पाल्पा हाउस प्रालिको दोस्रो साधारण सभा

0

पोखरा । पाल्पाको मौलिक तथा कलात्मक उत्पादन बजारीकरण गर्न पोखराको न्युरोडमा खोलिएको पाल्पा हाउस (पाल्पाली कोसेलीघर) प्रालिको दोस्रो साधारण सभा भएको छ । सभाले अध्यक्ष कुलप्रसाद घिमिरेले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन तथा आगामी रणनीति र लेखाको जिम्मेवारी लिएका कम्पनी सञ्चालक नारायणप्रसाद पौडेलले पेस गरेको आयव्यय विवरण सुधारसहित पारित गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाले नाफा कमाउने मात्र नभएर सामूहिक र संस्थागत रुपमा सामाजिक काम गरेको बताए ।

कम्पनी अध्यक्ष घिमिरेले पाल्पासँग जोडिएको भए तापनि सबैको साझा व्यावसायिक संस्था भएको बताए । उनले पाल्पाली चिनारी ढाका, करुवा, हस्तकला लगायत कृषिजन्य उत्पादन एकै थलोबाट बिक्री वितरण गर्ने योजना सुनाए ।

पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियारले समाजको अलावा पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पाली कोलोनी पोखरामा क्रियाशील भएको बताए । कार्यक्रममा पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं कम्पनी सञ्चालक नारायणप्रसाद पौडेल, पाल्पाली समाजका निवर्तमान अध्यक्ष एवं पाल्पाली कोलोनी प्रालि अध्यक्ष रेशम थापा, पाल्पाली समाजकाा पूर्व अध्यक्ष जगदीश गौतम, समाजका सल्लाहकार संयोजक जनपुकार मुनकमीर्, पाल्पा हाउसका सदस्य–सचिव श्रीधर पराजुलीले पाल्पा हाउसबारे बोलेका थिए । कार्यक्रममा कम्पनी सञ्चालकहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।  कम्पनीमा हाल ७६ सेयर सदस्य छन् ।

अहिले पाल्पा हाउसबाट पाल्पाली बहुउद्देश्यीय सहकारीको एकीकृत कारोबारसहित पाल्पाली समाज पोखराको सचिवालय सञ्चालित छ ।

Leave a Reply