भारतको चन्द्र मिशनबाट कुनै ‘सिग्नल प्राप्त भएन’

0
चन्द्रयान

तस्बिर स्रोत, ISRO SPACEFLIGHT TWITTER

तस्बिरको क्याप्शन,

चन्द्रमामा प्रज्ञान

भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले नयाँ चन्द्रदिन सुरु हुने बित्तिकै आफ्ना चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको तर अहिलेसम्म पनि त्यहाँबाट कुनै पनि सिग्नल प्राप्त गर्न नसकेको बताएको छ।

रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण भएको थियो।

चन्द्रयान-३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू सङ्कलन गरेर १० दिन बिताएका थिए।

यो महिनाको सुरुमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुनेगरी सूर्यास्त हुन लाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए किनकि ती ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिन्छ।

इसरोले यही “२२ सेप्टेम्बरतिर” चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा तिनीहरू ‘बिउँझिने’ आशा गरिएको बताएको थियो।

चन्द्रमामा सूर्य उदाउँदा ब्याट्रीहरू रिचार्ज हुने र विक्रम र प्रज्ञान पुन: जागृत हुनेछन् भन्ने ठानिएको थियो।

तर अहिलेको अवस्थाले के देखाएको छ भने चन्द्ररातको अत्यधिक चिसोले ब्याट्रीहरूलाई क्षति पुर्‍याएको हुनसक्छ।

इसरोले के भन्यो?

चन्द्रयान

तस्बिर स्रोत, ISRO

तस्बिरको क्याप्शन,

प्रज्ञान रोभरले खिचेको विक्रम ल्यान्डरको तस्बिर

शुक्रवार इसरोले यसअघि ट्विटर भनिने एक्समा पोस्ट गर्दै लेखेको छ, “विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सञ्चार सम्पर्क स्थापना गर्ने प्रयास जारी रहनेछ।”

आफ्नो चन्द्रयान-३ अभियानसँगै चन्द्रमाको दक्षिणी ध्रुवनेर अन्तरिक्षयान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर भारतले इतिहास बनाएको छ।

उक्त सफलतासँगै अमेरिका, सोभियत सङ्घ र चीनपछि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ हासिल गर्न सफल देशको सूचीमा भारत पनि सामेल भएको छ।

अवतरणका लागि सावधानीपूर्वक चन्द्रदिनको सुरुवात हुने बेला छानिएको थियो।

त्यसले गर्दा विक्रम र प्रज्ञानले काम गर्नका लागि दुई सातासम्म सूर्यको प्रकाश पाएका थिए।

चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ। यसको मतलब चन्द्रमामा १४ दिनको दिन र १४ दिनको रात हुन्छ।

‘चन्द्रमाका लागि भारतीय दूत’

चन्द्रयान

तस्बिर स्रोत, ISRO SPACEFLIGHT TWITTER

तस्बिरको क्याप्शन,

प्रज्ञानले लिएको चन्द्रमाको सतहको तस्बिर

इसरोले चन्द्रयानको अभियान र खोजहरू तथा उनीहरूले लिएका तस्बिरहरू नियमित रूपमा सार्वजनिक गरिरहेको छ।

उनीहरूलाई निष्क्रिय पार्दा इसरोले विक्रम र प्रज्ञानले आफ्ना सबै कार्यहरू पूरा गरिसकेको तर अर्को चन्द्रदिन सुरु हुँदा उनीहरू पुन: सक्रिय हुने आशा व्यक्त गरेको थियो।

विज्ञहरूले चीनले यसअघि पठाएका ल्यान्डर र रोभरको उदाहरण दिँदै ती सूर्योदयसँगै धेरै पटक ब्युँझिएका थिए भनेका छन्।

तर इसरोका पूर्व प्रमुख एएस किरण कुमारले बीबीसीलाई बताए अनुसार चन्द्रमाको दक्षिणी ध्रुव नजिक रातको तापक्रम नियमित रूपमा माइनस २०० डिग्री सेल्सिअस देखि माइनस २५० डिग्री सेल्सिअसमा झर्ने बताए।

उनका अनुसार ब्याट्रीहरूलाई त्यस्तो तापक्रममा सञ्चालन गर्न वा चलाउन मिल्नेगरी बनाइएको थिएन। इसरोले चाहिँ यदि विक्रम र प्रज्ञान पुन: सक्रिय भएनन् भने उनीहरू चन्द्रमामा “भारतको चन्द्रमाका लागि राजदूतका रूपमा” रहनेछन् भनेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply