राजतन्त्रको भूमिकाबारे बहस माग गरेका थाई अभियानकर्मीलाई जेल

0
आनोन नाम्पा

राजसंस्थाको सरंक्षण गर्ने कानूनको चर्को विरोधबीच थाईल्यान्डका एक चर्चित मानव अधिकारकर्मी आनोन नाम्पालाई राजाको अपमान गरेको अभियोगमा चार वर्ष जेलसजाय सुनाइएको छ।

थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको आरोप नाम्पामाथि छ।

यसै वर्षको शुरूमा चुनाव जितेको पार्टीले कानुनमा संशोधन गर्ने वाचा गरेको भए पनि अधिकारकर्मी नाम्पालाई दिइएको सजायले राजसंस्थाको आलोचना गर्न नपाइने विवादित कानुन बहाल रहने सङ्केत गरेको छ।

सन् २०२० मा एक प्रदर्शनको क्रममा गरेको एउटा टिप्पणीबारे परेको मुद्दामा ब्याङ्ककको अदालतले उनलाई दोषी ठहर गरेको हो।

राजतन्त्रको आलोचना गर्न नपाइने विवादित कानुनले थाईल्यान्डमा राजतन्त्रको अपमान गर्नेमाथि कडा जेल सजाय हुनसक्छ।

सन् २०१४ मा कूमार्फत् सेना शक्तिमा आएयता यस्तो कानुनको प्रयोग व्यापक गरिएको छ।

गत मेमा भएको आमनिर्वाचनपछि यो कानुनबारे सार्वजनिक बहस चलिरहेका समयमा अदालतको यस्तो फैसला आएको हो।

सरकार गठनमा समेत राजतन्त्र सम्बन्धी कानुन बाधक

चुनावबाट सबैभन्दा ठूलो दलको रूपमा उदाएको प्रगतिशिल ‘मुभ फर्वार्ड’ पार्टीले यस्तो कानुन संसोधन गर्ने प्रतिबद्धतालाई आफ्नो चुनावी नारा बनाएको थियो।

मुभ फर्वार्ड पार्टी नेतृत्वको गठबन्धनले चुनावमा बहुमत पुर्‍याए पनि सेनाद्वारा नियुत्त गरिएको माथिल्लो सदनले उक्त पार्टीलाई त्यही मागका कारण सरकार बनाउन दिएन।

उक्त कानुनमा प्रस्ताव गरिएको संसोधनले थाईल्यान्डमा राजतन्त्रको हैसियतलाई चुनौती दिने भन्दै धेरै सांसदहरूले त्यसलाई अनुमति दिन नसकिने बताएका थिए।

सोही कारणले थाईल्यान्डमा वैकल्पिक गठबन्धन देखा पर्‍यो। नयाँ गठबन्धनमा पुरानै प्रशासनमा रहेका यथास्थितिवादी पार्टीहरू छन्।

अहिले राजतन्त्रबारे कुनै पनि किसिमका बहसहरूलाई निरुत्साहित गरिएको छ।

३० देखि ४० वर्षसम्मको जेल सजाय

थाई राजा

तस्बिर स्रोत, Getty Images

सन् २०२० को अगस्ट ३ मा सेनाले समर्थन गरेको सरकारविरुद्ध विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनका क्रममा देशमा सुधार गर्नुपर्ने क्षेत्रहरूमध्ये राजतन्त्र पनि पर्ने बताएपछि आनोन नाम्पा चर्चित भएका थिए।

उनले गरेको काम निकै जोखिमपूर्ण थियो।

राजतन्त्रलाई बदनाम गर्ने किसिमका पोस्ट सामाजिक सञ्जालमा गरेका कारण मात्रै थाईल्यान्डमा मानिसहरूलाई ३० देखि ४० वर्षसम्मको जेल सजाय सुनाइएको छ।

यस्तो अभियोगमा आफूलाई प्रतिरक्षा गर्न निकै कठिन हुन्छ। यसबारे सुनुवाइ पनि गोप्य कोठाहरूमा हुन्छन् र प्रतिवादीहरू कठोर सजाय कम हुने आशामा दोषी ठहर हुने ठूलो दबावमा हुन्छन्।

नाम्पाको मागले धेरै थाई युवाको भावनालाई प्रतिनिधित्व गर्छ।

थाईल्यान्डका राजा राजनीतिभन्दा माथि छन् र अन्य संवैधानिक राजतन्त्र जस्तै जनताले आलङ्कारिक भूमिकाका रूपमा हेर्छन्।

यद्यपि थाईल्यान्डको राजपरिवार विश्वमै सर्वाधिक धनीमध्येमा पर्छ र व्यवहारमा राजाले धेरै शक्तिको अभ्यास गर्न सक्छन्।

राजा महा वाचिरालोङ्कोर्नले सेनाको सबैन्दा महत्त्वपूर्ण एकाइलाई व्यक्तिगत रूपमा आदेश दिन सक्छन्।

त्यहाँको दरबारको आर्थिक स्रोत वा गतिविधि पनि पारदर्शी नभएको बताइन्छ।

दुई वर्ष निलम्बित कानुन फेरि ब्युँताइयो

आनोन नाम्पाले थाईल्यान्डको फौजदारी अदालत बाहिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

आनोन नाम्पाले थाईल्यान्डको फौजदारी अदालतले उनलाई जेल सजाय सुनाउनुअघि सञ्चार माध्यममा प्रतिक्रिया दिएका थिए

थाईल्यान्डमा प्रश्न उठाउन लगाइएको प्रतिबन्ध तोड्दै नाम्पाको माग आएको एक सातापछि त्यहाँको एउटा प्रमुख विश्वविद्यालयका विद्यार्थीहरूले राजतन्त्रमा आमूल परिवर्तनको माग गर्दै एउटा घोषणापत्र सार्वजनिक गरेका थिए।

त्यसको पाँच महिनासम्म राजधानी ब्याङ्ककसहितका प्रमुख सहरहरूमा राजतन्त्रबारे केन्द्रित रहेर साहसी प्रदर्शनहरू बढेका थिए।

उनीहरूले राजतन्त्रबारे छलफल नभएसम्म वास्तविक परिवर्तन सम्भव नभएको तर्क गरेका थिए।

सन् २०२० को उक्त प्रदर्शन अघिसम्म राजसंस्थाको आलोचना गर्न नपाइने विवादित कानुनलाई राजाको अनुरोधमा दुई वर्षसम्मका लागि निलम्बन गरिएको थियो।

तर केही प्रदर्शनकारीहरूले राजतन्त्रको खुलेर आलोचना गर्नुका साथै घृणित अभिव्यक्ति दिएपछि यो कानुनबारे पुनर्विचार गरियो।

सन् २०२० को डिसेम्बरबाट यो कानुन नाम्पा जस्ता प्रदर्शनको नेतृत्व गर्नेहरूविरुद्ध प्रयोग भयो। उनलाई १४ वटा अभियोग लगाइएको छ।

कैयौँ महिना जेलमा बिताइसकेका नाम्पाले राष्ट्रिय सुरक्षा, राजद्रोह र कम्युटर अपराधसम्बन्धी कानुन आकर्षित हुने अरू कैयौँ मुद्दा पनि खेपिरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply