बीजेपी गठबन्धनका उम्मेदवार रहेका सांसदले ‘यौन उत्पीडन’ गरेको भिडिओप्रति आक्रोश

0
प्रज्ज्वल रेवान्नामाथि कैया महिलाहरूलाई कुटपिट गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रज्ज्वल रेवान्नामाथि कैयौँ महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ

भारतको दक्षिणी राज्य कर्नाटकमा एक भारतीय सांसदले महिलालाई यौन दुर्व्यवहार गरेको देखाउने खालका हजारौँ भिडिओ व्यापक रूपमा फैलिएसँगै त्यसले त्यहाँ आक्रोश निम्त्याएको छ।

ती सांसद प्रज्ज्वल रेवान्नामाथि कैया महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

ती भिडिओ तथा घटनाबारे रेवन्नाले कुनै टिप्पणी गरेका छैनन्। तर उनको कार्यालयका एक अधिकारीले ती आरोपहरूलाई अस्वीकार गर्दै ‘डक्टर्ड’ गरिएका भिडिओहरू शेअर गरिएको बताएका छन्।

ती विधायक प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी बीजेपीको सहयोगी जनता दल (सेक्युलर)बाट निर्वाचित सांसद हुन्।

उजुरी दर्ता

ती सांसदका पिता एचडी रेवन्ना पनि उक्त परिवारका एक पूर्वकर्मचारीले दर्ता गरेको उजुरीमा आरोपित बनाइएका छन्। उनी कर्नाटकको विधानसभाका सदस्य हुन्।

एचडी रेवन्नाले आरोप अस्वीकार गर्दै त्यसलाई राजनीतिक षड्यन्त्र भनेका छन्।

गत सोमवार जनता दल (सेक्युलर)ले प्रज्ज्वल रेवन्नालाई निलम्बन गरेको घोषणा गरेको छ।

उक्त दलको स्थापना रेवन्नाका हजुरबुवा एचडी देवेगौडाले गरेका थिए। उनी भारतका पूर्वप्रधानमन्त्री पनि हुन्।

कर्नाटकका मुख्यमन्त्री के सिद्धरामैयाले राज्यको महिला आयोगको अनुरोधका आधारमा एउटा विशेष अनुसन्धान टोली (एसआईटी) यो मामिलाको जाँच गर्ने बताएका छन्।

एचडी देवगौँडा

तस्बिर स्रोत, HD Deve Gowda’s X account

तस्बिरको क्याप्शन, उक्त दलको स्थापना रेवन्नाका हजुरबुवा एचडी देवगौडाले गरेका थिए। उनी भारतका पूर्वप्रधानमन्त्री पनि हुन्

भिडिओ वितरण

प्रज्ज्वल रेवन्नाले आफ्नो निर्वाचन क्षेत्र हसनमा यही एप्रिल २६ तारिखमा आमनिर्वाचनमा मतदान गरेको एक दिनपछि ती भिडिओहरू सार्वजनिक भएका थिए।

रेवन्ना अहिले पनि उक्त क्षेत्रका भारतको सङ्घीय संसद्‌को तल्लो सदन लोकसभाका सांसद् हुन् भने उक्त क्षेत्रबाटै उनी अर्को कार्यकालका लागि बीजेपीसँगको गठबन्धनबाट उम्मेदवार बनेका छन्।

भिडिओ कसले बाहिर ल्यायो र वितरण गर्‍यो भन्ने स्पष्ट छैन। तर इन्डियन एक्सप्रेस पत्रिकाको खबर अनुसार चुनावअघि २,००० भन्दा बढी पेन ड्राइभमा ती भिडिओहरू वितरण गरिएको थियो।

सार्वजनिक भएका विवरणहरूमा रेवान्ना आफैँले खिचेका जस्ता देखिने भिडिओ क्लिपहरूमा उनले दुर्व्यवहार गरेका महिलाहरूको अनुहार देखिएको छ।

“पेन ड्राइभहरू बसका सिटहरूमा, बस स्ट्यान्डहरूमा राखिएको थियो र पार्कजस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई दिइयो,” एक अधिकारीले उक्त पत्रिकालाई भनेका छन्।

“यी पेन ड्राइभहरूमा २,००० भन्दा बढी फाइलहरू थिए त्यसमा भिडिओ र तस्बिरहरू पनि समावेश थिए। केही घण्टापछि हामीले ती भिडिओहरू व्हाट्सएपमा व्यापक रूपमा साझा गरिएको पायौँ।”

कांग्रेसले रेवन्नाविरुद्ध प्रदर्शन गरेको छ

तस्बिर स्रोत, ANI

तस्बिरको क्याप्शन, कांग्रेसले रेवन्नाविरुद्ध प्रदर्शन गरेको छ

‘रगत उमाल्ने भिडिओ’

उक्त घटनापछि कर्नाटकको महिला आयोगकी प्रमुख नागलक्ष्मी चौधरीले राज्यका प्रहरी प्रमुखलाई पत्र लेखेर दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

“केही भिडियो देख्दा तपाइँको रगत उम्लिन्छ,” उनले बीबीसीलाई भनिन्।

“त्यहाँ एउटी महिला छिन् र उनले दयाको भीख मागिरहेकी छिन्… ‘कृपया नगर्नुहोस्, कृपया नगर्नुहोस्’ भनिरहेको देख्दा तपाईँले आफैँलाई सम्हाल्न सक्नुहुन्न।”

गत आइतवार उक्त परिवारका लागि खाना पकाउने काम गर्ने एक ४७ वर्षीया महिलाले आफूलाई ती सांसद र उनका पिता दुवैले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन्। उनी रेवन्नाकी आमातर्फकी आफन्त समेत रहेको बताइएको छ।

“मैले त्यो परिवारमा काम सुरु गर्दा अरू ६ जना कामदार प्रज्ज्वलसँग डराउँछौँ भन्थे। पुरुष कामदारहरूले पनि हामीलाई [एचडी] रेवन्ना र उनका छोरा प्रज्ज्वलसँग होसियार हुन आग्रह गर्थे,” उनले उजुरीमा लेखेकी छन्।

“आफ्नी श्रीमती टाढा हुँदा [एचडी] रेवन्नाले मलाई पटकपटक अनुपयुक्त रूपमा छुने, लुगा फुकाल्दिने र यौन दुर्व्यवहार गर्ने गर्थे। म भान्सामा काम गरिरहेको बेला प्रज्ज्वलले मलाई पछाडिबाट समात्ने गर्थे,” उनले त्यसमा थप व्याख्या गरेकी छन्।

ती महिलाले आफूले अन्य पीडितहरूको भिडिओ हेरेपछि उजुरी गर्ने निर्णय गरेको दाबी गरेकी छन्।

उनले प्रज्ज्वलले आफ्नी छोरीलाई पनि दुर्व्यवहार गरेको र उनका बुवाले पनि पछ्याउने र आपराधिक धम्की दिएको उल्लेख गरेकी छन्।

आरोपित देशबाहिर

प्रदर्शन

तस्बिर स्रोत, ANI

प्रहरीले प्रज्ज्वलले देश छाडेको जनाएको छ। केही विवरणमा उनी जर्मनीमा रहेको जनाइएको छ। तर उनका बुवाले उक्त दाबीलाई अस्वीकार गर्दै अनुसन्धानको सामना गर्न आफूहरू तयार रहेको बताएका छन्।

“हामी डराएर भाग्दैनौँ। हामी यहीँ छौँ। हामी कानुनअनुसार यी आरोपको प्रतिकार गर्छौँ,” उनले पत्रकारसँग भने।

यो घटनाले कर्नाटकमा राजनीतिक तरङ्ग ल्याएको छ। धेरैले कसैलाई “यस्तो आपराधिक कार्यको आरोपमा” पनि सोधपुछविनै देश छोड्न कसरी अनुमति दिइयो भनेर प्रश्न गरेका छन्।

उक्त राज्यका एक मन्त्रीले एक्समा लेख्दै प्रधानमन्त्री मोदीलाई उनको गठबन्धनले “के रेवान्नाले सयौँ महिलालाई दुर्व्यवहार गरेको पुरस्कार स्वरूप उनलाई उम्मेदवार बनाएको हो” भन्ने प्रश्न सोधेका छन्।

ती टिप्पणीहरू द हिन्दू अखबारको एउटा समाचारपछि आएका हुन्। उक्त खबरमा बीजेपीका एक नेताले गत वर्ष नै ती भिडिओ क्लिपहरूबारे राज्यको नेतृत्वलाई जानकारी गराइएको थियो भनेका छन्।

बीजेपीका एक प्रवक्ताले एनडीटीभी च्यानलसँग भनेका छन्, “पार्टीको रूपमा हामीलाई ती भिडिओबारे कुनै सरोकार छैन र हामी जारी छानबिनबारे पनि टिप्पणी गर्न चाहन्नौँ।”

जनता दल (सेक्युलर) ले पनि उक्त मामिलामा जोडिएका दुई नेतासँग दूरी बनाएको छ।

एचडी रेवान्नाका दाइ कर्नाटकका पूर्वमुख्यमन्त्री एचडी कुमारास्वामीले पनि उक्त घटनालाई “समाजका लागि लज्जास्पद” भनेका छन्।

उनले परिवार र पार्टीलाई अलग राख्न पनि आग्रह गरे।

पार्टीका वरिष्ठ नेता जीटी देवेगौडाले आरोप प्रमाणित भएमा दुवै जनालाई अनुशासनसम्बन्धी कारबाही गर्ने बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply