युवाले खोजेको नेपाल कस्तो ?

0

तथ्यांकहरूले तथ्य बोल्छन्, गीतहरूले सत्य । एउटा समय थियो, जुन बेला राजा महेन्द्रले लेखेको, नातिकाजीको संगीतमा दीप श्रेष्ठले गाएको ‘नजाऊ छोडी यो देश, आमालाई रुवाएर’ गीतले धेरैलाई छुन्थ्यो ।

समय यस्तो पनि आयो, जतिबेला १९७४ एडीले गाएको ‘जसो भन जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो’ को ख्याति राष्ट्रगान भन्दा बढ्ता चुलिन पुग्यो । गीतहरू भावना मात्रै रहेनछन्, बरु इतिहासको कालखण्ड सम्झाउने अभिलेख पनि रहेछन् ।

रक ब्यान्ड १९७४ एडीको पेटबोली छ : मेचीकालीको चौहद्दीमा बस्दा मात्रै नेपाली भइने होइन । थातथलो छाडेर मुगलान पस्ने नेपालीबारे दुई सय वर्षभन्दा पुराना तथ्य भेटिन्छन् । बाह्य बसाइँसराइ मात्रै नभई आन्तरिक बसाइँसराइ गर्नेहरूको संख्या अगणित छ । अर्थात् जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो !

विश्वको जुनसुकै भूभागमा बसे पनि त्यो पौरखी प्रवासी आफ्नो समुदाय, परिवार रहेको नेपाललाई असीम स्नेह गर्छ । नयाँ पुस्ताले यो देशलाई अझै राम्रो पार्दै लैजाओस् भन्ने कामना गर्छ ।

यो निष्कर्षमा हाम्रो समाज एकैपल्ट आइपुगेको भने होइन । देश भनेको स्थिर इकाइ मात्रै होइन, चलायमान भावना पनि हो भन्ने मान्यताले प्रवेश पाउन सहजै सम्भव भएको होइन । भोकैतिर्खै बस्नुपरे पनि राष्ट्रवाद नै प्यारो भनाउन माध्यमिक तहसम्मको महेन्द्रमालाले मात्रै होइन; भाषण, गीत, कविताहरूले समेत योगदान गर्छन् । कहिलेकाहीं त इतिहासको किताबले मात्रै होइन, साहित्यले समेत नागरिकहरूको शोषण गर्छ ।

औपचारिक तथ्यांकमै भर पर्ने हो भने पनि श्रमका लागि दैनिक २२ सय युवा अनि शिक्षाका लागि दैनिक ३०० युवा विदेश गइरहेको भेटिन्छ । जनगणना २०७८ का अनुसार देशभरका १५ लाख ५६ हजार परिवारका कोही न कोही सदस्य विदेशमा छन् ।

नेपालमा १५ वर्षभन्दा माथिको सक्रिय श्रमशक्ति जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको पछिल्लो श्रमशक्ति सर्वेक्षणले देखाउँछ । त्यसमध्ये केवल ७० लाख ८६ हजार जनसंख्या मात्रै रोजगारीका विभिन्न क्षेत्रहरूमा सामेल देखिन्छ । रोजगारीका क्षेत्रमा रहेको श्रमशक्ति जनसंख्याको ३४.२ प्रतिशत देखिन्छ । बाँकी ११.३ प्रतिशत बेरोजगारी दर देखिन्छ । त्यसले खोज्ने विकल्प भनेको विदेश नै हो ।

श्रमबाहेक पनि शिक्षाका लागि विदेश जानेको संख्यामध्ये १६–४० उमेर समूहभित्रको झन्डै ७ प्रतिशत अर्थात् १ लाख १० हजार देखिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पछिल्लो वर्षको तथ्यांक छ । कोभिड संकटका वर्षहरू छाड्ने हो भने विदेशमा पढ्न र श्रम गर्न जाने क्रम सधैं बढ्दो नै देखिन्छ ।

चाहे पढ्नका लागि भनेर होस् या श्रम गर्नका लागि हर दिन काठमाडौं एयरपोर्ट बाहिरको तस्बिर देखाएर सबै नेपाली बाहिरिंदैछन् भन्ने सन्देश जति प्रबल मात्रामा दिन खोजिएको छ । त्यस तथ्यको उत्तिकै ध्यान दिनुपर्ने पाटो छ, १६–४० वर्ष उमेर समूहको ४४ प्रतिशत युवा जनसंख्यामध्ये उल्लेख्य संख्या प्रवासमा होला, ठूलै संख्या आगमन कक्षबाट नेपाल आइरहेको पनि छ ।

यो तथ्यांकबारे हामी कमै विचार गर्छौं । अझ विचारै गर्दैनौं, किनभने कति प्रतिशत या अनुपातमा शिक्षित जनशक्ति प्रवासबाट नेपाल फर्कन्छ वा रोजगारीबाट आउँछ भन्नेबारे व्यवस्थित अभिलेख भेटिंदैन ।

बरु अभिलेख भेटिन्छ प्रधानमन्त्री रोजगार कार्यक्रमको । पछिल्लो वर्षको तथ्यांक वेबसाइटमा उपलब्ध नभए पनि आर्थिक वर्ष २०७८/७९ को अभिलेखमा सुनसरीदेखि मधेशसम्म वृक्षरोपणदेखि सिंचाइ, फोहोर सफाइदेखि स्कुल मर्मतसम्मका काम उल्लेख छन् । सरकारी अधिकृतहरूले पोज–पोजमा खिचाएका फोटा पनि उक्त किताबभित्र हालिएको छ, तर आफ्नो जीवनमा उल्लेख्य परिवर्तन चाहने पुस्तालाई यही रोजगार कार्यक्रमले आश्वस्त पार्नेमा विश्वास गर्ने ठाउँ कम्ती छ ।

सरकारलाई, प्रतिपक्षीलाई राम्रोसँग थाहा छ– देशमा ठूलो अनुपातमा चाहिएको छ रोजगारी, जसलाई समाजवाद र पूँजीवादको अन्त्यहीन बहसमा फसेका पार्टीहरूले डेलिभर गर्न सक्ने अवस्था अति थोरै छ । उनीहरू आफैंले रोजगारी दिलाउने त होइनन्, तर त्यस किसिमको अर्थ लाग्ने बाचाहरू विगतमा गरेका छन् । पोहोर मंसिरको चुनावअघि आरजु राणादेखि माधव नेपाल लगायत अनेक नेताहरूले गरेका भाषणहरू भिडियोमै उपलब्ध छन् । रेकर्डमा नआएका त्यस्ता कति प्रतिबद्धता होलान्, जसलाई दलहरूले वास्तवमा पूरा गर्नै सक्दैनन् ।

यही मुद्दामा उनीहरूलाई अक्षम देखाएर स्वतन्त्र पार्टी, जनमत पार्टी जस्ता नयाँ दलहरू उदाएका छन् । उनीहरूले रोजगारीको मुद्दालाई प्राथमिक बनाएर सिट, भोट पाइरहेका छन् । आशामा रुमल्लिएका नागरिकले अर्को पाँच वर्षमा सपना साकार भएको देख्न पाउने सम्भावना कमै छ । आजको भोलि रोजगारी सिर्जना गरेर देश तुरुन्तै बस्नलायक बनाइहाल्छु भनेर कसले पो भरोसा दिन सक्छ र ?

यस्तैमा मानिसहरू विदेश गइरहेका छन् प्रस्थान कक्षबाट । फर्किरहेका पनि छन्, आगमन कक्षबाट । आगमन कक्षबाट फर्किरहेका युवाको कुरा सुन्ने फुर्सद कसैलाई छैन । बरु दलपिच्छे ‘रिटर्नी फेडेरेसन’ बनाएर उनीहरूलाई फस्ल्याङफुस्लुङ पार्न चाहन्छन् दलहरू ।

उसोभए आगमन कक्षबाट आइरहेको वा यहीं बसेर सक्दो जीविका चलाइरहेको नयाँ पुस्ताले खोजेको देश कस्तो होला ? प्रचण्ड शान्तिवार्तामा आउँदा दिएको ‘नयाँ नेपाल’को नारा अब त उनैले बिर्सिसके होलान् । ‘आज होइन भोलिलाई १० वर्ष ओलीलाई’ नारा युवासंघ कार्यकर्ता बाहेक अरूले भनेको सुनिंदैन । बाबुराम भट्टराईको ‘नयाँ शक्ति’को भाष्य नै अपहरित छ । शेरबहादुर देउवालाई त छैटौं र सातौंपल्ट देश हाँक्न ज्योतिषीको भविष्यवाणी बाहेक कुनै नारा र मुद्दा पनि चाहिएको छैन ।

इमानदारीसाथ देश बनाउने रहर वास्तवमा आत्मकेन्द्रित लोभ हो । कुनै पनि देश एउटा व्यक्तिले बनाएर बन्ने होइन । उसले आफ्नो पालोमा यस्ता पदचिह्न छाडिदेओस्, जसलाई पछ्याएर भावी पुस्ता अघि बढ्न सकोस् ।

यस्तैमा उदाएका छन् नयाँ वैकल्पिक पार्टीहरू, जोसँग विकल्पको सग्लो नापनक्सा अहिलेसम्म तयार छैन । ‘नो नट अगेन’ ह्यासट्याग क्याम्पेन चलाएको भरमा उनीहरूले नागरिक आक्रोशलाई आशामा परिणत गरिहाल्लान् भनी पत्याउन अहिले हतारो हुन्छ । विकसित, अतिविकसित देशहरू देखेर आएका, नेपालको सुस्त चालको परिवर्तनसँग छट्पटिएका, विकल्प खोजिरहेका तर भरपर्दो आड नपाएका युवाको दमित असन्तुष्टि कुनै पनि बेला ब्यालेट वा सडक संघर्ष मार्फत विस्फोट हुनसक्छ भन्ने आकलन यहाँ हुने गरेको छ ।

समुदायभन्दा अलिक ठूलो इकाइ मात्रै हो देश, तर अरूको भन्दा मेरो देश राम्रो भन्ने भावना हुर्किंदै जाँदा त्यो राष्ट्रवादको रूपसम्म पुग्यो । अझ छिमेकी देशको थिचोमिचो समेत खप्नु परेको छ भने त्यस्तोमा मुक्ति आन्दोलनको भावना झनै चर्किन्छ ।

यस्तै अन्यायको विरोध गर्दै जाँदा, अनि राष्ट्रवादको ओतमा सुरक्षित महसुस गर्दै जाँदा हाम्रा महत्वपूर्ण वर्षहरू बितेर गए । राणातन्त्र, प्रजातन्त्र, पञ्चायती सक्रिय राजतन्त्र, बहुदलकाल, संघीय लोकतान्त्रिक गणतन्त्र : यी हामीले देशभित्रका परिवर्तनका रूपमा देख्यौं ।

अहिले सुरु भएको छ : सामाजिक सञ्जालको लहर, जसमा सबै महादेश एकैपल्ट जोडिन्छन् । अनि अल्गोरिदममा आफ्नो समुदाय नै सबैभन्दा निकट भेटिन्छ । फेसबुक आयो भन्दैमा सबै मान्छे एकैपल्ट जोडिए, अनि देश असान्दर्भिक भयो भन्ने छैन । यही क्रममा विकास भएको छ एआई, अनि अल्गोरिदमको धागो, जसले आफूलाई चासो परेको विषय दर्जनौंपल्ट एम्प्लिफाई गरेर सामुन्नेमा ल्याइदिन्छ ।

अल्गोरिदममा विचारभन्दा भावना भाइरल छ । काठमाडौंका मेयर बालेनलाई थाहा छ, उनले ‘चोर सरकार’ लेखेर मेटे पनि डिजिटल दुनियाँमा त्यो मर्दैन । उनले मंगलबार डा. गौरीशंकर लाल दासको अभिनन्दन गर्दै बोले, ‘इमानदारीसाथ काम गर्न कुनै पनि तन्त्रले केही फरक पर्दैन ।’

विभिन्न पेशाकर्मीहरूको दृष्टान्त दिंदै उनले बोलेको वाक्यले तुरुन्तै तालीको अनुमोदन पायो । नेपालकै इतिहासमा पनि तन्त्रले फरक नपर्ने भन्दै लोकतन्त्र छाडेर राजतन्त्रतिर गएका प्रतिभाशाली इमानदारहरूको कमी देखिंदैन । ती हिजो के भन्थे, आज कहाँ छन् भन्ने खोजीको विषय छ ।

संसारका उदाहरणीय देशहरू चोखो मन भएका व्यक्तित्वहरूको इमानदारी भए पुगिहाल्छ भन्दैनन् । उनीहरू इमानदारीको परख त गर्छन्, तर प्रधान विषय प्रणालीलाई मान्दछन् । प्रणालीबाट हिटलर उदाए, प्रणाली सिद्धिंदा उनै हिटलर आमसंहारक बने । तन्त्र हुँदा रोबर्ट मुगाबे निर्वाचन प्रणालीका विजयी नेता बने, तन्त्र नहुँदा उनै मुगाबे अनिश्चितकालीन अधिनायक बने ।

राष्ट्रपति छँदा बाराक ओबामाले सन् २०१५ मा अफ्रिकन युनियनको सम्मेलनमा इथियोपिया आएर बोलेको स्मरणीय छ, ‘म राष्ट्रपति भएर तेस्रोपल्ट पनि नेतृत्व गर्न चाहन्छु, तर मलाई मेरो देशको प्रणालीले दिंदैन ।’

खासमा ओबामाले अफ्रिकी शासकहरूलाई गरेको व्यंग्य थियो त्यो । अफ्रिकामा त्यस बेला मात्रै होइन, अहिले पनि शक्ति हत्याउन ‘सैन्य कु’देखि अनेक षड्यन्त्र भइरहन्छ । माली, बुर्किना फासो, गेबोन, जिम्बावे, चाड, नाइजर जस्ता देश अधिनायकवादी छन् । कतिपय देशहरू लोकतन्त्रतर्फ प्रवेश गर्न संघर्षरत रहे पनि अविकास र अशिक्षाले जनतामा शक्तिशाली शासककै मिथकप्रति रुचि बढाएको छ ।

इमानदारीसाथ देश बनाउने रहर वास्तवमा आत्मकेन्द्रित लोभ हो । कुनै पनि देश एउटा व्यक्तिले बनाएर बन्ने होइन । उसले आफ्नो पालोमा यस्ता पदचिह्न छाडिदेओस्, जसलाई पछ्याएर भावी पुस्ता अघि बढ्न सकोस् । तन्त्रको काम त्यहाँनेर आउँछ । नत्र त ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’ भन्ने गीतले फेरि पनि हाम्रै भावनालाई शुद्धताको नाममा शोषण गर्छ ।

कुनै तुलसी गिरी, कीर्तिनिधि विष्ट या मरिचमान श्रेष्ठको सामर्थ्य या इमानका गाथा गाएको भरमा बितेको तन्त्र ठिक भन्न सकिने भए उनीहरूपछि लोकतन्त्रका दुईवटा लडाइँहरू लड्नुपर्ने थिएन ।

बलियो जनमुखी प्रणालीमै इमानदार व्यक्तिको क्षमताको कदर हुन्छ । लोकतन्त्रसँग आफ्ना कमजोरी पुनरावलोकन गर्ने, कोभन्दा को सक्षम र जनमुखी भनेर प्रतिस्पर्धा गर्ने क्षमता हुन्छ ।

नेताहरू पुरानै शास्त्रीय पोथाहरूमा आजका नयाँ प्रश्नहरूको उत्तर खोज्न प्रयास गरिरहेको देख्दा टिठ लागेर आयो । युवालाई भ्रातृ संगठनमा हुलेर फलामे अनुशासन र घण्टौं लामो प्रशिक्षणको भट्टीबाट खारेर निकालियो भने बल्ल तिनको शुद्धि आउँछ भन्ने चेत कहाँबाट पलायो होला ?

हामीले प्रणालीमा भित्र्याएको संघीय लोकतान्त्रिक गणतन्त्र पूर्ण वास्तविक अर्थमा अभ्यास भइसक्न बाँकी छ । संविधान, अनि त्यसका आधारमा ऐन–कानुन बनेका छन्, कति त बन्दैछन् ।

लोकतन्त्रले फास्ट ट्रयाकमा काम गर्दैन । तर यसले सुस्तरी तय गर्ने आफ्नो यात्राप्रति नयाँ पुस्ताले धीर भएर पर्खिन सक्ने अवस्था देखिंदैन । अथवा युवा पुस्तामा आफ्नो जीवनलाई लिएर जुन अधीरता बढेको छ, त्यसको सम्बोधन लोकतन्त्रले तुरुन्तै गरिहाल्ला भन्ने देखिंदैन ।

त्यसैले युवाले खोजेको देश कस्तो हो भन्ने प्रश्नउपर घोत्लिनैपर्ने बेला भएको छ । अनलाइनखबरको यो प्रयास त्यसकै एउटा कडी हो, जहाँ विभिन्न क्षेत्र, समुदायका युवा लगायत प्रतिनिधिले छलफल गर्नेछन् । यो प्रश्नको जवाफ खोज्नुअघि खासमा युवा भनेकै को हो भन्ने प्रश्नउपर हामी सोचविचार गर्न लाग्नुपर्ने हुन्छ ।

पोहोर आम चुनावभन्दा ठिक अगाडि एउटा टिभी शोमा पंक्तिकारले सँगै बसेर नेताहरू लीलामणि पोखरेल र रघु पन्तका युवा सम्बन्धी विचारहरू सुन्ने मौका पाएको थियो । दुई कम्युनिस्ट नेता पोखरेल र पन्तका विचारमा अहिले युवा बरालिएका छन्, उनीहरूमा वैचारिक सुझबुझ कमजोर भएको छ । के गर्नुपर्छ त भनी सोध्दा दुवैको समान जवाफ थियो, ‘युवामा प्रशिक्षणको कमी छ । उनीहरूलाई प्रशिक्षण दिनुपर्छ । त्यो हामी दिन्छौं ।’

युवा के चाहिरहेका छन्, के खोजिरहेका छन् भन्ने प्रश्नको जवाफ खोज्नुसाटो, युवासँग संवाद बढाउनु साटो दिग्गज वाम नेताहरू पुरानै शास्त्रीय पोथाहरूमा आजका नयाँ प्रश्नहरूको उत्तर खोज्न प्रयास गरिरहेको देख्दा टिठ लागेर आयो । युवालाई भ्रातृ संगठनमा हुलेर फलामे अनुशासन र घण्टौं लामो प्रशिक्षणको भट्टीबाट खारेर निकालियो भने बल्ल तिनको शुद्धि आउँछ भन्ने चेत कहाँबाट पलायो होला ?

यथार्थमा कुनै पनि अभिभावकले आफ्ना सन्तानसँग आदेश फर्मान होइन, दोहोरो संवाद मार्फत मात्रै घरपरिवार चलाउन सक्छ । पारिवारिक लोकतन्त्र विस्तार हुँदै समाज, संस्था, पार्टी आदिमा पुग्नुपर्ने हो । यथार्थको बोध ठिक उल्टो छ ।

तपाईं राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा ईः लगायत युवाले हिजो बुधबार रातिसम्म १९९ घन्टा उभिएर चलाएको शान्त प्रतिवादको अभियान हेर्न पुग्नुभयो भने युवा एयरपोर्टमा मात्रै छन्, वा युवा टिकटक बनाएर वा क्यान्डिक्रस खेलेर मात्रै बसिरहेका छन् भन्ने सत्य होइन रहेछ भन्ने निष्कर्षमा पुग्नुहुन्छ । चितवनबाट उनलाई समर्थन दिइरहेका इन्जिनियर प्रविन काफ्ले होउन् या देशभरि ठूला साना अनेकौं सामाजिक राजनीतिक अभियान चलाइरहेका युवा, उनीहरु चर्चायोग्य छन् । युवालाई आजको राजनीतिक मुद्दाप्रति जुन हदसम्म सरोकार छ, त्यसबारे नीतिनिर्माता बेखबर होलान् ।

यथार्थमा युवा क्रमिक क्रान्तिका मुखर पैरवीकर्ता बन्न पुगेका छन्, जसले डेढ वर्षअघि शक्तिशाली कांग्रेस र एमाले उम्मेदवारलाई पन्छाएर स्वतन्त्र लौरो बाहेक बालेन शाहलाई महानगर मेयरको कुर्सीमा राखिदिएका थिए । अहिले तिनै युवा बालेनमाथि प्रश्नरत छन् । चनाखो प्रश्नकर्ता बौद्धिक नै आजको युवा हो, जो आफ्नो बौद्धिक स्वायत्तताको प्रयोग गर्छ, न कि कुनै नेताविशेषको निर्देशन वा प्रशिक्षण पर्खेर बसिरहन्छ । आफ्ना मान्यतामा अघिल्ला पुस्ताले पुनर्विचार र पुनःपरीक्षण गर्न जति समय लगाउँथ्यो, नयाँ पुस्ता त्योभन्दा कता हो कता छिटो छ ।

शहरमा खुला स्पेस चाहिन्छ भनी माग गर्नु जति जायज हो, सामान्य लगानी भएका पसलेहरूको संरक्षण हुनुपर्छ, शहर सबैको हो भन्नु त्यति नै जायज तर्क हो । यस्तोमा युवा जनप्रतिनिधिले फेसबुकबाट धाकधक्कु लगाउने होइन, विनम्र भएर संवादको पहलकदमी लिने हो । सम्भवतः त्यस्तो युवा, जसले खोजेको परिवर्तनमा अधिक लोकतान्त्रिक संवादको सम्भावना रहन्छ । नत्र निरंकुश नायकको आग्रहले फासीवादको यात्रा मात्रै तय गराउँछ ।

अनि रोजगारी खोज्न तड्पिएका युवाहरुमात्रै होइन, स्वयं आफ्नो मिहिनेतको कमाइबाट आर्जित पुँजीलाई अरुका लागि रोजगारी सिर्जना गर्ने, त्यसबाट राष्ट्रिय पुँजीको विकासमा ठूलो–सानो योगदान गर्न चाहनेहरुलाई प्रोत्साहनको धाप मार्नुसाटो उल्टै निरुत्साहित गराउने काम राज्यका सन्चालकहरुबाट भएका दृष्टान्त छन् ।

जो युवा नेपालमै केही गर्न चाहन्छन्, त्यसबाट धेरथोर रोजगारी पनि सिर्जना हुन्छ, अनि राज्यले कर पनि पाउँछ, उनीहरुलाई अनाहकमा दुःख दिएर, उनीहरुको बचेखुचेको ऊर्जा पनि सखाप पार्न मन्त्रालयदेखि विभाग, अनि शाखासम्म गलत क्रियाकलाप भइरहेका छन्, जसबारे यसै शृंखलामा केही युवाले तिता अनुभवहरु पोख्नेछन् । उनीहरुलाई सहजता दिलाउनुसाटो किन अनुचित व्यवहार भइरहेको छ ? यसबारे नियामक निकाय र नीतिनिर्माताले सोच्नुपर्ने होइन र ?

यी यस्ता थुप्रै सवाल छन्, जसले नयाँ पुस्ताले कल्पना गरेको देशबारे स्वप्नशील हुन होइन, केवल किरकिरमात्रै उत्पन्न गराउँछन् । हामी यसबारे पनि बहस गर्नेछौं ।

अनि चिन्तन गर्नेछौं, के हामी नयाँ पुस्ताको कल्पनाको नेपालबारे सोच्दै गर्दा सुदृढ प्रणाली र ढुक्क नागरिकको एकसाथ परिकल्पना गर्न सकौंला ? के हामी अझ उन्नत लोकतन्त्र मार्फत आशावादी परिवर्तनको बाटोतर्फ हिंड्न सकौंला ? यसको जवाफ र अरू थप प्रश्नहरू खोजी गर्दै अनलाइनखबरले बृहत् छलफल थालेको छ । यसमा तपाईं पनि आफ्नो तर्फबाट सहभागिता जनाउन सक्नुहुनेछ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply