बच्चा किन डराउने, आत्तिने वा एक्लै बस्ने गर्छन् ?

0
बच्चा किन डराउने, आत्तिने वा एक्लै बस्ने गर्छन् ?

एन्जाइटी एक भावनात्मक लक्षण हो, जुन भविष्यको चिन्ता वा सम्भावित खतराहरूको बारेमा चिन्ता र डरको भावनासँग सम्बन्धित हुन्छ । यसले शारीरिक र भावनात्मक लक्षणलाई संकेत गर्न सक्छ, जसले जीवनशैलीमा पनि गहिरो प्रभाव पार्न सक्छ ।  चिन्ता वा तनाव जस्ता मानसिक अवस्था वयस्कहरूको साथै बच्चामा पनि देख्न सकिन्छ ।

धेरै बच्चाहरू डर, चिन्ता र आतंक जस्ता परिस्थितिबाट गुज्रिरहेका हुन्छन् । जसकारण उनीहरूमा दुःख र निराशा छाएको हुनसक्छ । बालबालिकामा डर र चिन्ताका लक्षण देखिनु सामान्य भएपनि यो अवस्था लगातार देखा परेमा एन्जाइटी वा डिप्रेसन निम्त्याउन सक्छ । यस्तो अवस्थामा बालबालिकामा देखिने यी लक्षणहरूलाई अभिभावकले बेवास्ता गर्नु हुँदैन ।

वयस्कहरूमा एन्जाइटी लक्षणहरूबाट सजिलै बुझ्न सकिन्छ, तर बच्चाहरूको एन्जाइटी बुझ्न अलि गाह्रो हुन्छ । किनभने बालबालिकाले आफ्ना भावना वा समस्याहरू खुलेर व्यक्त गर्न सक्दैनन् ।

बच्चामा एन्जाइटीको कारण

साना बालबालिकामा एन्जाइटीको समस्या हुनुको कुनै खास कारण हुँदैन तर कहिलेकाहीं वंशाणुगत कारणले पनि बालबालिकालाई चिन्ताको समस्या हुने गर्छ ।

स्कुल, परिवार वा साथीहरूले बच्चासँग दुर्व्यवहार गरेका हुन सक्छन्, जसले गर्दा बच्चाहरू एन्जाइटीको सिकार हुन सक्छन् । परिवारमा झगडा हुन्छ । घरको वातावरण राम्रो नहुँदा चिन्ता बढ्न सक्छ र उनीहरूमा एन्जाइटीको समस्या देखिन सक्छ ।

आमाबाबु वा हेरचाह गर्नेहरूमा सानो सानो कुरामा चिन्ता लिने बानी छ भने बच्चाहरूले पनि यसलाई अपनाउँछन् । जसले बिस्तारै एन्जाइटीको समस्या उनीहरूको व्यवहारमा पनि आउँछ ।

बच्चामा एन्जाइटीको लक्षण

– चिडचिडा, रिसाहा, चिन्तित वा भयभत महसुस गर्ने ।

– एक्लै बस्न मन पराउने ।

– केही काम गर्दा गल्ती हुन्छ कि भनेर डराउने ।

– उदास वा निराश महसुस गर्ने ।

– आत्मविश्वासको कमी हुने ।

– ध्यान केन्द्रित गर्नमा कठिनाइ हुने ।

– स्कुल जान इच्छा नगर्ने ।

– दैनिक गतिविधिहरूमा ध्यान र चासोको कमी ।

– थकान, टाउको दुखाइ, पेट दुखाइ, मांसपेशी दुखाइ हुने ।

– निद्रा नलाग्ने र डरलाग्दो सपना देखेर निद्राबाट उठ्ने ।

– खाना खान मन नगर्ने ।

– मुटुको धड्कन बढ्ने ।

– पसिना आउने वा काँप्ने ।

 आमाबाबुले आफ्नो बच्चालाई कसरी मद्दत गर्नुपर्छ ?

आफ्नो बच्चालाई बुझ्ने प्रयास गर्नुपर्छ । बच्चालाई म तिम्रो साथमा छु भनेर विश्वास दिलाउनुपर्छ । एन्जाइटीमुक्त हुन समय लाग्छ । त्यसैले धैर्य गर्नुपर्छ, बच्चालाई पनि बिस्तारै निको हुन्छ भन्ने कुरा सम्झाउनुपर्छ ।

आफ्नो चिन्ताको बारेमा बच्चासँग खुलेर कुरा गर्नुपर्छ । उनीहरूलाई तिमी सुरक्षित छौ, तिमीलाई जे जस्तो साथ सहयोग चाहिन्छ म दिन्छु भन्नुपर्छ । बच्चालाई के कुराले चिन्ता दिएको छ भनेर पत्ता लगाउन प्रयास गर्नुपर्छ । बच्चाको चिन्ताको बारेमा थाहा पाएमा सहयोग गर्न सजिलो हुन्छ ।

आफ्नो बच्चाको लागि घरमा सुरक्षित र शान्त वातावरण सिर्जना गर्नुपर्छ । बच्चालाई पर्याप्त सुत्न, स्वस्थ खानेकुरा खान र दैनिक व्यायाम गर्न प्रोत्साहित गर्नुपर्छ ।

बच्चाको शारीरिक वा भावनात्मक लक्षणहरू धेरै गम्भीर भएमा, व्यवहारमा ठूलो परिवर्तन हुन्छ, तब तिनीहरूलाई नियन्त्रण गर्न मनोचिकित्सकको सहयोग लिनुपर्छ ।

एजेन्सीको सहयोगमा

हट टपिक्स

Leave a Reply