अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

0

पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि पोखरामा आउने पानीमा कमी भएको पोखरा शाखाका कार्यालय प्रमुख ई. आशीष कार्की कार्कीले बताए । मुख्य स्रोतको पानीलाई उचित व्यवस्थापन गर्न पोखरामा कार्यरत जनशक्तिको अभाव रहेको बताएका कार्कीले अकला वडा खानेपानी आयोजना हस्तान्तरण भए पनि सञ्चालनमा आउन नसक्दा दैनिक १४ लाख लिटर पानीको अभाव खेप्नु परेको बताए ।

कार्कीले संस्थानको केन्द्रीय कार्यालयले आवश्यक सहयोग नगर्दा अकला वडा खानेपानी आयोजनाबाट आउने पानी संस्थानको ट्रंक लाइनमा बिस्तार गर्न नसकिएको उल्लेख गरे । कार्यालय प्रमुख कार्कीले पोखरालाई पानीको अभाव हुन नदिन दीर्घकालीन समस्या समाधानको लागि नयाँ योजनाहरू आवश्यक परिसकेको बताए । उनले मर्दीसँगै सार्दीखोला तथा पोखरा वरपरका पानीको मुहानलाई संरक्षण गर्न सक्नुपर्नेमा जोड दिए । पानीको नयाँ स्रोतको पहिचान गर्न संस्थानले ढिलो गर्न नहुने बताए । खानेपानी संस्थानका महाप्रबन्धक डा. ईश्वर प्रसादले आफूले अकला वडा खानेपानी आयोजनाबारे सञ्चालक समितिमा पेस गरेको बताए ।

गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले ९८ लाख ९८ हजार रुपैयाँको लागतमा तयार गरेको खानेपानी आयोजना स्थानीय कृष्णप्रसाद पौडेल अध्यक्ष रहेको समितिले वडा कार्यालय १९ को समेत रोहबरमा भएको थियो । खानेपानी संस्थान सञ्चालक समितिले १ महिनाभित्र सम्पत्ति, संरचना र जनशक्तिको व्यवस्थापन गरेरमात्र अघि बढ्ने निर्णय भएको सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषालले जानकारी दिए । अध्यक्ष भुषालले आयोजनाको सम्पत्ति, दायित्व र सञ्चालन गर्दा घाटा नहुने योजनामात्र संस्थानले लिने बताए ।

पोखरामा सुख्खा यामसँगै पानीको अभाव देखिएको छ । नेपाल खानेपानी संस्थान पोखरा शाखाले दैनिक ४ करोड ७० लाख लिटर पानी वितरण गर्दै आएको छ । जबकि पोखरामा ७ करोड लिटर पानीको माग छ । कार्यालयले वितरण गरेको पानी अपुग हुँदा पोखरा शाखाको करिब ५१ हजार धाराका उपभोक्ता मर्कामा परेका छन् ।
नेपाल खानेपानी संस्थान पोखरा शाखा पार्दी र विन्ध्यवासिनी इकाइ कार्यालयमा दैनिक साढे ६ सय हाराहारीको संख्यामा उपभोक्ता पानी चाहियो भन्दै कार्यालय धाउन थालेको नेपाल खानेपानी संस्थान पोखरा शाखाका सूचना अधिकारी प्रकाश सिलवालले जानकारी दिए ।

पोखरामा सेतीवारि र सेतीपारि गर्दै पानीको वितरण प्रणाली मिलाए पनि हप्ता दिनसम्मको पालो कुर्दा पानी नआएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन् । पोखरा ८ इन्द्रपुरी टोलमा बस्ने स्थानीय बद्री आचार्यले पानीको अभावमा निकै कष्टकर दैनिकी बनेको बताए । उनले धारामा आउने पानीको प्रेसर नहुँदा तप्पतप्प झर्ने गरेको सुनाए । स्थानीय आचार्यले भने, ‘बरु बत्तीको अभाव खेप्न सजिलो हुने रहेछ, पानीको अभावमा साह्रै कठिन ।’ उनले धारामा पानी नआएको २०–२५ दिन भएको उल्लेख गरे ।
पोखराका लागि खानेपानीको मुख्य स्रोत मर्दी खोला हो भने, कालीमुडा, भोटीखोला, बालधारा तथा बोरिङबाट वितरण गर्ने पानी उत्पादन कम हुँदा वितरणमा समस्या परेको पोखरा शाखाका कार्यालय प्रमुख कार्की बताउँछन् ।

Leave a Reply