लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाए कस्तो कारबाही

0
लागुपदार्थ सेवनको परीक्षण

तस्बिर स्रोत, Traffic Police

चितवनको टिकौलीमा साउन अन्तिम साता एउटा कलेज बसले एकैपटक सातवटा सवारीसाधनलाई ठक्कर दियो।

तीव्र गतिमा रहेको बसले शववाहन र मलामीहरूका मोटरसाइकलहरूलाई ठक्कर दिँदा २० जना घाइते भए। घाइतेमध्ये एक जनाको भदौ तेस्रो सातासम्म पनि उपचार चलिरहेको चितवन प्रहरीका प्रवक्ता विजय पण्डित बताउँछन्।

घटनापछि प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनले गाँजा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ। “चालकको रगत परीक्षण गर्दा गाँजामा पाइने तत्त्व भेटियो,” प्रवक्ता पण्डितले बीबीसीसँग भने।

प्रहरीले सवारी अङ्गभङ्गमा उनी विरुद्ध मुद्दा अघि बढाइएको जनाएको छ। लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएका कारण दुर्घटना भएका कैयौँ घटनामध्ये यो सबैभन्दा पछिल्लो उदाहरण भएको प्रहरी बताउँछ।

लागुपदार्थ सेवनमा चालकहरूलाई जाँच गर्ने अभियान प्रभावकारी नभएका कारण पछिल्लो समय नेपालमा लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउने क्रम बढ्दै गएको प्रहरीको आशङ्का छ।

ट्राफिक प्रहरीले गत असार २२ गते काठमाण्डू उपत्यका प्रवेश गर्ने प्रमुख सडकमार्गको रूपमा चिनिने नागढुङ्गा भएर उपत्यका भित्रिने केही सवारीसाधनका चालकहरूलाई लागुपदार्थ सेवन अर्थात् लापसे जाँच गर्‍यो।

प्रहरीको संयुक्त टोलीले २५ जना चालकको नमुना जाँच गर्दा त्यसको २४ प्रतिशत अर्थात् छ जनाले लागुपदार्थ सेवन गरेको भेटियो। ट्राफिक प्रहरीका अनुसार यो आर्थिक वर्षको पछिल्लो तीन महिनामा ६५ जनामा गरिएको परीक्षणमा आठ जनाले लापसे गरेको पाइएको प्रहरीले जनाएको छ।

गत वर्ष ६६५ जनामा गरिएको परीक्षणमा १४९ जनाले लागुपदार्थ प्रयोग गरेर सवारी चलाएको भेटिएको थियो। यो सङ्ख्याले नेपालमा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने प्रवृत्ति निकै उच्च रहेको देखाउने प्रहरी अधिकारीहरू बताउँछन्।

‘लापसे’को पनि जाँच

लागुपदार्थ सेवन परीक्षण

तस्बिर स्रोत, Traffic Police

सडकमा मादक पदार्थ सेवन ‘मापसे’ जाँचमा उल्लेख्य उपलब्धि हासिल भएको बताउने ट्राफिक प्रहरीले यसमा भएको कडाइसँगै लागुपदार्थ सेवन गरेर गाडी चलाउने क्रम बढेको पाइएको आशङ्का गरेको छ।

एक वर्षअघिबाट लागुपदार्थ सेवन अर्थात् ‘लापसे’ जाँच पनि अभियानकै रूपमा सुरु गरे पनि ट्राफिक प्रहरीले यस्तो जाँचलाई व्यापक बनाउन सकेको छैन।

तर सीमित स्रोत साधन, महँगो खर्च र प्राविधिक कठिनाइका कारण यसलाई प्रभावकारी रूपमा अघि बढाउन नसकिएको अधिकारीहरू बताउँछन्।

“हामीले अझै व्यापक रूपमा त गर्न सकिरहेका छैनौँ। तर गरेकामध्ये धेरैमा देखिएको हुनाले मापसेमा ट्राफिक प्रहरीले कडाइ गरेपछि लागुपदार्थ सेवन गरेर चलाउने प्रवृत्ति चाहिँ अलि बढेको जस्तो हामीले पाएका छौँ,” काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले भने।

लापसे जाँचका चुनौती

लागुपदार्थ सेवन परीक्षण

तस्बिर स्रोत, Traffic Police

सेवनकर्ताहरूले लागुऔषध प्रयोग गरेको सहजै पहिचान नहुने भएका कारण पनि यो प्रवृत्ति बढेको प्रहरी अधिकारीहरूको अनुमान छ।

“रक्सी खाएपछि हाउभाउ र गन्धले नै थाहा हुन्छ। तर लागुपदार्थ प्रयोग गरेको गन्ध आउँदैन। परीक्षण गरेपछि मात्रै थाहा हुने कुरा हो,” भट्ट भन्छन्।

“मापसेजस्तो हा….गरेर मात्रै थाहा हुने होइन यो। लापसेका लागि पिसाब जाँच गर्नुपर्छ। यसका लागि परीक्षण किटहरू चाहियो, प्रयोगशाला प्राविधिकको टोली चाहियो।”

मापसेमा कारबाही सङ्ख्या. कुन वर्ष कति जना कारबाहीमा परे?. .

प्रहरीले अहिले जनचेतनाका लागि नमुना स्तरमा मात्रै लापसे परीक्षण मात्रै भइरहेको जनाएको छ।

“लागुपदार्थ सेवन गरेर चलाउनु हुँदैन वा त्यस्तो चालकले चलाएको गाडीमा बस्नु हुँदैन भनेर मानिसहरू सचेत पनि होऊन् भन्ने हाम्रो उद्देश्य हो,” भट्ट भन्छन्।

प्रहरीका अनुसार चालकले लागुपदार्थ प्रयोग गरे वा नगरेको जाँच गर्न मादक पदार्थको जस्तो छिटो हुँदैन।

यसका लागि १० देखि १५ मिनेटसम्म लाग्न सक्ने भट्ट बताउँछन्।

“समय लाग्ने हुँदा सवारीसाधनलाई सडक छेउमा रोक्ने ठाउँ पनि भएको हुनुपर्‍यो। पिसाबको नमुना लिनका लागि सार्वजनिक शौचालय पनि त्यहीँ हुनुपर्‍यो,” यसका चुनौतीबारे उनले भने।

लागुपदार्थ सेवनको जाँचका लागि चालकको पिसाब नै आवश्यक पर्ने भएका कारण परीक्षणका लागि चालकहरूलाई तयार गर्न पनि प्रहरीलाई चुनौती छ।

मापसेभन्दा महँगो

लागुपदार्थ सेवन परीक्षण

तस्बिर स्रोत, Traffic Police

ट्राफिक प्रहरीका प्रवक्ता भट्ट मापसे जाँचमा जस्तो सबै चालकहरूलाई नभई शङ्का लागेका व्यक्तिहरूलाई मात्रै परीक्षण गर्ने गरिएको बताउँछन्।

“सबै चालकलाई परीक्षण गरेर सम्भव पनि हुँदैन। हामीले यसो हेरेर शङ्का लागेकोलाई परीक्षण गर्छौँ,” उनले भने।

यसका लागि प्रयोग हुने एउटा उपकरणलाई झन्डै १४० रुपैयाँ पर्ने प्रहरीको भनाइ छ।

लागुपदार्थ परीक्षणका लागि ट्राफिक प्रहरीसँगै नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, स्थानीय प्रहरी र नेपाल प्रहरी अस्पतालका प्राविधिकहरूको संयुक्त टोली खटिने गरेको छ।

प्रयोगकर्तालाई हिरासत

लागुपदार्थ सेवन परीक्षण

तस्बिर स्रोत, Traffic Police

मापसे गरेर सवारी साधन चलाएको पाइए प्रहरीले त्यस्ता चालकलाई जरिवाना गरेर त्यस दिन सवारीसाधन चलाउन दिँदैन।

मापसे गरेका चालकले चलाएको सवारी साधन मापसे नगरेका सवारी साधनको लाइसेन्स भएका व्यक्तिको जिम्मामा फिर्ता दिइन्छ। तर मापसे गरेर सवारी चलाएका चालकले प्रहरीले सञ्चालन गर्ने सचेतना कक्षा लिएपछि मात्रै जरिवाना तिरेर आफ्नो लाइसेन्स वा कागजपत्र फिर्ता पाउँछन्।

लापसे गरेर सवारीसाधन चलाएको पाइएको अवस्थामा भने प्रहरीले चालकलाई नियन्त्रणमा लिएर हिरासतमा राख्ने गरेको छ। मापसेमा जस्तै त्यस्ता व्यक्तिले चलाएको सवारीसाधन अर्का लाइसेन्स भएका व्यक्तिले जिम्मा लिएर लैजान सक्छन्।

“लागुपदार्थ सेवन गरेको पाइएको अवस्थामा चालक पक्राउ पर्छ र मुद्दा चल्छ,” उनले भने।

गाँजा सेवन गर्ने धेरै

प्रहरीको जाँचमा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउनेहरू सबै उमेर समूहका पाइन्छन्।

प्रहरीको जाँचमा अधिकांश व्यक्तिहरूले गाँजा सेवन गरेको पाइएको भट्टले बताए।

“हामीले सबै प्रकारका सवारी साधनका चालकहरूलाई नमुनाको रूपमा बराबरजस्तै जाँच गर्ने भएकाले निजी, सार्वजनिक दुवै प्रकारका सवारीसाधन चलाउनेहरू लापसे गरेर चलाइको पाइएका छन्,” उनले भने।

प्रहरीले पछिल्लो समय यस्तो जाँच सार्वजनिक सवारी साधनका चालकहरूमा यस्तो अभियान केन्द्रित गर्दै लगेको जनाएको छ।

“सार्वजनिक सवारीसाधन चलाउनेले आफ्नो मात्रै नभएर अरू धेरैको ज्यान जोखिममा पार्न सक्छ,” भट्ट भन्छन्।

ट्राफिक प्रहरीले यस्तो अभियानलाई निरन्तरता दिन आवश्यक प्राविधिक जनशक्ति, स्रोतसाधन र परीक्षणस्थलको पनि अभाव रहेको जनाएको छ।

लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउने र दुर्घटनाको समेत जोखिम हुने बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply