प्रचण्ड र चिनियाँ प्रधानमन्त्रीको उपस्थितिमा दुई देशबीच विभिन्न सहमतिमा हस्ताक्षर

0
प्रचण्ड र ली चियाङ

तस्बिर स्रोत, RSS

२५ सेप्टेम्बर २०२३

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा सोमवार दुई देशबीच झण्डै एक दर्जन विषयमा सहमति तथा समझदारी भएका छन्।

सोमवार बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रचण्डको प्रतिनिधिमण्डलस्तरमा वार्ता भएपछि ती निर्णयहरू लिइएको थियो।

भ्रमणअघि प्रचण्डले संसद्‌मा बोल्दै चीनसँग “ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सहमति हुने विश्वास गरेको” बताएका थिए। तर सोमवार भएका समझदारी र सम्झौतामा त्यसले स्थान पाएको देखिँदैन।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भने, “दुई देशको संयुक्त विज्ञप्तिमा सहमतिका विषयमा थप स्पष्टता आउँछ। त्यसमा बीआरआई र ऊर्जा लगायतका विषय पनि समेटिन्छन भन्ने हामीले ठानेका छौँ।”

बेइजिङमा कृषि, व्यापार, पूर्वाधार, विज्ञान तथा प्रविधि, डिजिटल अर्थतन्त्रदेखि केही संस्थागत सुधारमा सहकार्य गर्ने विषयमा दुई पक्षबीच सहमति भएको हो। सन् १९८१ मा भएको चीन-नेपाल व्यापार तथा भुक्तानी सम्झौताको पुनरवलोकन र परिमार्जन गर्नका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्नका लागि समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ।

प्रचण्डले एशियाली खेलकुदको उद्घाटनका दिन शनिवार हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटिसकेका छन्।

सोमवार नै प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लेजीसँग समेत भेटवार्ता गरेका थिए।

बेइजिङमा के भयो

सरकारी समाचारसंस्था राष्ट्रिय समाचार समिति (रासस) का अनुसार दुई पक्षबीच यी सहमतिहरू भएका छन्ः

चीनमा प्रचण्ड

तस्बिर स्रोत, RSS

  • चीनको न्याश्नल डेभलप्मन्ट एन्ड रिफर्म कमिशन र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि समझदारीपत्र
  • नेपालको उत्तर पहाडी क्षेत्रका उत्पादन तथा जैविक पदार्थहरूको प्रमाणीकरण
  • डिजिटल अर्थतन्त्रमा सहकार्यका लागि चीनको न्याश्नल डेभलप्मन्ट एन्ड रिभर्म कमिशन र नेपालको अर्थ मन्त्रालयबीच समझदारी
  • हरित तथा न्यून कार्बन उत्सर्जन हुने विकाससँग सम्बन्धित कार्यमा सहकार्यका लागि चीनको न्याश्नल डेभलप्मन्ट एन्ड रिभर्म कमिशन र नेपालको वन तथा वातावरण मन्त्रालयबीचको समझदारी
  • कृषि, पशुपालन तथा मत्स्यपालनसम्बन्धी सहकार्यका लागि चीनको कृषि तथा ग्राणीण मामिलासम्बन्धी मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच समझदारी
  • सन् १९८१ मा भएको चीन-नेपाल व्यापार तथा भुक्तानी सम्झौताको पुनरवलोकन र परिमार्जन गर्नका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्न चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी
प्रधानमन्त्री प्रचण्ड र नेपाली प्रतिनिधिमण्डल

तस्बिर स्रोत, RSS

  • नेपालबाट चीन पठाउन वनस्पतिमा आधारित ओखतीमूलक पदार्थको आपूर्तिसम्बन्धी मापदण्ड र नियम बनाउन चीनको भन्सार प्रशासन र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच सम्झौता
  • चीनको न्याश्नल एड्मिनिस्ट्रेशन अफ प्रेस एन्ड पब्लिकेशन र नेपाल सरकारबीच शास्त्रीय साहित्यको अनुवाद तथा प्रकाशनसम्बन्धी समझदारी
  • विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सम्झौता
  • विपद् सामग्रीसम्बन्धी समझदारीपत्र आदानप्रदान
  • जनशक्तिसम्बन्धी समझदारीपत्र आदानप्रदान
  • हिल्सा–सिमकोट सडक परियोजना विस्तार गर्ने समझदारीपत्र आदानप्रदान

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply