मधेशमा डुबेर एक वर्षमै १५५ को मृत्यु, ८१ बालबालिका

0

धिरज महतो डुबेको पोखरी ।

११ असोज, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासनका ११ वर्षीय धिरज महतो गत शनिबार दुई जना साथीसँग खेल्दै घरदेखि केहीपर बिगही खोलामा पुगे ।

उनीहरूले खोला छेउमा गत हिउँदमा बालुवा झिक्दा बनेको खाल्डोमा पानी जमेको देखे । थोरै पानी होला भन्ने ठानेर नुहाउने र माछा मार्ने योजना बनाए । पानी कति छ भनेर पत्ता लगाउन सुरुमा धिरजले खाल्डोमा खुट्टा हाले । उनी चुर्लुम्म डुबे, आफैं बाहिर निस्कन्छ भन्ने सोचेर साथीहरू कुरिरहे ।

नजिकै खेतमा काम गरिरहेका विरीलाल महतोले धिरज डुबेको थाहा पाएर हत्तपत्त खोज्न खाल्डोमा पसे । तर सोचेभन्दा गहिरो खाल्डोमा धिरजलाई फेला पार्न सकेनन् ।

खेततिर जान लागेका स्थानीय कपिलदेव महतो पनि धिरजलाई खोज्न हाम्फाले । उनको केहीबेरको प्रयासमा धिरज भेटिए । तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउँदा अस्पतालले धिरजलाई मृत घोषणा गर्‍यो ।

‘खाल्डो धेरै गहिरो छ । यति धेरै पानी छ भन्ने मलाई पनि थाहा थिएन । खोजेर निकाल्दा धिरजको धड्कन थिएन । धेरै ढिलो भइसकेको थियो’, कपिलदेव भन्छन् ।

तीन वर्षअघि बटेश्वर गाउँपालिका कार्यालयले बिगही खोलाको ढुंगा, बालुवा ठेक्कामा लगाउँदा क्रसर व्यवसायीले उत्खनन सुरु गरिसकेका थिए । स्थानीयको विरोधपछि पालिकाले ठेक्का रद्द त गर्‍यो, तर रातिमा डोजर लगाएर बालुवा झिक्ने क्रम रोकिएन । स्थानीय सरकार र व्यवसायीको बदमासीले बालकको ज्यान गएको बटेश्वर गाउँपालिका–३ का विरीलाल महतोको गुनासो छ ।

‘मेरो खेत खोला छेउमै छ, दुई/तीन पटक म आफैंले विवाद गरेर उत्खनन गर्नेलाई रोक्न लगाएको छु । तर पालिकाले खनाउन सुरु गर्‍यो, राति–राति खन्दा मतलब गरेन । आज अनाहकमा निर्दोष बालकको ज्यान गयो’, उनले भने ।

****

धनुषाकै जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका दुई वर्षका छोरा रोहन मुखिया गत २९ भदौको बिहान घरनजिकै खेलिरहेका थिए । हजुरआमा सुनिता र आमा पुनिता घरको काममा लागे ।

क्षणभरमै रोहन हराएपछि उनीहरू छिमेकको घरघरमा खोज्न थाले । घरअगाडि तीन वर्षअघि ढलान भएको सडक छेउको नालामा ढक्कन थिएन । छिमेकी अमृताले बालकको खुट्टा देखिन् । बाहिर निकाल्दा रोहनको मृत्यु भइसकेको थियो ।

‘म भैंसीलाई घाँस हाल्न आउँदा नालामा थोरै खुट्टा देखें’ अमृताले भनिन्, ‘अत्तालिएर चिच्याएँ, तुरुन्तै निकालें । हल्का सास चलेको जस्तो मात्र लाग्यो ।’ प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरे ।

आर्थिक वर्ष २०७७/७८ मा संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाको ५० लाखको लागतमा स्थानीय उपभोक्ता समितिले ३५० मिटर बाटोमा पीसीसी ढलान र नाला बनाउने काम गरेको थियो ।

ठेकेदार मार्फत काम गराएको उपभोक्ता समितिले नालाको ५१ वटा ढक्कनको समेत भुक्तानी लिएको थियो । तर नालाको ढक्कन नलगाई अलपत्र छाड्ने उपभोक्ता समितिको लापरवाहीले बालकको मृत्यु भएको स्थानीय नथुनी मण्डल बताउँछन् ।

स्थानीय बासिन्दाको विरोधपछि उपभोक्ता समितिले मृतक बालकको परिवारलाई २ लाख रुपैयाँ दिने र नालाको ढक्कन लगाउने सहमति गरेको छ ।

****

गत २३ असारको दिउँसो घरबाट खेल्न निस्किएका सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवाका १२ वर्षीय प्रिन्स र १० वर्षीय दिपु मण्डल साँझसम्म घर फर्केनन् ।

घरपरिवारले खोजी गरे पनि त्यस दिन भेटिएनन् । भोलिपल्ट घर भन्दा तीनसय मिटर पर बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा दुवै बालक मृत अवस्थामा भेटिए ।

बुबा नगेन्द्रका अनुसार शनिबार विद्यालय बिदा रहेकाले उनीहरू खेल्न निस्केका थिए । तटबन्धको लागि खनेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर छोराहरूको मृत्यु भएको उनले बताए ।

****

गत १४ साउनको दिउँसो सप्तरीको बोदेबर्साइन नगरपालिका–३ का महदेवा साहको पोखरीमा भैंसी नुहाउन लिएर गएका सोही नगरपालिका–१ धनगढीकी ८ वर्षीया किरण साह र वडा नं. ६ फुलकाहीकी ८ वर्षीया शिवानी साहको मृत्यु भएको थियो ।

****

गत २३ वैशाखमा जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियाको एक पोखरीमा स्थानीय जुम्ल्याहा दाजुभाइ ९ वर्षका मोहम्मद अल्का र मोहम्मद अब्दुल डुबेको अवस्थामा भेटिए । शनिबार नुहाउन पुगेका दाजुभाइ साँझ सवा ७ बजे डुबेको अवस्थामा भेटिएपछि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

****

मधेश प्रदेशमा खोला किनारमा र अन्य ठाउँमा बालुवा तथा माटो निकाल्न खनिने ठूला खाडल र विकास निर्माणका काममा हुने खेलाँची बालबालिका मृत्युको कारण बन्ने गरेको छ । खोला तथा सडकछेउका खाल्डोमा वर्षायाममा जमेको पानी, अव्यवस्थित नाला र पोखरीमा डुबेर वर्षेनि बालबालिकाको मृत्यु भइरहेको छ ।

पछिल्लो पाँच वर्षमा मधेश प्रदेशमा डुबेर ५९५ जनाले ज्यान गुमाउँदा २११ बालक र १४८ जना बालिका गरी ३५९ जना बालबालिका परेको प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष २०७९/८० मात्रै मधेशका ८ वटा जिल्लामा १५५ जनाको डुबेर मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक छ ।

मृत्यु हुनेमा ६२ जना पुरुष, १२ जना महिला, ४८ जना बालक र ३३ जना बालिका छन् । डुबेर मृत्यु हुनेमा सबभन्दा बढी धनुषामा ४१ जना रहेका छन् ।

पछिल्लो पाँच वर्षमा मधेश प्रदेशमा डुबेर ५९५ जनाले ज्यान गुमाउँदा २११ बालक र १४८ जना बालिका गरी ३५९ जना बालबालिका परेको प्रहरीको तथ्यांक छ ।

यस्तै २३६ जना युवा, वयस्क र प्रौढ महिला र पुरुषले ज्यान गुमाएको मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रविन पोखरेलले बताए ।

विकास निर्माणको कामका लागि खनेको खाल्डो जथाभावी असुरक्षित छाड्दा बालबालिकाको मृत्यु बढी भएको उनको भनाइ छ ।

‘बालबालिका पोखरीमा पौडी खेल्न जान्छन् । पसेपछि डुब्न थाल्छन्, पौडन आउँदैन, बचाउने ठूला मान्छे हुँदैनन्’, बालबालिका मृत्यु हुनुको कारणबारे एसएसपी पोखरेलले भने, ‘अर्को कारण हो विकास निर्माणको काम अपुरो छोडेको खाल्डोमा जमेको पानी ।’

अभिभावकको राम्रो रेखदेख, निगरानी र संरक्षण नहुँदा बालबालिका डुब्ने गरेको घटनास्थलको प्रकृतिबाट देखिएको पनि पोखरेलले बताए ।

डुबेर मृत्यु हुने वयस्कमा मादक पदार्थ सेवन गरेकाहरू धेरै देखिएका उनको भनाइ छ ।

प्रमुख कारण लापरवाही

विकास निर्माणमा हुने लापरवाही र अव्यवस्थित शहरीकरणले बालिबालिका डुब्ने घटना बढेको जानकारहरू बताउँछन् ।

‘मधेशमा प्रत्येक दुई/चार गाउँपछि नदी छ । नदीमा डोजरले बनाएको खाल्डोमा पानी जमेर जोखिम हुन्छ । असारे विकासको चक्करमा गाउँमा सडक बाटो र नालाको काम हुन्छ । ठेकेदारले सडक छेउको माटो खनेर काम गर्छन् । खाल्डो रहिरहन्छ । पानी जम्छ बच्चाहरू विद्यालय, गोठालो, नुहाउन वा खेल्न जाँदा डुब्छन्’, पत्रकार तथा विश्लेषक चन्द्रकिशोर भन्छन् ।

मधेशमा जथाभावी घर निर्माण हुँदा पानीले सही निकास नपाउँदा पनि खाल्डाखुल्डीमा पानी जमेर बालबालिकाको मृत्यु हुने गरेको उनको भनाइ छ । ‘अनियन्त्रित तरिकाले घरहरू बनिरहेका छन्, हजारौं बिघा जग्गामा पानी जमेको छ, निकास छैन । त्यो ठाउँमा पनि डुब्ने डर हुन्छ । डुब्ने पनि खासगरी कमजोर तप्काका बालबालिका हुन्छन्’, चन्द्रकिशोर भन्छन् ।

विकासबारे स्थानीय र प्रदेश सरकारको अधुरो बुझाइका कारण पनि जोखिम बढेको उनको भनाइ छ । ‘दिगो विकासका बारेमा सोच्दैनन् । गरिरहेको विकासले कसलाई फाइदा हुन्छ र के के जोखिम छ, जोखिम न्यूनीकरणको विषयमा दृष्टिकोण र योजना बन्नुपर्‍यो’, उनले भने ।

मधेश मामिलाका जानकार तुलानारायण साहले बालबालिका डुब्ने घटना न्यूनीकरणको लागि जथाभावी खाल्डो खनेर अलपत्र छाड्नेलाई कडा कारबाहीको कानुन ल्याउनुपर्ने बताउँछन् ।

माछापालन र अन्य भौतिक पूर्वाधार निर्माणका लागि खनिएको खाल्डो जथाभावी छाड्ने क्रम बढेकाले कानुनी कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको व्यवस्था भए बालबालिका डुब्ने घटना कम हुने साहको तर्क छ ।

‘माछापालनको लागि अनुदान पाउन थालेपछि पोखरीको संख्या बढेको छ । त्यस्ता पोखरीहरूमा डुब्ने जोखिम बढी छ । बालबालिकालाई जान नदिन तारबार लगाउनुपर्‍यो । भौतिक निर्माणको लागि खन्ने खाल्डो तुरुन्तै पुर्नुपर्‍यो’ साहले भने ।

बालबालिका डुब्ने घटना न्यूनीकरणको लागि विद्यालय, जातीय संगठन, महिला समूहमा सचेतना कार्यक्रम गर्नुपर्ने पनि विश्लेषक चन्द्रकिशोरको मत छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply