पाँच लाख वर्ष पुरानो काठको सामान भेटिँदा प्राचीन मानवबारे खुलेको रहस्य

0
नदीको तिरमा खोजी

तस्बिर स्रोत, Geoff Duller

तस्बिरको क्याप्शन,

नदीको तिरमा काठका प्राचीन संरचना खोज्दै प्राध्यापक बारम

अफ्रिकी मुलुक जाम्बियामा एउटा नदीको किनारमा फेला परेका प्राचीन काठका टुक्राले मानव जातिको प्रागैहासिक जीवनबारे पुरातत्वविद्हरूको विद्यमान ज्ञानमा परिवर्तन ल्याइदिएको छ।

पाँच लाख वर्षअघि ती काठलाई कुनै संरचना बनाउन प्रयोग गरिएको प्रमाण अनुसन्धानकर्ताहरूले फेला पारेका छन्।

‘नेचर’ जर्नलमा प्रकाशित विवरणका अनुसार पाषाणयुग (ढुङ्गेयुग) का मानिसले आफू बस्न कुनै संरचना बनाएका थिए।

“यो खोजले हाम्रा पूर्वजबारे मेरो सोचाइ नै फेरिदिएको छ,” पुरातत्त्वविद् प्राध्यापक ल्यारी बारमले भने।

यूनिभर्सिटी अफ लिभरपुलमा कार्यरत यी वैज्ञानिक ‘डीप रूट्स अफ ह्यूम्यानटी’ नामक अनुसन्धान परियोजनाका अगुवा हुन्।

उक्त परियोजनाअन्तर्गत ती प्राचीन काठको उत्खनन र अध्ययन गरिएको हो।

यो खोजले प्राचीनकालमा मानिसहरू जीवन साधारण थियो र उनीहरू यायावर अर्थात् घुमन्ते थिए भन्ने मान्यता नै फेरिदिन सक्छ।

जाम्बियामा फेला परेको काठको सामान

तस्बिर स्रोत, Larry Barham

“उनीहरूले काठबाट कुनै नौलो अनि ठूलो संरचना बनाए,” प्राध्यापक बारमले भने।

“बौद्धिक क्षमता, कल्पनाशीलता र सीपको प्रयोग गरेर उनीहरूले पहिल्यै कहिले नदेखेको र कहिले अस्तित्वमा नरहेका प्रकारका सामग्री बनाए।”

साथै अनुसन्धानकर्ताहरूले खन्न प्रयोग हुने लट्ठीजस्ता प्राचीन काठे सामान पनि फेला पारे।

तर उनीहरूलाई सबभन्दा धेरै उत्साहित बनाएको चाहिँ समकोणमा भेटिएका काठका दुईवटा टुक्राले छ।

“एउटा टुक्रामाथि अर्को टुक्रा थियो अनि दुवैमा मिलाएर खोपिएका आँख्लाहरू छन्,” यूनिभर्सिटी अफ एबरिस्ट्विथका पुरातत्त्वविद् प्राध्यापक जिओफ डलरले भने।

“ती आँख्लाहरू ढुङ्गा प्रयोग गरेर खोपिएको तपाईँ स्पष्ट रूपमा देख्न सक्नुहुन्छ।”

“त्यसबाट दुइटा मुढा मजाले खप्टिन सकेका छन् र एउटा संरचना बनेको छ।”

काठ र आगोको सम्बन्ध

थप अध्ययनले ती मुढा झन्डै चार लाख ७६,००० वर्ष पुरानो भएको पत्ता लाग्यो।

जाम्बियाको लिभिङस्टोन सङ्ग्रहालयमा कार्यरत तथा अनुसन्धान टोलीकी सदस्य पेरिस कोम्ब्वे भन्छिन्: “काष्ठकलाको यति धेरै प्रागैतिहासिक परम्परा रहेछ भनेर थाहा पाउँदा म छक्क परेँ।”

“हामीले केही असाधारण चिज भेट्टाएका छौँ भन्ने मलाई लाग्यो।”

अहिलेसम्म प्राप्त प्रमाणका आधारमा मानिसले प्रागैतिहासिक कालमा काठको प्रयोग केवल आगो बाल्न अनि खन्ने लट्ठी र तीर बनाउन गरेको पाइन्छ।

ती मुढाको प्रयोग गरेर निर्मित संरचनाको काल्पनिक नमुना

तस्बिर स्रोत, Michael Bayliss

तस्बिरको क्याप्शन,

ती मुढाको प्रयोग गरेर निर्मित संरचनाको काल्पनिक नमुना

समय कसरी निर्धारण गरियो

आकाठबाट निर्मित निकै प्राचीन सामग्रीमध्ये सन् १९११ मा एसेक्सको ‘क्ल्याक्टन-अन-सी’मा भेटिएको एउटा तीर पर्छ। त्यो चार लाख वर्ष पुरानो रहेको पत्ता लागेको थियो।

एकदम विशिष्ट परिस्थितिमा संरक्षित भएमा बाहेक काठका सामान कुहिएर नष्ट हुने गर्छन्।

तर जाम्बिया र तान्जनियाको सिमानानजिक कालाम्बो झरनाभन्दा माथि रहेको नागबेली परेको नदीको किनारामा ती मुढा दशौँ हजार वर्षदेखि डुबेको र थिचिएको अवस्थामा पाइएको हो।

अनुसन्धान टोलीले कति पुरानो हो भनेर थाहा पाउन ती काठका टुक्रा पुरिएको ठाउँवरपरको माटोको ‘लूमिनेसन्स डेटिङ’ विधिबाट परीक्षण गरेको थियो।

ढुङ्गाका ससाना टुक्राले कालान्तरमा छेउछाउबाट प्राकृतिक विकिरण सोस्छन्। प्राध्यापक डलरका अनुसार ती टुक्रा साना ब्याटरी जसरी चार्ज हुन्छन्।

ती टुक्रालाई तताउँदा तिनले विकिरण निष्कासन गर्छन्। त्यस्तो विकिरण जाँच्न सकिन्छ।

आकारका आधारमा ती दुई मुढामध्ये सानो टुक्रा चाहिँ डेढ मिटरको थियो। ती दुईलाई जोड्ने मानिसले कुनै गतिलो संरचना बनाएको भान हुन्छ।

त्यो कुनै छाप्रो वा स्थायी आवास हुने सम्भावना नभएको बरु कुनै आश्रयस्थलको तल्लो भाग हुनसक्ने उक्त टोलीले जनाएको छ।

“सायद नदीको छेउमा बसेर माछा मार्न बनाइएको कुनै संरचना थियो त्यो,” प्राध्यापक डलरले भने।

“तर ठ्याक्कै कस्तो संरचना थियो भनेर भन्न कठिन छ।”

जाम्बियाको नदी

तस्बिर स्रोत, Larry Barham

तस्बिरको क्याप्शन,

झन्डै पाँच लाख वर्षअघि निर्मित काठका ती सामग्री नदीमुनि जोगिएर बसेको अवस्थामा फेला परेका हुन्

साथै प्रागैतिहासिक मानव वा होमिनिडको कुन प्रजातिले उक्त संरचना बनाएको होला भन्ने पनि स्पष्ट छैन।

अहिलेसम्म सो क्षेत्रमा कुनै हस्तिहाड भेटिएको छैन।

त्यहाँ भेटिएका ती काठ आधुनिक मानवजाति (होमो स्यापिएन्स) भन्दा निकै पुराना छन्। आधुनिक मानवजाति तीन लाख १५,००० वर्षअघि अस्तित्वमा आएको ठानिन्छ।

काष्ठकलाको परम्परा

“ती सामग्री होमो स्यापिएन्सले नै बनाएको र तिनको त्यति पुरानो जीवाश्म अहिलेसम्म फेला नपरेको पनि हुनसक्छ,” प्राध्यापक डलरले भने।

“अथवा त्यो कुनै अन्य मानव प्रजाति – होमो इरेक्टस वा होमो नालेडी – ले बनाएको पनि हुनसक्छ, ती प्रजाति त्यतिखेर दक्षिणी अफ्रिकी क्षेत्रमा थिए।”

ती सामग्री अध्ययन र संरक्षणका निम्ति यूके पुगेका छन्। प्राकृतिक रूपमा जसरी ती दशौँ हजार वर्ष जोगिए त्यस्तै अवस्थामा तिनलाई विशेष पानी ट्याङ्कमा राखिएको छ। तर तिनलाई छिट्टै नै जाम्बियामा प्रदर्शनीमा राख्न लगिने छ।

“यो खोजीसँगै हामीले हाम्रा सङ्ग्रहालय थप समृद्ध बनाउने अनि जाम्बियामा काष्ठकलाको परम्पराबारे थप बुझ्ने आशा गरेका छौँ,” कोम्ब्वेले भनिन्।

उनका अनुसार कालाम्बो झरनास्थित उत्खननस्थलमा काम जारी राखिने छ।

“यसबाट प्राचीन काष्ठकला विधि, सीप अनि वातावरणसँग मानवको अन्तरघुलनबारे हाम्रो ज्ञान अझ प्रबल हुने सम्भावना छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply