मञ्जुलले एकल वाचनमा झलकमानको स्मरण

0

पोखरा ।

‘….पिङ माथिको माथि पनि जाँदैन नि !
तलको तलै पनि झरिरहँदैन नि !
कहिले तल, कहिले माथि
पिङ खेल्नुको मज्जा नै यही हो ।
चुपचाप झुण्डिरहेको पिङ देख्दा
मलाई आफैं झुण्डिरहेको जस्तो लाग्छ,
दिक्क लाग्छ ।’

एकताका ‘राल्फा’ आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यिक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका मेघराज शर्मा नेपाल अर्थात् मञ्जुललाई पनि कविताको भावअनुसार एकै ठाउँ बसिरहन मन लाग्दैन । अनवरत साधनारत कवि मञ्जुल पोखरामा शनिबार ७८ वसन्तसम्म भोगाइका कवितामा सुनिए । प्रेम, प्रकृति, रहनसहन, संघर्ष, गरिबी, अभावका करिब २ दर्जन कविता र गीत सुनाएर उनले पोखरेलीलाई आल्हादित पारे ।

पोखरेली युवा सांस्कृतिक परिवारले नेपालको पूर्वी भोजपुर गोगनेका कवि मञ्जुलको यसरी एकल कविता वाचनको जाँचोपाँजो मिलाएको थियो । सो अवसरका लागि सबैलाई धन्यवाद दिँदै मञ्जुलले ‘गायक गात्री’ कविताबाट दैलो उघारे ।

सो अवसरमा लिंगेपिङ, ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’, गर्मी र वर्षा, सङ्खेत्रो, मृत्यु, कुपी, गुच्चा, सिद्धिचरण लगायतका झण्डै २ दर्जन कविता पाठ गरे ।

विम्ब, व्यङ्ग्य, रसिक, कला भरिएका उनका कविता समग्रमा सचेतना दिनेखालका थिए ।
वाचनक्रममा विभिन्न समय सन्दर्भ स्मरण गर्दै उनले फुटकर र लामा गद्य कविता वाचन गर्दा पोखरेली परर्र ताली पिट्थे । कविता वाचनको अन्त्यतिर उनी ‘डुल्दै आयो गाइने दाजु हाम्रो आँगनीमा ..’, ‘कोही त भने जहाजमा सरर, कोहीको भने पसिना तरर..’ जस्ता कालजगी गीतमा गिटारको धूनमा पनि सुनिए । पोखरा उद्योग वाणिज्य संघ करिब १ घण्टाको बसाइँमा उनले झलकमानलाई समर्पित गर्दै ‘आमाले सोध्लिन् नि, खै छोरा भन्लिन्…’ गाउँदै एकल वाचनको बिट मारे । र, हँसिलो मुहारका उनले आभार प्रकट गर्दै भने, ‘मेरो कविता कस्तो स्नेहले सुनिदिनु भो । मैले जीवनमा कहिल्यै बिर्सन्नँ ।’

विसं २०२५–०२९ ताका मञ्जुलको जीवन गायक यात्रीको जस्तो थियो । त्यसबेला उनी गाउँगाउँ डुले । बस्तीबस्ती चहारे । गीत सुनाउने, नयाँ गीत संकलन गदैं हिंडेका उनी अरुका गीत पनि चाख मानेर सुन्थे । खासमा ‘राल्फा’ आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यिक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका मञ्जुल कालान्तरमा साहित्यिक लेखनमै रमाए र साधनारत रहेका हुन् । ५० वर्षअघि निरकुंश पञ्चायतविरुद्ध गीत र कविताका माध्यमबाट जनजागरण ल्याउन ‘राल्फा’ समूह सक्रिय थियो । पछि यो सांस्कृतिक आन्दोलनरूपमा विकास भयो । त्यही समूहमा थिए रामेश, रायनलगायत गायक तथा संस्कृतिकर्मी पनि । जनवादी गायकका रूपमा समेत प्रसिद्ध उनका कविता, गीत, निबन्ध, उपन्यासका झन्डै एक दर्जन कृति प्रकाशित छन् ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले मञ्जुलको परिचय दिँदै ‘जागरणका गायक’ भनी चिनाए । पञ्चायतको तत्कालीन सामन्ती अवशेषविरुद्ध मञ्जुलले गीत गाउँदै जागरण छर्दै गए । कतिलाई मार्गनिर्देशन गरे । कास्की, पर्वतलगायत जिल्लामा कवि मञ्जुलसँगै घुमेका किस्सा पनि श्रेष्ठले स्मरण गरे ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तलगायत साहित्यिक एवं संगीतअनुरागीको बाक्लो उपस्थिति थियो । आयोजक पोखरेली युवा सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेलले मञ्जुललाई पोखरामा पाउँदा खुसी व्यक्त गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिए । संस्थाका सहसचिव शिव त्रिपाठीले एकल वाचन कार्यक्रम सञ्चालनको पर्दा उघार्दै मैजारो पनि गरे ।

Leave a Reply