जीर्णोद्धार र उत्खननको पर्खाइमा तत्कालीन डोटी राज्यका निसानी

0
सम्पदा

तत्कालीन बाइसे राज्यअन्तर्गत डोटी राज्यको राजधानी अजयमेरुकोटस्थित ऐतिहासिक महत्त्व भएका डोटेली राज्यका निसानीहरू उचित संरक्षण, जीर्णोद्धार र उत्खननको पखाईमा छन्।

तर भत्किएर ढुङ्गा छरपस्ट अवस्थामा रहेका ऐतिहासिक सम्पदाको उचित संरक्षण, जिर्णोद्धार र उत्खननमा कसैले पनि खासै चासो र चिन्ता नदेखाएको स्थानीयवासीको गुनासो छ।

हाल सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा पर्ने अजयमेरु गाउँपालिकाको हाँटकोटमा तत्कालीन राजाका दरबार, देवल, कुवा, घोडाका तबेला, बैठक कक्ष, रानीले नुहाउन जाँदा प्रयोग गर्ने दरबारदेखि खोलासम्मको सिँढी, वीरखम्ब, मन्त्री र सेनाका आवास क्षेत्र छन्।

अजयमेरुकोटमा युद्धका बेला पानी सञ्चित गर्न बनाइएका पोखरी, राजसभा चल्ने ठाउँ, चार दिशाबाट बाहिर जाने गुप्त मार्ग (सुरुङ) का भग्नावशेष छन्।

आकर्षक वास्तुकला

रानीहरूको स्नानकुण्ड, जोला देवल, वीरताका स्तम्भजस्ता एकदमै आर्कषक वास्तुकला र मूर्तिकलाले भरिपूर्ण सम्पदाका अवशेष यहाँ देख्न सकिन्छ।

स्थानीयवासी चेतनविक्रम चन्द “ऐतिहासिक महत्त्वका डोटेली सभ्यताका निसानीहरूको जुन रूपमा संरक्षण र प्रचार हुनुपर्ने हो त्यो हुन नसकेको” बताउँछन्।

उनका अनुसार “तत्कालीन राजाको साततले दरबार भत्किएर एकतलामा सीमित भएको छ भने बैठक कक्ष पनि भत्किएर भग्नावशेषमा” परिणत भएको छ।

राजा र उनका सैनिकहरू चढ्ने घोडाका तबेलाहरू, शयन कक्ष, नुहाउने पोखरी भत्किएर जीर्ण अवस्थामा छन्।

रानीले नुहाउन जाँदा प्रयोग गर्ने दरबारबाट तल खोलासम्मको तीन सय मिटर लामो सिँढी पनि भत्किएको छ।

रानी जाँदा अँध्यारो नहोस् भनेर उक्त सिँढीमा २५ वटा झ्याल राखेर माथिबाट बन्द गरिएको देखिन्छ।

सम्पदा

स्थानीयवासीले प्रयोग गर्दै आएकाले कुवाहरू भने पुरिनबाट जोगिएका छन्।

“भावी पुस्तालाई देखाउन यसलाई जोगाउन आवश्यक छ,” चन्द भन्छन्, “यदि समयमै जीर्णोद्धार , उत्खनन र संरक्षणमा ध्यान दिइएन भने पछि ढुङ्गा पनि भेटिन मुस्किल पर्ला।”

ढुङ्गैढुङ्गाले बनेका ती सम्पदामा काठ प्रयोग नभएको र मास तथा चामलको पीठोको जोर्नी लगाएर गारो बनाइएको उनले बताए।

तीन तिरबाट मजार गाडले घेरिएको अजयमेरुकोट किल्ला विशाल चट्टानमाथि झन्डै पाँच रोपनी क्षेत्रमा फैलिएको छ।

जानकारहरूका अनुसार मध्यकालीन डोटी राज्य सम्पन्न रहेको देखिन्छ।

तत्कालीन डोटी राज्यको मध्यकालीन इतिहास (१२३५–१७१२)का अध्येता राजेन्द्र सिंह रावल भन्छन्,”डोटी राज्यका संस्थापक शासक त्रैलोक्य पालले आफ्ना छोरा अजय पालको नाममा अजयमिहिर बनाएको दाबी गरिन्छ।”

उनको दाबी अनुसार यस स्थानको नाम अजयमेरु नभई अजयमिहिर हुनुपर्छ। अजय भनेको नाम र मिहिरको अर्थ सूर्य हुने उनले बताए।

संरक्षण अभाव

त्रैलोक्य पालले आफ्ना भाइ निरञ्जन पाल देवलाई राज्य सुम्पेको इतिहास छ।

मध्यकालीन डोटीको इतिहास नामक पुस्तक लेखेका रावल भन्छन, “छोराको नामले राज्यको नाम चिरपर्यन्त रहोस् भन्ने मनसायले त्रैलोक्य सेनले अजयमिहिर गढ बनाएका थिए। डोटी राज्य साके १२३५ तिर दिल्लीको सहयोगी राज्यका रूपमा स्वतन्त्र शासन व्यवस्थासहितको देशको रूपमा चिनिन्थ्यो।”

सम्पदा

नेपाल एकीकरणको समयमा तत्कालीन डोटी, सिँजा र पाल्पा राज्य गोर्खाका राजा विरुद्ध लडेका थिए।

त्यसपछि पूर्वाग्रहका रूपमा यी राज्यका सम्पदालाई जोगाउन तत्कालिन शासकहरूले ध्यान नदिएको हुनसक्ने उनको आरोप छ।

तर कतिपयले हुरीहुन्डरी आएर ठूलो वज्रपात भई अजयमेरु किल्ला स्खलन भएको दाबी गर्छन् भने कतिपय तत्कालीन शासक भागेश्वजर र नाग मल्लबीचको लडाइँका कारण भत्किएको विश्वास गर्छन्।

विश्व सम्पदासूचीमा सूचीकृत गर्न पहल

विभिन्न कलाकृतिका ढुङ्गाले बनेको दरबारलाई पहिलेको स्वरूप दिन सके हेर्न आउनेको सङ्ख्या बढ्ने र त्यसबाट रोजगारी सिर्जना हुनुका साथै आयस्तर वृद्धिमा पनि टेवा पुग्ने जानकारहरू बताउँछन्।

पुनर्निमाण गरेर दरबारलाई चाँडो पुरानो स्वरूपमा फर्काउनुपर्ने स्थानीयवासीको धारणा छ।

“बाटोघाटो पुगेर पहिलाको भन्दा केही सुविधा भए पनि जति हुनुपर्ने हो त्यो हुन सकेको छैन,” स्थानीयवासी महिला कलावती ऐर भन्छिन्, “दरबारको हालत पहिला जस्तै थियो अहिले पनि उस्तै छ।”

स्थानीय सरकारले भने संरक्षणका लागि कोट (दरबार) क्षेत्र वरिपरि घेराबार गर्ने, पर्यटकका लागि विश्रामस्थल बनाउने, खानेपानी पुर्‍याउने, सडक बनाउने जस्ता काम गरेको छ।

अजयमेरु गाउँपालिका–२ का वडाध्यक्ष शिवराज भट्ट भन्छन्, “कोटको संरक्षणमा लागिपरेका छौँ। तर भग्नावशेष बनेको दरबारलाई केही गर्न सकिएको छैन।”

उनले भने, “स्थानीय सरकारले बारम्बार आग्रह गर्दा समेत पुरातत्त्व विभागले संरक्षण, उत्खनन र जीर्णोद्धारमा खासै चासो देखाएको छैन।”

सम्पदा

पुरातत्त्व विभागले भने संरक्षणका लागि आफ्नो तर्फबाट काम गरिरहेको बताउने गरेको छ।

अजयमेरुलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्नका लागि पनि प्रस्ताव अघि बढाउने तयारी गरिरहेको विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग बताउँछिन्।

उनी भन्छिन्, “समय समयमा पुरातत्त्व विभागले मर्मतसम्भारका साथै अध्ययन तथा अनुसन्धानका काम गरिरहेको छ। भएका कुरालाई संरक्षण गर्ने हो। त्यसमा विभाग लागिरहेकै छ।“

पुरानो दरबारको कुनै फोटो र पर्याप्त प्रमाणबिना त्यतिकै पुनर्निर्माण गर्न नमिल्ने उनको भनाइ छ।

कोटको अर्थ दरबार हुन्छ। डडेल्धुराको सदरमुकामदेखि पश्चिम रहेको अजयमेरुकोट रणथम्मकोट र हाँटकोटको रूपमा पनि चिनिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply