१९ जिल्ला घुम्दा रास्वपा नेताले कस्तो पाए जनआवाज ?

0

११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असोजको पहिलो साता जनआवाज सुन्ने कार्यक्रम राख्यो । १९ जिल्लामा केन्द्रीय तहका १९ नेता पठाएर जनआवाज सुनिएको छ ।

नागरिक तहबाट आएका सल्लाह, सुझाव, दृष्टिकोण लगायतलाई पार्टी दस्तावेजमा समेट्ने अभिप्रायले ३ देखि ७ असोजसम्म ‘जनआवाज सुन्ने कार्यक्रम’ राखिएको थियो ।

जिल्ला जाने नेताहरूका लागि लिखित प्रश्नावली बोकेर नगए पनि नागरिकका धारणा कुन-कुन विषयमा लिने बारे पार्टीले तय गरेको थियो ।

ठूला राजनीतिक मुद्दामा धारणा, निर्वाचन प्रणाली, संघीयता, धर्म लगायतमा नागरिकको दृष्टिकोण बुझ्न नेताहरू जिल्ला गएका थिए । सभापति रवि लामिछाने रोल्पा पुगेका थिए भने उपाध्यक्ष डीपी अर्याल पर्सा, महामन्त्री मुकुल ढकाल कालीकोट, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर पुगे ।

सांसदहरूमा तनहुँमा डा. स्वर्णिम वाग्ले, कपिलवस्तुमा सन्तोष परियार, रसुवामा शिशिर खनाल, पर्वतमा मनिष झा, बैतडीमा विराजभक्त श्रेष्ठ, कैलालीमा सुमना श्रेष्ठ, डोटीमा डा. तोसिमा कार्की, ओखलढुङ्गामा गणेश पराजुली, सोलुखुम्बुमा हरि ढकाल खटिएका थिए ।

साथै नेताहरू विपिन आचार्यलाई संखुवासभा, गणेश कार्कीलाई सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताललाई खोटाङ, रमेश प्रसाईलाई सुर्खेत, कमल सुवेदीलाई रौतहट र शंकर श्रेष्ठ इलाम पुगेर जनसंवाद गरेका थिए ।

कालीकोट पुगेका महामन्त्री ढकाल, रसुवा खटिएका शिशिर खनाल, सिन्धुपाल्चोकमा नागरिकसँग संवाद गरेका गणेश कार्की, रौतहटमा नागरिकसँग संवाद गरेका कमल सुवेदी र खोटाङ पुगेकी क्रान्तिशिखा धितालसँग उनीहरू पुगेका जिल्लामा नागरिकको बुझाइ बारे अनलाइनखबरले प्रतिक्रिया लिएको छ ।

उनीहरूका अनुसार नागरिकको चासो संघीयताले नेता बढायो भन्नेमा छ । प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको उनीहरूलाई नागरिकले सुनाएका छन् । रास्वपा नेताहरू ढकाल, खनाल, कार्की, सुवेदी र धितालकै शब्दमा नागरिकको दृष्टिकोणः

मैले योजना पारेको, मैले खान पाउनुपर्छ भन्ने रहेछः मुकुल ढकाल

कालीकोटमा तीन दिन त्यहाँका स्थानीय व्यक्तिहरूसँग कुरा गरें । चार वटा पालिका विभिन्न ठाउँमा पुगेर नागरिकसँग अन्तरसंवाद गरें ।

जनताको गुनासो विकासकै कुरामा छ । प्रदेशप्रति गुनासो थियो । स्थानीय जनताको सल्लाह-सुझाव नसुनेको भन्दै चिन्ता राख्नुभएको छ ।

तल्लो तहका नेताले योजना आफू अनुकूल ल्याएर त्यसमा भ्रष्टाचार गर्ने गरेको स्थानीयहरूले बताए । मैले योजना पारेको मैले खानुपर्छ भन्दै नागरिकलाई हाकाहाकी भन्ने रहेछन् । हाम्रो करबाट आएको विकास योजनाको पैसा पाइँदैन भनेर कसैले भने पनि स्थानीय नेताले नसुन्ने रहेछन् ।

संघीयता भन्ने वित्तिकै जनताको बुझाइ प्रदेश भन्ने हुँदोरहेछ । प्रदेशको कुरा गर्‍यो कि खाने भन्दा त्यसको काम के छ र भन्छन् । नेता व्यवस्थापन भन्दा प्रदेश सरकारबाट केही हुन नसकेको बुझाइ जनतामा छ ।

स्थानीय तहको संरचनामा हिनामिना हुने गरेकाले जनप्रतिनिधि असल हुनुपर्ने तर्क नागरिकको थियो । नगरपालिका भनिए पनि त्यस अनुसार सेवासुविधा तथा विकास नभएकाले गाउँपालिका नै बनाइदिए हुन्थ्यो भन्ने पनि नागरिक थिए ।

भनसुन नगरी हुँदैन, पुरानै पार्टीमा सजिलो भन्ने पनि भेटिए : शिशिर खनाल

जिल्लाका विभिन्न सात ठाउँमा नागरिकसँग अन्तरक्रिया गरें । रास्वपाप्रति युवा पुस्ताको आकर्षण, रुचि, जिज्ञासा देखियो ।

जनप्रतिनिधिले नागरिकको काम गर्दा आफ्नो पार्टीको हो/होइन भनी हेर्ने गरेको स्थानीयहरूले कुराकानीको क्रममा बताए । भनसुन र शक्तिका कारणले मात्रै आफ्नो काम हुने भएकाले परम्परागत दलमै रहनुपर्ने बाध्यता पनि कतिपयले सुनाए ।

गाउँपालिका हुँदा वडा सचिव पनि धुन्चे आएर बस्ने गर्दा रहेछन् । धुन्चेबाट अहिले विस्तारै त्यहाँ हुने आर्थिक वा राजनीतिक गतिविधि अन्यत्रतिर पुगेको देखिन्छ । जिल्ला सदरमुकाम भएर पनि पालिकाको केन्द्र हुन सकेन भन्ने त्यहाँका स्थानीयको गुनासो थियो ।

धुन्चे नै आउनुपर्ने नागरिकलाई आफ्नो घर–गाउँबाट सेवा पाएपछि उनीहरू भने खुसी देखिन्थे । वडाअध्यक्ष खोज्दै धुन्चे जानुपर्ने बाध्यता अहिले हटेको रहेछ ।

स्थानीय सरकारको कामप्रति सकारात्मक रहेका स्थानीयहरू प्रदेश सरकारको काममा जोडिनै नपाएको बताए । प्रदेश सरकारले के गर्छ ? भन्ने उहाँहरूको दृष्टिकोण थियो ।

म पुगेका ठाउँमा अधिकांश बुद्ध धर्मावलम्बी हुनुहुन्थ्यो । धर्मप्रति उहाँहरूको सद्भाव थियो । धर्मप्रति जे छ, ठिकै छ जस्तो उहाँहरूको धारणा देखियो । व्यवस्थाप्रति चरम असन्तुष्ट रहेर राजा नै चाहिन्छ भन्ने बोली खासै सुनिएन ।

 नेता धेरै भए भन्नेमा सबैको एकमत छः गणेश कार्की

सिन्धुपाल्चोकका दुवै क्षेत्रमा पुग्दा युवा विरलै भेटिए । युवा काठमाडौं छन् वा विदेश पुगेका छन् । नयाँ आउने पार्टीप्रति अलि आशा देखियो ।

राष्ट्रिय राजनीति भन्दा पनि नागरिकलाई आफ्नै दैनन्दिनको चिन्ता छ । दैनिक भोग्दै आएका समस्यामा चासो छ । जनसंख्या घट्दो छ ।

सांसदको संख्या बढी भयो भन्ने गुनासो थियो । प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको मत एकदम बलियो भएर आएको देखियो ।

संघीयताको कुरा गर्दा चाहिन्छ र चाहिंदैन भन्ने दुईथरी भेटिए । विकेन्द्रीकरणको कुरा गर्‍यो भने अलि कन्फ्युजनमा देखिनुहुन्छ । नेता धेरै भए भन्नेमा सबै जनाको एकमत छ । त्यसलाई धेरै जनाले संघीयतासँग जोडेका छन् ।

गाउँमा युवा भेट्नै मुश्किल : क्रान्तिशिखा धिताल

चार दिन खोटाङका पालिकाहरूमा बसें । दिक्तेल र हलेसीमा बढी समय नागरिकसँग संवाद गरें । युवाहरू बढी विदेशमा रहेछन् । पानीको प्रमुख समस्या रहेछ । सडक सुरक्षित नभएको हुँदा समस्या नागरिकले भोगिरहेका छन् ।

केन्द्रको राजनीतिमा आम नागरिकलाई खासै चासो देखिएन । केन्द्रको राजनीतिबाट धेरै टाढा रहेर आफ्नै आधारभूत आवश्यकता पूर्ति गर्ने उनीहरूको चिन्ता छ ।

संघीयता हुँदा र नहुँदाको फरकमा स्थानीय नागरिकलाई चासो देखिएन । संघीयता भए पनि/नभए पनि हाम्रो आधारभूत आवश्यकता पुर्ति हुनुपर्छ भन्ने थियो । कतिपय ठाउँमा उपचारका लागि डाक्टरहरूलाई समेत देखाउन नसकिने अवस्था रहेछ ।

स्कुले विद्यार्थीलाई समेत देशमा बसेर के हुन्छ र ? भन्ने परिसकेको रहेछ । विदेश नै जानुपर्दछ भन्ने मानसिकता माध्यमिक तहमा पढ्ने विद्यार्थीमा समेत विकसित भएको छ ।

गाउँमा त युवा भेट्न नै मुश्किल छ । विदेशिने संख्या बढ्ने, गाउँ रित्तिने हुँदा बजारमा किनमेलमा समेत उल्लेख्य कमि आएको रहेछ ।

राजनीतिक संरक्षणका लागि शक्तिशाली व्यक्ति खोज्ने रहेछन्ः कमल सुवेदी

गौर हत्या काण्ड र मोहम्मद अफ्ताब आलमका कारण रौतहटलाई चर्चामा ल्याएको थियो ।

प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रहरी प्रमुख प्राप्त गरिसकेको जिल्ला भए पनि धेरै हिसाबले पिछडिएको रहेछ । १८ वटा पालिकामा १६ वटा नगरपालिका छन् ।

नगरपालिका भनिए पनि केही स्थानमा नागरिकको दुरवस्था नै छ । शिक्षा र स्वास्थ्यको समस्या नागरिकले अत्यन्तै भोगिरहेका छन् ।

नागरिकसँगको कुरा हुँदा पार्टी नभए पनि चुनाव जित्न सकिने त्यहाँको अवस्था सुनाए । त्यही भएर स्वतन्त्रले पनि जितेका रहेछन् । पार्टी छोडेर स्वतन्त्र उठ्दा पनि जित्नुमा व्यक्तिको शक्तिले प्रभाव पारेको त्यहाँका जनता बताउँछन् । गौर हत्या काण्डले बेला–बेलामा जिल्ला तरंगित भइरहने रहेछ ।

जनता त्यहाँ दल, नेताको पछाडि लाग्नु वा स्वतन्त्र उम्मेद्वारतिर लाग्नुको अर्थ आफ्नो राजनीतिक सुरक्षा खोज्नका लागि रहेछ । पैसाको प्रभावको राजनीति रौतहटमा व्यापक रहेछ । नागरिकसँग छलफल गर्दा के पाइयो भने क्षमतावान् व्यक्ति छ तर आर्थिक अवस्थामा कमजोर छ भने चुनाव जित्न नसक्ने अवस्था बनेको छ ।

धेरै जनासँग कुरा हुँदा उनीहरूले प्रदेश संरचना त नेताहरूका लागि मात्रै भयो भनी गुनासो गरे । उनीहरूलाई सबैभन्दा मन नपरेको पक्ष धेरै संख्यामा सांसद हुने र मन्त्री भएको प्रति छ ।

प्रदेशका सांसद र मन्त्रीको रवाफ देखाउने गरेको नागरिकहरू सुनाउँछन् । विकासका कार्य र आम नागरिकको दैनिकी सुधारमा प्रदेश सांसदको भूमिका नपाएको नागरिक तहबाट गुनासो छ । संघीयता सुधार सहितको अपेक्षा जनतामा छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply