नेपाल राष्ट्र बैंकबाट खरिद भएको सुनबाट जलहरी बनाइयो, त्यसक्रममा नगन्य मात्रामा सुन नोक्सान भयो (जर्ती काटियो) । अख्तियारले जलहरी निर्माणका क्रममा ७३.८८ ग्राम सुन घटेको हुनसक्ने अनुमान गर्‍यो ।

राष्ट्र बैंकबाट खरिद गरेको सुनबाट जलहरी बनाएपछि जर्ती समेत घटाउँदा २ किलो ४५४.३१८ ग्राम सुन बाँकी हुनुपर्नेमा रुद्रगाडेश्वरमा ९६२.६ ग्राम सुन मात्रै बाँकी रहेको भन्दै अख्तियारले प्रश्न उठाएको हो । उ

सले हिनामिना भएको १ किलो ४९१.७१८ ग्राम सुन पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा, सदस्यसचिव डा. प्रदीप ढकाल र विशेट नाइके अरुणकुमार श्रेष्ठले मासेको भन्दै भ्रष्टाचार मुद्दा चलाएको हो । अख्तियारले राष्ट्र बैंकबाट खरिद भएको मूल्यलाई आधार मानेर बिगो मागदावी गरेको छ ।

२९ माघ २०७७ मा जलहरी निर्माण सुरु गरेका पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले सबै काम सकिएपछि १० किलो ९७६ ग्राम सुन बाँकी रहेको भनी मुचुल्का गरेका थिए । त्यो दिनको कागजात अनुसार जलहरी निर्माणमा ९६ किलो ८२२ ग्राम सुन खपत भएको थियो ।

केही समयपछि भने कोषका पदाधिकारीहरूले मुचुल्कामा केरमेट गरे । त्यहाँ उनीहरूले ‘साथै बाँकी रहेको सुनको टुक्राहरू रिङ बनाई जलहरीमा लगाइयो’ भनी पछि वाक्यांश थपे ।

पशुपति क्षेत्र विकास कोषका सह–सहायक वासुदेव रिमालले अख्तियारमा गरेको बयान अनुसार तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालको निर्देशनमा मुचुल्कामा वाक्यांश थपिएको हो । अख्तियारले काम सकेपछि सुनको पेटी बनाएको घटनालाई भने भ्रष्टाचार मानेको छैन ।

पशुपतिनाथको गर्भगृहमा जलहरी राखेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पूजा गरेकी थिइन् । त्यो समारोहमा राखिएको व्यानरमा १०८ किलो सुनको जलहरी बनाई अर्पण गरिएको भन्ने व्यहोरा उल्लेख थियो । जलहरी निर्माणको विवाद चुलिए पनि तौलमा प्रश्न उठेको थियो ।

११ फागुन, २०७७ पछि रुद्रगाडेश्वरमा राखिएको सेफमा कुनै मुचुल्का नगरिएको भए पनि १ किलो ४९१.७१८ ग्राम शुद्ध सुन बाहिर निकालिएको अख्तियारको दावी छ । त्यसक्रममा सुनको मात्रा घटाएर चाँदी र तामाको मात्रा बढाइएको भन्दै अख्तियारले आरोपपत्रमा भनेको छ, ‘जलहरी निर्माण कार्यटोलीका सदस्यलाई जानकारी नै नदिई रिङ्ग र पेच किला समेत बनाएको देखिएको…।’

कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलनकुमार थापा र विशेट नाइके अरुणकुमार श्रेष्ठको मिलेमतोमा सेफमा राखेको सुन निकालेको, त्यो सुन सिल्भर रोलिङ सर्भिसमा लगेर रिङ र किला बनाएको उल्लेख छ । आरोपपत्रमा भनिएको छ, ‘२० फागुनका दिन विना मुचुल्का रिङ तौल समेत नगरी जलहरीमा राखेको देखिएको…।’

अख्तियारको दावीमा जलहरी निर्माण समितिका संयोजक डा. थापाले सुनको उचित संरक्षण गर्नुपर्नेमा लापरवाही त गरेका थिए नै, त्यसबारे आधिकारिक ज्ञान नभएका व्यक्तिलाई जलहरी निर्माणको काममा लगाएका थिए । निर्माणमा संलग्न कालिगडले इजाजतपत्र समेत नलिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयले गत वर्ष नै वार्षिक प्रतिवेदन मार्फत पशुपतिनाथ मन्दिरमा जलहरी निर्माणका क्रममा करिब ११ किलो सुन हिनामिना भएको भनी प्रश्न गरेको थियो । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले १० किलो जति सुन मूर्तिमा पेटी बनाई प्रयोग गरेको दावी गरे पनि मुचुल्कामा त्यो विवरण नभएको भनी महालेखाले प्रश्न उठाएको थियो । २०७७ सालको घटना भए पनि पछिल्लो समय पशुपतिको जलहरी प्रकरण ओझेलमा परेको थियो ।

पशुपति क्षेत्र विकास कोषले १२ माघ २०७७ को दररेट अनुसार प्रतितोला ९२ हजार ८०० रुपैयाँका दरले ७९ करोड ९५ लाख ४३ हजार २१० रुपैयाँको लागत इस्टिमेट तयार गरेको थियो । करिब १०० किलोग्राम सुन लाग्ने अनुमान गरेको पशुपति क्षेत्र विकास कोषले २०७७ माघमा ८ किलो थपेर १०८ किलो सुन किन्ने निर्णय गरेको देखिन्छ । कोषले बाँकी सुनका लागि कसरी बजेट जुटायो, अहिलेसम्म विवरण खुलाएको छैन ।

संसदबाट उठेको विषय

१० जेठमा एकाएक प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे चलिरहेको बहसमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी ओली प्रधानमन्त्री भएका बेला अनेक भ्रष्टाचार भएको दावी गर्दै ‘पशुपतिमा रहेको जलहरी सुनको हो कि पित्तलको ?’ भनी प्रश्न उठाएका थिए ।

त्यो दिन उनको अभिव्यक्तिले कुनै विवाद सिर्जना नगरेपछि दुई दिनपछि एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठक नै अवरुद्ध पारे । झुटो आक्षेप लगाइएको भन्दै उनीहरूले सम्बन्धित सांसदले क्षमा माग्नुपर्ने माग समेत गरे । पछि भने प्रमुख दलहरूको सहमतिमा सांसद दाहालको अभिव्यक्तिलाई प्रतिनिधिसभाको रेकर्डबाट हटाइयो र बैठक अघि बढ्यो ।

त्यसलगत्तै १० असारमा अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा पुगेर जलहरीमाथि अनुसन्धान गरेको थियो । त्यसक्रममा अख्तियारले कुनै प्रतिक्रिया दिएको थिएन, तर पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले १०८ किलो सुनमध्ये करिब आधा किलो मात्रै सुन कम भएको र दुई वर्षको फरकमा त्यो स्वाभाविक हुने भनी प्रतिक्रिया दिएका थिए ।

अख्तियारले स्थलगत अध्ययन गरेको दुई सातापछि कोषका पदाधिकारीहरूले जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलन गरेको भन्दै मुचुल्का सार्वजनिक गरेका थिए । त्यतिबेला उनीहरूले गरेको दावी अनुसार, संकलित धुलो र अरू टुक्रा गालेर हेर्दा ५३ तोला सुन भेटिएको भनी मुचुल्का भएको थियो ।

अख्तियारले आइतबार विशेष अदालतमा पेश गरेको आरोपपत्रमा भने कोषका पदाधिकारीहरूले भेटिएको भनी दावी गरेको सुनलाई मान्यता दिएको छैन ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply