मीना सिर्जनशील पुरस्कारबाट बिनु र तारा सम्मानित

0

पोखरा । ‘मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार’ बाट बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार आयोजना गरेको समारोहमा वर्ष २०७९ का लागि ‘बिनु’ र वर्ष २०८० का लागि ‘तारा’ लाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले पत्रकारद्वयलाई जनही २० हजार १११ नगदसहित सम्मानपत्र हस्तान्तरण गरिन् । मन्त्री अर्यालले महिलाका लागि पत्रकारिता पेसालाई निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ्दै गएकामा खुसी व्यक्त गरिन् । उनले समाज रूपान्तरण अभियानमा पत्रकारको अग्रणी भूमिका रहने उल्लेख गरिन् । उनले प्रदेश सरकारले छिट्टै आमसञ्चार विधेयक ल्याउन लागेको जनाइन् ।

सम्मानित पत्रकार ‘बिनु’ पोखरा टेलिभिजन र ‘तारा’ पोखरा सिटी डटकममा आबद्ध छन् । उनीहरुले पुरस्कारबाट पत्रकारितामा थप क्रियाशील हुन प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले महिला र समावेशीकरणको मुद्दामा कलम चलाएवापत पुरस्कृत गरिएको बताइन् ।

पत्रकार महासंघ कास्की पूर्व सदस्य एवं गण्डकी प्रदेश सभाका पूर्व सदस्य वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङले सो पुरस्कार स्थापना गरेकी हुन् ।

यो पुरस्कारबाट यसअघि दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिना पगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित भइसकेका छन् ।

Leave a Reply