‘म जेल गएपछि परिवार कसले पाल्छ ?’

0

११ असोज, काठमाडौं । पर्साका अबुलेस अन्सारी (३७) एकाएक काठमाडौं आउनुमा कम दुःख लुकेको छैन । चुपचाप कारखानामा काम गर्ने र त्यहाँबाट पाएको ज्यालाले घरपरिवार चलाउने उनका लागि काठमाडौं दैनिक आवश्यकता भन्दा टाढाको कुरा हो । तर उनलाई काठमाडौंले क्रुरतापूर्वक डाक्यो ।

‘अलि अघि बुबालाई अदालतबाट एउटा चिठी गयो । मैले त्यो कारखानाको सरहरुलाई देखाएँ, त्यसमा २० लाख रुपैयाँ लेखेको छ, तिर्नुपर्ने रे’, उनी भन्छन्, ‘त्यो किन हो ? कहाँ तिर्नुपर्ने हो भन्ने थाहा नभएर बुझ्न आएको हुँ ।’

खुरुखुरु आफ्नो रोजीरोटी गरेका, जेनतेन घरपरिवार चलाएका अबुलेसलाई उच्च अदालत, पाटनले ‘राजस्व चुहावटमा संलग्न व्यक्ति’ भनी दोषी ठह¥याएको रहेछ । राजस्व छलेको २० लाख रुपैयाँ र त्यति नै जरिवाना तिर्नुपर्ने फैसला सुनाइएको छ । अनि एक महिना कैद सजाय पनि तोकिएको छ ।

त्यो यथार्थ थाहा पाएपछि उनी चिन्तित छन् । त्यति ठूलो रकम तिर्न सक्ने उनको अवस्था छैन, लुकेर बसौं भने कुन दिन प्रहरी आएर जेल लैजान्छ भन्ने त्रास । अदालत वा प्रहरीले थुनामा राख्यो भन्ने कसरी घरपरिवार चल्छ भन्ने चिन्ताले सताएको छ ।

‘घरमा बुबा, तीनवटा बच्चा र श्रीमती छन् । बिजुलीको पोल लोड गर्ने ज्याला मजदुरीको काम गर्छु । काम गरेको दिन एक हजार रुपैयाँ पाँउछु’, अबुलेस भन्छन्, ‘मलाई थुन्यो भने घरपरिवार कसरी चल्छ ?’

राजस्व छलीको मुद्दा

राइज अटो ट्रेड प्रालिले झुटा तथा नक्कली बिल बनाएको आरोपमा राजस्व अनुसन्धान विभागले मंसिर २०७६ देखि अनुसन्धान थालेको थियो । त्यसक्रममा अबुलेस अन्सारीको नाममा खोलिएको यो कम्पनीले २० लाख ५९ हजार रुपैयाँ राजस्व छलेको निष्कर्ष निकाल्यो ।

विभागले उनलाई भेटाउन र उपस्थित गराउन नसकिएको भनी आरोपपत्र तयार गर्‍यो र राइज अटो ट्रेडका एक्ला सञ्चालकमाथि २० लाख ५९ हजार राजस्व छलेको आरोपमा मुद्दा दायर भयो । अदालतले पनि उनका नाममा म्याद जारी गर्‍यो ।

उनको म्याद श्रीमतीले बुझेपनि अदालतमा उपस्थित नभई म्याद गुजारेको भन्दै राजस्व अनुसन्धान विभागको माग बमोजिम बिगो, जरिवाना र एक महिना कैद सुनायो ।

कुनै कम्पनी वा फर्मबाट राजस्व चुहावट भएको छ भने अनुसन्धान गर्ने निकायले त्यसका सञ्चालक, उनीहरुको पृष्ठभूमि, अपराधबाट आर्जित रकम लुकाएको ठाउँका बारेमा अनुसन्धान गर्नुपर्छ । यदि कसैका नाममा अर्कैले फर्म खडा गरेको छ भने वास्तविक व्यक्ति को हो र कम्पनी स्थापनाका सिलसिलामा कसलाई मोहरा बनाइयो भन्ने पनि खोज्नुपर्ने थियो ।


तर राजस्व अनुसन्धान विभाग अधिकारीहरु यसो गर्दैनन् । यो मुद्दामा पनि विभागको प्रतिवेदनमा अनुसन्धान अधिकृत सुवर्ण कोइरालाले राजश्व चुहावट गरेको, फर्मको कारोबारको ठेगाना भएको ठाउँमा कुनै पनि कारोबार नगरेको, उपस्थित हुन जानकारी गराएकोमा फरार रहेको र खरिद वापतको भुक्तानी नदेखिएको लगायतका सबै आरोप अबुलेसमाथि लगाएको पाइएको छ ।

कोइरालाले अदालतमा बकपत्र गर्दै भनेका छन्, ‘यी तथ्यबाट प्रतिवादी (अबुलेस) ले वास्तविक रुपमा मालवस्तुको कारोबार नगरी झुट्टा तथा नक्कली कर विजक जारी गरी राजश्व चुहावट गरेको देखियो ।’

झुक्याएर फँसाएपछि…

अबुलेस वैदेशिक रोजगारीका लागि विदेश जान भनेर ५/६ वर्षअघि काठमाडौं आएका थिए । ४/५ दिन म्यानपावर कम्पनीहरुमा धाए । सिनामंगलनिरको एउटा मेनपावरले मलेसियाको भिसा लगाइदिन्छु भनेपछि पासपोर्ट छाडे ।

तर घर फर्कने पैसा भएन । गाउँकै तेजामुल र रुस्तम भन्ने साथी भेटे, आफ्नो समस्या सुनाए, पैसा सापट मागे । तेजामुल र रुस्तमले एक साथ भने, ‘हामी एउटा काम गरिरहेका छौं, तिमी पनि गर । अलिअलि पैसा हुन्छ ।’

उनीहरुले रत्नपार्क लगेर परमेश्वर साहसँग भेट गराइदिए । परमेश्वरले भनेछन्, ‘यहीँ पसल खोल्नुपर्छ, बरु त्यसका लागि एउटा काम गर्नुपर्छ । तिम्रो नागरिकता देऊ ।’

परमेश्वरले ९ हजार रुपैयाँको आश्वासन दिए, अनि थप ३ दिन काठमाडौं बस्नुपर्छ भने । अबुलेसका अनुसार त्यसपछिका दुई दिन उनलाई सुन्धाराको लजमा राख्यो, दैनिक मासुभात खुवायो । अनि एउटा अफिसमा लगेर केही कागजमा सही गराइयो ।

अबुलेस पाँच वर्षअघिको कुरा अलिअलि सम्झन्छन्, ‘भोलिपल्ट मलाई भक्तपुर लग्यो । बानेश्वरभन्दा धेरै अगाडि हो, अरु थाहा छैन । सूर्यविनायक लग्यो । त्यहाँ औंठाको छाप लियो । मसँग रुस्तम पनि थियो । उसले चार हजार दियो ।’

भोलिपल्ट बैंक खाता खोलेर बाँकी पैसा दिने कुरा थियो । यति गरिदिँदा के फरक पर्छ भनेर अबुलेस तयार भए । तर बैंक पुगेपछि उनलाई निकै डर लाग्यो, काम गर्दिन भनेर फर्किए । अनि परमेश्वरले दिएको चार हजार बोकेर गाँउ फर्किए ।

‘म काठमाडौंबाट फर्किएको २/३ महिना बितेको थियो, मोवाइलमा फोन आयो । सबजना केटाहरुको नाममा गाउँमा चिठी गएछ । अनि त मेरो मनमा झन् डर भयो ।’

केही दिनपछि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुगे । राजश्वका कर्मचारीहरुले ‘परमेश्वरलाई समातेको छ’ भन्ने उनीहरु पनि आए । ‘म, तेजामुल, रिजवान र इज्राफुल चारजना हरिहरभवन गयौं’, उनी भन्छन्, ‘सरहरुले सोध्नुभयो, हामीले सबै भन्यो । केही हुँदैन, एकपटक अदालत जानुपर्छ भन्नुभयो ।’

केही नहुने आशमा अदालतमा पुगेका उनीहरुको साथी सोयबलाई थुनिए । त्यसपछि फेरि अबुलेसको मनमा चिसो पस्यो । उनी भन्छन्, ‘जति जे भएपनि सोयबलाई पक्रिसकेको थियो । एकदिन पनि कमाएन भने बालबच्चा भोकै हुन्छ । कमाउने मै हो, थुन्दिएपछि त बालबच्चा भोकै हुन्छ । अनि हामी (अदालतमा) गएनौं ।’

बरु राजस्व अनुसन्धान विभाग जाँदा चिनेका त्यहाँका हाकिम अच्यूत ढुंगानालाई गाउँबाट फोन गरेछन् । अच्यूतले जवाफ दिएछन्, ‘केही डराउनु पर्दैन, हामीले अनुसन्धान गरिसक्यौं । हामीलाई थाहा भइसक्यो कि यो काम तिमीहरुले होइन, परमेश्वरले गरेको हो । उसलाई अनुसन्धान गरेको छ ।’

त्यसपछि अबुलेस ढुक्क भए, दैनिक काममा लागे । तर एकाएक अदालतका कर्मचारीले बाबुको नाममा थमाएको चिठीले सातो गयो । यसबारे उनलाई काठमाडौं नै गएर बुझ्नुपर्छ भन्ने लागेको थियो । साथीहरुलाई पनि जाऔं भने । उनी भन्छन्, ‘जतिपनि केटाहरुको नाममा चिठी गयो, सबै डराए । कोही नआउने भए, तर म आएँ ।’

भन्नेबित्तिकै काठमाडौं हिड्न कहाँ पाउँथे र उनी ? उनको कारखानाले ७ र २२ गते मात्रै ज्याला दिने गरेको छ । काठमाडौं आउनैपर्ने भएपछि उनले कारखाना (हुलास स्टिल्स) का कर्मचारीहरुसँग एक हजार सापटी मागे । आफ्नो साथमा रहेको एक हजारसहित दुई हजार बोकेर उनी काठमाडौं आइपुगे, चिनेका साथीहरुकहाँ बास मागे ।

भोलिपल्ट ‘राधिका म्याडम’ (अधिवक्ता राधिका खतिवडा) लाई भेटे । राजस्व छलीका मुद्दामा यसअघि थुनिएका उमाशंकर रायभरको मुद्दा लडिदिएकाले उनले खतिवडाबारे थाहा पाएका रहेछन् । उनलाई भेटेपछि मुद्दाको अलिअलि मेसो पाए ।

मुद्दाका कारण आफूलाई पक्राउ गर्ने डर नभएको भए उनी हतारिएर आइहाल्ने थिएनन् । तर आफ्नो भन्दा पनि परिवारको चिन्ताले मुद्दाको सोधीखोजी गर्न आए । ‘मेरो मुद्दा कहाँ छ ? के हुन्छ ? केही थाहा छैन’ उनले भने, ‘उच्च अदालत पाटनबाट फैसला भइसकेको छ रे । अब मलाई डर भयो, मेरो सानासाना बालबच्चा छ । उनीहरुको डरले म यहाँ आएको हो ।’

झुटो अभियोजन…

अबुलेसको मुद्दा हेरिरहेकी अधिवक्ता खतिवडाका अनुसार यो मुद्दा चलाउने क्रममा राजस्व अनुसन्धानदेखि उच्च अदालतले समेत कानुनका दफा र उपदफा केलाए पनि न्यायको मर्मको पालना नगरेको देखिन्छ ।

राजस्वको अनुसन्धान त अभियोजनसम्बन्धी आधारभूत सिद्धान्तबाटै विचलित देखिन्छ ।

अनुसन्धानको सिलसिलामा अबुलेस लगायतका व्यक्ति राजस्व अनुसन्धान विभागमा पुगेर बयान दिएका छन् । बयानमा उनले आफ्नो यथार्थ विवरण बताउँदै आफ्ना नाममा परमेश्वर साहले कम्पनी खोलेको, बैंक खाता नखोलेको बताएका छन् । मुद्दा परेपछि अच्यूत ढुंगानासँग गरेको टेलिफोन कुराकानी उनीसँग अझै सुरक्षित छ जसमा उनले बयान लिएको प्रष्ट बताएका छन्

तर विभागले उनी बयानमै नआएको भनेर झुटो विवरण मात्रै लेखेन, अपराधमा संलग्न नभएका उनलाई साक्षीको रुपमा प्रस्तुत गर्नुपर्नेमा उल्टै मुद्दा चलायो । भक्तपुरको सिर्जनानगरमा फर्मको कार्यालय रहेको भनिए पनि केही नभेटिएको भन्दै विभागले यस्तो प्रतिवेदन तयार पार्‍यो, ‘उल्लेखित फर्मको बिक्री कारोबार देखिएको, तर वस्तुको स्रोत खरिद तथा भुक्तानी लगायतका प्रमाणहरु नदेखिएकाले उक्त बिक्री रकम झुट्टा तथा नक्कली भएको स्पष्ट भएको ।’

उच्च अदालतले समेत प्रतिवादी नै नभेटिएको अवस्थामा मुद्दालाई मुल्तबीमा राख्नुपर्नेमा आरोपित अबुलेसलाई दोषी ठहर गर्‍यो । बैंक खाता नै नखोलेको अवस्थामा उनले कसरी कारोबार गरे, कम्पनीमा उनी कसरी संलग्न भए र राजस्व छले भन्ने पाटोको विवेचना गरेन । राजस्व अनुसन्धान विभागले जे आरोप लगायो, उच्च अदालतका न्यायाधीशद्वय श्यामजी प्रधान र सुदर्शनराज पाण्डेको इजलासले त्यसको अनुमोदन गरेको पाइएको छ ।

२१ भदौ २०७९ मा भएको फैसलामा भनिएको छ, ‘कर अधिकृतद्वारा प्रमाणित खाता प्रयोग गर्नुपर्ने, कारोबारको विवरण तोकिएको अवधिसम्म सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्था भएकोमा प्रतिवादी अबुलेस अन्सारी सञ्चालक भएको उक्त कम्पनीले त्यस्तो कुनै कागजात सुरक्षित राखेको देखिंदैन ।’

अधिवक्ता राधिका खतिवडाका अनुसार, अबुलेसले सर्वोच्च अदालतमा पुनरावेदन गर्न त पाउँछन्, तर त्यसका लागि कि धरौटी राख्नुपर्छ कि थुनामा जानुपर्छ । ‘धरौटी तिर्न नसक्ने अनि थुनामा गए घरपरिवार भोकै हुने भएकाले उनलाई निकै गाह्रो छ’, अधिवक्ता खतिवडा भन्छिन्, ‘दुवै उपाय उनको हकमा सम्भव नहुने देखेमा हामी रिट निवेदन लिएर जाने हो कि भन्ने सरसल्लाह गर्दैछौं ।’

अबुलेस भने भयानक अलमलमा छन् । यत्ति भन्छन्, ‘मैले सही मात्रै गर्दिएको हो । गल्ती गरेको भए सजाय भोग्छु, तर सही गर्नेबाहेक मैले केही पनि गरेको हैन ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply