पत्रकार यादव मृत्यु प्रकरण : ज्यान मार्ने धम्की आएको भन्दै दिएका थिए निवेदन

0

वैशाख ११ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादव ।

१७ वैशाख, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलेको छ ।

दुर्घटनाको १५ दिनअघि उनले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की आएको उल्लेख गरेर इलाका प्रहरी कार्यालय, जनकपुरधाममा निवेदन दिएको खुलेको हो ।

निवेदनमा उनले धनुषाकै विपक्षी विरेन्द्रकुमार यादवलाई केही नगरेपनि धम्क्याइरहेको भन्दै आवश्यक छलफल गरेर कानून अनुसार कारबाही गर्न माग गरेको देखिएको छ । यसको दुई सातापछि ११ वैशाखमा रेडियो धनुषाधामका सञ्चालक समेत रहेका २८ वर्षीय विनयको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले दुर्घटनाको दिन उनले चलाइरहेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा यादवको मृत्यु भएको बताएका थिए ।

मोटरसाइकल पछाडि बस्ने मृतकका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव समान्य घाइते भएको उनको भनाइ थियो । तर, पछाडि बसेको भनिएका लक्ष्मीनारायणले नै मोटरसाइकल चलाइरहेको दुर्घटना हुनुभन्दा केहिपरको सिसी टिभी फुटेज फेला परेको छ ।

‘सुरुमा लक्ष्मीनारायणले आफू पछाडि बसेको बयान दिएका थिए, अहिले उनले आफूले मोटरसाइकल चलाएको भनेका छन्’, डीएसपी अवा भन्छन् । मृतक विनयकुमारको परिवारले भने दुर्घटनालाई शंकास्पद भन्दै गम्भीर छानबिन गर्न माग गरेको छ ।

मृतक विनयका भाइ शंकर यादवका  अनुसार, साथमा रहेका लक्ष्मीनारायणले फेरेको बयान र दुर्घटनापछि उनले ज्यान मार्ने धम्की दिएका वीरेन्द्र यादवलाई तीनपटक फोन डायल गरेको देखिएकाले रहस्यमय र शंकास्पद छ ।

‘४ बजेर १७ मिनेटमा लक्ष्मीनारायणले वीरेन्द्रलाई तीनपटक फोन गरेको लक्ष्मीनारायणको मोबाइलमा कल हिस्ट्री भेटिएको छ’, उनले भने, ‘यसले थप अनुसन्धान गर्नुपर्ने देखाएको छ ।’

शंकरका अनुसार, शान्ति सुरक्षाको माग गर्दै उजुरी परेका बेला लक्ष्मीनारायणले वीरेन्द्रले ‘केही गर्दैन, अघि नबढ्न’ भनेर सहमत गराएपछि विनय पछाडि हटेका थिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण लामा पनि त्यसबेला दुवै पक्ष सहमत भएर आएपछि थप प्रक्रिया अघि नबढाइएको बताउँछन् ।

परिवारका सदस्यहरुका अनुसार, विनय दिउँसै घरबाट निस्किएर लक्ष्मीनारायाणसहितका अरु साथीहरुसँग गएका थिए । राति लालगढको होटल मंगेश एण्ड गेष्टहाउसमा खाजा खाएर अवेर लक्ष्मीनारायणसहित फर्किएका थिए ।

‘होटलबाट उहाँले भाउजुलाई पठाएको सन्देशले पनि घटना शंकास्पद देखाउँछ’, शंकरले भने, ‘दाइले साथीहरुले आफूलाई घर आउन नदिँदा ढिलो भएको भन्दै भाउजुलाई म्यासेन्जरमा राति ११ बजेर ३२ मिनेटमा भ्वाइस म्यासेज पठाउनुभएको थियो ।’

धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारी भने लक्ष्मीनारायणलाई हिरासतमै राखेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउँछन् । ‘अनुसन्धानको भइरहेकाले धेरै कुरा अहिल्यै बताउन त मिलेन तर, लक्ष्मीनारायण हिरासतमै छन् । विभिन्न कोणबाट अनुसन्धान जारी छ’, उनले भने ।

कांग्रेसनिकट पत्रकारहरुको भातृ संगठन नेपाल प्रेस युनियन, धनुषाले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्मको प्राप्त तथ्य प्रमाणले घटना शंकास्पद रहेको देखिएको भन्दै सुक्ष्मरुपमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply