विद्यालय नाटक महोत्सवमा १५ नाटक मञ्चन

0

पोखरा । पाँचौ संस्करणको विद्यालय नाटक महोत्सवमा १५ नाटक मञ्चन भए । गत २७ भदौदेखि सुरु महोत्सव शुक्रबार समापन भयो ।

महोत्सवमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुनामदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान नाटक मञ्चन गरिएका हुन् ।
महोत्सवमा ६ हजारभन्दा बढी दर्शकले नाटक हेरेको र ४ सयभन्दा बढी कलाकारले अभिनयमार्फत प्रतिभा प्रस्फुटन गरेको महोत्सव संयोजक एवं आयोजक पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए ।

‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । थिएटरले २०७६ मा पहिलो पल्ट महानगरपालिकास्तरीय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गर्‍यो । लगातार ३ वर्षसम्म प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यो पटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा प्रमुख सहकार्य पोखरा प्रज्ञा प्रतिष्ठानको थियो भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरे । महोत्सवको प्रवद्र्धक पोखरा महानगरपालिका हो ।
मञ्चन भएका नाटक प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाए । महोत्सवको छेको पारेर ‘नाटकलाई विद्यालयहरुले कसरी प्रयोग गर्ने’ शीर्षकमा अन्तरक्रिया समेत गरियो ।

Leave a Reply