‘लो-प्रोफाइल’का सुहाङ : एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए

0

१८ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । उक्त क्षेत्र नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङ निधन पछि रिक्त थियो ।

नेम्वाङको २६ भदौ २०८० भदौ २६ गते निधन भएपछि निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचनमा मिति तोक्यो । जसमा नेकपा एमालेले नेम्वाङकै कान्छा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा इलाम-२ बाट सुवासचन्द्र नेम्वाङले निकटतम् प्रतिद्वन्द्वी डम्बरबहादर खड्कालाई ११४ मतान्तरले पराजित गरेका थिए । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

उपनिर्वाचनमा सुहाङले पनि बुवासँगै चुनावी प्रतिस्पर्धा गरेका उनै खड्कालाई निकटतम् प्रतिद्वन्द्वी पाए । तर, यतिबेला उनले बुवा सुवास नेम्वाङको तुलनामा मतान्तर भने फराकिलो बनाएका छन् । सुहाङले २७ हजार ७७२ मतसहित विजयी हुँदा  खड्काले २१ हजार ९४२ मत पाए ।

यसपटक सुहाङसँग खड्काको मतान्तर ५ हजार ८३० मत रह्यो ।

बुबाको मृत्युको सुध्याइँ कार्य नसकिँदै सुहाङ राजनीतिमा आउने चर्चा चुलिएको थियो । विभिन्न सञ्चारमाध्यमको प्रश्नको उत्तर दिँदै सुहाङले आवश्यक परे राजनीतिमा आउन पनि सक्ने संकेत गरिसकेका थिए ।

२ वर्ष अघि सुवासचन्द्र नेम्वाङ जीवितै छँदा नेपाल सुपर लिग (एनएसएल) मा भाग लिने उद्देश्यले ‘स्पोर्टिङ इलाम एफसी डे मेची’ नामको फुटबल क्लब सुहाङले दर्ता गरेका थिए । इलामको नाम राखेर फुटबल क्लब दर्ता गरेपछिमात्र उनको नाम सार्वजनिक रुपमा इलाममा सुनिएको थियो ।

सन् २०२३ मा आयोजित नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम एफसी डे मेचीले पहिलोपटक सहभागिता जनाए पनि खासै उपलब्धी हासिल गर्न भने सकेन । इलाममा उत्पादन भएका इलामका खेलाडीहरुले नै उक्त क्लबबाट खेल्ने अवसर नपाएको उनलाई आरोप लाग्ने गरेको छ ।

पेशाले अधिवक्ता सुहाङ बुवा सुवासचन्द्र नेम्वाङको निधनको केही समयपछि नै इलाममा आयोजना भएका सार्वजनिक कार्यक्रमहरुमा देखिन थाले । राजनीतिसँग र एमालेसँग प्रत्यक्ष सरोकार नराख्ने कार्यक्रमहरुमा पनि सुहाङले स्पेस मागेर मन्तव्य राख्न थाले, जसका लागि एमाले इलामका कार्यकर्ताहरुले अरुले नै आयोजना गरेको कार्यक्रमहरुमा ‘स्पेस म्यानेजर’को भूमिका निर्वाह गरे ।

विभिन्न चाडपर्वमा आयोजना गरिएको सांगीतिक कार्यक्रम होस् या खेलकुद प्रतियोगिता, सुहाङले इलामको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सबै वडाहरुमा आयोजित जुनसुकै कार्यक्रममा आफ्नो उपस्थिति जनाए ।

सुहाङले विशेषगरी संख्यात्मक रुपमा युवाहरुको उपस्थिति रहेको सबैखाले कार्यक्रममा आफूलाई चिनाउन पछिल्लो ७ महिनामा भरपुर प्रयास गरे । सुहाङको सो उपस्थितिले सुहाङ इलामको राजनीतिमा स्थापित हुन प्रयास गरेको भान हुन्थ्यो ।

बुबा सुवासचन्द्र नेम्वाङ आमा विशाल नेम्वाङको कोखबाट कान्छा छोराको रुपमा २०४६ फागुन ६ गते सुहाङको काठमाडौंमा जन्म भएको थियो । आधारभूत तथा माध्यमिक तहको अध्ययन सुहाङले काठमाडौंमै गरे । दाजु मिङ्सो र उनको परिवार बेलायत बसोबास गर्दै आएका छन्

दिदी सुसाङ पेशाले डेण्टल सर्जन हुन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा मास्टर्स गदैछिन् । घर व्यवहार चलाउन आमा विशाल नेम्वाङ व्यापार व्यवसाय गर्छिन् । सुहाङ आफैं एलएलबीसम्मको अध्ययन पूरा गरेका छन् भने एलएलएमको अध्ययन पनि जारी छ । थेसिस बुझाएपछि एलएलएमको अध्ययन उनको पूरा हुनेछ ।

बुवाको विरासत

सुहाङले बच्चा छँदैदेखि आफ्नो समूहमा लिडरको भूमिका निर्वाह गर्न रुचाउने आमा विशालले बताइन् । माध्यमिक विद्यालय अध्ययन गर्ने उमेरमा त सुहाङले साथीभाइ र समुदायमा परिपक्क व्यवहार गर्न थालिसकेको अनुभव आमा विशालसँग छ ।

सुहाङ र उनको बुबाबीच बाबु–छोराको सम्बन्ध कम र साथीभाइको सम्बन्ध ज्यादा थियो । राजनीतिका हरेक घटनाक्रमहरुलाई सुहाङले उत्सुकतापूर्वक बुवासँग जिज्ञासा राख्ने र बुबाले पनि सहजतापूर्वक सरल भाषामा सुहाङलाई बुझाउने गरेको आमा विशालले बताइन् ।

जसको फलस्वरुप इलामको भूगोल, माटो, रहनसहन, यहाँका नागरिक, यहाँका अवसर र समस्याहरुलाई सुहाङले सहजै चिन्न सफल भएको आमा विशालको दाबी छ । सुहाङलाई राजनीतिमा ल्याउने सुवास नेम्वाङको इच्छा नै रहेको उनले बताइन् ।

बुवाको हरेक कुरालाई नजिकबाट नियाल्ने भएकोले सुहाङको बोलीचाली, व्यवहार, आचरण बुबाको जस्तै भएको आमा विशालको दाबी छ । लो–प्रोफाइलमा चल्न चाहने सुहाङ बुबाको प्रोफाइलबाट चिनिन कहिल्यै पनि चाहेनन् ।

दिदी डाक्टर सुसाङले भाइ सुहाङको सपना सुनाइन्, ‘आफूले मिहिनेत गरेर धेरै पैसा कमाउने अनि मात्र राजनीतिमा पाइला राख्ने सुहाङको सपना थियो । त्यै भएर सानैमा ऊ अष्ट्रेलिया गएको ।’ परिवारको करकापमा परेर सुहाङ २ वर्षमा नै अष्ट्रेलियाबाट नेपाल फर्किएका थिए ।

सन् २०११ मा नेपाल फर्किएपछि उनले कानुनमा स्नातक अध्ययन सुरु गरे ।

सुहाङको बुबासँगको अन्तिम भेटको घटना सुहाङकी बहिनी साम्याङले अनलाइनखबरलाई सुनाउँदै थिइन् । देहान्त हुनु अघिल्लो साँझमात्र साम्याङले काठमाडौं घरबाट सुहाङसँग भिडियो कलमा बोलेका थिए । सुवास नेम्वाङले त्यही बेला हो, सुहाङसँग अन्तिम वार्तालाप गरेको पनि ।

साम्याङले अनलाइनखबर टिमलाई यति सुनाउँदा कोठाको माहोल स्तब्ध भइसकेको थियो, सुसाङ बुबालाई सम्झेर भावुक भइसकेकी थिइन् । यता भाइ सुहाङले बुबाको स्थानमा चुनाव जितको खुसी परिवारसँग एकातिर थियो नै अर्कातिर बुबा र अभिभावक नहुनुको पीडा पनि उस्तै थियो ।

ठीक त्यहीबेला सुहाङ हामी गफिइरहेको कोठामा प्रवेश गरे ।

हार्दिक बधाई छ ।

– धन्यवाद हजुरहरुलाई ।

कस्तो महसुस भइरहेको छ ?

– अत्यन्तै खुसी लागेको छ । सम्पूर्ण मतदाता महानुभाव, शुभचिन्तक, मेरो परिवारजन र पार्टीपंक्तिबाट अहोरात्र खटिएर विजय हासिल गराउनुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुको आशा र अपेक्षालाई मेरो क्षमताले देश र इलामको विकासको लागि गुणात्मक योगदान पुर्‍याउने हरदम प्रयास गर्नेछु । तपाईंहरुलाई निरास पार्नेछैन ।

सहजै जित हासिल गर्नुभयो नि ।

– मैले पहिले नै भनेजस्तै जित त अपेक्षित नै थियो, अनि धेरै मतले नै जित्ने हामीकहाँ रिपिोर्टिङ आएको थियो ।

जित सम्भवचाहिँ कसरी भयो ? १६ महिना अघिमात्र बुवालाई यही जित निकाल्न निक्कै मुस्किल परेको थियो नि, हैन ?

– हो । जुन हामीले यो विरासतको कुरा गरिरहेका छौं नि, मानिसले नेकपा एमालेको विरासत भनिरहेको छ नि, यो सिंगो इलामको विरासत हो ।

म ४२ वटा वडा घुमेको छु, कुनाकाप्चा पुगेको छु । त्यो सबै कुनाकाप्चामा आमाबुबाहरु यति रुनुभयो । आमावुबा मात्र होइन के, हाम्रो उमेरका कतिपय युवाहरु आँखाभरि आँसु लिएर मलाई आएर अंगालो हाले, हाम्रो नेताको छोरा भनेर । यो बुबाले अहिलेसम्म गर्नुभएको काम, जुन राष्ट्रियस्तरको काम गर्नुभयो, नीति निर्माण र संविधान दिने काम गर्नुभयो, यो सबै कामहरुको मतदाताले मुल्यांकन गर्नुभएको हो । बुबाले उहाँहरुलाई असाध्यै माया गर्नुहुन्थ्यो भन्ने हो, यो हामीले जति जे प्राप्त गर्यौ, त्यो हामीले ब्याज प्राप्त गरेको हो ।

अर्को कुरा भनेको, संगठनभित्रका महानुभावहरु चुनाव जिताउन भित्र–भित्र छिरेर मरिमेटेर काम गर्नुभयो ।

अब अर्को भनेको, अहिलेको परिस्थितिको कारण पनि हो । एउटा पहिचानको मात्र मुद्दा उठाउनुभएको प्रतिस्पर्धी, अर्को भनेको रास्वपा, मिलन लिम्बु आफैं पहिचानको मात्र मुद्दा सुरुमा उठाउनुभएका उम्मेद्वार, अर्को डम्बर अंकल उहाँलाई धेरैजनाले स्वागत गर्नुभएन भन्ने लाग्छ । यो सबै हेर्दा उपयुक्त पात्र भनेको सुवास नेम्वाङको परिवारको एक सक्षम पात्र युवा सुहाङ नेम्वाङ हो भनेर सबैले मतदान गर्नुभएको हो भन्ने लाग्छ ।

सुहाङ ७ महिना अघिदेखि इलामका विभिन्न कार्यक्रमहरुमा देखिन सुरु गरेको समयमा, अनि त्यही बेला एमालेको उम्मेद्वार हुने चर्चा पनि आएकोबेला सुहाङलाई इलामले कसरी स्वागत गरेको थियो ?

–  ७ महिना अघि इलामको खेलकुद र सांस्कृतिक कार्यक्रमहरुमा सहभागी भएँ । दसैं, तिहार र क्रिसमस पनि इलाममा मनाएँ । इलामले जुन बुवाको अभाव महसुस गरेको थियो, त्यो मेटाउने प्रयास गरेँ । मैले प्रत्येक नागरिकलाई भेट्दा हार्दिकता र आत्मियता साथ वहाँहरुले मलाई स्वागत गर्नुभयो । मेरो भाइ, दाइको छोरा भनेर यति धेरै माया दिनुभयो कि, मैले अनुभूतिमात्र गर्न सक्छु ।

प्रतिनिधिसभाको युवा सदस्य हुनुभएको छ, अबको तपाईंको प्राथमिकता चाहिँ के हुन्छ ?

– संसदभित्रको भूमिका निर्वाह गर्ने सन्दर्भमा सुशासनको कुरा गर्दा कतिजना हाँस्नुभयो, कतिले गाली गर्नुभयो । अहिलेको आवश्यकता जुन इलामको समृद्धिको लागि छ, विकासको लागि छ, सुशासनको कमजोरीका कारण भएको हो । त्यही कारणले गर्दा त्यो सुशासनको कुरालाई एकदमै पेचिलो ढंगले उठाउनुपर्ने आवश्यकता छ ।

हामीले समग्र नेपालकै कुरा गर्दा कृषि, पर्यटनदेखि नेपालमै उत्पादन र स्वरोजगार भनिरहेका छौं, त्यो कुराको नीतिनिर्माण भएको छ कि छैन, कानुनी नजरमा परेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । यहाँको चिया, कफी र दूध अनि नगदेबालीका समस्याहरु छन् । यस्तै वा विकास निर्माणका अन्य कुरामा होस्, नीतिगत समस्याहरु समाधान गर्न मेरो भूमिका रहनेछ ।

मंगलबारेको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले सुहाङलाई देखाएर अब एमाले युवाको पार्टी बन्दैछ भन्नुभयो । सुहाङले चुनाव हारे इलामलाई घाटा हुन्छ भन्नुभयो । युवा नेतृत्वबाट अब इलामलाई के फाइदा ?

– श्रद्धेय अध्यक्षज्यु ले ठिकै त भन्नुभयो नि । बुबाको लेभलको अनुभव र योगदानको बराबर गर्न त युगौं कुर्नुपर्छ होला, तर मैले अघि भनेजस्तै इलामका युवा, किसान, विद्यार्थी, पेशाकर्मी, व्यवसायीहरुको समस्याका कारण पत्ता लगाएर नीतिगत रुपमा समाधान गर्ने मेरो सधैं प्रयास रहनेछ ।

संसदमा अर्को युवाको उपस्थिति हुँदैछ । युवा सोच, विचार र चिन्तनले अग्रजहरुको अनुभव सुन्दै युवा जोस जाँगरका साथ आम युवाहरुको आवाज संसदमा होस् या जिम्मेवारी प्राप्त गरे विभिन्न अन्य सुनुवाइ गर्नुपर्ने स्थानमा आवाज बुलन्द गर्नेछु ।

एमाले भित्रबाट कम उमेरको प्रतिनिधिसभा सदस्य संसदले प्राप्त गरेको छ । अब मैले एमालेको मात्र नभएर इलामको अनि देशकै नागरिकको आवाज राख्नेछु । हाम्रा इलामका मसिना समस्याहरुको नीतिगत समाधानका लागि पार्टीमा समेत कुरा राख्नेछु ।

पार्टीले अन्य जिम्मेवारी दिए म पछि हट्दिनँ । फेरि पनि मैले जिम्मेवारी पार्टीभित्र अरु पनि पाउनैपर्छ भन्ने चाहिँ होइन । मलाई जुन जुन जिम्मेवारी प्राप्त छ, त्यहीँबाट पनि आफ्नो भूमिका निर्वाह गर्नेछु ।

चुनावी रणनीति चाहिँ कस्तो थियो ?

– चुनाव जित्छु भन्ने त थिदै थियो, त्यसमा हाम्रो संगठन नै बलियो, सबैको अगाडि छाती फुकाएर भन्न सक्ने । यसबीच माओवादी, परिवार दल, विप्लव माओवादी लगायतको समर्थन थियो । सँगसँगै हाम्रो आधारहरु पनि धेरै थिए ।

हामीले विगतमा गरेका कामहरु यसपटकमात्र मतदातालाई बुझाउन सक्यौं तर अझैपनि पूर्णरुपमा चाहिँ बुझाउन सकेका छैनौं । हाम्रो एजेण्डा एउटा मात्र थिएन । फेरि हामीले प्रतिस्पर्धीहरुलाई बुझ्न सकेका थियौँ । हाम्रो विगतका मतदातालाई हामीले विचलित हुन दिएनौं । सिंगो पार्टी एकढिक्का भएर आफ्नो मत जोगाउनतर्फ लागेको मैले अनुभव गरेको छु ।

उम्मेद्वार बन्न चाहेका नेताहरुका सन्दर्भमा के भन्नुहुन्छ ?

उहाँहरुको लगानी संगठनमा एकदमै ठूलो छ । त्यसको म उच्च सम्मान गर्छु । संगठन पनि हाम्रो एकदमै ठूलो छ, अवसरहरु प्रशस्तै छ । क्षमता र योग्यताको आधारमा पार्टीले ढिलोचाँडो अवसर प्रदान गरिनै हाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply