भूकम्पलाई विनाशकारी बनाउने सात कारक तत्त्वहरू

0
भूकम्पपछि आत्तिएकी महिला

तस्बिर स्रोत, Getty

तस्बिरको क्याप्शन,

भूकम्पले जनधनको ठूलो क्षति निम्त्याउन सक्छ तर त्यसको मात्रा केही कारक तत्त्वहरूमा भर पर्छ

१९ सेप्टेम्बर २०२३

मोरक्कोमा हालै गएको भूकम्पमा मारिनेको सङ्ख्या २९०० भन्दा बढी पुगिसकेको छ।

उक्त भूकम्प ६.८ म्याग्निट्यूडको मापन भएको थियो। जुन सन् २०१९ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा गएको भन्दा एक विन्दुले कम हो।

यद्यपि अमेरिकामा ७.१ म्याग्निट्यूडको भूकम्पमा पनि एकै जनाको मृत्यु भएन र पूर्वाधारहरूमा पनि उल्लेख्य क्षति भएन।

भूकम्पहरूका कारण हुने मृत्यु र क्षति प्रभावित गर्ने कैयौँ कारकहरू हुन्छन् त्यसमध्ये केही महत्त्वपूर्ण पक्षका बारे यहाँ चर्चा गरिएको छ।

म्याग्निट्यूड र अवधि

भूकम्पहरूलाई ‘मोमेन्ट म्याग्निट्यूड स्केल’ मा मापन गरिन्छ।

यसअघि हामी धेरैले सुन्दै आएको ‘रिक्टर स्केल’ लाई यो मापनले प्रतिस्थापित गरेको छ। किनभने पुरानो मापन प्रणालीभन्दा नयाँ थप तथ्यपरक रहेको बताइन्छ।

भूकम्पको धक्का फल्ट लाइनको दूरी र त्यसलाई हलचल गराउने शक्तिका आधारमा मापन गरिन्छ।

कम्तीमा २.५ वा त्यसभन्दा तलका भूकम्पहरू हामीलाई थाहा पनि हुँदैन र सरल उपकरणहरूले पनि पहिचान गर्न सक्दैनन्।

म्याग्निट्यूड पाँच सम्मका भूकम्पहरू हामीलाई राम्ररी थाहा हुन्छ र यसले सामान्य भौतिक क्षति पनि पुर्‍याउन सक्छ।

मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पलाई मध्यम देखि ठूलो धक्काको रूपमा वर्गीकरण गर्न सकिन्छ। गत फेब्रुअरीमा टर्कीमा गएको ७.८ म्याग्निट्यूडको भूकम्प चाहिँ ठूला भूकम्पहरूमध्येमा पर्छ।

आठ भन्दा ठूलो भूकम्पलाई विनाशकारी भनिन्छ र यसले आफ्नो केन्द्रमा रहेका बस्तीहरू पूरै ध्वस्त बनाउन सक्छ।

भूकम्पको क्षति गर्नसक्ने क्षमता देखाउने चित्र

भूकम्पको म्याग्निट्यूडसँगै त्यसको कम्पन कति समयसम्म चलिरहन्छ भन्ने कुराले पनि यसको विनाशकारी शक्तिमा फरक पर्न सक्छ।

“साना भूकम्पहरूको कम्पन केही सेकेन्ड मात्रै रहन्छ भने मध्यम वा ठूला भूकम्पहरूको कम्पन केही मिनेटसम्मै जारी रहन्छ,” प्यासिफिक नर्थ वेस्ट सेस्मिक नेटवर्कले भनेको छ।

गहिराइ

भूकम्पीय जोखिम बुझाउने चित्र

भूकम्पको आकार र अवधि मात्रै महत्त्वपूर्ण तत्त्व चाहिँ होइनन्। पृथ्वीमा भूकम्प सुरू हुने स्थान पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

मोरक्कोको कुरा गर्ने हो भने भूकम्पको केन्द्र विन्दु पृथ्वीको सतहभन्दा १८ किलोमिटर गहिराइमा थियो।

यो गहिराइ भनेको सर्वोच्च शिखर सगरमाथाको उचाइ भन्दा दोब्बर हो। यद्यपि भौगोलिक मापदण्डका आधारमा यसलाई धेरै गहिरो चाहिँ मानिँदैन।

“यो भूकम्प तुलनात्मक रूपमा कम गहिराइमै गएको हो। त्यसको अर्थ त्यसभन्दा माथिको भागमा कम्पनलाई कम गराउने सतह हुँदैन। त्यसकारण कम्पन र हलचल धेरै सक्रिय हुन्छ,” पोर्टस्मथ विश्वविद्यालयकी भूगर्भशास्त्री कार्मेन सोलानाले बीबीसीसँग भनिन्।

सोमवार इन्डोनेसियाको नर्थ मलुकु प्रान्तमा गएको ६.२ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु सतहभन्दा १६८ किलोमिटर गहिराइमा थियो। जसमा एक जनाको पनि मृत्यु भएन।

भूकम्पको समय

मोरक्कोमा भूकम्प रातको ११ बजेर ११ मिनेटमा गएको थियो। गएको समयले पनि भूकम्प कति घातक हुन्छ भन्ने निर्धारण गर्छ।

“मानिसहरू सुतिरहेको समयमा धेरै भवनहरू भत्किन सक्छन्,” डा सोलाना भन्छिन्।

मोरक्कोमा मारिएका धेरै जना भत्किएका भवनहरूमा पुरिएका थिए। किनभने भूकम्पविद्हरूले भन्दै आएका नै छन्: “भूकम्पले मानिसहरू मार्दैन भवनले मार्छ।”

त्यसकारण दिउँसोको समयमा गएको भूकम्पले कम मानवीय क्षति गर्न सक्छ किनभने दिउँसो कम मानिसहरू मात्रै घरभित्र रहन्छन्।

भवनको निर्माण

विनाशकारी भूकम्पहरूमा पनि नढल्ने किसिमले घरहरू निर्माण गर्न सम्भव भइसकेको छ। यसो गर्नका लागि भवनले आफूमा पर्ने धेरै भूकम्पीय शक्तिलाई सकेसम्म कम गरेर व्यवस्थापन गर्न सक्नुपर्छ।

प्रतिरोधी घरको चित्र
तस्बिरको क्याप्शन,

जापानी इन्जिनियरहरूले भूकम्प प्रतिरोधी अग्ला भवनहरू बनाउने गरेका छन्

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार विश्वको सबैभन्दा धेरै भूकम्पीय जोखिममा रहेको देश जापान हो र यो देश भूकम्प प्रतिरोधी भवन निर्माणमा अग्रणी छ।

‘सेस्मिक आइसोलेसन’ भन्ने प्रक्रियाबाट पनि भवनहरूमा भूकम्पको जोखिम कम गर्न सकिन्छ।

यसमा भवनहरू कम्पन सोस्ने ‘बिएरिङ’ माथि बनाइन्छ।

यस्ता ‘बिएरिङ’ हरू ३० देखि ५० सेन्टिमिटरका मात्रै पनि हुन सक्छन्।

तर घरको जगमै यस्तो बनाउने प्रविधि महँगो छ। मोरक्कोको ग्रामीण इलाकामा भत्किएका धेरै घरहरू माटोका इँटा वा काँचो इँटाबाट बनेका थिए।

यसरी बनेका कतिपय ठूला र अग्ला भवनहरू भूकम्पका कारण ढल्दा त्यसले ठूलो क्षति पुर्‍याउन सक्छ।

टर्कीमा फेब्रुअरीमा गएको भूकम्पमा पनि धेरै घरहरू भत्किनुको कारण त्यहाँको कमजोर भवन निर्माण मापदण्ड र त्यसको उल्लङ्घन थियो।

विज्ञहरू भूकम्प शक्तिशाली नै भए पनि राम्रोसँग बनाइएका घरहरूले त्यसको सामना गर्न सक्ने बताउँछन्।

जनघनत्व

विश्वभरी रहेका मुख्य टेक्टोनिक प्लेटहरू

अलास्काको प्रायद्वीपमा सन् २०२१ मा ८.२ म्याग्निट्यूडको भूकम्प गयो। तर धेरैले त्यो भूकम्प बिर्सिइसकेका पनि हुन सक्छन्।

अमेरिकी इतिहासमै सातौँ ठूलो भूकम्पमा न कसैको मृत्यु भयो न कोही घाइते भए।

यसको एउटै प्रमुख कारण यो पृथ्वीको बाहिरी सतहभन्दा धेरै गहिराइमा गएको थियो र केन्द्र विन्दु पनि मानिसहरूको बसोबास क्षेत्रभन्दा निकै टाढा थियो।

तर सन् २०१० मा हेइटीमा गएको म्याग्निट्यूड ७ को भूकम्पमा ठूलो जनधनको क्षति भयो। उक्त भूकम्पमा २,५०,००० भन्दा धेरै मानिसहरू मारिएको, ३,००,००० जना घाइते हुनुका साथै १५ लाख मानिसहरू घरबार विहीन भएको बताइन्छ।

उक्त भूकम्पको सबैभन्दा ठूलो धक्का नै धेरै मानिसहरू बसोबास गर्ने पोर्ट-ओ-प्रिन्स सहरमा महसुस भएको थियो जहाँ एक वर्ग किलोमिटरमा २७,००० जना मानिसहरूको बसोबास छ।

माटोको प्रकार

भूकम्पमा बाँच्ने सम्भावना हामी उभिएको भूमिको माटो कति ठोस छ भन्ने कुरामा पनि भर पर्छ।

यदि बाहिरी सतहकै छेउसम्म पानी जम्मा भएको र माटो कसिएको छैन भने भूकम्पका क्रममा जमिन हल्लिने सम्भावना निकै बढी हुने अमेरिकी जिओलोजिकल सर्भेको ठहर छ।

जमिनमुनि यस्तो तह भएको अवस्थामा त्यहाँको माटो पनि पानी जसरी नै चलायमान हुन सुरू गर्छ र भूकम्पबाट हुने क्षति बढाउँछ। यसको उदाहरण जापानको निगाटा सहरमा सन् १९६४ मा गएको भूकम्प हो।

तर टर्कीमा फेब्रुअरीमा गएको भूकम्पबाट वरिपरिका सबै सहरहरूमा संरचनाहरू भत्किँदा पनि एर्जिन सहरमा कुनै उल्लेख्य क्षति भएन। त्यहाँ एक जनाको पनि मृत्यु भएन र घरहरू पनि ढलेनन्।

भूगर्भविद्हरूका अनुसार उक्त सहर जोगिनुमा त्यहाँको सतहमुनि रहेको सुरक्षित तह र चट्टान हो।

आपत्कालीन उद्धार

उद्धार तथा खोजीकार्य

तस्बिर स्रोत, Getty

तस्बिरको क्याप्शन,

छिटो र प्रभावकारी उद्धारले भूकम्पमा धेरैको ज्यान बचाउनसक्छ

प्राकृतिक प्रकोपको पूर्व तयारी मानिसहरूको जीवन रक्षाको सबैभन्दा महत्त्वपूर्ण तत्त्व बन्न सक्छ।

जापानमा विद्यालयहरूले हरेक वर्ष दुई पटक विद्यालयमा भूकम्प आउँदा जोगिने उपायबारे पूर्वाभ्यास आयोजना गर्नुपर्छ। विद्यार्थीहरूलाई घरमा, बाहिर वा सवारी साधनमा रहेको समयमा पनि भूकम्प आउँदा कसरी जोगिने भन्नेबारे सिकाइन्छ।

ताइवानले उद्धारकर्ताहरूको क्षमता जाँच गर्नका लागि राष्ट्रव्यापी आपत्कालीन अभ्यास आयोजना गर्छ। तर सबै देशहरूमा यस्तो अभ्यास छैन। विशेष गरी निकै कम भूकम्प जाने गरेका देशहरूमा यसबारे सिकाइँदैन।

आपत्कालीन समयमा उद्धारका लागि खटिने टोलीको तीव्र काम गराई निकै महत्त्वपूर्ण हुन्छ।

टर्कीको भूकम्पमा १० दिनसम्म पनि भग्नावशेषमा च्यापिएका मानिसहरूको जीवितै उद्धार भएको भए पनि धेरैजसो घाइते भएका र च्यापिएका मानिसहरू लामो समयसम्म बाँच्न सक्दैनन्।

यसकारण पनि पारवहन पूर्वाधार र त्यस्ता पूर्वाधारमा क्षति भएको खण्डमा तिनलाई पुनः चालु गराउन सक्ने क्षमता विपद्को समयमा निकै महत्त्वपूर्ण हुन्छ।

हालैको भूकम्पबाट प्रभावित कम सडक सञ्जाल रहेको मोरक्कोका ग्रामीण क्षेत्रका अधिकांश सडकहरू पहिरो र भग्नावशेषका कारण अवरुद्ध भएका थिए र त्यसले गाउँहरूमा आपत्कालिन उद्धार कार्य प्रभावित भएको थियो।

सहयोगका लागि गरिएका अन्तर्राष्ट्रिय प्रस्तावहरू स्वीकार गर्न ढिलो गरेकोमा पनि मोरक्कोको सरकारको आलोचना भएको छ।

सहायक असरहरू

भवनहरू ढल्नु मात्रै पनि भूकम्पका कारण हुने ठूलो स्तरको मृत्युको मुख्य कारण नहुनसक्छ।

समुद्रमुनी हुने भूकम्पका कारण निम्तिने त्सुनामीहरूको उच्च जोखिममा तटीय क्षेत्रमा बस्ने मानिसहरू रहन्छन्।

सन् २००४को एशियन त्सुनामी सुमात्रा टापु नजिकै हिन्द महासागरको मुनी गएको ९.१ म्याग्निट्यूडको भूकम्पका कारण उत्पन्न भएको थियो।

उक्त भूकम्प र त्यसपछि उत्पन्न ठूल्ठूला समुद्री छालहरूका कारण एक दर्जन बढी देशहरूमा झण्डै २,३०,००० जना मानिसहरूको मृत्यु भयो।

भूकम्पका कारण उत्पन्न शक्तिशाली समुद्री छालहरूका कारण उक्त महासागरको अर्को पट्टी निकै टाढाको अफ्रिकाको तटीय क्षेत्रमा पनि मानिसहरूको ज्यान गयो।

पहाडी क्षेत्रमा भूकम्पले पहिरो निम्त्याउँछ जसले घरहरू पुर्नुका साथै सडक अवरुद्ध बनाएर उद्धार कार्यमा असर गर्छ।

सन् २०१५ मा नेपालमा गएको शक्तिशाली भूकम्पमा ९,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।

विश्वभरी आएका ठूला भूकम्पको चित्र

गोरखा र सिन्धुपाल्चोक केन्द्र बनाएर गएका दुई वटा छुट्टाछुट्टै भूकम्पका कारण ३,००० वटा पहिरो गएको भूगर्भविद्हरूले बताएका छन्।

सन् १९०६ मा सान फ्रान्सिस्कोमा गएको भूकम्पले २० देखि २५ सेकेन्डसम्म मात्रै जमिन हल्लिएको थियो। तर कम्पन निकै शक्तिशाली भएका कारण सहरको ग्यास र खानेपानीका पाइपहरू ध्वस्त भए।

भूकम्पले टुटेका पाइपहरूबाट चुहिएको ग्यासका कारण आगलागी सुरू भयो र पानीको अभावका कारण आगो नियन्त्रण कठिन भयो। जसले गर्दा उक्त सहरमा ३,००० मानिसहरूको मृत्यु हुन गयो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply