१०३ प्रकारका एन्टिबायोटिकको प्रयोग रोक्ने निर्णय गर्नुका कारण यस्ता

0
औषधि

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

नेपालमा प्रतिजैविक प्रतिरोधको अवस्था भयावह बन्दै गएको बताइन्छ

१९ सेप्टेम्बर २०२३

औषधि व्यवस्था विभागले यो साता एउटा सूचना जारी गर्दै १०३ प्रकारका एन्टिबायोटिक औषधि र खास गरी तिनका सम्मिश्रणलाई अब प्रयोग र बेचबिखन रोक लगाउने भनेको छ।

उसले उक्त सूचीमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०२१ मै ‘सिफारिस नगरिएका’ भनेर जारी गरेका औषधिहरूलाई राखेको छ।

यसो गर्नुको मुख्य कारण चाहिँ “भयावह बन्दै गएको” प्रतिजैविक प्रतिरोधको अवस्था रहेको अधिकारीहरूले बताएका छन्।

मानिसहरूले जानेर वा नजानेर चिकित्सकको सल्लाहबिनै आफूखुसी जथाभाबी एन्टिबायोटिकहरू प्रयोग गर्नाले यो समस्या विकराल बनिरहेको छ।

विभागले जारी गरेको सूचीमा निकै नै प्रयोगमा आउने गरेका एमोक्सिसिलिनका विभिन्न सम्मिश्रण, एम्पिसिलिनका विभिन्न सम्मिश्रण, एजिथ्रोमाइसिनका विभिन्न सम्मिश्रण रहेका छन्।

के हो प्रतिजैविक प्रतिरोध?

सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङले पेनिसिलिनको आविष्कार गरेयता एन्टिबायोटिक औषधि मानवजातिका निम्ति जीवनदायी वरदान पुष्टि भएको छ।

तर पछिल्ला वर्षहरूमा एन्टिबायोटिकको व्यापक प्रयोग आफैँमा एक किसिमको महामारी बन्दै गएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ।

जथाभाबी एन्टिबायोटिक प्रयोग गर्दा समयक्रममा जीवाणुले त्यसविरुद्ध प्रतिरोध क्षमता हासिल गर्ने र त्यो बेकामे हुने खतरा बढ्छ।

‘एन्टिमाइक्रोबिअल रिजिस्टन्स’ वा प्रतिजैविक प्रतिरोध भनिने त्यस्तो स्थितिलाई डब्ल्यूएचओले मानवजातिले सामना गरिरहेका मुख्य १० जनस्वास्थ्य जोखिमको सूचीमा राखेको छ।

यसै पृष्ठभूमिमा डब्ल्यूएचओको सुझावबमोजिम औषधि व्यवस्था विभागले छानिएका १०३ प्रकारका औषधिमा अङ्कुश लगाएको हो।

“यी सम्मिश्रणहरूको प्रयोग औचित्यपूर्ण छैन भन्ने विज्ञहरूको सल्लाहबमोजिम नै प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न विभागले औषधि सल्लाहकार समितिको निर्णयको समेत पालना गर्दै यिनको प्रयोग र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो,” विभागका महानिर्देशक नारायण ढकालले बीबीसीसँग भने।

उक्त निर्णयअनुसार हाल बजारमा उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका त्यस्ता औषधि एवं सम्मिश्रणको हकमा बढीमा छ महिनासम्म मात्र बजारमा उपलब्ध रहने बताइएको छ।

ती औषधि र सम्मिश्रण उत्पादन गर्नका निम्ति कच्चा पदार्थहरूको थप/नयाँ दर्ता, थप/नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र अब जारी नहुने विभागले जनाएको छ।

औषधि

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन,

चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न विज्ञहरूले सुझाव दिन्छन्

के ती औषधिका विकल्प छन्?

खास गरी विभिन्न एन्टिबायोटिक सम्मिश्रणहरूको प्रयोग अनावश्यक र अनुचित हुने गरेको जानकारहरू बताउँछन्।

“विभिन्न थरी एन्टिबायोटिकहरू मिसाएर तिनलाई बजारमा ल्याउने अनि चिकित्सकहरूले पनि तिनको सिफारिस गर्ने यहाँको चलन खतरनाक,” सङ्क्रामक रोगविज्ञ डा अनूप सुवेदीले भने।

उनका अनुसार त्यस्ता अधिकांश सम्मिश्रणहरूको प्रभावकारिताबारे खासमा परीक्षण पनि भएको हुँदैन।

“अध्ययनबिना त्यस्ता मिसाइएका एन्टिबायोटिक प्रयोग गर्नु किन पनि ठिक हुँदैन भने यसले समुदायमा प्रतिजैविक प्रतिरोध एकदमै बढाइदिन्छ,” उनले भने।

अर्को जोखिम चाहिँ कतिपय यस्ता सम्मिश्रणको प्रभावकारिता जाँच्न पनि सकिँदैन।

“हामीले बिरामीलाई एन्टिबायोटिक दिँदा त्यसले काम गर्छ कि गर्दैन भनेर रगतको कल्चर गरेर परीक्षण गर्न सक्छौँ। तर सम्मिश्रणका हकमा त्यस्तो परीक्षण पनि गर्न सकिँदैन,” सुवेदीले भने।

त्यसैले विभागले गरेको पछिल्लो निर्णय सकारात्मक रहेको उनले बताए।

तर अहिले १०३ प्रकारका ती एन्टिबायोटिक प्रयोगबाट निषेध गर्दैमा बिरामीहरूलाई विकल्प नहुने स्थिति चाहिँ नभएको अधिकारीहरूले बताएका छन्।

“बिरामीहरूलाई अनावश्यक रूपमा औषधिहरू दिनुपरेन। हामीले खास गरी यी सम्मिश्रणहरू निषेध गरे पनि तिनका एकल प्रकृतिका औषधि उपलब्ध छन्,” ढकालले भने।

औषधि

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

अहिले निषेधको सूचीमा राखिएका अधिकांश औषधि एन्टिबायोटिकका सम्मिश्रण हुन्

कार्यान्वयन गर्न कति सजिलो?

ती औषधिलाई निषेध गर्ने निर्णय गरेको औषधि सल्लाहकार समितिमा औषधि उत्पादक तथा व्यवसायीका प्रतिनिधि पनि संलग्न थिए।

त्यसैले यसको कार्यान्वयन सहज हुने महानिर्देशक ढकाल ठान्छन्।

साथै निर्णयको कार्यान्वयन गर्न विभागले अनुगमत तीव्र पार्ने बताएको छ।

छ महिनापश्चात् भने त्यस्ता औषधि बजारमा मौज्दात रहे तिनलाई फिर्ता गरेर विभागलाई जानकारी दिनुपर्ने उसले भनेको छ।

नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ सरकारको निर्णयलाई कार्यान्वयनमा व्यवसायीहरूले सहयोग गर्ने बताउँछन्।

“यी औषधिहरूको हामीसँग धेरै स्टक छैन। छ महिनाभित्र विस्थापन गर्न सकिन्छ,” उनले भने।

डब्ल्यू एचओमार्फत् संसारभरि नै यो निर्णय लागु हुने भएकाले पनि यसमा व्यवसायीहरूको सहमति रहेको उनले बताए।

नेपालमा प्रतिजैविक प्रतिरोधको अवस्था

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार प्रतिजैविक प्रतिरोधको अवस्था नेपालमा ‘भयावह’ छ।

“बाह्य देशहरूमा जस्तै यहाँ पनि औषधि अप्रभावकारी बन्न थालेका अनि अस्पतालमा सङ्क्रमण नियन्त्रण नभएर बिरामीले मृत्युवरण गर्नुपरेका घटना भएका छन्,” उनले भने।

सम्मिश्रणयुक्त एन्टिबायोटिक औषधिको प्रयोगले यो समस्या झन् जटिल बनाइदिने र भविष्य त्यस्ता सम्मिश्रणका अतिरिक्त एकल प्रकृतिका औषधि समेत बेकामे हुने खतरा हुन्छ।

डा अनूप सुवेदी पनि देशभित्र अनियन्त्रित रूपमा एन्टिबायोटिकको प्रयोगले विकराल समस्या उत्पन्न गरिसकेको र कैयौँ मानिसहरूलाई एन्टिबायोटिकले काम गर्न छाडेका घटना बढ्दै गएको बताउँछन्।

प्रतिजैविक प्रतिरोधको समस्या सम्बोधन गर्ने रणनीति तथा कार्यनीति तय गर्न अहिले राष्ट्रिय कार्ययोजना बनिरहेको अधिकारीहरूले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply