रेमिट्यान्स आम्दानीमा कीर्तिमान तर तीनचौथाइ भाग ‘खर्च हुन्छ’

0
रेमिट्यान्स

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

कोभिडका बेला घटेको रेमिट्यान्स पछिल्ला महिनाहरूमा लगातार बढिरहेको छ

१८ सेप्टेम्बर २०२३

अर्थतन्त्रको मुख्य आधार बनेको विप्रेषण वा रेमिट्यान्स आम्दानी यो आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै कीर्तिमान हो।

कोभिड महामारीले दुई वर्ष रेमिट्यान्स आयमा प्रभाव पार्दा त्यसका कारण देशको विदेशी मुद्रा सञ्चितिमा पहिरो गएको थियो।

केही विज्ञले नेपाल अब श्रीलङ्काको अवस्थामा पुग्न लागकेो हो कि भनेर समेत चिन्ता व्यक्त गरेका थिए।

तर अहिले परिस्थिति निकै फेरिएको छ।

गत असार मसान्तमा सकिएको आर्थिक वर्ष २०७९/८० देखि नै नेपाल भित्रिने रेमिट्यान्स बढ्न थालेको हो।

गत आर्थिक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्सको रूपमा नेपाल भित्रिएको थियो। सो अवधिमा विदेश काम गर्न जाने नेपाली श्रमिकहरूको सङ्ख्या पनि उल्लेखनीय बढेको छ।

आर्थिक वर्ष २०७९/८० मा झन्डै पाँच लाख नेपाली पहिलो पटकमा वैदेशिक रोजगारीका लागि गएका थिए भने थप झन्डै तीन लाख जना पुन: वैदेशिक रोजगारीमा गए।

यो वर्षको पहिलो महिनाको तथ्याङ्क हेर्दा रकम बढे पनि काम गर्न जाने मानिसहरूको सङ्ख्या भने केही घटेको देखिन्छ।

गत वर्ष साउनमा ९२ अर्ब रुपैयाँ भित्रिएकोमा यो साउनमा ११६ अर्ब रुपैयाँ भित्रिएको छ जुन २५ प्रतिशतले बढी हो।

तर यो महिना विदेश जानेको सङ्ख्या भने ३९,००० जति रह्यो। अघिल्लो साउनमा उक्त सङ्ख्या ४४,००० जति थियो।

वैदेशिक रोजगार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

देशभित्र रोजगारीका पर्याप्त अवसर नहुँदा लाखौँ युवा विदेशिएका छन्

कसरी बढ्यो रेमिट्यान्स

नेपालबाट धेरै श्रमिकहरू जाने पाँच मुख्य मुलुकहरूमा संयुक्त अरब इमिरेट्स (यूएई), मलेशिया, साउदी अरब, कतार र कुवेत छन्। जापान र दक्षिण कोरियामा पनि उल्लेख्य सङ्ख्यामा नेपालीहरू गइरहेका छन्।

यो महिना रेमिट्यान्स ह्वात्तै बढ्नुमा “दुई-तीन कारण हुनसक्ने” अधिकारीहरू बताउँछन्।

“एक त विदेश जाने नेपाली कामदारहरूको सङ्ख्या विगत एक वर्षमा उल्लेखनीय बढ्यो। त्यसको सोझो प्रभाव रेमिट्यान्स आयमा परेको छ। अर्को भनेको अधिकृत माध्यमबाट रेमिट्यान्स पठाउने प्रवृत्ति बढेको हुनसक्छ,” नेपाल राष्ट्र ब्याङ्कका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले बीबीसीसँग भने।

सन् २०२० र २०२१ मा कोभिड महामारीले वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निकै घटेको थियो।

“तर कोभिडपछि जसरी गत वर्ष लामबद्ध भएर ठूलो सङ्ख्यामा नेपालीहरू विदेशिए त्यसको परिणाम हो यो रेमिट्यान्समा वृद्धि,” राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक एवम् अर्थविद् नरबहादुर थापाले बताए।

साउनको सुरुमा पटाक्षेप भएको एउटा काण्डले पनि अहिले रेमिट्यान्स बढेको हो कि भन्ने अनुमान कतिपयको छ।

करिब ६० किलोग्राम सुन तस्करी भएको घटनामा छानबिन थालियो। त्यसले सुन तस्करीमा केही नियन्त्रण भएको र त्यसैका कारण अधिकृत माध्यमबाट आउने रेमिट्यान्स रकम बढेको हुनसक्ने अनुमान गरिएको छ।

सुन तथा अन्य वस्तुको तस्करी गर्नेहरूले हुन्डी आदिको प्रयोग गरेर विदेशबाट भित्रिने रकम मोडिदिने चिन्ता जानकारहरूले गर्दै आएका छन्।

वैदेशिक रोजगार

तस्बिर स्रोत, MOLESS NEPAL

बचत कति हुन्छ

केन्द्रीय ब्याङ्कले केही वर्षअगाडि गरेको एउटा अध्ययनमा वैदेशिक रोजगारीमा गएका झन्डै २० प्रतिशत घरपरिवारको आम्दानी विप्रेषण मात्र रहेको देखिएको थियो भने बाँकी घरपरिवारलाई पनि विप्रेषणबाहेक अन्य स्रोतबाट हुने आम्दानी उनीहरूको खर्च धान्न अपुग रहेको देखिएको थियो।

उक्त अध्ययनले विप्रेषण आयको एकचौथाइ ऋण तिर्न प्रयोग हुने गरेको र अर्को एकचौथाइ दैनिक उपभोगका लागि प्रयोग हुने गरेको देखाएको थियो।

करिब १० प्रतिशत स्वास्थ्य/शिक्षामा अनि झन्डै २८ प्रतिशत बचत कार्यका लागि प्रयोग हुने गरेको देखाएको थियो।

“न्यून बचत हुने गरेको प्रवृत्ति एक किसिमबाट किन स्वाभाविक हो भने हाम्रा धेरैजसो श्रमिक तल्लो वर्गका हुन्छन् र उनीहरू केही आम्दानी हुनासाथ पढाइलेखाइ, स्वास्थ्य, उपभोग तथा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा घरघडेरी जोड्न प्रयोग गर्छन्,” राष्ट्र ब्याङ्कका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले भने।

रेमिट्यान्स आम्दानी वृद्धि भइरहेको छ तर नेपालमा समग्र बचत नै निकै न्यून भएकाले धेरै पैसा उपभोगमै खर्च हुने अवस्था निरन्तर रहँदै आएको छ।

नेपालको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल गार्हस्थ्य बचत केवल ६ प्रतिशत मात्र रहेको छ।

आम्दानीको बढीभन्दा बढी अंश उत्पादनमूलक क्षेत्रमा लगाउन सकिए अर्थतन्त्रमा चौतर्फी लाभ पुग्ने अर्थविद्हरूको धारणा छ।

विप्रेषण बढ्दा कस्तो फाइदा

विप्रेषण आय बढेसँगै नेपाल राष्ट्र ब्याङ्कका पछिल्ला प्रतिवेदनहरूमा मुख्यतः विदेशी मुद्राको सञ्चितिमा निकै सुधार आइरहेको छ।

यसपालि साउन मसान्तमा देशको ढुकुटीमा रहेको विदेशी मुद्रा सञ्चितिको परिमाण १५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। अमेरिकी डलरको हिसाबमा कुल सञ्चिति ११ अर्ब ८५ करोड पुगेको छ।

त्यो भनेको नेपालको १० महिनाको कुल आयात धान्न पर्याप्त हो। कम्तीमा करिब सात महिनाको आयात धान्ने गरी विदेशी मुद्रा हुनु भनेको सहज मानिन्छ।

साथै देशको कुल आम्दानी र खर्चबीचको भुक्तानीको सन्तुलन वा शोधनान्तर स्थिति झन्डै ३३ अर्ब रुपैयाँले नाफामा पुगेको छ।

अघिल्लो साउनमा शोधनान्तर झन्डै २० अर्बले घाटामा रहेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply