पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन 

0
आयल निगम

तस्बिर स्रोत, RSS

५ मिनेट पहिले

मुख्य चाडपर्व आउनै लागेका बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको भोलिपल्टै प्रधानमन्त्रीले उक्त मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको सरकारकी प्रवक्ताले बीबीसीलाई बताएकी छन्।

शनिवार नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजल, हवाई इन्धन र मट्टितेलको भाउ बढाएको थियो।

भाउ वृद्धि भएको खबरसँगै सामाजिक सञ्जालमा मानिसहरूले व्यापक असन्तुष्टि व्यक्त गरेका थिए भने कतिपय राजनीतिक दलका नेताहरूले पनि त्यसको विरोध गरेका थिए।

दशैँ-तिहार आउनै लागेका बेला मूल्यवृद्धि गरिएको भन्दै विरोध भएपछि आइतवार बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकमा प्रधानमन्त्रीले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइसकेको जानकारी मन्त्रीहरूलाई दिएका थिए।

“प्रधानमन्त्रीज्यूले पहिले नै निर्देशन दिइसक्नु भएको थियो त्यसको जानकारी बैठकमा गराउनु भयो,” सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बीबीसीसँग भनिन्।

मन्त्री शर्माका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार बिहानै नेपाल आयल निगमका उमेशप्रसाद थानीलाई बोलाएर मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएका हुन्।

यद्यपि आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने निर्देशन आएको जानकारी भए पनि मूल्यवृद्धि फिर्ताको निर्णय भइनसकेको बताए।

उनले भने, “त्यस्तो निर्देशन भएको जानकारी पाइएको छ अब कसरी के आधारमा बढाएको मूल्य फिर्ता गर्ने भन्ने छलफलपछि आजै साँझसम्म निर्णय भइसक्छ होला।”

कति बढेको थियो भाउ?

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट शनिवार आएको नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजना गरेको जनाएको थियो।

भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलको प्रतिलिटर एक रुपैयाँ ३४ पैसा र डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८२ पैसाले बढेको निगमले जनाए छ।

त्यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५४ पैसा तथा एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १७३ रुपैयाँ ४५ ले बढेर आएको उसको भनाइ छ।

निगमले “पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८०” अनुसार परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि कर समायोजन गरेर भाउ बढाउने निर्ण गरेको थियो।

निगमले आइतवारदेखि लागु हुनेगरी खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजल/मट्टितेलमा प्रति लिटर ६ रुपैयाँ बढाएको थियो।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनमा प्रति लिटर ८ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर ६० अर्थात् प्रतिलिटर करिब ८ रुपैयाँ नै वृद्धि गरेको थियो भने खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २१५ रुपैयाँले बढेको थियो।

ग्यास

तस्बिर स्रोत, Getty Images

घाटा पूर्ति गरिदिने आश्वासन

स्वचालित प्रणालीमा मूल्य समायोजन नगर्दा आफूहरूले लगातार घाटा बेहोर्नु परेको आयल निगमका अधिकारीहरूले प्रधानमन्त्रीलाई स्मरण गराएको अधिकारीहरूले बताएका छन्।

मूल्यमा सहुलियत दिँदा हुने घाटा पूर्तिका लागि सरकारले अनुदान वा ऋणको व्यवस्थापन गरिदिने प्रधानमन्त्रीले आश्वासन दिएको आयल निगमका अधिकारीहरूको भनाइ छ।

नेपाल आयल निगमले केही महिनाअघि मात्र ९ वर्षपछि पुन: पेट्रोलियम पदार्थका लागि स्वचालित बिक्री मूल्य प्रणाली लागु गरेको थियो।

विसं २०७१ सालमा लागु गरिएको स्वचालित प्रणाली केही महिना पनि टिकेको थिएन।

यसपालि पनि त्यस्तै अवस्था आएको निगमका अधिकारीहरू बताउँछन्।

नेपालमा आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ पर्ने गरेको छ।

नेपालको कुल आयातको करिब २० प्रतिशत हिस्सा यसैले ओगट्ने गरेको सरकारी विवरणहरूमा देखिन्छ।

त्यसपछि दोस्रो स्थानमा पर्ने यान्त्रिक तथा तिनका पाटपुर्जाको हिस्सा छ।

नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको विवरणमा गत वर्ष पेट्रोलियम आयातबापतको खर्चमा केही कमी आएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply