स्थायी प्रकृतिको जाँच संयन्त्र बनाउन ढिलो भइसक्यो

0

नेपाल प्रहरी होस् वा नेपाली सेना, ती संगठनमा अनुसन्धानका लागि काम गर्न एक काबिल टीमले अविच्छिन्न काम गरिरहेको हुन्छ । उनीहरूलाई संगठनले निरन्तर तालिम प्रदान गर्छ र हरपल जुनसुकै परिस्थितिका लागि योग्य र सक्षम बनाएर राखेको हुन्छ ।

सोही अनुसार उनीहरू फिल्डमा खटिन्छन् र रिजल्ट निकाल्छन् । हवाई सेवामा यस्तै आवश्यक क्षेत्र हो दुर्घटना जाँच । उनीहरूको काम अनुसन्धान हो र लुकेका पाटोलाई उधिन्ने जिम्मेवारी दुर्घटना जाँच आयोगको हुन्छ । संसारका अधिकांश मुलुकमा उडान सुरक्षामा काम गर्न स्थायी प्रकृतिको संयन्त्र बनाइएको छ । उसले दुर्घटना भएको अवस्था होस् वा सामान्य अवस्था होस् निरन्तर काम गर्छ र एक विश्वसनीय नतिजा राज्यलाई दिन्छ ।

नेपालमा जब जहाज दुर्घटना हुन्छ, त्यसपछि सरकारले हतार–हतार केही व्यक्तिको नाम बटुल्छ र दुर्घटना जाँच आयोगका नाममा एक समिति गठन गर्छ । आजसम्म जति यस्ता आयोग गठन भएका छन्, त्यसमा संलग्नहरू कुन योग्यताका आधारमा हवाई दुर्घटना जस्तो जटिल कामका लागि छनोट भएका हुन्, यसको कुनै पनि मापदण्ड छैन ।

मैले व्यक्तिको आफ्नो योग्यतामाथि प्रश्न गरेको होइन, सबै आफ्नो क्षेत्रमा सफल व्यक्ति परेका होलान्, तर उनीहरू दुर्घटनाको कारण पत्ता लगाउने अनुसन्धान जस्तो जटिल काममा कति सक्षम छन् ? त्यस सम्बन्धी कति वटा तालिम उनीहरूले लिए र त्यसमा उनीहरूको डिग्री के हो ? पक्कै पनि यो नेपालमा छैन ।

स्थायी संयन्त्र बन्ने हो भने त्यसमा आवद्ध कर्मचारी तथा विज्ञहरूले अन्तर्राष्ट्रिय दुर्घटना जाँच आयोगका प्रतिवेदन निरन्तर पढ्ने र अध्ययन गर्ने मौका पाउँछन् । उनीहरूको स्वार्थ हवाई र उडान सुरक्षा बाहेक अरू हुँदैन ।

त्यसकारण आजसम्म आएका जति पनि दुर्घटना जाँच प्रतिवेदन छन्, ती विवादमुक्त छैनन्, आलोचनामुक्त छैनन् । अर्कोतर्फ बनेर सरकारलाई बुझाइसकेका प्रतिवेदनको कार्यान्वयनमा झकझकाउने अर्को निकाय पनि नहुँदा कसैले जिम्मेवारी नलिए पनि हुने अवस्था छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले गरेको जति पनि सेफ्टी अडिट छन्, ती सबैले नेपालमा स्थायी जाँच संयन्त्रको आवश्यकता औंल्याएको छ । नेपालले यो मापदण्ड पूरा नगरेकै कारण लामो समय नेपाल आईकाओको सेफ्टी लिस्टमा परेको हो ।

यूरोपेली यूनियनको कालोसूचीमा अझै पनि नेपाल रहेको छ । यसबाट पनि हवाई क्षेत्रमा दुर्घटना जाँचमा स्थायी संयन्त्र कति महत्वपूर्ण छ भन्ने कुराको पुष्टि गर्छ ।

तर, नेपालमा आयोग गठन गरेर आफ्ना मान्छे भर्ना गर्ने, योग्यता मिलाउन कागजात मिलाउने प्रवृत्ति समेत छ । यसबाट पर बसेर उच्च गुणस्तरीय स्थायी संयन्त्र बनाउन सकियो भने यो नेपाली हवाई उद्योग र सेफ्टीका लागि ठूलो काम हुनेछ ।

दुर्घटना न्यूनीकरणको काम जहाज दुर्घटनामा परिसकेपछि गर्ने होइन । संसारमा कहीं कतै पनि दुर्घटनाको शून्य दर हुँदैन । तर, न्यून गर्न सकिन्छ । ठूलो दुर्घटनाको मात्र ठूलो समाचार बन्छ, स–साना दुर्घटना हरेक दिनजसो भइरहेका हुन्छन् । कति लुकाइन्छ, कति सार्वजनिक नै हुँदैनन् ।

लुक्लामा १०० मिटर भिजिविलिटी नभएको अवस्थामा पनि हेलिकप्टर उडाएको समाचार आज मात्र आइरहेको थियो । यसलाई न्यूनीकरण गर्न यस्तो आयोगले निरन्तर काम गर्छ । तर, त्यो नहुँदा नियामक निकायलाई झकझकाउने पनि आजको दिनमा कोही छैन ।

स्थायी संयन्त्र बन्ने हो भने त्यसमा आवद्ध कर्मचारी तथा विज्ञहरूले अन्तर्राष्ट्रिय दुर्घटना जाँच आयोगका प्रतिवेदन निरन्तर पढ्ने र अध्ययन गर्ने मौका पाउँछन् । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने र त्यसमा संलग्न हुने अवसर पाउँछन् । विभिन्न तालिम तथा सेमिनारमा भाग लिन पाउँछन् । उनीहरूको स्वार्थ हवाई र उडान सुरक्षा बाहेक अरू हुँदैन । उनीहरूलाई आफ्नो कम्पनीलाई बचाउने गरी रिपोर्ट लेखौं भन्ने नभई राज्यलाई सुरक्षित मुलुक बनाऔं भन्ने ध्येय हुन्छ । त्यस्ता उच्च गुणस्तरीय अनुसन्धानकर्ताबाट आएको प्रतिवेदन सर्वमान्य हुन्छ, जुन मुलुकको इज्जतको समेत कुरा हो ।

यदि तपाईं मुटुमाथि हात राखेर यो देशका लागि काम गर्ने अठोटमा हुनुहुन्छ भने सरकारले आजै दुर्घटना जाँच संयन्त्र बनाउन र यसलाई क्रियाशील गराउन पहल गर्नुपर्छ । कतिपयले यस्तो संयन्त्रलाई दुर्घटना नभएको बेला काम गराइराख्न खर्च हुन्छ भन्ने तर्क गर्छन् ।

तर, यस्तो संयन्त्र सक्रिय हुँदा एक जना मात्र यात्रुको ज्यान जोगाउन सकियो भने पनि त्यो संयन्त्रको सफलता मानिनेछ । राज्यको इज्जत बढ्नेछ । अर्कोतर्फ उडान सुरक्षाका लागि आवश्यक ऐन–कानुन निर्माण र यसको कार्यान्वयनमा समेत यस्तो संयन्त्रले अविच्छिन्न रूपमा काम गर्छ । अन्तर्राष्ट्रिय समुदायले हामीलाई निरन्तर झकझकाइरहेको छ । उडानलाई सुरक्षित बनाउन दुर्घटना जाँच संयन्त्र बनाउन धेरै ढिला भइसकेको छ ।

नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु अन्ततः नेपालको अर्थतन्त्रमै योगदान गर्नु हो । आज आकाश असुरक्षित छ भन्ने सन्देशका कारण क्षमता भएर पनि हवाई यात्रा नगर्ने व्यक्ति अझै भेटिन्छन् । पर्यटकबीचमा नेपाली आकाश सुरक्षित छैन भन्ने अवस्थामा उनीहरूले नेपालको यात्राको योजना बदलेर अर्कै मुलुकमा जान सक्छन् । यसबाट नेपालले विदेशी मुद्रा आर्जन गर्ने मौकासँगै अर्थतन्त्रका बहुआयामिक क्षेत्रमा घाटा बेहोर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply