पृथ्वीबाहिर पनि सम्भावित जीवनको रोचक सङ्केत

0
के२-१८बी ग्रहको चित्राङ्कन

तस्बिर स्रोत, Nasa

तस्बिरको क्याप्शन,

चित्राङ्कनः के२-१८बी ग्रहले रातो रङ्गमा देखाइएको एउटा चिसो वामनताराको परिक्रमा गर्छ। ती दुईबीचको दूरीका कारण कायम तापक्रम जीवनका लागि उपयोगी भएको ठानिएको छ

अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपले सुदूर अन्तरिक्षमा अवस्थित एउटा ग्रहमा ‘जीवनको सम्भावित सङ्केत’ फेला पारेको हुन सक्ने जस्तो देखिएको छ।

उक्त शक्तिशाली टेलिस्कोपले त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) नामक यौगिकको सङ्केत फेला पारेको हुनसक्ने नासाको अनुमान छ।

कम्तीमा पनि पृथ्वीमा डीएमएसको अणु जीवबाट मात्र उत्पन्न हुन्छ।

पृथ्वीबाट १२० प्रकाशवर्ष टाढा रहेको उक्त ग्रहलाई के२-१८बी (K2-18b) नाम दिइएको छ।

अन्वेषकहरूले त्यति टाढा रहेको ग्रहमा जीवन रहेको पुष्टि गर्न उक्त अणु रहेको हुनसक्ने भनी प्राप्त सङ्केत “बलियो प्रमाण” भने नभएको बताएका छन्। त्यसका लागि थप तथ्याङ्क र विवरण आवश्यक हुन्छन्।

वैज्ञानिकहरूले उक्त ग्रहको वायुमण्डलमा मीथेन र कार्बन डाइअक्साइड रहेको हुनसक्ने सङ्केत पनि पाएका छन्।

ती ग्यासको उपस्थितिले उक्त स्थानमा पानीको महासागर रहेको सङ्केत गर्छन्।

यसबारे अनुसन्धानको नेतृत्व गर्ने यूनिभर्सिटी अफ केम्ब्रिजका प्राध्यापक निक्कु मधुसुदनले बीबीसी न्यूजलाई आफ्नो टोली अनुसन्धानको परिणाम देखेर ‘छक्क’ परेको बताए।

“पृथ्वीमा डीएमएस केवल जीवबाट बन्छ। पृथ्वीको वायुमण्डलमा भएको यसको ठूलो भाग समुद्री वातावरणमा भएका फाइटोप्ल्याङ्क्टन (साना वनस्पति) बाट निस्किन्छ,” उनले भने।

वैज्ञानिकहरू किन सावधान

प्रा मधुसुदनले डीएमएस भेटिनुलाई “मोटामोटी” को सङ्ज्ञा दिँदै उक्त पदार्थ त्यहाँ भएको पुष्टि गर्न थप डेटा चाहिने बताएका छन्। थप परिणाम एक वर्षमा आउने वैज्ञानिकहरूको अपेक्षा छ।

“पुष्टि भयो भने यो निकै ठूलो उपलब्धि हुने छ। अनि त्यस्तो दाबी गर्नका लागि यो कुरा ठिक हो भन्ने देखाउने उत्तरदायित्व आफूमा भएको म अनुभूति गर्छु,” उनले भने।

खगोलशास्त्रीहरूले अन्तरिक्षमा निकै टाढा रहेको एउटा तारालाई परिक्रमा गर्ने कुनै ग्रहमा डीएमएस भएको सम्भावना यसरी पहिलो पटक औँल्याएका हुन्।

तर उनीहरू अहिलेको नतिजालाई निकै सावधानीपूर्वक हेरिरहेका छन्। सन् २०२० मा शुक्र ग्रहको बादलमा ‘फोस्फिन’ नामक यौगिक फेला परेको दाबी एक वर्षमै विवादित बनेको थियो। जीवित प्राणीको शरीरमा पनि उक्त यौगिक बन्न सक्छ।

यो अनुसन्धानमा संलग्न वैज्ञानिक डा रोबर्ट मेसीले अहिलेको नतिजाबाट आफू उत्साहित भएको बताए। उनी लन्डनस्थित रोयल एस्ट्रनोमिकल सोसाइटीका उपनिर्देशक हुन्।

“हामी बिस्तारै ब्रह्माण्डमा एक्लै छौँ कि छैनौँ भन्ने महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्षम हुने अवस्थातिर हामी अघि बढ्दै छौँ,” उनले भने।

“एकदिन हामीले जीवनका सङ्केतहरू फेला पार्ने छौँ भन्ने कुरामा म आशावादी छु। सम्भवतः त्यसो हुने छ, सम्भवतः १० वा ५० वर्षमा हामीसँग विश्वसनीय प्रमाण हुने छ।”

जेम्स वेब स्पेस टेलिस्कोपले कसरी भेट्यो यो प्रमाण?

जेम्स वेब स्पेस टेलिस्कोपले निकै टाढा रहेको ग्रहको वायुमण्डल छिचोलेर निस्किने प्रकाश विश्लेषण गर्न सक्छ।

त्यो प्रकाशमा उक्त ग्रहको वायुमण्डलमा भएका अणुहरूको “रासायनिक हस्ताक्षर” हुन्छ।

प्रिजम्‌ले आफूमा प्रवेश गर्ने सेतो प्रकाशलाई इन्द्रेणी बनाए जसरी त्यस्ता ग्रहबाट प्राप्त प्रकाशलाई त्यसका फ्रीक्वन्सीहरू (आवृत्तिहरू) मा छुट्ट्याएर हेर्न सकिन्छ।

त्यसरी बन्ने इन्द्रेणीजस्तो स्पेक्ट्रममा कुनै भाग छुटेको देखियो भने त्यस्तो नदेखिएको अंश ग्रहको वायुमण्डलमा भएका रासायनिक पदार्थले सोसेको भन्ने प्रमाणित हुन्छ। त्यसैका आधारमा अनुसन्धानकर्ताहरूले त्यसको बनोट र संरचना पत्ता लगाउन सक्छन्।

जेम्स वेब स्पेस टेलिस्कोप

तस्बिर स्रोत, ESA

उक्त ग्रह ११ लाख अर्ब किलोमिटर टाढा भएकाले त्यसबाट निस्किने निकै कम प्रकाश मात्र जेम्स वेब स्पेस टेलिस्कोपसम्म पुग्छ।

त्यसैले पनि यो उपलब्धिलाई निकै ठूलो मानिएको छ।

त्यसबाहेक डीएमएसको प्रकाशीय विश्लेषण गर्दा उक्त ग्रहमा ठूलो परिमाणमा मीथेन र कार्बन डाइअक्साइड ग्यास भएको पत्ता लाग्यो।

कार्बन डाइअक्साइड र मीथेन ग्यासको मात्रा त्यहाँ प्रचुर मात्रामा हाइड्रोजन भएको वायुमण्डलमुनि पानीको समुद्र भएको कुरासँग मेल खान्छ।

यसअघि नासाको हबल टेलिस्कोपले त्यहाँ नयाँ पानीको बाफ भएको तथ्य पत्ता लगाएको थियो। त्यसैले के२-१८बी नामक ग्रहबारे निकै शक्तिशाली जेम्स वेब स्पेस टेलिस्कोपले पनि अध्ययन गरेको थियो। त्यहाँ पानीको समुद्र पत्ता लाग्यो भने त्यो एउटा ठूलो उपलब्धि हुने छ।

जीवन हुन के चाहिन्छ?

कुनै ग्रहमा जीवनको उपस्थितिलाई सम्भव तुल्याउने क्षमता त्यहाँको तापक्रम, कार्बनको र सम्भवतः तरल अवस्थाको पानीको उपलब्धतामा भर पर्छ।

जेम्स वेब स्पेस टेलिस्कोपबाट गरिएको अवलोकनले त्यहाँ ती सबै कुरा भएको सङ्केत गर्छ। तर उक्त ग्रहमा त्यस्तो क्षमता छ भन्दैमा त्यहाँ जीवन छ नै भन्ने हुँदैन। त्यसैले डीएमएसको सम्भावित उपस्थितिलाई पक्का प्रमाण मानिएको छैन।

रोचक कुरा के हो भने उक्त ग्रह पृथ्वीजस्तो ‘चट्टानयुक्त’ छैन। यो पृथ्वीभन्दा झन्डै नौगुना ठूलो छ।

ताराहरूलाई परिक्रमा गर्ने ग्रहलाई बाह्यग्रह भनिन्छ।

पृथ्वीभन्दा ठूला तर वरुण ग्रहभन्दा सानो आकारका ति बाह्यग्रह जस्ता पिण्ड हाम्रो सौर्यमण्डलमा छैनन्।

कार्डिफ यूनिभर्सिटीसँग आबद्ध वैज्ञानिक तथा यो अनुसन्धान टोलीका अर्का विश्लेषक डा शुभजित सरकारका अनुसार वरुण ग्रहको भन्दा कम व्यास भएका ‘सब-नेप्यूचन’ ग्रहहरूबारे हामीलाई पर्याप्त ज्ञान छैन।

“हाम्रो सौर्यमण्डलमा यस प्रकारको बाह्यग्रह नभए पनि आकाशगङ्गामा सब-नेप्यूचन ग्रहहरू सामान्य हुन्,” उनले भने।

“हामीले सब-नेप्यूचनमा बस्न योग्य क्षेत्रको सर्वाधिक विस्तृत स्पेक्ट्रम हात पारेका छौँ। अनि त्यहाँको वायुमण्डलमा भएका अणुहरूबारे काम गर्न यसले हामीलाई दिएको छ,” उनले भने।

रेखा

बाह्यग्रह के हो?

  • सौर्यमण्डलबाहिरका ग्रहहरूलाई एक्सोप्लानिट अर्थात् बाह्यग्रह भनिन्छ
  • पहिलो एक्सोप्लानिट सन् १९९२ मा पत्ता लागेको थियो। त्यसले इलेक्ट्रोम्याग्नेटिक विकिरण उत्सर्जन गर्ने पल्सर नामक न्यूट्रोन ताराको परिक्रमा गर्छ
  • विविध विधिद्वारा अहिलेसम्म ४,००० वटाभन्दा बढी बाह्यग्रह फेला परेका छन्
  • यीमध्ये धेरैजसो बृहस्पति र वरुणजस्ता देखिने एकदम ठूला ग्रह हुन्
  • धेरैजसो ठूला ग्रहहरूले आफ्ना तारासँग निकै नजिक भई परिक्रमा गरिरहेको देखिन्छ
रेखा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply