‘सरकारको नीतिले नै भैंसी ओझेलमा पर्‍यो’

0

हामी भैंसी तथा राँगामा केन्द्रित भएर अनुसन्धान गरिरहेका छौं । भैंसीको संख्या चिन्ताजनक रूपमा घटेको देखिन्छ । यसका कारण धेरै छन् । प्रमुख कारण, राज्यको नीति तथा कार्यक्रममा भैंसी पालनलाई उपेक्षा गरिएको छ । दुई दशकदेखि सरकारले भैंसी होइन गाईलाई बढी प्राथमिकता दियो । कार्यक्रमहरू त्यता केन्द्रित भए ।

जस्तो कि उन्नत नश्लका गाई ल्याउनेमा ध्यान दिइयो । विभिन्न देशबाट जर्सी, होलिस्टिन सहितका राम्रा दुधालु गाईका नश्ल ल्याइए, किसान पनि त्यसमै आकर्षित भए । भैंसीप्रतिको मोह कम हुँदै गयो । भैंसी विस्तारै विस्तारै घट्दै गए, खासगरी मध्यपहाडी क्षेत्र र देशको पूर्वी क्षेत्रमा किसानहरूले बथानका बथान भैंसी खाली गरेर गाई पाल्न थाले ।

अर्को कारण भारतबाट भैंसी तथा राँगा जसरी सहजै आउँथे पछिल्ला ५-७ वर्षदेखि त्यो कम भएको छ । पहिला ट्रकभरी भारतबाट नेपालमा भैंसी आउने गरेका थिए, अहिले त्यो क्रम कम भएको हामीले देखेका छौं । नेपालमा गोठ विस्तारका लागि भारतबाट ल्याइने भैंसीको भूमिका रहँदै आएको छ । कानुनी-गैरकानुनी रूपमा भारतबाट आउने भैंसीको संख्या कम भयो ।

भैंसीको उन्नत जात मुर्रा भारतमा प्रचलित छ र नेपालमा सो नश्लका भैंसीको स्रोत पनि त्यही नै हो । मुर्राको चर्चा प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा १५ वटा मुर्रा राँगा ल्याउने सहमति गरेपछि व्यापक भएको थाहा छ नै ।

भारतबाट ट्रकका ट्रक भैंसी तथा राँगा मासुका लागि खपत गर्न ल्याइन्थ्यो र केही पाल्नका लागि पनि । नेपालमा जस्तो भारतमा भैंसीको मासुको खपत त्यति हुँदैन । तर हामीले बुझे अनुसार भारतले पछिल्लो केही वर्षमा भैंसीको मासु आफू प्रशोधन गरेर निर्यात गर्न लागेकाले नेपालमा आउनेको संख्या कम भएको हो ।

यो पनि एक कारण हो, तर प्रमुख कुरा भनेको गाईले गर्दा सरकारको नीतिमै भैंसी ओझेलमा परेको जस्तो भएको छ । कार्यक्रम केन्द्रदेखि स्थानीय तहसम्म गाईमा केन्द्रित छन् ।

स्थानीय तहको संयोजनमा उन्नत नश्लको बीउ राँगाको व्यवस्था गर्न सकिएमा पनि किसान आकर्षित हुने देखिन्छ । यस्तै हामीले भैंसीलाई दूध दिन छोड्ने वित्तिकै मासुका लागि बेच्ने क्रमलाई निरुत्साहित गर्न पनि आवश्यक छ

तर पनि केही आशलाग्दो गरी किसानको आकर्षण भैंसीतर्फ देखिन थालेको पनि हामीले महसुस गरेका छौं । त्यसको कारण के भयो भन्दा, हाम्रो धार्मिक, सांस्कृतिक कारणले गर्दा गाईबाट धेरै उत्पादन त हुन्छ, तर दूध उत्पादन हुन छोडेपछि त्यसको व्यवस्थापन वा विकल्प भएन । यसले गर्दा किसान विस्तारै भैंसीपालनतर्फ देखिन थालेका छन् ।

किसानलाई भैंसीबाट पनि गाईबाट जस्तै धेरै दूध उत्पादन चाहिएको छ, त्यसका लागि मुर्रा जातको भैंसी चाहिन्छ । मुर्रा जातको भैंसी हाम्रोमा त्यति छैनन्, यसले गर्दा किसान समस्यामा छन् ।

गाईमा कृत्रिम गर्भाधान प्रविधि सफल छ, किसानलाई बहर लगाउन जानै पर्ने बाध्यता छैन । तर भैंसीमा कृत्रिम गर्भाधान त्यति सफल भएको छैन, बीउ राँगो नै चाहिने अवस्था छ । किसानको पहुँचमा उन्नत नश्लका बीउ राँगा कम हुनु हाम्रो अर्को चुनौती हो ।

किसानले पाल्न नखोजेका होइनन्, स्रोत केन्द्रहरूकै अभावमा उनीहरू मर्कामा छन् । गाईमा जस्तो भैंसीमा स्रोत केन्द्र छैनन् । जस्तो कि एउटा किसानले १० वटा गाई खोज्यो वा गर्भाधानका लागि प्रविधिको सहयोग लिन चाहृयो भने सजिलै पाउन सक्छ । तर भैंसीमा कठिन पर्छ । किसानले भैंसी एक पटक थारो भयो वा दूध दिन छोडेमा मासुका लागि बेच्ने गरेका छन् । यसले उनीहरूको संख्या बढाउन चुनौती थपेको छ ।

सँगै चरन क्षेत्रको अभाव पनि एक कारण हो । तराईमा आहाल बस्न तथा पिउनका लागि पानीको स्रोतको कमी भएको छ । परम्परागत रूपमा किसानले चराउन लैजाने र आहाल बसाल्ने गरेर भैंसी पालिंदै आएका हुन् । अहिले गोठमै राखेर त्यहीं दानापानी, घाँस-पराल खुवाएर पाल्नुपर्छ ।

गाउँघरमा पहिले खाली पर्ती अर्थात् सार्वजनिक जमिन थिए, जहाँ किसानले आफ्ना पशु चराउने गर्थे, ती जमिनहरू हाल स्थानीय पालिका तथा संघ-संस्थाहरूले आफ्ना लागि ओगटेका छन् । गौचरनहरू मासिए ।

विशेषगरी तराईमा भैंसीका लागि आहाल बस्ने ठाउँ चाहिन्छ । त्यो कम भएको हो । वन क्षेत्रमा किसानको प्रवेशमा गरिएका अवरोधहरूले चरन तथा पानीका स्रोतमा उनीहरूको पहुँच पनि कम भयो ।

यस्तै युवा जनशक्ति भैंसी पालनमा निकै कम छन् । उनीहरूको आकर्षण छैन । उनीहरूलाई भैंसीपालनमा तान्नका लागि सरकारले नीति तथा कार्यक्रममै प्राथमिकता दिइनुपर्छ । दूधको बजार र मूल्यको उचित व्यवस्थापन हुनुपर्छ ।

प्रोत्साहनका लागि भैंसीलाई समग्र कृषिसँग जोडेर सरकारले कार्यक्रम बनाउन सक्छ । हाम्रो अध्ययनमा रोगव्याधि सामना गर्न सक्ने क्षमता गाईमा भन्दा भैंसीमा हुने देखिएको छ । यसले पनि दीर्घकालमा भैंसीपालन नै मुनाफायोग्य हुन्छ भन्न सकिन्छ । लम्की स्किन रोगले गाईगोरुमा नोक्सानी भयो, भैंसी अधिकांश रूपमा सुरक्षित थिए ।

स्थानीय तहको संयोजनमा उन्नत नश्लको बीउ राँगाको व्यवस्था गर्न सकिएमा पनि किसान आकर्षित हुने देखिन्छ । यस्तै हामीले भैंसीलाई दूध दिन छोड्ने वित्तिकै मासुका लागि बेच्ने क्रमलाई निरुत्साहित गर्न पनि आवश्यक छ ।

(नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत सुनसरीको तरहरास्थित राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रमका संयोजक झासँग पत्रकार टंक ढकालले गरेको कुराकानी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply