‘देवी खड्कामाथि फिल्म बनाउन जग्गा बेचें’

0

काठमाडौं । क्यानडाको टोरन्टोमा उत्रिएर भर्चुअल गफगाफको लागि तयार हुँदासम्म सुविना श्रेष्ठलाई देवी डकुमेन्ट्रीको ट्रेलर बनाउने चटारो थियो । अन्ततः ट्रेलर रिलिज मात्र भएको छैन, सुविनाको लामो समयदेखिको मेहनत र सपनाले क्यानडाको प्रतिष्ठित हट–डक्सन अन्तर्राष्ट्रिय डकुमेन्ट्री फेस्टिभलमा मूर्तरूप पाएको छ । नेपाली समयानुसार आइतबार राति उक्त फेस्टिभलमा सुविना निर्देशित ८० मिनेट लामो वृत्तचित्र ‘देवी’को वर्ल्ड प्रिमियर भयो ।

यो वृत्तचित्रले हामीलाई दशक लामो सशस्त्र द्वन्द्वको त्यो कालखण्डमा लैजान्छ, जतिबेला युद्धका पक्षबाट यौन हिंसा भोगेका महिला आजपर्यन्त न्यायका लागि लडिरहेका छन् । वृत्तचित्रको केन्द्रमा छिन् नेकपा (माओवादी केन्द्र)की नेतृ एवं पूर्वसांसद देवी खड्का । पीडित अनुहार लुकाएर बस्नुपर्ने, ‘अपराधी’ खुलेआम प्रस्तुत हुने समाजमा देवीले बलात्कार पीडितका पक्षमा अनुहार देखाएर पैरवी थालेकी छन् । राज्य र विद्रोहीबाट बलात्कृत र यौन पीडित तीन हजार महिलालाई न्यायको अगुवाइ गरिरहेकी देवीको दृष्टान्त यो वृत्तचित्र हो ।

फिल्म कथा मात्र होइन, निर्देशकीय अभिव्यक्तिको माध्यम पनि हो । डकुमेन्ट्री फिल्ममेकिङको शक्तिशाली माध्यम । अलजजिरालगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेकी पत्रकार सुविनाले गैरआख्यान विधाबाट सरकार–माओवादी युद्धताका पीडित बनेकाहरुको इतिहासलाई सिंहावलोकन गर्ने प्रयत्न गरेकी छन् । टोरन्टोपछि न्युजिल्याण्ड र दक्षिण कोरियामा प्रिमियर तयारीमा रहेको यो फिल्मलाई चाँडै नेपालमा समेत स्क्रिनिङ गर्ने तयारी छ । प्रस्तुत छ, सुविना श्रेष्ठसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको समयमा यो फिल्म किन सान्दर्भिक छ ?

‘देवी’ले यी कुरा नउठाउञ्जेल त कार्पेटमुनि लुकाएको जस्तै भइराखेको थियो । ३१४ वटा मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगमा दर्ता भयो भन्ने त छ तर दर्ता गर्ने समग्र प्रक्रियालाई नै जटिल बनाएर राखिएको थियो । हामी यस्तो संस्कृतिमा बाँचिरहेका छौं, जहाँ मानिसहरू बलात्कार, यौन हिंसाजस्ता शब्द नै उच्चारण गर्न चाहँदैनन् ।

कहिलेकाहीं महिलै महिला बसेको कोठामा बसेर कुरा गर्दा कतिजनालाई असहज भएको छ, हात उठाऊ भनेर भन्यो भने झण्डै ३०–४० प्रतिशतको हात उठ्या हुन्छ । यो नेपालमा मात्र हैन, बाहिर पनि यस्तै छ । त्यसैले यो सान्दर्भिक छ । विश्वमा महिला हिंसाका घटना भइरहेका हुन्छन् तर यौन हिंसाको कुरा उठान गर्ने मान्छे धेरै कम छन् । उठान नै हुँदैन ।

किनभने नेपालमा मात्र होइन, पश्चिमा संस्कृति भनिएका मुलुकमा पनि यो धेरै गाह्रो विषय हो । भित्र लागेको गहन चोट लागेको बाहिर कसरी ल्याउनु ? देवीले जसरी बोल्ने आँट गरिन्, त्यो धेरै कम मान्छेले गर्छन् । जुन किसिमले राज्यलाई उत्तरदायी बनाउनुपर्छ भनेर भन्ने आँट गरिन्, त्यो धेरै कमले गर्छन् ।

डकुमेन्ट्री फिल्मकी पात्र देवी खड्कासँग सुविना श्रेष्ठ

कुन कुराले तपाईंलाई यो पात्र र कथामा फिल्म बनाउनुपर्छ भन्ने लाग्यो ?

पहिलोपटक यो विषय मलाई सन् १९९३-१९९४ तिर थाहा भएको हो । जतिबेला म अमेरिकामा किशोरी थिएँ । हाइ स्कुलमा पढ्थें । बोस्निया युद्धपछि महिलाको एक समूहलाई योग कक्षामा लिएर गएका थिए । उनीहरूलाई पानीको विषयमा छलफल गर्नुछ भन्दै ल्याइएको थियो । पानीको विषयमा कुरा गर्दै जाँदा, बिस्तारै कुरा अघि बढ्दै जाँदा ती सबै महिला बलात्कृत भएको पाइयो । मलाई अहिलेसम्म पनि याद छ त्यो कोठा, महिलाहरू । मेटिंदै मेटिंदैन ती कुराहरू ।

नेपालमा गृहयुद्ध हुँदा म आफू पनि पत्रकार भएर काम गर्दै थिएँ र उनीहरूको विषयमा स्टोरी गर्दै थिएँ । त्यतिबेला देवीको विषयमा सुनेकै हो । सन्देश पठाउँदा पनि देवीले बोल्दैन भन्ने मेसेज आयो । यो कथा भन्नुपर्छ, उठान गर्नुपर्छ भन्ने त थाहा थियो तर धेरैपछि २०१८ मा बल्ल देवीले एउटा समाचारको लागि हुन्छ भनेपछि अघि बढ्यो । गर्ने भए गर्ने भनेपछि एक वर्ष त अनुसन्धानमै लाग्यो । यसरी मलाई रुचि लाग्यो । यदि मैले गरिनँ भने कसले गर्छ त भन्ने पनि भयो ।

देवीजीलाई तपाईंले यो फिल्मका लागि कसरी आश्वस्त तुल्याउनुभयो ?

यसका लागि देवीले मलाई र मैले उनलाई पनि विश्वास गर्नुपर्‍यो । यो पैसा, समय र भावनाको ठूलो लगानी हुने विषय थियो । यसले उनको जीवनशैली नै परिवर्तन हुन जान्छ । सुरुमा त हामीले १५ मिनेटको फिल्म बनाउने भनेर बसेका थियौं । त्यतिका लागि त्यति साह्रो आश्वस्त पार्नुपरेको थिएन ।

उनले ‘यदि १०० जना महिलाले सिंहदरबार घेराउ गरे भने सरकारले के गर्छ ?’ भनिन् । त्यो सुन्दा मलाई पनि गरौंजस्तो लाग्यो । यो एउटा ‘म्याड थट’ थियो । त्यो ‘म्याडनेस’मा मैले एक टुक्रा जग्गा बेचें । पैसा उठाउन पनि भएन । मेरो पुरानो साथी बीबीसीमा काम गर्छिन् । उनले पनि पर्सनल फन्ड उठाइन् । भएभरको लगानी यसरी जम्मा गरेर फिल्म बनाउन थाल्यौं ।

त्यो विश्वास कमाउन त मैले पनि लगानी गरें । मैले ठूलो विश्वास उनीमाथि गरें, उनले पनि त्यसै गरिन् । यसरी यो समझदारीपूर्ण विश्वासको कुरा हुन गयो ।

फिल्ममेकरको रूपमा ‘देवी’मार्फत के कुरा भन्न खोज्नुभएको हो ?

यी ती महिला थिइन्, जो हरेक पक्षबाट टुटेकी थिइन् । हरेक अवरोधहरू पार गरेकी थिइन् । उनले यस्तो ठूलो कदम उठाएकी छन् । ‘डेभिड भर्सेस गोलायथ’को कथा जस्तै एउटा कथा हो यो । सानो मान्छेले ठूलो गोलायथलाई नै जित्न खोजेको कथाजस्तै । सरल कथावाचन छ । यो प्रेमको कथा पनि हो, जहाँ परिवार र बालबच्चासँग उनको प्रेमको कथा छ । आफू विचलित हुँदा कति परिवारलाई सम्हाल्न पनि गाह्रो हुन्छ । त्यसपछि पितृसत्ताले महिलामाथि के गर्छ ? त्यसपछि राज्यले महिलालाई के गर्छ ? यी मुद्दालाई मैले फिल्ममार्फत उठान गर्ने कोसिस गरेकी छु ।

द्वन्द्वका कथाहरू अहिले आएर भन्न किन जरुरी छ ?

विद्रोह हाम्रो जीवनको हिस्सा हो नि । बिर्सनु त भएन । इतिहासले हामीलाई निर्माण गरेको हुन्छ । इतिहास बिर्सनु भनेको हामीले आफैंलाई बिर्सनु हो । इतिहास बिना मान्छेहरू सतही मात्र हुन जान्छ । हामीले किन, के गर्न खोजेका छौं भन्ने कुरा त इतिहासबाट मात्र बुझिन्छ । देश बुझ्नलाई पनि त इतिहास चाहिन्छ । म आफैं सन् ८० र ९० को दशकमा हुर्किएको मान्छे हुँ । पञ्चायतको समयमा राजाको इतिहास पढेर हुर्किएकी हुँ । त्यो हिस्ट्रीबारे धेरै कम थाहा थियो ।

इतिहास नबुझ्दा सतही हुन सक्छौं । हाम्रो सभ्यता कहाँबाट कहाँ पुग्छ भनेर नबुझेसम्म हामी को हो भनेर हामी आफैंलाई थाहा हुँदैन । भौंतारिरहेको जस्तो हुन जान्छ । यो दोस्रो विश्वयुद्धको कुरा मात्र होइन, मेरो लागि कथा भन्नु महिलाको इतिहास भन्नु हो । महिलाको इतिहास सधै मेटिंदै आइएको छ । यो कहिल्यै पनि भनिएको छैन ।

हामी सधैं देवीलाई पूजा गर्नुपर्छ भन्छौं । पूजा गर्न जान्छौं पनि । तर आफ्नो अगाडि भएको देवी त देख्दैनौं । नेपालका सबै महिलामा देवी छ भन्ने देखाउने र हेर्ने प्रयत्न हो यो । देवी खड्का तीमध्ये एक हुन् ।

कथावाचकको रूपमा तपाईंले देवी खड्कालाई कसरी बुझ्नुहुन्छ ?

प्रत्येक मानवमा जस्तै उनी जटिल चरित्र हुन् । साथै, उनी अविश्वसनीय पात्र पनि हुन् । उनी प्रकृतिको यस्तो शक्ति हुन् जो कुनै काम गर्छु भनेपछि गर्न प्रतिबद्ध हुन्छिन् । कक्षामा एकदिन पनि नबसेको मान्छे, अहिले आएर महिलाहरूलाई न्याय दिलाउँछु भनेर राज्यविरुद्ध खडा भएर लागिरहेकी छिन् । कहिले यता दौडिन्छिन्, कहिले उता । मुखभरि घाउ आउने गरेर काम गर्छिन् । त्यो एकैसाथ आश्चर्यजनक र प्रेरणादायी छ ।

अध्ययनले हामीलाई विचार निर्माणको प्रक्रिया दिलाउँछ, जुन उनले पाएकी छैनन् । केही कुराहरू लामो समय रहन्छन्, तर उनी चम्किलो लाग्छिन् । पढ्न पाएको भए, उनी कहाँ पुग्थिन् भन्ने लाग्छ । उनी देशलाई हाँक्ने सामर्थ्य बोकेकी मान्छे हुन् । मुलुकमा यस्तो अवसर नपाएका धेरै छन् जुन दुःखद पक्ष हो ।

नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको लागि हामीले अझै कस्ता कथामा काम गर्न जरुरी देख्नुहुन्छ ?

कथानकतर्फ निकै राम्रो काम भइरहेको छ । यो हेर्दा निकै खुसी लाग्छ । डकुमेन्ट्रीमा धेरै मान्छे छैनन्, जहाँ धेरै खट्नुपर्ने हुन्छ । धेरै वर्षसम्म एउटै काममा लागिरहनुपर्ने हुन्छ । म यस कुरामा खुसी छु । नेपाली फिल्म राम्रो भइरहेको देख्दा निकै हर्षित छु ।

तपाईंले आफ्नो कुरा भन्नको लागि गैरआख्यान विधा किन छनोट गर्नुभयो ? तपाईंलाई कथा भन्न पत्रकारिताको पृष्ठभूमिले कति सहयोग पुर्‍यायो ?

अवश्य पनि पत्रकारिताले अनुसन्धान र तथ्य निरूपणमा सघाउ पुर्‍यायो । मलाई डकुमेन्ट्री मनपर्छ । जब यसले काम गर्छ, तब राम्रोसँग गर्छ । यसले मानिसको वास्तविकतालाई बाहिर ल्याइदिन्छ । यसकारण मलाई डकुमेन्ट्री मनपर्छ । सम्भवतः मैले फिक्सनमा पनि काम गर्न सक्छु । विगतका कुरा निकाल्नुपर्‍यो भने फिक्सन नै चाहिन्छ । कतिपय कुरालाई डकुमेन्ट्रीले ल्याउन सक्दैन । फिक्सन अवश्य पनि बलियो माध्यम हो । म डकुमेन्टरियन हुँ । मैले फिक्सनको प्रयास पनि गरें ।

‘देवी’लाई भन्नको लागि डकुमेन्ट्री नै चाहिने थियो । कुनै आन्दोलन सुरु गर्नको लागि यो एउटा प्रक्रिया हो । भन्न नसकिएका कुरालाई पनि यसबाट भन्न सकिन्छ । यसकारण डकुमेन्ट्री शक्तिशाली माध्यम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply