डुंगा पल्टिएपछि तत्कालै उद्धार

0

पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको स्ट्याण्डबाइ विपत् उद्धारक र गोताखोर टोली २ मोटरबोटसहित घटनास्थल पुग्यो । तालिमप्राप्त प्रहरीको टोलीले तुरुन्तै ५ जनालाई उद्धार गरी बाहिर ल्यायो । काठको डुंगा र मोटरबोट गरी ६ जना मानिस उक्त दुर्घटनामा परेकोमा १ जना त डुबेर बेपत्ता भएको थाहा भयो । गोदाखोरले करिब २५ मिनेटपछि ती व्यक्तिलाई पनि जिवितै उद्धार गर्न सफल भयो । त्यति ठूलो दुर्घटनामा पनि मानवीय क्षति हुन नपाएकोमा सबै खुसी भए ।

यो दृश्य थियो–गण्डकी प्रदेशस्तरीय जलउत्पन्न प्रकोप तथा खोंचमा गरिने उद्धारको कृत्रिम नमुना अभ्यास ।

सशस्त्र प्रहरी बल नेपालको गण्डकी प्रदेश हेडक्वार्टस् मुक्तिनाथ वाहिनीको आयोजनामा कोमागाने पार्क नजिक फेवातालमा वाहिनीअन्तर्गतका विभिन्न गण तथा गुल्महरुमा कार्यरत विपद उद्धारकहरु एवं कालिका गणका विशेष गोताखोर टोलीले भाग लिएका थिए ।

पानीमा डुबेकोजस्तो अभिनयका लागि अक्सिजन सिलिण्डर पानीभित्रै फिट गरिएको थियो । टोलीले डुंगा दुर्घटनामा परेकाहरुको उद्धारबाहेक हाइल्यान्ड रेस्क्यु समेतको नमुना अभ्यास गरेको छ । पोखराको सेती खोंच लगायत विभिन्न ठाउँका गहिरो खोंचमा फसेकाहरुको उद्धार कसरी गरिन्छ भन्नेबारे रसीको माध्यमबाट हाइल्यान्ड रेस्क्यु गरिएको कालिकागण मालेपाटनमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीले बताए । खोंचमा जस्तो उद्धार अभ्यासका कारण एक जना प्रहरी घाँस काट्नेक्रममा हाइटेन्सन लाइनका कारण करेन्ट लागेकोजस्तो गरिएको थियो ।

यस्तै, बाटोघाटो तथा पुल नभएको अवस्थामा आपत्मा परेकालाई कसरी नदीबाट तारिन्छ भन्ने अर्को अभ्यास गरियो । जसका कारण प्रहरीले जिपलाइन नै तयार पारेको थियो ।

गण्डकी प्रदेशस्तरीय जलउत्पन्न प्रकोप तथा खोंचमा गरिने उद्धारको कृत्रिम नमुना अभ्यास

प्राथमिक उपचार अभ्यास पनि सोही अवसरमा भयो । घाइते तथा पीडितलाई अस्पताल लैजानुअघि गरिने प्राथमिक उपचारको अभ्यासमा पनि प्रहरीहरुले सक्रिय थिए ।

सोमबार बिहान साढे ८ देखि १० बजेसम्म भएका ती सबै नमुना अभ्यास अवलोकनमा सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ वाहिनी मुख्यालय पोखराका वाहिनीपति डिआइजी कालीदास धौवजीको प्रमुख आतिथ्य थियो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, निजामती प्रशासनका उच्चपदस्थ अधिकारीहरुका साथै नेपाल रेडक्रस सोसाइटी, पोखरा पर्यटन परिषद्, होटल एसोसेसन, रेष्टुरेन्ट एसोसिएसन, ट्रेकिङ एसोसिएसन, डुंगा व्यवसाय समितिका अध्यक्ष एवं पदाधिकारीहरु लगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

बाहिनीपति धौवजीले विपद् उद्धारकहरुको क्षमता अभिवृद्धि गर्न प्रदेश एवं स्थानीय सरकारहरु थप जिम्मेवारीका साथ कटिवद्ध हुनु पर्ने औंल्याए । कालिका गणका गणपति उपरीक्षक अरुण पौडेल शर्माले यस किसिमका नमुना अभ्यासले फौजप्रति सर्वसाधारण जनताहरुको विश्वास एवं भरोसा बढ्नुका साथै उद्धारकहरुमा समेत परेको बेला आत्मबल बढ्ने र उद्धार कार्यमा निखारपन आउने बताए । उनका अनुसार फेवातालमा केही सातायता हावाहुरीका कारण डुंगा दुर्घटनाका घटनामा सशस्त्र प्रहरीले मानिसको सकुशल उद्धार गरेर ज्यान बचाउन सफल भएको छ ।

गण्डकी प्रदेश विपत् व्यवस्थापनमा आगो निभाउने, पानीभित्रबाट उद्धार गर्ने, रोप–वे, कडा चट्टान फुटाल्ने लगायतको उद्धार सामग्री उपलब्ध छन् । केही कतै आपत विपत परे खबर पाएमा टोली तत्कालै पुग्ने कालिका गणका गणपति उपरीक्षक अरुण पौडेल शर्माले बताए ।

राष्ट्रिय विपत् प्राधिकरणले पोखरालाई हालैमात्र फायर पोर्टेबल पम्प उपलब्ध गराएको छ । आगलागी हुँदा निभाउन नसकिने र दमकल पनि जान नसक्ने स्थानमा उक्त पम्पले तत्कालै आगो निभाउन मद्दत पुग्ने बताइएको छ ।

Leave a Reply